किताबी प्रतिरोधको वर्ष - २०१७

किताबी प्रतिरोधको वर्ष - २०१७

सन् २०१७ झुटले विजयोत्सव मनाएको वर्ष हो। अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको उदय र बेलायतको युरोपियन युनियनबाट बिदाइ अर्थात् ‘ब्रेक्जिट’ झुटको बौछारले सम्भव तुल्याएको हो। भारत र नेपालमा सम्पन्न निर्वाचनहरूमा समेत झुटका ठूला गंगा बगाइए। यी सामान्य झुट थिएनन् बरु सत्यजस्तो सुनिने र देखिने झुटहरू थिए। लाखौं मानिसले विश्वास गरेका नक्कली, बनावटी सूचना र समाचार थिए। त्यसैले बितेको एक वर्ष ‘पोस्ट–ट्रुथ’ अर्थात् ‘उत्तर–सत्य’को वर्ष थियो। आगामी कति वर्षहरू यो २०१७ को भूतले लखेटेर बित्नेछन्, थाहा छैन।

त्यसो त झुटको धरातलमा उभ्याइएका अमानवीय अट्टालिकालाई चुनौती दिने ससाना प्रयासका लागि पनि २०१७ को स्मरण हुनेछ। शक्ति र सत्ताका अघिल्तिर निर्भयी भएर सत्य बोल्नेले ती साना प्रयास गरे। थोरै पत्रकार, केही प्राज्ञिक मानिस र लेखकले हिम्मत जुटाएर सत्य उजागर गरेका हुन्।

नो इज नट इनफ

‘सशस्त्र इस्लामी जिहादीलाई परास्त गर्ने हतियार गोरो राष्ट्रवाद हो, काला र कलेजी रंगका मानिसका कारण असली अमेरिकीले बेरोजगारी र गरिबी भोग्नु परेको हो।’ यस्ता अनेक झुट र बनावटी कथा हालेर ट्रम्पले गरिखाने वर्गका गोरा अमेरिकीका भोट लिए। जसै उनी उदाए, ठूला कर्पोरेट कम्पनीका मानिसलाई आफ्नो क्याबिनेटका सदस्य बनाए। दुनियाँमा सबैभन्दा शक्तिशाली दाबी गरिएको मुलुक अमेरिकाको राष्ट्रपतिजस्तो सर्वोच्च कार्यकारी पदलाई नै आफ्नो व्यापारिक ब्रान्डको रूपमा विकास गरेको छनक पाएपछि नाओमी क्लिनले ‘नो इज नट इनँफ’ नामको किताब लेखिन्।

बितेको एक वर्ष ‘पोस्ट–ट्रुथ’ अर्थात् ‘उत्तर–सत्य’को वर्ष थियो। आगामी कति वर्षहरू यो २०१७ को भूतले लखेटेर बित्नेछन्, थाहा छैन।

क्लिन क्यानडेली लेखक, सामाजिक अभियन्ता र फिल्ममेकर हुन्। उनले यसअघि ‘नो लोगो’, ‘द सक डक्ट्रिन’, ‘दिस चेन्जेस एभ्रिथिङ’जस्ता महत्वपूर्ण किताब लेखिसकेकी छन्। नवउदारवादी अर्थतन्त्रको आडमा एउटा सानो समूहले संसारभरका सम्पत्ति आफूमा केन्द्रित गर्ने व्यवस्थाको उनले पोल खोलेकी छन्। प्राकृतिक स्रोतको निरन्तर दोहन र उपभोक्तावादको जगजगीबाट सृजित पर्यावरणीय समस्या संसारका हरेक मानिसका लागि सचेत हुनुपर्ने विषय हो भन्ने गहिरो बोधसहित लेख्ने गर्छिन् क्लिन। पर्यावरणका सवाललाई सामाजिक आन्दोलनका विषय बनाएर उनले अभियानसमेत सञ्चालन गरेकी छन्।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको केही महिनामा उनले ‘नो इज नट इनफ’ लेखेकी हुन्। ट्रम्प कुनै व्यक्तिमात्रै होइनन् र उनी एकाएक अमेरिकाको त्यो सर्वोच्च पदमा निर्वाचित भएका पनि होइनन्। बरु उनी विगत आधा शताब्दीमा भएका अनेक गल्तीका समष्टी अभिव्यक्ति मात्र हुन्। क्लिनको निष्कर्ष यति नै हो। अघिल्ला कृतिहरू लेख्न उनले लामो अध्ययन, आवश्यक सूचना र तथ्यांकको गहिरो प्रशोधन र लेखनका लागि पनि उति नै मेहनत गर्ने गरेकी थिइन्। यो किताब भने उनले अत्यन्त छोटो समयमा लेखिन्। यही किताबका लागि भनेर ठूलो खोज अनुसन्धान केही नगरेको उनले परिचय खण्डमा उल्लेख गरेकी छन्। अर्थात् अमेरिकामा ह्वात्त उदाएजस्तो देखिएको नश्लवादी दक्षिणपन्थ खासमा हिजोको बजारवाद र लोकतन्त्रको घुम्टोमा लुकेर गरिएका ‘अन्य घृणा’ र पर्यावरणका विषयप्रति देखाइएका चरम उदासीनताको परिणामका रूपमा बुझाउन उनले जानीबुझी हतार गरेकी छन्। कारण, ट्रम्पका सबै हर्कतलाई एकएक गर्दै हेर्ने र तिनको समीक्षा गर्दै उनलाई पूरा अवधि नकाम गर्ने छुट दिँदा सारा दुनियाँको भविष्य अन्धकार हुनेछ।

