जेरी मोर्गन

जेरी मोर्गन

वर्तमान भनेको विगतको प्रतिलिपि हो। अनि विगत भनेको त्योभन्दा अघिल्लो विगतको प्रतिलिपि हो। इतिहास बन्ने यसरी नै हो। अब भन ! तिमी वा म इतिहासको प्रतिलिपि भएनौं ?

१.

फ्रिमन्ट सहरको आइलानी कोर्ट नामको त्यो टोलका सबै भुइँतले घरहरू भर्खरै मरेका गैंडाका बथानझैं शान्त देखिन्थे। धेरै बेरदेखि त्यहाँ मानिस र सवारीसाधनको चालचुल थिएन। अलि टाढा सडकमा घिस्रिरहेका कार र ट्रकहरू सुसाइरहेको आवाज कानसम्म आइरहेको थियो र त्यो आवाजलाई सुन्न मध्य डिसेम्बरको बिहानको चिसो सूर्य भर्खरै ताडका अग्ला रूखमाथि आइपुगेको थियो। रामनाथ फुयाँल आफ्ना दुवै हात ज्याकेटको खल्तीमा घुसारेर सूर्यको चिसो घाममुनि लसकलसक हिँडिरहेको थियो।

पश्चिमपट्टि प्रशान्त महासागरले घूसपैठ गरेपछि बनेको विशाल खाडी क्षेत्रबाट आएको चिसो बतासले रामनाथको छालामा काँढा उमा¥यो। आइलानी कोर्टलाई पछाडि पारेर ऊ एक्लै र भयाक्रान्त भावमा ट्रेडविन्ड गल्लीतिर बढ्यो। त्यहाँ पनि उस्तै शून्यता थियो, मानौं केही समयअघि त्यहाँ कुनै ठूलै नरसंहारकारी युद्ध भएको थियो।

रामनाथ झन् डरायो। तर, त्यसै बेला उसको एकान्तको डरलाई होच्याउन काठले बारेको घरभित्रबाट पुलिस कुकुर (सायद जर्मन सेफर्ड होला) जोडजोडसित भुक्यो।

रामनाथले आफ्नो नाति एरिक दंगाललाई सम्झ्यो।

पुलिस कुकुर ! उसको अमेरिकन नाति एरिक दंगालको शाब्दिक अविष्कार थियो। सात वर्षको उमेरमै एरिकका कुराहरू बूढाबूढीका जस्ता पाका र अर्थपूर्ण हुन्थे। जब ऊ बोल्न थाल्थ्यो, रामनाथ उसका कुरा सुनेर पुलकित हुन्थ्यो। भावुक उन्मादले रामनाथका आँखा डबडबाउन थाल्थे र एकछिन बक बन्द हुन्थ्यो। कहिलेकाहीँ त रामनाथलाई त्यो नाति केटो जर्मन उपन्यासकार गुन्टर ग्रासको द टिन ड्रमको पात्र ओस्कारजस्तो लाग्थ्यो, मानौं एरिकको शरीर मात्र सात वर्षको जस्तो, उमेर त उसको झैं साठी नाघिसकेको !

रामनाथले कलेजका दिनमा द टिन ड्रम पढेको थियो। उसले अहिले पनि सम्झिरहेको थियो, गुन्टर ग्रासको त्यो अभागी ओस्कार एउटा कल्पनातीत तथा दारुण दुर्घटनामा परेको थियो। ओस्कार तीन वर्षको उमेरमा एउटा रक्सीको सेलारमा डुब्यो र त्यसपछि उसको शारीरिक विकास रोकियो। तर, मानसिक विकासचाहिँ सतत भइरह्यो। उमेर बढ्दै गयो, तर उसलाई सबैले केटाकेटी सम्झेर हेप्ने व्यवहार गरे। उसले आफ्नो विसंगत जीवनमा सहस्र सांसारिक नग्नता र कुरूपताहरूलाई देख्यो। एरिकको कुराकानीका छाँटकाँट पनि ओस्कारका जस्तै थिए।

