मिठाई बेच्न बाल मजदुर प्रयोग
विराटनगर : केन्डी हवाई मिठाई व्यवसायीले बालबालिकालाई शारीरिक श्रममा प्रयोग गरेको पाइएको छ। रौतहटका व्यापारीले केन्डी बिक्रीवितरण गर्न बालबालिकालाई प्रयोग गरेका हुन्। व्यापारीले सुनसरीको इटहरीस्थित बसपार्कमा भाडाको कोठामा केन्डी बनाई बालबालिकालाई बेच्न लगाउने गरेको खुलेको छ।
१४ वर्षमुनिका बालबालिकालाई केन्डी बनाउनेदेखि बिक्री गर्न विभिन्न बजारमा बेच्न पठाउने गरेको पाइएको छ। रौतहटका विनोद भगतले १४ वर्ष नपुगेका १० जनाभन्दा बढी पढ्ने उमेरका बालबालिकालाई मासिक चार हजारदेखि ६ हजारसम्म पारि श्रमिक दिएर शीतलहरको समयमा पनि बिहानदेखि बेलुका केन्डी बिक्री गर्न पठाउँछन्।
बालबालिकालाई श्रममा लगाउन नपाउने कानुन छ। १४ वर्ष नाघेका बालबालिकालाई जोखिम नपर्ने गरी सरकारले तोकेको पारि श्रमिक दिएर मात्र काम लगाउन सकिने प्रावधान छ। तर, मिठाई बेच्ने काममा विराटनगर, काँकडभिट्टा, धरान, कोसी ब्यारेजलगायत ग्रामीण भेगमा बालबालिका नै खटिने गरेका छन्।
भगतले कोठा लिएर व्यवसाय गर्ने गरेको सुनाउँदै भने, ‘मैले त उनीहरूको आर्थिक समस्यालाई हेरेर काम दिएको हुँ।' खान र लगाउने नपुग्ने भएकाले उनीहरू काममा खटिएको उनको दाबी छ।
डेढ वर्षयता मिठाई व्यवसाय गर्दै आएको उनले सुनाए। बालबालिकालाई खाने र बस्ने व्यवस्था गरी तलब दिएर काममा लगाएको उनले बताए। उनले रौतहतबाट आर्थिक समस्या भएका परिवारका बालबालिका अभिभावको सहमतिमा ल्याएको दाबी गरे।
बालबालिकाले केन्डी प्रतिप्याकेट ३० रुपैयाँमा बेच्ने गरेका छन्। उनीहरू बिहान इटहरीबाट बसमा चढेर विभिन्न स्थान पुग्छन्। बेलुका ८ बजे इटहरी फर्केर आउने गरेका छन्।
सानो व्यवसाय गरे पनि स्थानीयस्तरमा घरेलु तथा साना उद्योगमा दर्ता गर्नुपर्ने प्रावधान छ। तर, उनले दर्तासमेत नगरी अवैध रूपमा व्यवसाय गरी बालबालिकालाई श्रममा लगाए पनि सरोकारवालाको ध्यान जान सकेको छैन।
रौतहट पोखरियाका १२ वर्षीय सन्दीपकुमार यादवले बिहान निस्केर बेलुका फर्किने गरेको सुनाए। भने, ‘चिसो भए पनि केन्डी बेच्न जानुपरेको छ।' घरको अवस्था कमजोर भएकाले काम गर्न आएको सुनाउँदे उनले मासिक ६ हजार रुपैयाँ कमाउने गरेको बताए।
बाल हेल्प लाइन विराटनगरका संयोजक वासु अधिकारीले १४ वर्ष नपुगेका बालबालिकालाई कुनै किसिमको श्रममा लगाउन नपाइने कानुन रहेको जानकारी दिए। १४ वर्ष पार गरेकालाई सरकारले निर्धारण गरेको पारि श्रमिक दिएर काममा लगाउने कानुनी प्रावधान रहेको उनले बताए। तर, केन्डी बेच्ने बालबालिकाले जोखिमपूर्ण काम गर्ने गरेका छन्।