पहिले कस्ता गल्ती गरिए त ? दुनियाँमा देखा परेका हरेक नयाँ संकटलाई उपयोग गर्दै कर्पोरेटका निजी स्वार्थहरू सार्वजनिक नीति र कार्यक्रमका रूपमा लागू गराइए। बिन लादेनजस्ता जिहादीले सिर्जना गरेको आतंकलाई उपयोग गरेर ‘वार अन टेरर’ अर्थात् आतंकवाद विरुद्धको युद्ध सञ्चालन गरियो। निरन्तर युद्धले निर्माण गरेको युद्ध अर्थतन्त्रले हतियार बनाउने बहुराष्ट्रिय निजी कम्पनीलाई मुनाफा थुपारिदियो। हजारौंको बलिदानीको मूल्यमा मुठ्ठीभर कम्पनीका मालिकले युद्ध अर्थतन्त्र खडा गरे र स्रोतको निरन्तर दोहन गरिरहे। आधारभूत तहका मान्छेले रातदिन खटेर तिरेका सबै तिरो उही युद्धको अर्थशास्त्र ठीकठाक राख्न दुरुपयोग गरियो।

पछिल्लो किताबमा उनले ‘सक डक्ट्रिन’ लेख्न गरेका अनुसन्धानका निचोडसमेत जोडेर डोनाल्ड ट्रम्प आफैंमा एउटा सक् अर्थात् आघातका रूपमा उदाएको बताएकी छन्। ट्रम्पसँगै निर्णायक ठाउँमा पुगेका मानिसका अनुहार हेर्दा अमेरिकी नेतृत्व आफैंमा एउटा आघातका रूपमा दुनियाँभर बज्रनसक्ने देखिन्छ। सन् २००८ को आर्थिक मन्दीका बेला हजारौं मानिसलाई घरबाट खेदेर घरबारविहीन बनाइदिने वानवेस्ट नामक कम्पनीका मुख्य लगानीकर्ता तथा ब्यांकर स्टिभ मन्चिन निर्णायक ठाउँमा छन्। त्यस्तै एक्जनमोबिल नामको संसारकै ठूलो इन्धन कम्पनीका सीईओ रेक्स टिलर्सन पनि ट्रम्प समूहका सदस्य हुन्। क्लिनका अनुसार पर्यावरण जोगाउन थालिएका सबै कदम अर्थहीन छ भनेर प्रमाणित गराउन करोडौं खर्च गरेर झुटको खेती गर्ने कम्पनी हो एक्जनमोबिल। यो कम्पनीले पर्यावरण विज्ञानका नाममा अनेक अनुसन्धान छाप्थ्यो जसको एक मात्र उद्देश्य पर्यावरण बचाउन गरिएका सबै आन्दोलन अर्थहीन छन् भनेर पुष्टि गर्नु थियो। अध्ययन र विज्ञानका नाममा यस्ता झुटका पुलिन्दा प्रचार गर्दा मात्रै कम्पनीलाई निर्बाध प्रकृतिको दोहन गर्न छुट हुन्थ्यो। अनियन्त्रित रूपमा सञ्चालित हुने छुट पाएपछि एक्जोनमोबिलले पृथ्वीको तापक्रम बढाउनमा ठूलो भूमिका खेलिरह्यो।

