ट्राफिक प्रहरी भन्छन् : हर्न हटेदेखि आनन्दै छ
![ट्राफिक प्रहरी भन्छन् : हर्न हटेदेखि आनन्दै छ](https://annapurnapost.prixacdn.net/media/albums/traffic-janak-shahi-5a40afef733fb4.44730846_nrIOFQr26m.jpg)
के छ हालखबर ?
ठीकै छ।
ट्राफिक हुनुभएको कति वर्ष भयो ?
नौ वर्षजति भयो।
ट्राफिकमा कसरी आइयो ?
म पहिले पुलिसमा जागिरे थिएँ। मलाई जसरी भए पनि देशको सेवा गर्नु थियो। ट्राफिकमा दरबन्दी प¥यो, त्यसपछि यसैमा लागियो।
घर कता हो नि ?
जाजरकोट।
यता कता बस्नुहुन्छ ?
कार्यालयमै बस्छु।
तपाईंले कुन–कुन ठाउँमा ड्युटी गर्नुभएको छ ?
भक्तपुर र ललितपुरबाहेक काठमाडौँका प्रायः ठाउँमा ड्युटी गरिसकेँ। उपत्यकाबाहिर मध्यपश्चिमतिर पनि गरेको छु।
पहिलो पटक ट्राफिक भएर सडकमा काम गर्दाको अनुभव कस्तो थियो ?
म पहाडबाट आएको मान्छे ! शहरमा मान्छे, गाडीको भीडभाड देख्दा एकदमै रमाइलो लागेको थियो। ड्युटीको पहिलो दिन खूब ‘इन्जोय’ गर्दै काम गरियो।
बाहिर जिल्लामा कति वर्ष ड्युटी गर्नुभयो ?
चार वर्षजति गरेँ।
तपाईंलाई राजधानीको कुन ठाउँमा काम गर्न असहज लाग्छ ?
म गौशालाबाट कमलपोखरी सरुवा भएको लगभग एक महिनाजति भयो। मलाई गौशाला, कलंकी, कोटेश्वर यी तीन ठाउँमा ड्युटी गर्दा दिक्कै लाग्छ। यी ठाउँमा बाटोको अवस्था बिजोक छ। ठूलठूला बस, ट्रक चल्ने ठाउँ भएकाले सवारी साधनको चापलाई नियन्त्रण गर्नै धौधौ हुन्छ।
तपाईंको विचारमा के भइदिए सडकको अवस्था सुध्रिन्थ्यो होला ?
बाटो खनेर महिनौँसम्म लथालिंग अवस्थामा छोडिदिन्छन्। भोलि गर्छु भनेर टार्छन्। यता हामी ट्राफिक, सवारी चालक, पैदलयात्रु सबैलाई आपत् पर्छ। भत्काएको सडक समयमै बनाउनु नि ! समयमै काम गर्ने हो भने सडकको अवस्था राम्रै हुन्थ्यो। हामीलाई पनि सवारी साधन सुचारु गर्न धेरै सहज हुन्थ्यो।
कति घण्टा ड्युटी गर्नुहुन्छ ?
१०/११ घण्टा जति ड्युटी हुन्छ।
ट्राफिक भएपछि बिर्सिन नसकेको कुनै घटना छ कि ?
२०६७ सालतिरको कुरा हो। होलीको दिन थियो। मेरो ड्युटी महाराजगञ्जमा परेको थियो। एउटा बाइकमा तीन जना केटा हुइँकेर आइरहेका थिए। मैले उनीहरूलाई रोक्ने प्रयास गरेँ। तर, उनीहरूले उल्टो स्पिडमा बाइक हाँकेँ।
टिचिङ अस्पतालअगाडि एउटा कार रोकिराखेको थियो। उनीहरू त्यो कारमा ड्याम्मै ठोक्किनपुगे। ती तीनै जना फिल्मी स्टाइलले कहाँ माथि उडेर पछारिए। दुई जनाको एउटा पनि दाँत बाँकी रहेन। एक जना चाहिँ नराम्रोसँग घाइते भयो। यो घटना कहिल्यै बिर्सिन सक्दिनँ।
अहिले पनि सवारी साधनले जथाभावी हर्न बजाउँछन् कि बजाउँदैनन् ?
रिङरोडभित्र बाइक चलाउनेहरूले अलि–अलि बजाएको सुनिन्छ। नत्र त ‘इमर्जेन्सी’ बाहेक खासै बजाउँदैनन्। पहिलेभन्दा अहिलेका नागरिक सभ्य र सचेत भएका छन्।
‘नो हर्न’ सिस्टम लागू भएको कति समय भयो ?
एक वर्षजति हुन लाग्यो।
पहिले जथाभावी हर्न बजाउँदा के हुन्थ्यो ?
यसले सबैलाई ‘डिस्टर्ब’ हुन्थ्यो। पैदलयात्रु आफ्ने तालमा हिँडिराखेका हुन्छन्, एक्कासि चर्को आवाजमा जथाभावी हर्न बजाउँदा तर्सिन्छन्। ध्वनि प्रदूषण अत्यधिक थियो। बसहरूले पनि ठूलो पाइप हालेर कानै खाने गरी हर्न बजाउँथे। झन् हामी त सडकको बीचमा बस्नुपर्छ। चारैतिरबाट टर्चर भएजस्तो फिल हुन्थ्यो। तर, अहिले त एकदम आनन्द छ।
सार्वजनिक बिदामा त ट्राफिकलाई फुर्सदै हुन्छ होला नि ?
अन्य दिनमा भन्दा सार्वजनिक बिदाको दिनमा केही हदसम्म सवारी चाप कम हुन्छ। तैपनि, हामीलाई त के फुसर्द हुनु र ? ड्युटीमा त जसरी पनि खटिनैपर्छ।
फुर्सदमा के गर्नुहुन्छ ?
परिवारलाई समय दिन्छु। उनीहरूसँग घुमघाम गर्न गइन्छ।
घुमघाम गर्न कुन ठाउँ जानुहुन्छ ?
म्युजियम, चिडियाखाना, भक्तपुर, साँगा शिवमन्दिर आदि ठाउँतिर गइन्छ।
परिवारमा कति जना हुनुहुन्छ ?
बुवाआमा, भाइ, श्रीमती र छोराछोरी गरेर हामी सात जना छौँ।
आफ्नो कामको आनन्द लाग्ने पक्ष के हो ?
हामी ट्राफिकको काम भनेकै सवारी साधनलाई सुचारु गराउनु हो। देशको सेवामा खटिन पाइएको छ। यसैमा आनन्द लाग्छ।
प्रस्तुतिः रचना श्रेष्ठ
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)