सरकार गठनमा ‘फोरम निर्णायक’

सरकार गठनमा ‘फोरम निर्णायक’

काठमाडौं : वाम गठबन्धनले दुईतिहाइनजिक बहुमत पाए पनि सत्तारोहणमा संघीय फोरम निर्णायक देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १६ सांसद रहेको यही पार्टी देखाउँदै एक-अर्कालाई दबाबमा राख्न खोजिरहेका छन् । ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा चरणबद्ध कुराकानी गरेको बालकोट र फोरम दुवै स्रोतले पुष्टि गरे । ओलीनिकट नेताहरूले भने संसद्मा नवनिर्वाचित पाँच राष्ट्रिय पार्टीमध्ये जोकसैसँग छलफल हुनु स्वाभाविक रहेको भन्दै ओली-यादव भेटको बचाउ गरे ।

‘ओली र यादवको शनिबारयता तीनपल्ट कुरा भइसक्यो, प्रचण्डले आलोपालो प्रधानमन्त्री मागेपछि उहाँ असन्तुष्ट बन्नुभएको छ,’ स्रोतले भन्यो, ‘सरकार त एमाले-माओवादीकै बन्ला तर दुवै पार्टीले फोरमलाई देखाएर एकअर्कालाई साइजमा राख्न खोजेका हुन् ।’ दाहालले केही दिनअघि चितवन पुगेर आलोपालो सत्तारोहणको सहमति खुलासा गरेका थिए । अनि एमालेले फोरमसँग मिलेर आफ्नो पार्टीलाई दबाबमा राख्न खोजेको पनि नवलपरासीको अर्को कार्यकर्ता भेटमा व्यक्त गरेका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १३७ सांसद संख्या पुर्‍याउनुपर्छ । एमालेको १२१ र फोरमको १६ जोड्दा ठ्याक्कै १३७ पुग्छ । बहुमत पुर्‍याउँन एक सीट मात्रै थपे पुग्छ । ओलीले माओवादी पक्षलाई यही संख्या देखाउँदै कार्यकारी पदमा आलोपालोसम्बन्धी अनावश्यक बखेडा गर्न नहुने, त्यसो गरिए विकल्प खोजिने चेतावनी दिएका छन् ।

यादवसँग उनको खुसामद त्यसैको नतिजा हो । ती नेताले आफूतिर एमाले-माओवादी नेताले रुचि देखाए भन्दैमा नहौसिन फोरम नेतालाई सुझाव पनि दिए । फोरमसँग तीन चरण कुरा गरेका ओलीले अर्को मधेसी दल राजपासँग भने सम्पर्क गरेका छैनन् । अब बन्ने संसद्मा राजपाको फोरमभन्दा एक सिट बढी अर्थात् १७ सांसद रहे पनि ओलीले ऊसँग सहकार्य गरे ‘इमेज बिग्रने’ भन्दै त्यो संख्यामा रुचि नदेखाएको उनका निकटस्थहरू बताउँछन् ।

उता, माओवादीले पनि चुनावी जितपछि एमालेबाट गठबन्धनको पूर्वसहमति लत्याउन खोजिएको भन्दै फोरमसहित, राजपा, कांग्रेससँग नयाँ सत्ता-समीकरणमा जान सक्ने चेतावनी दिएको छ । अध्यक्ष दाहालले ओली र आफूमध्ये प्रत्येकले एक-एक कार्यकारी पद सम्हाल्ने भद्र सहमति कार्यान्वयन गर्न सर्त तेस्र्याएका छन् । चितवनबाट दाहालले ओलीसँग टेलिफोन संवादका क्रममा बोलेको उद्धृत गर्दै माओवादीका एक उच्च नेताले भने, ‘एमाले नभएको भए माओवादीको यत्रो सिट आउँदैनथ्यो भनी अपमान गर्न पाइन्न, एकता गर्ने हो भने एकताकै स्पिरिटमा जानुपर्छ ।’ एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष नै संसदीय दलको नेता बन्ने, संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने भनी दिएको अभिव्यक्तिका कारण दुवै दलमा अविश्वास पैदा भएको थियो ।

