सुन्दरीको समाजसेवा सपना
रुवी लिम्बूलाई पहिले अरुको खासै चासो हुँदैनथ्यो । कलेज जाने–आउने, आफ्नैबारे सोच्ने । अरु युवतीभन्दा फरक थिएन उनको दैनिकी । र, रुवी जहाँ गए पनि, जे खाए पनि परिवारबाहेक अरूलाई चासो थिएन ।
रुवीले यसपालि मिस पूर्वाञ्चल २०१७ को ताज पहिरिन् । उनको परिचय बदलियो । साथीदेखि समाजले उनलाई हेर्ने दृष्टि फेरियो । पहिले आफ्नै मात्र मतलव राख्ने रुवीको पनि विचार बदलियो । उनी अहिले समाजबारे सोच्न थालेकी छिन् । ‘ब्युटिप्याजेन्टमा आएपछि जिन्दगी भनेको आफ्नो लागि मात्र होइन रहेछ । सामाजिक कुरामा अग्रसर भएर अरूका लागि पनि जिउनुचाहिँ जिन्दगी हो भन्ने बुझेँ ।’ धरान ११ भवानीचोककी २० वर्षीया रुवी आफूमा आएको परिवर्तन सुनाउँछिन् । ‘म आफैंमा पनि ठूलो परिवर्तन आयो । पहिले मान्छेको अगाडि बोल्न अफ्ठ्यारो लाग्थ्यो । अहिले हजार जनाको अगाडि पनि बोल्न सक्छु ।’
रुवीलाई सानैदेखि ब्युटिप्याजेन्टमा रुचि थियो । तर, उनको परिवारले यो क्षेत्र त्यति मन पराएको थिएन । परिवारसँग सल्लाह नगरिकनै उनले मिस पूर्वाञ्चलको फाराम भरिन् । अरू साथीहरू अन्य ब्युटिप्याजेन्टमा सहभागी भएका र जितेकासम्म थिए । उनीहरूसँग प्रतिस्पर्धा गर्नु गाह्रो थियो तर उनले आँट गरिन् र त्यही आँटले जितिन् पनि ।
सुनसरी टेक्निकल कलेजमा बीएस्सी तेस्रो वर्षमा अध्ययरत रुवी नर्सरीदेखि कक्षा ६ सम्म धरानकै जेनिथ इङ्लिस बोर्डिङ स्कुल पढिन्, त्यसपछि लोटस स्कुलमा । उनी काठमाडांैमा उच्च मावि पढेपछि धरान फर्किएकी हुन् ।
अहिले उनको दैनिकी मात्र होइन सपनामा पनि परिर्वतन आएको छ । पहिला माइक्रोबायोलोजी पढेकी रुवीलाई यही क्षेत्रमा भविष्यको स्कोप खोज्ने सोच थियो तर अहिले पढाइसँगै सामाजिक काममा लाग्ने अनि समाजमा राम्रो छाप छोड्ने योजना छ । भन्छिन् ‘समयलाई व्यवस्थापन गर्दै अघि बढ्ने हो अब ।’
मिस पूर्वाञ्चल भएपछि उनलाई सबैले ‘अब मोडलिङमा त लाग्ने होला नि’ भन्छन् रे । ‘ब्युटिप्याजेन्ट भनेको मोडलिङ मात्र होइन’ उनी भन्छिन् ‘मलाई मोडलिङभन्दा समाजसेवामा लाग्ने मन छ ।’
रुवीकै जस्तो समाजसेवामा लाग्ने विचार छ, मिस पूर्वाञ्चलकी फस्टरनरअप सिम्रन श्रेष्ठको पनि । पहिला मिस एसएलसी २०१६ मा टप टेनमा परेकी १७ वर्षीया सिम्रन मिस पूर्वाञ्चलमा फस्टरनरअप भइन् । त्यसपछि उनको पनि लक्ष्य फेरियो, सपना फेरिए ।
सानैदेखि तीज र अन्य कार्यक्रममा नृत्य गर्थिन् सिम्रन । एकपटक तीजको नृत्य प्रतियोगितामा पुरस्कार जितिन् । सानै हुँदा फेसन सोमा पनि सहभागी भएकी उनलाई जितेको ताजको सम्मान राख्ने जिम्मेवारी आएको महसुस भएको छ । उनलाई पनि रुवीलाई जस्तै ब्युटिप्याजेन्ट मोडलिङ मात्र होइन भन्ने लाग्छ । उनलाई पनि यसबाट व्यक्तित्व विकास गरेर समाजका लागि, पर्यटनका लागि काम गर्ने सोच छ । भन्छिन् ‘यही क्षेत्रबाट समाजका लागि काम गर्छु । आमाबुवालाई राम्रो काम गरेर देखाउने सपना छ ।’
रुवीको दैनिकी मात्र होइन, सपनामा पनि परिर्वतन आएको छ । माइक्रोबायोलोजी पढेकी रुवीलाई यही क्षेत्रमा स्कोप खोज्ने सोच थियो । अहिले पढाइसँगै सामाजिक काममा पनि लाग्ने उनको योजना छ ।
झापा, बिर्तामोडकी २० वर्षीया अनु ढुंगाना मिस पूर्वाञ्चलकी सेकेन्ड रनरअप हुन् । उच्च शिक्षा अध्ययनरत उनी नृत्य र यात्रा गर्न मन पराउँछिन् । प्रतियोगितामा सहभागी भएपछि उनका पनि रुवी र सिम्रन जस्तै सपनाहरू बदलिएका छन् । भन्छिन् ‘पढाइपछि समाज विकास, पर्यटन विकासका लागि केही काम गर्छु । यो जोस ब्युटिप्याजेन्टले पलाएको हो ।’
मिस पूर्वाञ्चलको आयोजक सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठ सौन्दर्य प्रतियोगिता भए पनि उनीहरूलाई व्यक्तित्व विकास र सामाजिक सेवामा लाग्न प्रोत्साहन गर्ने गरेको बताउँछन् । उनी भन्छन् ‘ब्युटिप्याजेन्टले युवतीहरूको बाहिरी सुन्दरताको मात्र होइन बौद्धिकता र समाजका लागि केही गर्नुपर्छ भन्ने भावना जगाउने प्रयास गरिरहेका छौं ।’