रानीपोखरी पुनर्निर्माण
काठमाडौंको रानीपोखरीको पुनर्निर्माणमा विवाद देखिएको छ। यसले सम्पदा संरक्षणका विषयमा सम्बन्धित निकाय गम्भीर नभएको प्रस्ट हुन्छ। अघिल्लो वर्ष माघ १० मै पुनर्निर्माण प्राधिकरणले थालेको रानीपोखरीको पुनर्निर्माणको जिम्मा अहिले काठमाडौं महानगरपालिकाले लिएको छ। भत्केको पौने तीन वर्ष हुँदासम्म पनि काम नथालिएको रानीपोखरीको वरपर पछिल्लो समय पुनर्निर्माण सुरु गर्ने भन्दै महानगरपालिकाले रड र कंक्रिटयुक्त पर्खाल लगाएपछि विवाद सार्वजनिक भएको हो। यस विषयलाई लिएर महानगरपालिकाका मेयर र उपमेयरका फरक धारणा बाहिर आएका छन्। जनप्रतिनिधि यसरी विभाजित हुनुले राम्रो सन्देश दिँदैन।
रानीपोखरी, बालगोपालेश्वर मन्दिर, प्रताप मल्ल र हात्तीका सालिक हाम्रा धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदा हुन्। यीमध्ये भत्किएको बालगोपालेश्वर मन्दिर पुरातत्व विभागको सल्लाहबमोजिम सुर्की, चुना, रातो इँटा नै प्रयोग गरेर पुरानै शैलीमा बनाइँदै छ। अहिलेको मूल विवाद पोखरी कसरी बनाउने भन्ने हो। पोखरी भन्नेबित्तिकै त्यसवरपर लगाइने पर्खाल र पोखरीमा पानी राख्न बनाइने संरचना समेटिन्छन्। सम्पदा पुनर्निर्माण या निर्माणमा कुनै खास जाति, सम्प्रदाय, समुदाय, धर्म, देश, कालखण्डका अनेक सन्दर्भ जोडिएका हुन्छन्। त्यसैले पुरानो सम्पदाको हत्तपत्त नष्ट गरिनु उचित होइन। केहीगरी प्राकृतिक प्रकोप या अन्य कारण त्यस्ता संरचना भत्किएमा तिनलाई पुरानो र मौलिक मानिएको स्वरूपमा बनाइन्छ।
३५० वर्षअघि बनेको रानीपोखरीको मौलिक स्वरूप हामीले देखेको जस्तो स्वरूपमा नरहेको पुरातत्वविद्हरूले बताएका छन्। राणा प्रधानमन्त्री जंगबहादुरले युरोपको प्रभावमा परेर गुम्बज शैलीमा बालगोपालेश्वरको मन्दिर बनाएका हुन्। त्यसको अर्थ जंगबहादुरले आफ्नै इच्छामा सम्पदाको पुनर्निर्माण गराएको बुझिन्छ। तर अहिलेको पुस्ताले गुम्बज शैलीकै रानीपोखरी देखेकाले हामीलाई त्यो नै असली रूप लाग्छ। अर्को कुरा, मुलुकले सम्पदासम्बन्धी मार्गनिर्देशक सिद्धान्त नबनाएका कारण पनि हामी यस्ता खालका संरचना निर्माण गर्दा विवाद र अल्मलमा परेका हौं। तर रानीपोखरीको विवादले अब सातै प्रदेशभित्र बन्ने भवन, संरचना, सबै खालका पुनर्निर्माणका विषयलाई पनि आकर्षित गर्न सके त्यसले नेपाली मौलिक ढाँचाको निर्माण र पुनर्निर्माणलाई सहयोग गर्नेछ।
यो विवादलाई आधार मानेर अब सबै तहका सरकारले पुरातात्विक र ऐतिहासिक भवन, सम्पदा, मन्दिर, ताल, पधेंरा, चोक र चौर बनाउँदा हाम्रा परम्परागत शैली पनि ख्याल गर्नुपर्छ। सम्भव भए सम्पदा संरक्षणका लागि सरकारले नै एउटा मार्गनिर्देशन तयार गर्नुपर्छ। पुनर्निर्माणमा सधैं इतिहासमा प्रयोग गरिएजस्तै निर्माण सामग्री प्रयोग गर्न सम्भव नहुन सक्छ। त्यसमा आधुनिकीकरण गर्न डराउनु हुँदैन, तर मौलिकता नै मासिने गरी गरिने निर्माण स्वीकार्य हुँदैन। कतिपय ठाउँमा सम्पदाको महŒव बुझ्न नसक्दा ढलेका ऐतिहासिक र धार्मिक मन्दिरका ठाउँमा कंक्रिट र रडको ढिस्को बनाएर त्यसमा आधुनिक रङ पोतिएका छन्। यस्तो गरिनु सम्पदाको विनाश हो।
रानीपोखरी पुनर्निर्माणको विवाद चर्केपछि बुधबार काठमाडौं महानगरपालिकाका प्रमुखले पुरातत्व विभाग र संरक्षणमा ज्ञान भएका विज्ञसँग बसेर यस विषयको टुंगो लगाउने बताएका छन्। यो जरुरी पनि छ। यी विवादका बीच पनि मौलिक रूपमा रानीपोखरी पुनर्निर्माण गरी काठमाडौं महानगरपालिकाले सकारात्मक सन्देश प्रवाह गर्न सक्नुपर्छ।