माओवादीमा पनि वर्षमान पुनलगायत दोस्रो तहका नेताहरू एमालेलाई धेरै विश्वास गर्न नहुने, कांग्रेससँगको सहकार्य तोड्न नहुने मत राख्छन् । एमालेले बहुमत देखाउन फोरमसँग मिले पुग्छ । माओवादीले भने कांग्रेसका ६३, आफ्ना ५३, राजपाका १७ र फोरमका १६ गरी १४९ सिटसंख्या पुर्‍याउनुपर्ने हुन्छ । अध्यक्ष दाहालले यसअघि नै आफूलाई कांग्रेसबाट यही अंकगणितसहित प्रधानमन्त्री बन्न अफर आएको पनि खुलासा गरिसकेका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १३७ सांसद संख्या पुर्‍याउनुपर्छ । एमालेको १२१ र फोरमको १६ जोड्दा ठ्याक्कै बहुमत अर्थात् १३७ पुग्छ । कथं एमाले-माओवादी दूरी बढे ओली दोस्रो विकल्पका लागि आफूलाई तयार पार्दै छन्।

एमाले र माओवादीबीच सरकार गठन र पार्टी एकताको विषयमा मतभेद गहिरिँदै जाँदा फोरम भने निर्णायक भूमिका खेल्ने समय कुरिरहेको छ । पार्टी मुख्यालयमा अन्नपूर्णसँग यादवले एमालेसँग चरण-चरणमा कुराकानी भइरहेको पुष्टि गरे । ‘एमालेसँग कुरा नहुने होइन, भइरहेको हो । हाम्रा केही मुद्दा छन्, त्यसलाई सम्बोधन गर्न एमाले तयार हुनुपर्छ,’ यादवले भने, ‘एमाले खुलस्त भएर आओस्, हामी हात मिलाउन तयार छौं ।’

ओलीसँग बालकोटमा सोमबार बिहान परामर्श गरेका एमाले उपमहासचिव विष्णु पौडेलले एमाले-माओवादी सहकार्यमा आशंका नगर्न आग्रह गरे । शीर्ष तहमा समान धारणा रहेकाले अरूले बोलेका कुराले अर्थ नराख्ने उनले तर्क गरे । तर, शीर्ष तहबाटै दाहालको ‘आलोपालो समझदारी’ बारे खुलासाचाहिँ के हो भन्ने जिज्ञासामा उनले प्रस्ट जवाफ दिएनन् । ‘मलाई अरू कुरा थाहा भएन, यति मात्रै थाहा छ, पार्टी एकता भएरै छाड्छ । जनताले अनुमोदन गरेको साझा घोषणापत्रका आधारमा स्थिर सरकार बनेरै छाड्छ,’ उनले भने।

पार्टी एकता अभियानका अर्का उत्प्रेरक माओवादी नेता जनार्दन शर्मा फोरमसँग छलफल हुनु अनौठो नभएको भन्दै एमाले-माओवादी एकतालाई त्यसले असर नपार्ने दाबी गर्छन् । उनले अब एकताको खाकामा टुंगो लाग्न मात्रै बाँकी रहेको भन्दै आशंका नगर्न आग्रह गरे । ‘पार्टी एकता गर्ने कि नगर्ने भन्नेमा छलफल गर्नुपर्ने अवस्था छैन, कसरी गर्ने भन्ने खाकामा दुवै तर्फका विचार आइरहेको हो, एकता संयोजन समितिले त्यसको निष्कर्ष निकाल्ने तयारी गर्दै छ’, जनार्दन शर्माले भने, ‘फोरमसँग कुरा हुनु अनौठो होइन तर सरकार एमाले-माओवादीकै बन्ने हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.