कलेज, क्याफे र स्मोक
केही दिनयता सहरको मौसममा बदलाव देखिन थालेको छ । यो बदलाव यस्तो हो, जसले मानिसको जीवनशैलीमै फेरबदल ल्याउँछ । बाक्ला ज्याकेट र मफलर गुथेर चिया वा कफी पिइरहेका मानिसलाई तपाईं सहरका क्याफेतिर देख्न सक्नु हुनेछ । सहरमा चिसो बढेसँगै क्याफेहरूमा मान्छे बाक्लिन थालेका छन् । बिहानै त कलेजवरपरका क्याफेमा बस्ने ठाउँसम्म हुँदैन । कलेजवरपरका क्याफेहरूमा हातमा चुरोटको ठुटो लिएर चिया पिउँदै गरेका विद्यार्थीको ठूलो हूल हरेक बिहान देखिन्छ । आउनुस्, हामी सहरका केही क्याफे अड्डाहरूतिर जाऔं ।
क्याफेमा ‘स्मोक’ गर्दै विद्यार्थी बेपर्वाह हल्ला गर्छन् । चुरोटको धुवाँमा ‘जादु’ खोज्छन् । एक खिल्ली चुरोट कसले छिटो सक्ने भनेर विद्यार्थीबीच प्रतिस्पर्धा नै चल्छ । सास नफेरी लामो समयसम्म धुवाँ तानिरहन्छन् । चुरोटको धुवाँबाट विभिन्न दृश्य बनाउँछन् । चुरोटमाथि थरीथरीका प्रयोग गर्छन् । प्लस टु, ब्याचलर र मास्टर्स पढ्दै गरेका विद्यार्थीको यो व्यवहार कलेज छेउछाउका क्याफेमा प्रशस्तै देख्न पाइन्छ ।
बिहानको समयमा प्रदर्शनीमार्गस्थित आरआर कलेज वरपरका चियापसलमा बस्ने ठाउँ हुँदैन । कोही क्याफेभित्र चुरोट तानिरहेका हुन्छन्, कोही सडकपेटीमै बसेर चिया पिइरहेका । विश्वभाषा, आरआर, शंकरदेव, ल क्याम्पसका विद्यार्थीको जम्मा हुने ठाउँ नै प्रदर्शनीमार्ग, अद्वेतमार्ग र भृकुटीमण्डप हो । त्यसैले पनि यो ‘एरिया’तिर कलेज समयमा क्याफेमा धेरैजसो विद्यार्थीकै बाहुल्य हुन्छ । कलेजको क्यान्टिनमा बसेर ‘स्मोक’ गर्दा सबैले थाहा पाउने भएकाले उनीहरू कलेज बाहिरका क्याफेतिर बरालिन्छन् ।
गत आइतबार । बिहानको ८ बज्नै लागेको छ । कलेजभित्र पस्ने र बाहिरिनेहरू उल्लेख्य छन् । बाहिरिनेहरू कोही ‘मोडेल अस्पताल’ अगाडिको क्याफेतिर पस्छन्, कोही भृकुटीमण्डपतिर हिँड्छन् । कोहीकोही रेडक्रस भत्काएर छाडिएको खाली ठाउँमै बसेर चिया÷चुरोट पिउन थाल्छन् । वरपर देखिएकाहरू प्रायः विद्यार्थी उमेरकै छन् । कसैकसैले कलेज ड्रेस लगाएका छन् । आरआर कलेजको गेटमा बसेर वरपर नियाल्ने हो भने बिहानको पारिलो घाममा ठाउँ-ठाउँमा झुरुप्प भएर चिया चुरोट खाइरहेका विद्यार्थीको समूह देख्न सकिन्छ ।
क्याफेमा ‘स्मोक’ गर्दै विद्यार्थी बेपर्वाह हल्ला गर्छन् । चुरोटको धुवाँमा ‘जादु’ खोज्छन् । कसले छिटो चुरोट सक्ने भनेर विद्यार्थीबीच प्रतिस्पर्धा नै चल्छ । सास नफेरी उनीहरू लामो समयसम्म धुवाँ तानिरहन्छन् ।
क्याफेमा बसेर चुरोट पिउँदै गरेकाहरू कोही मास्टरको कुरा काटिरहेका छन्, कोही पढाइ नभएको गुनासो पोख्छन्, कोही जिन्दगीको कहानी सुनाउँछन् ।