तर होइन, रामनाथको मनको अर्को पक्षको जिद्दी चलमलायो। उसको नाति एरिक दंगालको हकमा त्यस्तो हुन सक्दैन, वा नहोस् भन्ने उसलाई लाग्यो। रामनाथ एरिकको जन्म र हुर्काइको जिउँदो साक्षी थियो। ऊ उसका हरेक जन्मदिवसमा आयोजित समारोहहरूको भोक्ता थियो। बितेको सात वर्षदेखि उसको नाममा काटिने जन्मदिवसको केकको स्वाद रामनाथको बूढो जिब्रोमा जीवन्त झुन्डिएको थियो। यसैले ऊ एरिकलाई द टिन ड्रमको ओस्कारसित गरिएको तुलना फजुल र मनको एक पक्षको भ्रम थियो भन्ने ठहरमा पुग्यो।

तर, जे भए पनि एरिक अरू साधारण बालकजस्तो थिएन।

एरिक दंगाल हरेक साताको दुईदिने स्कुल छुट्टी अर्थात् शनिबार र आइतबार जोसेफ अजेभेदा पार्कसम्मको बिहानी यात्रामा बाजे रामनाथ फुयाँलको साथ दिन्थ्यो। खासमा एरिककै जिद्दीको कारणले रामनाथ यो बिरानो देशमा प्रभात भ्रमणको व्यसनी बनेको थियो। एरिकलाई पिङ खेल्न, चिप्लेटी खेल्न र बालुवामा बसेर अनेक आकृति बनाउन खुब रस बसेको थियो। यी सबै काममा ऊ अरू बच्चाभन्दा लगनशील थियो। रामनाथलाई विगत चार वर्षदेखि उसको यो बालसुलभ मामिलाको जानकारी थियो।

जब एरिक बामे सर्न छोडेर टुकुर हिँड्ने भयो रामनाथले उसलाई हरेक बिहान वा साँझ पार्कमा लान थाल्यो। एरिकलाई पाँच वर्ष नाघेपछि स्कुलमा भर्ना गरियो। जब ऊ जोसेफ अजेभेदा इलेमेन्ट्री स्कुलमा पढ्न जान थाल्यो, त्यसपछि साताका पाँच दिन रामनाथका निम्ति एकान्तका सय वर्षजस्ता हुन थाले।

हिजो आइतबार एरिक रामनाथसितै थियो। तर, आज सोमबार रामनाथ एक्लो थियो। अब यो एक्लोपन आगामी शुक्रबारसम्म जारी रहनेछ। अहिलेचाहिँ उसको एक्लोपनलाई खिज्याउन काठको पर्खालभित्रको पुलिस कुकुर एकनास कर्कश स्वरमा भुकिरहेको थियो।

‘यसलाई पुलिस कुकुर किन भनेको एरिक ? ’ केही महिनाअघिको प्रातः भ्रमणको समयमा रामनाथले सोधेको थियो।

‘मेरो एउटा खैरे साथी त्यसै भन्छ— यहाँका केही कुकुरले राम्रो पुलिसको काम गर्छन् रे। बच्चाहरूलाई सुरक्षा गर्छन् रे।’

‘त्यसो त संसारभरि नै प्रायः धेरै कुकुरको काम मालिकको रक्षा गर्नु हो।’ उसले भनेको थियो।

‘तर, यहाँका बच्चाहरू धेरै खतरामा छन् रे। विशेष गरी छोरीमान्छेलाई चोरेर मार्नेहरू छन् रे यहाँ। केही वर्षअघि त्यो साथीकी दिदीलाई पनि चोरेर मारेका रे। त्यसपछि उसको घरमा उसका बाले पुलिस कुकुर ल्याएका रे।’

‘ए त्यसो पो ! मानिस पुलिसले नगरेको काम कुकुर पुलिसले गर्दोरहेछ त ? ’ रामनाथले गिज्याएको भाकामा भनेको थियो।

‘हो त हजुरबा ! यहाँका कुकुरहरू मानिस पुलिसभन्दा अझ बढ्ता पुलिस हुन् रे। मेरो त्यो साथीले भनेको। ऊ मेरो धेरै मिल्ने साथी हो भन्ने कुरा बुझ्नुभएन ? ’ ऊ पनि चिच्याएको थियो।

