बागलुङका दुई गाउँबीच खानेपानीको विवाद, काटियो पन्ध्र सय मिटर पाइप
बागलुङ : बागलुङ नगरपालिका ४ र ५ को सिमाना भएर बग्ने पांग्रेखोलास्थित भुत्ते छहराको पानी विवाद चुलिएको छ । कँडुले छापका करिब १ सय ९ र बान्द्रेका करिब १ दर्जन परिवारलाई खानेपानी आपुर्तिका लागि पाइप गाडिएपछि फेदीका बासिन्दाले विरोध गर्दै आएका छन् ।
फेदीका बासिन्दाले परापूर्वकालदेखि सिँचाईमा प्रयोग गर्दे आएको पानी अन्यत्र लैजान नहुने अडान राखेका छन् । छाप र बान्द्रेका स्थानीयले भने आफुहरु एउटै वडाका बासिन्दा भएकाले पहिलेदेखि प्रयोग गर्दै आएको पानी उपभोग गर्न पाउनुपर्ने जिकिर गरेका छन् ।
विवाद चुलिएपछि बागलुङ नगरपालिकाको न्यायिक समितिको रोहवरमा छलफल भएको छ । छलफलपछि पनि विवाद नरोकिँदा खानेपानीका लागि शुक्रवार गाडिएको १५ सय मिटर पाइप त्यही राति टुक्रा टुक्रा पारेर काटिएको छ ।
पाइप काटिएपछि विवादले झन् उग्ररुप लिन थालेको हो । गाडिएको पाइप फेदीका स्थानियले रातारात टुक्रा पारेर अमानवीय व्यवहार देखाएको खानेपानी उपभोक्ता समिति कुडुलेका अध्यक्ष विवेक हमालले बताए । फेदीका बासिन्दाले भने पहिलेदेखि प्रयोग गर्दै आएको पानी अन्यत्र लैजादा अपुग हुने भएकाले अरुलाई प्रयोग दिन नसकिने अडान लिएका छन् ।
लामो समयदेखिको विवाद समाधान गर्न गठित समितिले तत्कालका लागि खोलाबाट २५ एमएमको पाइपबाट छापामा र १६ एमएमको पाइपबाट बान्द्रेमा खानेपानी लैजाने निर्णय गरेको थियो । विवाद समाधानका लागि वडा नम्वर ४ का अध्यक्ष धुव्रवहादुर केसीको संयोजकत्वमा भएको समितिले प्रयास गरिरहेको छ ।
खानेपानीको समस्या भएको स्थानमा पुर्याउने नगरपालिकाको कर्तव्य भएकाले नगरपालीकाले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने बागलुङ नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक सुरेन्द्र खड्काले बताए ।
‘हाम्रो पहिलो प्राथमिकता पिउने पानी अभाव भएका ठाउँमा पुर्याउने हो,’ संयोजक खड्काले भने, ‘मानवीय हिसाबले सोच्नुपर्छ, पिउने पानी भन्दा सिँचाई कुनै पनि हिसाबले प्राथमिकतामा पर्दैन । आपसी छलफल र समन्वयबाट व्यवस्थापन गर्न जरुरी छ ।’