त्यसैले क्लिन भन्छिन्, अब ट्रम्पको हलुका विरोध मात्रै गरेर पुग्दैन। अमेरिकी नीतिलाई ‘नो’ भनेर मात्रै दुनियाँलाई बाँच्नयोग्य बनाउन सकिने छैन। त्यसका लागि संगठित र सुझबुझपूर्ण हस्तक्षेप जरुरी छ। नयाँ दुनियाँको निर्माण सम्भव छ भनेर वैकल्पिक चिन्तनको विस्तार गर्न जरुरी छ। नयाँ विकल्प देखाउन नसक्दा र आधारभूत तहका मानिसलाई त्यसमा गोलबद्ध बनाउन नसक्दा, ट्रम्प आफैंमा दुःखदायी विनाशको बलियो कडी बन्नेछन्। सन् २०१७ ले मनाइरहेको झुटको उत्सवमा सत्यको राँको यसरी बोकेर हिँडिन्, नाओमी क्लिन।

उत्तरआधुनिक जमानाको उत्तर–सत्य

इन्टरनेटको सहज उपलब्धताका कारण लाखौं मानिस हातहातमा सूचना र तथ्यांकका स्रोत बोकेर हिँडेका छन्। एउटा सानो डिभाइसमा हजारौं तथ्यांक, श्रव्यदृश्य सामग्री, पुस्तक र निरन्तर सूचनाको बहाव कायम राख्न सकिन्छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग र ख्यातिले गर्दा पनि सामान्य मान्छेलाई सूचनाको कुनै खाँचो हुँदैन। ठूलो पुँजी र धेरै कामदारको जोहो नगरी समाचार र विचार उत्पादन र प्रसारण गर्न सम्भव भएको छ। यसरी हेर्दा इन्टरनेटले ज्ञान र सूचना उत्पादन र प्रकाशनलाई लोकतन्त्रीकरण गरेको छ। सुखको यो पाटोले दुःखका अनेक पक्षलाई ओझेल पारिरहेको पनि उत्तिकै सत्य हो।

जसले जुनसुकै बेला जहाँसुकैबाट सूचनाका नाममा झुट र अफवाहहरू फैलाउन सक्छ। त्यसरी फैलिएको एउटा अफवाहले लाखौंको नोक्सान गरेपछि वा हजारौंलाई नराम्ररी प्रभावित पारिसकेपछि वा कहिलेकाहीँ सयौं मानिसको संहार गरिसकेपछि मात्रै असलियत खुल्ने गरेको छ। १० मिनटमा तयार भएर केही घन्टामा संसारभरि बबन्डर मच्चाउने एउटा हल्लाको प्रभाव मेटाउन १० वर्ष अपुग हुन सक्छ। इन्टरनेट र सामाजिक सञ्जालका यस्तो सामथ्र्यलाई उपयोग गरेर थुप्रै दुर्घटना घटाइएका छन्। यस्ता घटनासम्बन्धी अनेक अध्ययन पनि भएका छन्। हाम्रो नजिकै भारतमा चलेको ‘लभ जिहाद’को हल्ला र त्यसले निम्त्याएको हिंसा कहालीलाग्दो थियो। उत्तर प्रदेशको मुजफ्फरनगरका हजारौं गरिब मुस्लिमलाई विस्थापित गराउन ह्वाट्सयापमार्फत चलाइएको ‘लभ जिहाद’को एउटा झुटो हल्ला काफी भयो।

फोटो, भिडियो र झट्ट हेर्दा विश्वास गर्न सकिने खालका दृश्य वा सूचना उत्पादन गरेर फैलाउन ठूलो मेहनत गर्नुपर्दैन। त्यसरी असत्य, नक्कली, कपोलकल्पित सूचनाको बाढी उरालेर राजनीतिक नेताहरूले चुनावी सफलता हात पार्ने गरेका छन्। सीधा झुटो बोलेर, भ्रमका ठूला पर्खाल खडा गरेर मतदातालाई एकोहोर्‍याउने काम भएका छन्। मिथ्यांकहरू फैलाएर, बनावटी घटनाका वर्णन गरेर र भविष्यको कपोलकल्पित अनुहार सिर्जना गरेर शक्तिशाली मुलुकका सर्वोच्च पदहरू हत्याइयो, दूरगामी असर पार्ने निर्णयहरू गराइयो।

