जो मनले ‘फोटो’ खिच्छिन्
काठमाडौं : शोभाभगवती बस्ने १७ वर्षीया इनिमा महर्जन सुन्न र बोल्न सक्दिनन् । मुस्किलले जम्माजम्मी एक दर्जनमात्रै शब्द बोल्न सक्छिन् । त्यो पनि आवाज आउँदैन । सासमात्रै सुनिन्छ । एकापट्टिको कान ९५ प्रतिशत सुन्दिनन् । अर्को कान एक सय प्रतिशत बन्द छ । आवाज नै आवाजले भरिएको संसारमा जम्मा पाँच प्रतिशत आवाज बोकेर उनी बाँचिरहेकी छिन् । मात्र ओठको इसारा बुझ्छिन् इनिमा ।
इनिमा अरु शिशुझैं सामान्य अवस्थाबाटै हुर्किइन् । उनका आमाबा इनिमाले अरू बच्चाले झैं आफूहरूलाई तोते बोलीमा ‘आमा-पापा’ भन्नेछिन् भन्ने आशामा थिए । डेढ वर्ष बित्यो । तर, मिठो तोतेबोली मथुरा महर्जन र इन्द्रमान महर्जनले सुन्न पाएनन् । डेढ वर्षपछि इनिमालाई टिचिङ अस्पताल लगियो । छोरीको उपचार हुने विश्वास लिएर । तर, आमा-बा त्यतिबेला छाँगाबाट खसेजस्तै भए, जब डाक्टरले भने, ‘अब इनिमाले कहिल्यै पनि सुन्न र बोल्न सक्दिनन् ।’
छोरीको आवाज सुन्न ती दम्पतीले अनेक उपाए लगाए । ६ वर्षसम्म लगातार ‘स्पिचथेपारी’ गराए । अरू सबै क्रियाकलाप सामान्य व्यक्तिजस्तै । मात्र बोल्न र सुन्न नसक्ने । वर्षौंपछि बल्ल पहिलो शब्द बोलिन् इनिमाले, ‘आमा’ । हर्षले गह भरियो दम्पतीको । तर, सुधार अपेक्षाकृत भएन । जम्माजम्मी १० शब्द साउती मारेको भाषामा बोल्न सक्ने भइन् ।
इनिमालाई सांकेतिक भाषामा पढाइ हुने स्कुलमा भर्ना गर्न मथुरा र इन्द्रमानलाई मनै लागेन । आफ्नी छोरी सामान्य नै हो जस्तो लागिरह्यो । अरू साथीसँगै मोडर्न नेपाल एकेडेमी, डल्लुमा भर्ना गरिदिए । इनिमाको पढाइ अब्बल । गणित, विज्ञान र इङ्लिसमा राम्रो । कम्युप्टर साइन्समा झनै राम्रो । ७ कक्षामा त उनले गणित विषयमा ९७ प्रतिशत नम्बर ल्याइन् । स्कुलमा प्रत्येक अतिरिक्त क्रियाकलापमा उनी अब्बल थिइन् । सानैदेखि चित्र कोर्थिन् । उनका बालसखा शीताष्मा गुरुङ, सुरक्षा गुरुङ, सुस्मिता भुसाल, सोनिया, सीता तामाङ, सृष्टि महर्जन, रञ्जु तामाङ हुन् । उनीहरूसँगै इनिमाको बाल्यकाल बित्यो । सँगै खेले, सँगै हाँसे अनि सँगै रोए । उनीहरू आज पनि इनीमालाई साथ दिइरहेका छन् ।
उनी बोल्न र सुन्न सक्दिनन् । तर, महसुस गर्ने क्षमता छ । आफूजस्तै शान्त दृश्यलाई क्यामेराले होइन, पहिले मनले फोटो खिच्छिन् ।
