इपिएल क्रिकेट: ललितपुरसँग पोखरा ६ विकेटले पराजित
काठमाडौँ : एभरेस्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई हराएको छ ।
पहिलो ब्याटिङमा उत्रेर पोखराले बनाएको १३२ रनको लक्ष्य ललितपुरले ४ विकेट गुमाउँदै अन्तिम बलमा भेटेको हो । पहिले ब्याटिङमा उत्रेर ५ विकेट गुमाउँदै पोखराले १ सय ३२ रन बनाउन सकेको थियो ।
पोखराका लागि ओपनर सुनिल धमलाले नटआउट ७० रनको गतिलो पारी खेलेका थिए । त्यसपछि राजेश पुलामी मगरले ३२ बलमा ३२ रन जोड्न सके । बलिङतर्फ ललितपुरका दिनेश भण्डारी, ललित राजवंशी, रसिद खान र सन्दीप लामिछानेले समान एक एक विकेट लिन सके ।
पोखराले दिएको १३२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा थालेको ललितपुरले ४ विकेट गुमाउँदै अन्तिम बलमा जित निकालेको हो ।
ललितपुरका लागि ओपनर जयकिशन कोल्सावाला र शंकर रानाले ८४ रनको गतिलो पारी खेले । जितको आधार खडा गर्दै जयकिशनले ५६ रन बनाए भने शंकर रानाले ३५ रन जोड्दै पभेलियन फर्किए ।
त्यसैगरी कप्तान ज्ञानेन्द्र मल्लको नाममा अविजित २७ रन रह्यो । उता पोखराका इश्रार उल्लाहले २ विकेट लिन सके । त्यसैगरी शक्ति गौचन र सुसन भारीको नाममा १-१ विकेट रह्यो ।
ललितपुरसँग हारे पनि पोखरा समूह चरणबाट शीर्ष चारमा अट्दै एलिमिनेटरको लागि छनौट हुन सकेको छ । ललितपुर पनि एलिमिनेटरका लागि छनौट भएको छ।
अन्य २ टिमको टुंगो भोलि लाग्ने भएको छ । भोलि हुने क्वालिफायरमा भिड्ने विराटनगर र भैरहवाको विजेतामध्ये एकले एलिमिनेटरको लागि टिकट पक्का गर्नेछन् ।