यसरी फुक्यो अध्यादेशको गाँठो

यसरी फुक्यो अध्यादेशको गाँठो

काठमाडौं : राष्ट्रियसभा निर्वाचन प्रणालीका नाममा अढाइ महिनायता जारी दलीय द्वन्द्व टुंग्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्को अध्यादेश स्वीकृत गरेकी छन् ।राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेकी हुन् । सरकारले कात्तिक ६ गते नै राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश निर्वाचन प्रणालीका विषयमा ठूला दलबीच हानथापका कारण रोकिँदै आएको थियो । एमाले र कांग्रेसबीच राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय पद्धतिबाट गर्ने कि बहुमतीयबाट भन्ने विवादसँगै गतिरोध लम्बिइरहँदा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र शीर्ष नेताबीच चरणबद्ध वार्तामार्फत विवाद हल गराएका थिए ।

‘दलहरूबीच विवाद र गतिरोध अन्त्यका लागि मैले राष्ट्रियसभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेको हो,’ शीतलनिवासमा शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटपछि राष्ट्रपतिको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने र नयाँ सरकार गठनका लागि वातावरण बन्ने मेरो अपेक्षा छ ।’ राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको एक घन्टा लामो छलफल मुलुकको विद्यमान राजनीतिक परिस्थिति र भावी सरकार गठनलगायत विषयमा केन्द्रित थियो ।

गाँठो फुकाउन दाहालको अग्रसरता

एमालेले बहुमतीय बाटोबाट राष्ट्रियसभा चुनाव हुनुुपर्ने भनी लिएको अडानबीच सरकारले भने एकल संक्रमणीय विधिबाट चुनाव गर्न अध्यादेश अघि बढाएको थियो । दुई दलबीच यो विवादले ‘इगो’ को रूप लिँदै गएपछि अघि सरे, माओवादी अध्यक्ष दाहाल ।

बुधबार एमाले अध्यक्ष केपी ओली र दाहालबीचको ‘वान् टु वान्’ वार्ता भएपछि बिहीबार बिहान दाहाल र राष्ट्रपतिबीच डेढ घन्टा लामो वार्ता भएको थियो । सोही साँझ बालकोटमा ओली र दाहालबीच फेरि वार्ता भयो । ओलीले दाहालसँग कुरा गरेपछि एमालेका वरिष्ठ नेता सुवास नेम्बाङसँग टेलिफोनमार्फत परामर्श गरे । त्यसपछि नेम्बाङले दाहाललाई टेलिफोन गरे । त्यसै दिउँसो एमाले स्थायी समितिको बैठक बस्यो । त्योसँगै माओवादी सचिवालयको बैठकमा दाहालले एमालेसँग अध्यादेशको अवरोध खुलाउनेबारे विस्तारमा कुराकानी भएको स्रोतले जानकारी दियो ।

राष्ट्रियसभा चुनाव प्रणाली एकल संक्रमणीय हुने कि बहुमतीय भन्ने अढाइ महिनाको दलीय द्वन्द्व किनारा लगाउँदै राष्ट्रपति भण्डारीले शुक्रबार सरकारी अध्यादेश स्वीकृत गरिनसहमति जुटाउन दाहालको दौडधुप

संघ÷प्रदेशको चुनाव परिणाम घोषणा भएको तीन साता बितिसक्दा पनि अध्यादेशको विवाद कायमै रहँदा अन्योल बढ्न सक्ने देखेपछि दाहाल अग्रसर भएका हुन् । अध्यादेश गठनका कारण नयाँ सरकार गठन र वाम एकतामै असर पर्ने देखेपछि उनी सहमति खोज्नका लागि हतारिएको माओवादी उच्च स्रोत बताउँछ । उनीनिकट एक नेताले भने, ‘गतिरोध तोड्न कसै न कसैले अग्रसरता गर्नै पर्ने थियो, दुई ठूला दलको नेतृत्व तयार नभएपछि अध्यक्ष अघि बढ्नुभएको हो ।’

किन पछि हट्यो एमाले ?