उत्तरआधुनिकताले सत्यका हजार रूप हुन्छन् र कुनै एउटा व्याख्या अन्तिम हुँदैन भन्ने दलिल पेस गरेको थियो। मानौं यही गुह्य बुझे सत्ता र शक्तिमा भएकाले र फ्याँके हजार अनुहारधारी ‘सत्य’को पासो। यस्ता झुटका तीव्र प्रसार प्रत्यक्ष देखेपछि र तिनका प्रभाव समेत भोगेपछि सन् २०१७ मा केही अनुसन्धाताले ‘उत्तर–सत्य’बारे पुस्तकहरू तयार पारे।

म्याथ्यु डी एन्कोना नामका एक पत्रकार तथा अनुसन्धाताले ‘पोस्ट ट्रुथः द न्यु वार अन ट्रुथ एन्ड हाउ टु फाइट ब्याक’ लेखे। त्यसैगरी अर्का खोज पत्रकार जेम्स बलले ‘पोस्ट ट्रुथः हाउ बुलसिट कन्कर्ड द वर्ल्ड' नामको किताबमार्फत असत्यले संसार कसरी कज्याउँदैछ भनेर व्याख्या गरे। उस्तै नामको किताब लेख्नेमा एक अर्थशास्त्रीसमेत छन्। बीबीसी रेडियोमा केही प्रख्यात कार्यक्रम सञ्चालन गर्ने अर्थशास्त्री इभान डेभिसले लेखेको किताबको नाम हो ‘पोस्ट ट्रुथ : ह्वाई वी ह्याभ रिच्ड पिक बुलसिट।’

म्याथ्यु डी एन्कोनाले ब्रेक्जिट, ट्रम्पोदय, मौसम परिवर्तनप्रतिको शक्तिशालीहरूको चरम उदासीनता र आप्रवासीप्रतिको दुराग्रह, यी सबै झुटका आधारमा उछालिएका भावनात्मक आवेग हुन्, तथ्यका आधारमा निकालिएका परिणाम होइनन् भनेका छन्। जेम्स बलले उनको किताबमा सामान्य मानिसका लागि झुटा कथ्य कति मोहक र आकर्षक सुनिन सक्छन् भनेर देखाएका छन्। साथै गम्भीर समाचार उत्पादन र सत्यप्रति इमानदार भएर गरिने खोज पत्रकारितामा लगानी नहुनुका कारण पहिल्याएका छन्।

इन्टरनेट अर्थशास्त्रले पत्रकारिताको अभ्यासमा पारेका प्रभाव उनको किताबमा पढ्न पाइन्छ। इभान डेभिसको किताब पंक्तिकारको हात परेको छैन तर छापामा आएका समीक्षाका अनुसार उनले मिथ्यांकको प्रभाव उधिनेका छन्। उदाहरणका लागि डोनाल्ड ट्रम्पले देखाएको बेरोजगारको आँकडा गलत थियो तर त्यही गलत आँकडा पत्यारिलो तथ्यका रूपमा स्थापित भयो। अझै मानिसहरू त्यही मिथ्यांकबाट प्रभावित छन्। किन ? यसको कारण खोतल्न डेभिसले मनोविज्ञानको सहायता लिएको समीक्षकहरूले बताएका छन्। इन्टरनेटको प्रयोगमार्फत वैकल्पिक पत्रकारिता र वैकल्पिक चिन्तनका मञ्चहरू पनि सृजना गरिएको छ। डेमोक्रेसी नाव, ज्याकोबिन, काफिलाजस्ता वेब म्यागजिन र ब्लगहरूले वैकल्पिक चिन्तनका लागि उत्साहजनक काम गरेका छन्। भारतमा अभ्यास भइरहेका वेब समाचार पोर्टलहरू वायर र स्क्रोलले पनि सामान्य पाठकमा गहिरो प्रभाव पार्न थालेको बुझिन्छ। त्यसो त यस्ता सबै प्रयास सत्ताको आँखाको तारो पनि बनेकै छन्।