कलेज पढ्नेहरूलाई मध्यनजर गरेरै होला, यस क्षेत्रमा क्याफेहरू पनि धेरै खोलिएका छन् ।
महेन्द्ररत्न कलेज, ताहाचल छेउछाउका क्याफेमा पनि बिहानको समयमा विद्यार्थीको घुँइचो लाग्ने गर्छ । क्याफेबाट निस्किएको चुरोटको गन्ध बाहिर सडकसम्मै आइपुग्छ (बेलाबेला चियाको वास्ना पनि आउँछ) । क्याफेमा चियाएर हेर्ने हो भने चुरोट पिउने प्रायः केटाहरू नै देखिन्छन् । बिहान भीडभाड हुने यी क्याफे दिउँसो खाली हुन्छन्, सायद विद्यार्थी नहुने भएकाले ।
विद्यार्थीको कब्जामा क्याफे
कलेज छेउछाउका क्याफेमा विद्यार्थी भरिनु नौलो कुरा भएन । उसैपनि चिया पिउँदै विद्यार्थी आफ्ना साथीसँग कलेज र आफ्नै जिन्दगीका सेक्रेटहरू ‘सेयर’ गर्न मन पराउँछन् । कलेजमै टाँसिएका (धेरै नजिकका) क्याफेचाहिँ विद्यार्थीको रोजाइमा उति पर्दैनन् ।
आरआर कलेजमा स्नातक तह दोस्रो वर्ष पढ्दै गरेका मनोज खड्का (नाम परिवर्तन) भन्छन्, ‘छेउमै बसेर चुरोट खायो भने विजेता भइहाल्छन् नि ! साथीहरूले देख्छन् । सरहरूले थाहा पाउँछन् ।’ उनी चुरोट पिउनुप¥यो भने कलेजपछाडि अद्वैतमार्गतिर पुग्छन् । तन्नेरीले उसै पनि यो मार्गलाई ‘झ्यास गल्ली’ नामकरण गरिदिएका छन् । खड्का भन्छन्, ‘चुरोट खाने, काम नभई दिउँसभरि गफ गरेर बस्नेहरूको जक्सन भएकाले झ्यास गल्ली भनिएको होला ।’ खाजाघर र पुस्तक-पसलले भरिएको यो मार्ग आरआर, शंकरदेव, ल क्याम्पसका विद्यार्थीलाई चिया चुरोट खाने ‘सेक्रेट एरिया’ भएको छ ।
कलंकी, बानेश्वर, चाबेल, कालीमाटी, चाबेल, तीनकुनेलगायत ठाउँमा विद्यार्थीको संख्या बाक्लो हुनेगर्छ । यो क्षेत्रमा प्लस टु कलेज पनि धेरै छन् । बिहानै कलेज छिर्नुपहिले र बिदा भएपछि उनीहरू क्याफे छिर्छन् । त्यहाँ उनीहरूको पहिलो रोजाइ हुन्छ- चुरोट । बानेश्वरका गल्लीमा बिहानको समयमा डुल्ने हो भने कलेज ड्रेसमा सजिएका युवायुवती चिया÷चुरोटमा रमाइरहेका प्रशस्तै भेट्न सकिन्छ।
तीनकुनेमा लामो समयदेखि खाजा घर चलाएर बसेका ‘भोजपुरे खाजा घर’ का पाहाङदोर्ची शेर्पा भन्छन्, ‘कलेजका विद्यार्थी बिहानै चिचु (चिया-चुरोट) भन्दै आइपुग्छन् । कहिलेकाहीँ त नखानु भन्दै सम्झाउँछु, मान्दैनन् ।’ चुरोट नदिँदा चिया पनि नबिक्ने बताउँछन् उनी । कलेज ड्रेसमै यसरी चुरोट खान आउनेको संख्या अहिले झनै बढेको अनुमान लगाउँछन् उनी ।
