पद्म, स्प्रिङ्डेल र सैनिक क्वार्टरफाइनलमा
भक्तपुर : आयोजक पद्म माध्यमिक विद्यालय, स्प्रिङ्डेल इंगलिस स्कुल र सैनिक आवासीय महाविद्यालय भक्तपुरमा जारी पाँचौं पद्म कप जिल्लाव्यापी मावि स्तरीय भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।
पद्म माविको ९४ औं र पद्म कलेजको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलमा जीत हात पार्दै पद्म, स्प्रिङ्डेल र सैनिक स्कुल क्वार्टरफाइनलमा पुगेका हुन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पद्मले अरनिको माविलाई २५–२१ र २५–२१ को सोझो सेटमा हराएको थियो । त्यस्तै समूह चरणको अर्को खेलमा एजे स्कुललाई २५–२२, २५–२७ र २५–१८ को सेटमा हराउँदै पद्मले अन्तिम आठमा स्थान पक्का गरेको हो ।त्यस्तै स्प्रिङ्डेलले पहिलो खेलमा एजे स्कुलाई २५–१६ र २५–११ तथा दोस्रो खेलमा अरनिको माविलाई २५–१० र २५–२२ को सोझो सेटमा पन्छाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
यसैगरी सैनिक आवासीय माविले पहिलो खेलमा ख्वप माविलाई २५–२० र २५–२२ तथा दोस्रो खेलमा विद्यार्थी निकेतन माविलाई २५–११ र २५–१८ को सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान सुनिश्चित गरेको हो ।भक्तपुरका सातवटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसँगै १२ हजार नगद पुरस्कार हात पार्ने विद्यालयका प्रधानाध्यापक राम हाडाले जानकारी दिए ।
उनका अनुसार उपविजेताले सात हजार र तेस्रो हुनेले चार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीसँगै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर र उत्कृष्ट सेटरले पुरस्कृत गरिने उनले बताए ।खेल हुनुअघि एक समारोहबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उक्त अवसरमा प्रमुख प्रजापतिले नपाले सम्पदा संरक्षणसँगै शिक्षा र खेलकुद क्षेत्रमा बढी लगानी गर्दै आएको जानकारी दिए ।सम्पदा संरक्षणमा काठमाडौंस्थित रानीपोखरीको पुनर्निर्माणको विवादले जनताबीच जनप्रतिनिधिहरुको बद्नाम भएको धारणा राखे ।
भक्तपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाले आउँदो फागुन ८ गतेदेखि अन्तरनगर भलिबल प्रतियोगिता गर्ने जानकारी दिए ।