र्इपीएलको प्लेअफमा पुग्ने तीन टोलीको टुंगो लाग्यो
काठमाडौं : एभरेष्ट प्रिमियर लिगको मंगलबारको खेलमा भैरहवा ग्लाडिएटर्सले चितवन टाएगर्सलाई ६ विकेटले हराएको छ । समूह चरणको अन्तिम खेलमा भैरहवाले अंक तालिकाको पुच्छारमा रहेको चितवनलाई हराउँदै ८ अंकसहित प्लेअफको यात्रा तय गरेको हो । पाँच खेलमा एक मात्रै जित निकालेको चितवन भने पुच्छारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
भैहरवाले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङमा उत्रिएको चितवनले राम्रो स्कोर खडा गर्न सकेन । २० ओभरमा ९ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । कप्तान दिपेन्द्र ऐरी र योगेन्द्र कार्कीले १५-१५ रन बनाउनुबाहेक अन्यले खासै योगदान गर्न सकेनन् । चितवनलाई सस्तैमा समेट्ने क्रममा शरद भेषवाकरले ३ विकेट लिए ।
८८ रनको समान्य लक्ष्य पछ्याएको भैरहवाले १८.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । भैरहवाका लागि पुनित मिश्रले सर्वाधिक ३० रन बनाए भने रोहित पौडेलले २० रन बनाए । चितवनका लागि दिपेन्द्र ऐरी र साहब आलमले भैरहवाको २-२ विकेट लिए ।
समूह चरणको अन्तिम एक खेल बाँकी रहँदा प्रतियोगिताको प्लेअफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ। समूह चरणका सबै खेल जित्दै विराटनगर वारियर्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ भने ४ अंकका सात तालिकाको तेस्रो स्थानमा रहेको पोखरा राइनोजले पनि प्लेअफमा स्थान पाउने पक्का भएको छ । समान २-२ अंकसहित क्रमश तालिकाको चौथो, पाचौं र छैटौं स्थानमा ललितपुर प्याट्रियट्स, काठमाडौं किंग्स ११ र चितवन टाइगर्स रहेका छन् । यी मध्ये चितवन प्रतियोगिताबाट बाहिरी सकेको छ भने अन्य दुई टोली मध्ये एकले प्लेअफमा स्थान पाउनेछ । काठमाडौं र चितवनले समूह चरणका खेल खेलिसकेकमा छन् भने लतितपुरले एक खेल्न बाँकी रहेको छ ।
आजै हुने पोखरा राइनोज र ललितपुर प्याट्रियट्सको खेलमा ललितपुरले जितेमा ललितपुर सहजै प्लेअफमा पुग्नेछ । पोखराले जितेमा रनरेटका आधारमाललितपुर र काडमाडौं मध्ये एक टोली प्लेअफमा पुग्नेछ ।