पुरानो बानेश्वरस्थित आएसर कलेजबाट पाँच मिनेटको दूरीमा नाम नलेखिएको एउटा क्याफे छ । क्याफेहरू अरू पनि छन् । तर, आएसरका विद्यार्थीहरू प्रायः यही क्याफेमा देखिन्छन् । १७ वर्षपहिले खुलेको यस क्याफेमा बिहानको समय विद्यार्थी चिया÷चुरोट खान आइपुग्छन् । गत सोमबार बिहान साढे ९ बजेतिर यसै क्याफेमा पुग्दा चार÷पाँचजना विद्यार्थी चुरोट तान्दै कलेजकै कुरा गरिरहेका थिए । नजिकिँदै गरेको जाँचले उनीहरूलाई तनाव दिएको बुझिन्थ्यो । दुई युवती र एक युवक चुरोट तानिरहेका छन् । युवक एक खिल्ली चुरोट सकेर अर्काे माग्छन् । स्मोक गर्ने अरू पनि छन्, ती विद्यार्थी होइनन् । उनीहरू आफ्नै कामको कुरा गर्दैछन् । ‘घरमा खान पाइँदैन । खाएको थाहा पाए भने घरबाटै निकालिदिन्छन्,’ आएसर पढ्दै गरेकी प्रिया कार्की (नाम परिवर्तन) भन्छिन्, ‘कलेज पढ्न आउँदा क्याफेतिरमात्रै हो खान पाइने ।’ उनी दैनिक दुई÷तीन वटा चुरोट पिउँछिन् । बा÷आमाले थाहा नपाउने भएकाले कलेजमा मात्र पिउने गरेको उनले बताइन् ।
अन्य कलेजबाट स्मोक गर्न विद्यार्थी नआउने बताउँछिन् क्याफे चलाउँदै आएकी आनन्दी राई । भन्छिन्, ‘बिहान त विद्यार्थीले नै एक बट्टा चुरोट सक्छन् ।’
जाडो, गर्मी दुवै मौसममा चिया÷चुरोट उत्तिकै खपत हुने उनले बताइन् । बिहानको समयमा कलेज छेउछाउका क्याफेमा विद्यार्थीको भीड, चिया र सिग्रेट माग्नेहरू, खानेकुरामा असन्तुष्टि पोख्नेहरू, पैसाको हिसाब सोध्नेहरूको कोलाज हुन्छ ।
कलंकीका गल्लीतिर चहार्ने हो भने चुरोट पिउँदै गरेका विद्यार्थी पाइलैपिच्छे भेटिन्छन् । एउटा दृश्य हो, एड्मार्क कलेज छेउका क्याफेको । चोकबाट झन्डै पाँच मिनेटभित्र गएपछि पुगिन्छ एड्मार्क । विद्यार्थी हूलका हूल निस्किरहेका छन्, कलेज भर्खरै छुट्यो होला । कोहीकोही अलि पर रहेको क्याफेभित्र छिर्छन् । क्याफेमा पसेर चिया÷चुरोट तान्दै उनीहरू बेपर्वाह हल्ला गरिरहेका छन् । यो दृश्य गत शुक्रबारको हो । कलंकी चोकका अन्य क्याफेमा पनि ‘स्मोक’ गरिरहेका विद्यार्थी प्रशस्तै देख्न सकिन्छ ।
जताततै खोलिएका खाजाघरले विद्यार्थीलाई झनै सजिलो बनाइदिएको छ । उनीहरू आफूलाई सजिलो हुने ठाउँलाई जक्सन बनाउँछन् र बेलाबेला पुगिरहन्छन् । धेरैले वास्ता नगर्ने र एकान्तको क्याफेमा पुगेर उनीहरू स्मोक गर्छन् ।
चुरोटसँग जोडिएको डर
कलेज ड्रेसमै सजिएर क्याफेमा चुरोट पिउनेहरू आफ्नो लतबारेमा बोल्न मान्दैनन् । घरपरिवार, आफन्त, साथी, शिक्षकले थाहा पाउलान् भन्ने डर होला । उनीहरू मिल्ने साथीसँग क्याफेमा छिर्छन्, स्मोक गर्छन् र कलेजतिर लाग्छन् । सकेसम्म आफूले चुरोट खाएको कुरा कसैले थाहा नपाओस् भन्ने उनीहरूको चाहना हुन्छ । खड्का भन्छन्, ‘हाम्रोमा चुरोट खानुलाई नराम्रो नजरले हेरिन्छ । त्यसैले लुक्नुपर्ने बाध्यता छ । म आफँं लुक्छु, अरूको के कुरा !’
सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ ले भनेको छ, ‘कसैले पनि १८ वर्ष नपुगेको व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन ।’ त्यस्तै, सार्वजनिक स्थानमा बसेर अरूलाई असर पर्नेगरी धूमपान गर्न नपाइने कानुनी व्यवस्था छ । विद्यार्थीको मात्र कुरा होइन, हाम्रो देशमा यो नियम पालना भएको छैन भनेर बुझ्न बानेश्वरचोक एकपटक घुमे पुग्छ । यहाँका क्याफेमा १८ वर्ष नपुगेका विद्यार्थी र सार्वजनिक स्थानमा बसेर स्मोक गरिरहेकाहरू प्रशस्तै भेटिन्छन् ।
त्यस्तै, उच्च माध्यमिक शिक्षा परिषद्ले बनाएको आचारसंहितामा मदिरा, सुर्तीजन्य पदार्थ, गुड्खा, पानपराग वा अन्य कुनै पनि पदार्थ प्रयोग गर्न विद्यार्थीले पाउँदैन । हरेक क्षण प्लस टु का विद्यार्थी आफैंमाथि बनाएको नियमलाई धज्जी उडाइरहेको छन् ।
नियम जस्तोसुकै भए पनि कलेज छेउछाउका क्याफेमा विद्यार्थीको उपस्थिति बाक्लै हुने गरेको छ । उनीहरू कतिपय अवस्थामा साथीसँग चुरोट पिउनुलाई सांकेतिक अर्थमा भन्छन्, ‘सर्कल’भन्दा बाहिरकाले नबुझून् भनेर । पप हान्ने, सर्काे तान्ने, मुरली बजाउनेजस्ता शब्दहरूको व्यापक प्रयोग गर्छन् तन्नेरीहरू । कलेजका क्यान्टिनमा चुरोट बेचबिखन नगरिने र विद्यार्थीले पनि नखाने भएकाले यसलाई ‘नो स्मोकिङ जोन’ कै रूपमा लिइन्छ ।
मनोहरा उच्च माध्यमिक विद्यालय, सामाखुसीमा पढाइरहेका शिक्षक सतिशराज पौडेल भन्छन्, ‘कलेजभित्रै विद्यार्थीले स्मोक गर्दैनन् । बाहिर गएर खाएको त प्रायः देखिन्छ । कहिलेकाहीँ गाली पनि गर्छौं ।’ शिक्षक देखेपछि विद्यार्थी पिइरहेको चुरोट मिल्काउने, लुक्ने गरेको बताउँछन् उनी ।
चुरोटको गन्ध हटाउने ‘टेक्निक्स’ पनि तन्नेरीमा थरीथरीका हुन्छन् । स्मोक गर्ने गोप्य कुरा अरूले थाहा नपाउन् भनेर उनीहरू अनेक उपाय अपनाउँछन् । कोहीकोही चुरोट खाएपछि ल्वाङ÷सुकुमेल वा चुइगम खान्छन् । कार्की भन्छिन्, ‘चुइँगम खाएपछि सास गनाउँदैन । चुरोट खाएको हो भन्ने थाहा नै हुँदैन ।’
चुरोट-केही तथ्य
-विश्वभरिका कुल ‘स्मोकर’ मध्ये ४ भागको ३ भाग चिनियाँ छन्
- अल्कोहल र सुर्तीभन्दा म्यानरिजुना कम हानिकारक छ ।
-पहिलो पटक ‘एन्टिस्मोकिङ’ अभियान चलाउने व्यक्ति हिटलर थिए ।
-निकोटिन शब्द जिन निकोटबाट आएको थियो । उनले सन् १५६० मा उनले सुर्तीलाई पहिलो पटक फ्रान्समा परिचित गराएका थिए ।
- एउटा चुरोटमा झन्डै ४८ सय केमिकल मिसाइएको हुन्छ । त्यसमध्ये ६९ वटा केमिकललाई क्यान्सरको कारण मानिन्छ ।
- ‘एप्पल’ ग्याजेटको नजिकै बसेर स्मोक गर्दा त्यो बिग्रियो भने ‘वारेन्टी’को मान्यता हुँदैन ।
-फ्रायडले स्मोकको कारणले भएको ३० वटा क्यान्सरको अपरेसन गर्दासम्म चुरोट लिन छाडेका थिएनन् ।
चुरोटसँग जोडिएको अमेरिका
- प्रत्येक वर्ष पाँच जनामा एकको मृत्यु चुरोटको कारणले हुने गर्छ ।
- एउटा सामान्य ‘स्मोकर’ले वार्षिक १५ देखि ३३ सय डलर चुरोटमा खर्च गर्छ ।
- प्रत्येक दिन झन्डै चार हजार टिनेजर जिन्दगीमै पहिलो चुरोटको स्वाद लिन्छन् ।
- प्रत्येक वर्ष तीन सय ३३ विलियन डलर स्मोकिङमा खर्च गर्छ अमेरिकाले
- जोन अडाम्स (अमेरिकाका दोस्रो राष्ट्रपति) ले आठ वर्षको उमेरदेखि चुरोट पिउन थालेका थिए ।