इन्द्रमान र मथुराका लागि त्यो खुसीको दिन थियो । इनिमाले २०७३ सालको एसईई परीक्षामा ७९ प्रतिशत नम्बर ल्याइन् । स्कुल पठाउँदा सरले भनेको उनी सुन्दिनथिन् । बोर्डमा लेखेको र किताब पढेको भरमा उनीले त्यति नम्बर ल्याइन् ।
अब इनिमा ११ कक्षा पढ्ने भइन् । उनी विजेश्वरी सेकेन्डरी हाइयर स्कुलमा व्यवस्थापन विषय पढ्न थालिन् । नयाँ कलेज युनिफर्म लगाएर उनी कलेज जान्छिन् । हजुरआमा र आमाबुवा उनकै चिन्तामा हुन्थे हरबखत । तर, कलेज-घर कतै पनि उनले मायाको अभाव रहेन । शब्दको दोहोेरो संवाद हुँदैन । उनी ओठको इसारा बुझ्छिन् । मनका भावना बोलीमा व्यक्त गर्न सक्दिनन् । केही भन्नुप¥यो भने कापीमा लेख्छिन् । स्मरणशक्ति एकदमै राम्रो । कलेजमा सरले सिकाएको सबैभन्दा पहिले सिक्ने उनै हुन् । त्यसपछि अरू साथीलाई सिकाउँछिन् । तर, उनी बेलाबेला दुःखी हुन्थिन् । अनुहारमा अव्यक्त भाव छचल्किन्थ्यो । आँखाबाट बगाइदिन्थिइन् मनका छाल । ओठ थर्थराउँथ्यो तर बोली निस्कँदैनथ्यो । आँखाको भाषा बुझिदिने परिवार, आफन्त सधैं उनीसामु हुन्थे । तर, बेलाबेला उनी गहिरो उदासीमा डुब्थिन् । आमालाई इसारामै आफ्नोबारे जिज्ञासा राख्थिन् । आमा निरुत्तरित हुन्थिन्।
केही वर्षअघि इनिमाले नयाँ मोबाइल पाइन् । मोबाइल पाएपछि उनले एकोहोरो फोटोमात्रै खिच्न थालिन् । त्यही मोबाइलबाट अरूले फोटो खिच्दा नराम्रो आउने । इनिमाले खिच्दा बेग्लै आउने । इनिमाकी बहिनी सोनिमाले ती फोटा ध्यान दिएर हेरिन् र आमा-बालाई देखाइन् । इनिमाले भन्न नसकेको तर गर्न चाहेको काम फोटोग्राफी रहेछ भन्ने उनीहरूले पत्ता लगाए । फोटो खिच्न बोल्नु पर्दैन । सुन्नु पनि पर्दैन । सायद इनिमाले आफ्नो लक्ष्य मनमनै बनाइन्- फोटोग्राफर बन्ने । मथुरा भन्छिन्, ‘इनिमाका लागि नयाँ क्यामेरा किनिदियौं । क्यामेरा पाएको दिन इनिमाको अनुहार निकै उज्यालो थियो ।’
छोरीको लागि सवा दुई लाख खर्चिएर इन्द्रमानले क्यामेरा त ल्याइदिए । तर, अब फोटोग्राफी सिकाउने कसले ? अन्ततः त्यसको पनि समाधान भयो । तीन दशकदेखि फोटोग्राफी गरिरहेका ललितपुरका राजेन्द्र श्रेष्ठ इनिमाको फोटोग्राफर प्रशिक्षक बने । उनैले इनिमालाई फोटोग्राफीको ट्रेनिङ दिइरहेका छन् । राजेन्द्र भन्छन्, ‘मैले अहिलेसम्म फोटोग्राफी सिकाएका विद्यार्थीमध्ये इनिमाजस्तो कमै देखेको छु । इनिमाले एकपटक सिकाएको कहिल्यै भुल्दिनन् । अरुले कैयौं सर्ट खिचेर एउटा राम्रो फोटो निकाल्छन् । इनिमाको प्रत्येक सर्ट पहिलो र अन्तिम हुन्छ ।’
