अल्ट्रा दौडमा चम्कँदै वेद

अल्ट्रा दौडमा चम्कँदै वेद

काठमाडौं : तीन दशक उमेर पार नगर्दै अल्ट्रा दौडमा आधा दर्जन विश्व कीर्तिमान राख्न सफल भएका छन्, वेद सुनुवार । रामेछापको एउटा सामान्य परिवारमा जन्मिएका उनले पाँच वर्षयता थुप्रै विश्व कीर्तिमान कायम गर्दै नेपाल र नेपालीको शिर उच्च बनाएका छन् । देशविदेशमा हुने अल्ट्रा दौडमा हिजोआज सुनुवारले एकछत्र वर्चस्व कायम गरिरहेका छन् । उनी मंसिर २० गते हङकङमा भएको द नर्थ फेस एक सय किलोमिटर दूरीको अल्ट्रा रेसमा पनि पहिलो भए । २५ देशका एक हजार दुई सय ६० जना प्रतिस्पर्धीलाई उछिनेर उनले निर्धारित दूरी १२ घन्टा २० मिनेट ३६ सेकेन्डमा पूरा गरी कीर्तिमान पनि बनाए । यो कीर्तिमान हङकङको मात्र नभएर विश्वकै अल्ट्रा दौडमा नयाँ कीर्तिमान हो ।

यसैगरी २७ दिनअघि हङकङमै भएको सय किलोमिटर दूरीको अल्ट्रा दौडमा पनि एक हजार तीन सय प्रतिस्पर्धीलाई उछिन्दै सुनुवारको टोली पहिलो भएको थियो । स्वर्ण जितेको उनको टोलीमा समीर तामाङ, पूर्ण तामाङ र तीर्थ तामाङ गरी चारजना थिए । एकपछि अर्को सफलता हात पार्न थालेपछि सुनुवारसँगै नेपालको नाम अल्ट्रा दौडमा अगाडि आउन थालेको छ । २०६२ सालमा सेनामा भर्ना भएका उनी २०६७ सालदेखि त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् ।

गुप्तेश्वर-१ रामेछापका ३१ वर्षीय सुनुवार श्री नारायणदल गणमा जमदार छन् । गाउँमा हुँदा उनी फुटबलका पनि राम्रो खेलाडीमा गनिन्थे । विपन्न परिवारका उनी सात सन्तानमध्ये माइला छोरा हुन् । एक वर्षअघि हङकङमै आयोजित ५० किलोमिटर अल्ट्रा दौड उनले पाँच घन्टा ३० मिनेटमा जितेर विश्व कीर्तिमान बनाएका थिए । उनी चीनमा सन् २०१४ मा भएको स्काई सिरिज नेसनल अल्ट्रा दौड (५० किलोमिटर) मा पहिलो, माउन्टेन एसियन रनिङ च्यालेन्ज—२०१५ मा पहिलो, एभरेस्ट म्याराथन—२०१६ (४२ किलोमिटर) मा पहिलो र एभरेस्ट अल्ट्रा दौड—२०६६ (६५ किलोमिटर) मा दोस्रो भएका थिए ।

पहिलो पटक ७१ किलोमिटर दूरीको अन्नपूर्ण अल्ट्रा दौडमा सहभागी हुँदा छैटौं स्थान हासिल गरेपछि उनी एभरेस्ट अल्ट्रा दौड—२०६६ मा सहभागी भएका थिए । एभरेस्ट अल्ट्रा दौडमा दोस्रो भएपछि उनको अल्ट्रा दौडमा नयाँ पाली सुरु भएको थियो । त्यसपछि उनले स्विट्जरल्यान्ड, चीनलगायतका देशमा हुने प्रतिस्पर्धामा सहभागिता जनाउन थालेका हुन् । पत्नी टीका शेर्पा र परिवारले सधैं हौसला र साथ दिनु, सेनाले सेवासुविधा र पर्याप्त अवसर दिनुले आफ्नो सफलता सम्भव भएको उनी बताउँछन् ।

एथलेटिक्सका अन्य दौडभन्दा अल्ट्रा दौड पूर्णतया फरक रहेको बताउँछन् उनी । आफूलाई आवश्यक दुई किलोसम्म भोजन आफंै बोक्नुपर्ने, भौगोलिक कठिनाइ हुने, चोटपटकको समस्या रहने, हातखुट्टा बाउँडिने समस्या देखा पर्ने, अक्सिजन अभावले सास फेर्न कठिनाइ हुने, विपत्मा पर्दा उद्धारको समस्या रहने, हरहमेशा सचेत रहुनु पर्ने, दौडको माग असहज हुनेजस्ता समस्या अल्ट्रा दौडमा हुन्छ । यस्ता समस्या एथलेटिक्सका अन्य स्पर्धामा हुँदैन् । ‘जागिरे जीवन अझै सात वर्ष बाँकी रहेकाले स्वास्थ्यले साथ दिएसम्म अल्ट्रा दौडमै बिताउँछु’, उनी भन्छन् ।

 

अल्ट्रा दौडमा वेदको सफलता

१. हङकङको द नर्थ फेस सय किलोमिटर अल्ट्रा दौड—२०१७ मा पहिलो ।

२. हङकङ ५० किलोमिटर अल्ट्रा दौडमा पहिलो ।

३. चीन स्काई सिरिज नेसनल अल्ट्रा रेस—२०१४ (५० किलोमिटर) मा पहिलो ।

४. चीन माउन्टेन एसियन रनिङ च्यालेन्ज—२०१५ मा पहिलो ।

५. एभरेस्ट म्याराथन—२०१६ (४२ किलोमिटर) मा पहिलो ।

६. एभरेस्ट अल्ट्रा दौड—२०६६ (६५ किलोमिटर) मा दोस्रो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.