राष्ट्रवाद र पुँजीवादको आलोचना

विगत केही वर्षदेखि जुर्मुराएको दक्षिणपन्थलाई चुनौती दिएर तत्काल किताबहरू प्रकाशन गर्नेमा भारतीय विद्वान्हरू अघिल्लो पंक्तिमा छन्। केही महिनाअघि भारतकी निर्भीक पत्रकार गौरी लंकेशको हत्या गरियो। सम्भवतः हिन्दुवादी दक्षिणपन्थीहरूले उनको हत्या गरेका हुन्। सो हत्याको विरोधमा भारतका स्वतन्त्र विद्वान्हरूले आवाज बुलन्द गरेका थिए। हत्याको प्रतिरोधस्वरूप उनका महत्वपूर्ण आलेखहरूको संकलन गरेर ‘द वे आइ सी इट : अ गौरी लंकेश रिडर’ नामको पुस्तक भर्खरै प्रकाशन गरिएको छ। स्वतन्त्र प्रकाशन संस्था नभयना बुक्सले लंकेश रिडर बजारमा ल्याएको हो।

यसअघि २०१६ मा यु.जी अनन्थमुर्थी, रोमिला थापर, ए.जी नुरानी, के सत्चिानन्दन, निवेदिता मेनन लगायतले मोदी–सत्ताका ज्यादतीहरू विरुद्ध लेखेका आलेखहरूका थुप्रै संकलन प्रकाशनमा आएका छन्। यी सबै आलेखले मूलतः मोदीले उछालेको हिन्दुवादी राष्ट्रवादको प्राज्ञिक चिरफार गरेका छन्।

सन् २०१७ अक्टोबर क्रान्तिको सय वर्ष पुगेको वर्ष पनि हो। त्यसैले अक्टोबर क्रान्तिको स्मरण गर्दै थुप्रै वैचारिक बहस भएका छन् भने क्रान्तिबारे केही किताब पनि लेखिएका छन्। अक्टोबर क्रान्तिबारे थप व्याख्या वा त्यो ऐतिहासिक घटनाको आलोचनात्मक चिन्तनलाई नै पुँजीवादी व्यवस्थामाथि प्रश्न उठाउने बिन्दु बनाएर किताब लेखिएका छन्। प्रख्यात मार्क्सवादी विद्वान् तारिक अलीले ‘द डिलेम्माज अफ लेनिन : टेरोरिज्म, वार, एम्पायर, लभ, रेभोलुसन’ भन्ने किताब लेखे भने अक्टोबर क्रान्तिबारे ‘अक्टोबर’ नामकै उपन्यास लेखेका छन् चाइना माइभिल्लेले। पुँजीवादको आलोचनासहित यो व्यवस्थाको अन्त्यको परिकल्पना गर्दै जर्मन समाजशास्त्री वल्फग्यांग स्ट्रिकले लेखेको ‘हाउ विल क्यापटिलज्म इन्ड ?’ भर्खरै बजारमा आएको छ।

अन्त्यमा

माथि उल्लेख गरिएका सबै पुस्तक हाम्रा लागि उपयुक्त पठन सामग्री हुन सक्छन्। संसारमा भइरहेका बौद्धिक बहससँग साक्षात्कार हुनु वा त्यसमा आफू पनि सहभागी हुन खोज्नु जरुरी छ। त्यसउपर अन्यत्र घटेका घटनाका प्रत्यक्ष वा परोक्ष प्रभाव हामीलाई पर्ने भएकाले ती घटनाबारे छलफल चलाउनु हाम्रा लागि हितकर हुन्छ। नेपालमा चलेका विकास र समृद्धिका हल्लाखल्लाका अन्तर्य बुझ्न पनि माथि चर्चा गरिएका पुस्तक सहयोगी बन्न सक्छन्।

बुकर र नोबेल पुरस्कारका हल्लाखल्लाले नछोएका धेरै महत्वपूर्ण पुस्तक हुन्छन्। पश्चिमा र भारतीय सञ्चारमाध्यमले सिर्जना गरेका हाइपमार्फत काठमान्डुका पुस्तक पसलमा आइपुग्ने पुरस्कारवाला किताबको घेरामा मात्रै सीमित हुन खोज्दा अरू महत्वका प्रकाशनतर्फ ध्यान नपुग्न सक्छ। पत्रकारिता वा साहित्यका पपुलर तर गहकिला किताब खोज्न वा प्राज्ञिक महत्वका महत्वपूर्ण कृति भेट्टाउन पुरस्कारको लेबल हटाएर चियाउन जरुरी हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.