आजभोलि इनिमाको दैनिकी फेरिएको छ । पहिलेझैं उदासी छैन उनको आँखामा । बिहानै उठेर कलेज जान्छिन् । ११ बजे कलेजबाट फर्किएर ठूलो झोलामा क्यामेरा बोकी फोटो खिच्न निस्किन्छिन् । उनी मन लागेर काम गर्छिन् । छोटै अवधिमा उनले कैयन उत्कृष्ट फोटो खिचिसकेको बताउँछन् राजेन्द्र । भन्छन्, ‘अरूलाई मन्दिर खिच्न लगायो भने मन्दिरको गजुर नछुटाई खिचेर ल्याउँछन् । इनिमा मन्दिरमा स्थानीयले सुकाएको कपडा पनि खिचेर ल्याउँछिन् । त्यस्तो कुरामा जोकसैको ध्यानै पुग्दैन ।’
फोटो खिच्नु वस्तुलाई क्यामेरामा कैद गर्नु मात्रै होइन, वस्तुभित्रको महत्वपूर्ण ‘इस्यु’ चिन्न सक्नु महत्वपूर्ण हुने र त्यो जो कोहीले नसक्ने बताउँछन् राजेन्द्र । छोटै समयमा इनिमाले गरेको प्रगतिप्रति राजेन्द्र निकै आशावादी छन् । भन्छन्, ‘अरूले दिमाग लगाएर फोटो खिच्छन् । इनिमा मनले फोटो खिच्छिन् ।’
इनिमा आजभोलि निकै उत्साहित छिन् । आफैंले खिचेका कैयन् फोटो प्रिन्ट गरेर बोकेकी छिन् । क्यामेरामा थुप्रै फोटो छन् । इसाराले भन्छिन्, ‘मलाई एकदमै फोटो खिच्न मन लाग्छ ।’
इनिमाको हौसलाको लागि इन्द्रमान र प्रशिक्षक राजेन्द्रले पुस २४÷२५ गते लुम्बिनीमा एकल फोटो प्रदर्शनीको आयोजना गर्ने भएका छन् । माघको पहिलो साता मुक्तिनाथ पदयात्रा गर्ने र भारतमा फोटो प्रदर्शनी गर्ने परिवारको तयारी गरेको छ । त्यसबाट उनलाई अझ हौसला मिल्ने इन्द्रमान बताउँछन् ।
हेलेन केलर अपांगता भएका व्यक्ति र सारा मानवजातिकै लागि प्रकाशपुञ्ज हुन् । हेलेनकोे जीवनकथाले मानिसलाई बाँच्न सिकाउँछ । डेढ वर्षमै गम्भीर बिरामीका कारण आँखाको ज्योति र श्रवणशक्ति गुमाइन् । तर, आत्मविश्वास गुमाइनन् । सुन्न र हेर्न नसकेर के भो ? महसुस गर्ने अद्भुत क्षमता थियो उनीसँग । त्यही क्षमताले उनी विश्वचर्चित बनिन् । तर, उनीभित्रको अदम्य साहसलाई विश्वसामु ल्याउन सहयोग गरेकी थिइन्- एनी सालिभानले । समाजमा हेलेनको पूर्वअवस्थाझैं कैयौं केलर छन् समाजमा । तर, उनीहरू बाहिर आउन सकिरहेका छैनन् । खाँचो छ त अपांगता भएका मानिसका फरक क्षमतालाई बाहिर ल्याउन सहयोग गर्ने एनी सालिभानको ।
इनिमासँग पनि महसुस गर्ने क्षमता छ । स्मरण शक्ति तेज छ । जीवनमा केही गर्न चाहन्छिन् । उनको सपना भर्खरै फुल्न थालको छ । सपना फुलाउने माध्यम ‘फोटोग्राफी’ हुनेछ । हिँड्नेबेला उनले डायरीको एउटा पानामा शुद्ध, राम्रा अक्षरमा लेखिन्, ‘आई वन्ट टु बी ए फोटोग्राफर ।’