एमाले चुनावमा सर्वाधिक ठूलो पार्टी बन्न सफल बने पनि उसलाई अध्यादेश अड्काउन राष्ट्रपति उक्साउँदै आएको आरोप लागेको थियो । देउवाले अध्यादेशलाई बहाना बनाएर सत्ता लम्ब्याउने खतरा बढेको निष्कर्ष निकाल्दै एमाले स्थायी समिति बैठकमा नेताहरूले अब विकल्प खोज्नुपर्ने बताएका थिए । माओवादी अध्यक्ष दाहालले पनि अध्यादेशका नाममा गतिरोध लम्ब्याउँदा बाहिर सन्देश राम्रो नजाने भन्दै ओलीलाई सम्झाएपछि उनले अडान छाड्ने संकेत दिएका थिए ।

राष्ट्रपतिले एमाले नेता नेम्बाङसँग शुक्रबार बिहान शीतल निवासमा भेट्दै आफूले अध्यादेशको विवाद टुंग्याउन गरेका भेटघाटबारे जानकारी गराएकी थिइन् । राष्ट्रपतिका स्वकीय सचिव जिवत्स साहले अन्नपूर्णसँगको कुराकानीमा भने, ‘राष्ट्रपतिले ठूला पार्टीसँग परामर्श गर्नुभयो र प्रधानमन्त्री देउवासँग एक घन्टा लामो विशेष परामर्शपछि अध्यादेश जारी गर्नुभयो ।’

राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीबाट हुनुपर्छ भन्दै अडान लिने एमाले एकाएक सहमतिनिकट पुग्नुको कारणबारे जिज्ञासा राख्दा स्रोत भन्छ, ‘देशको आवश्यकता वामपन्थी गठबन्धनको सरकार चाँडोभन्दा चाँडो बन्नु, अध्यादेशकै नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल रोक्नु, अध्यादेशको पक्षमा रहेको कांग्रेस बाहेकका संघीय फोरम र राजपासँग निकट हुनु हो । कांग्रेस, संघीय फोरम, राजपा अध्यादेशको पक्षमा थिए भने एमाले र माओवादी बहुमतीय प्रणालीका पक्षमा उभिँदै आएका थिए ।

एमाले नेता नेम्बाङले अध्यादेशको विषय यसरी लम्बिनु, जटिल बन्दै जानमा सरकारको गैरजिम्मेवारी कारक रहेको बताए । उनले भने, ‘स्थानीय तहको मतगणना जारी भएपछि हतास भएर बहुमतीय प्रणालीबाट एकल संक्रमणीय प्रणालीमा जानु राम्रो भएन ।’ सरकारले सहमतिका लागि लिनुपर्ने न्यूनतम अग्रसरताबाट समेत पछि हटेको भन्दै नेम्बाङले आलोचना गरे । ‘अध्यादेश जारी भयो । राष्ट्रियसभा निर्वाचन प्रक्रिया अघि बढ्यो । सरकार निर्माणसँग यसको सरोकार नरहेकाले अब चाँडोभन्दा चाँडो ताजा जनादेशअनुसार सरकार गठन हुनुपर्छ,’ नेम्बाङले भने, ‘राष्ट्रपतिलाई निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फको समानुपातिक मतपरिणाम बुझाउँदै सरकार निर्माण प्रक्रिया खोलिदिनुपर्छ ।’

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अन्तत: राष्ट्रपतिले अध्यादेश जारी गर्नु सरकार निर्माणका लागि बाटो खोल्नु रहेको जानकारी दिए । अध्यादेश संसद् बसेको एक महिनाबीच पारित गर्नुपर्ने र त्यसो गर्दा संशोधन गरे हुने कुरामा ठूलो विवादको औचित्य नरहेको महराले स्पष्ट गरे ।




प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.