त्यसपछि रामनाथ निरुत्तर भएको थियो।

ट्रेड विन्डबाट कोको पाम ड्राइभतिर सोझिँदा एउटा कालो कार हावाजस्तै बत्तिएर आयो र आँखा तरेर स्टेभेन्सन बुलेभार्डतिर हानियो। रामनाथलाई कालो कारको त्यो व्यवहार पटक्कै मन परेन तर उसले के पो गर्नसक्थ्यो र ? उसले ज्याकेटको खल्तीबाट हात झिक्यो र अमेरिकी सुरुवालको खल्तीमा हात घुसारेर हिँडिरह्यो। त्यसपछि पनि अरू केही बेरसम्म ऊसँग उही पुरानो एकान्त मात्र बाँकी रह्यो। तर, ऊ दक्षिणतिरको अजेभेदा पार्कपट्टि मोडिने बेलामा एक्कासि कोको पाम ड्राइभको उत्तरतिरबाट त्यो दाह्रीवाल बूढो अवतरित भयो।

‘हाई गाई ! शुभ प्रभात !’ दाह्रीवाल बूढो करायो।

‘शुभ प्रभात !’

रामनाथले उसलाई जवाफ त सामान्य किसिमले दियो तर उसको मन असामान्य भयो। खासमा दाह्रीवाल बुढोको हेराइ सामान्य थिएन। उसका आँखामा असाधारण चपलता थियो। ती मानसिक रोगीका झैं अस्थिर देखिन्थे। आँखाका खैरा गेडाहरू पानीमाथि ढलपल गरिरहेको डुंगाझैं नाचिरहेका थिए। उसको अनुहारमा खुला अभद्रता झल्किएको थियो। उसको टाउकोमा उनीको मैलो टोपी थियो। टोपीबाट बाहिर च्याएको लामो कपाल केही दिनदेखि नकोरिएको स्पष्ट थाहा हुन्थ्यो। उसको मुखमण्डलमा अराजक जंगलझैं बढेका फोहोर दाह्रीजुँगा देख्दा उसले कयौं दिनदेखि मुख नधोएको लाग्थ्यो। उसले छालाको ज्याकेट र बाक्लो भुवादार सुरुवाल लगाएको थियो। उसको खुट्टामा चाहिँ नर्थ ब्यालेन्स कम्पनीको फौजी शैलीको नयाँ जुत्ता थियो।

रामनाथका आँखा दाह्रीवालको टिलिक्क टल्किएका जुत्तामा पुगेर अडिए।

‘मानिसले जीवनमा अरू केही गर्न नसके पनि राम्रो जुत्ता, राम्रो ह्विस्की र राम्री आइमाईसित प्रेम गर्नुपर्छ।’ उसले रामनाथलाई हेप्दै भन्यो।

‘यो तिमी कुनै किताबमा लेखिएको डायलग बोल्दैछौ।’ रामनाथलाई पनि रिस उठ्यो।

‘जहाँबाट बोले पनि फरक पर्दैन। यो कुनै किताबमा लेखिएको छ भने पनि यो उसको मौलिक आविष्कार होइन। यो संसारमा मौलिक भन्ने कुराको कुनै अस्तित्व नै छैन।’

‘के तिमी पनि मौलिक होइनौ ? ’

‘हो, म पनि इतिहासको फोटोकपी नै हुँ।’

‘फोटोकपी ? ’

‘छक्क नपर ! तिमी पनि विगत इतिहासको सच्चा फोटोकपी अर्थात् प्रतिलिपि मात्र हौ। नढाँटी भन त तिमी के काम गर्छौ ? ’

‘केही गर्दिनँ। फुर्सद हुँदा म पाठक हुँ। मूलतः आख्यानको पाठक।’

‘ओहो ! आख्यानको पाठकमा यत्रो भ्रम ? कुन भाषामा पढ्छौ ? ’

‘नेपालीमा पढ्छु। अचेल म यो देशमा बसे पनि जातले नेपाली हुँ।’

‘तिम्रो नेपाली आख्यानमा स्वैरकल्पना भन्ने तŒव छैन कि कसो ? ’

‘छ नि, किन छैन ? ’

‘यस्तो आख्यान धेरै कसले लेखेको छ ? ’

‘नगरकोटी नामका एकजना किसान छन्। उनको प्रमुख नगदेबाली स्वैरकल्पना नै हो।’

‘किन उनलाई मात्र स्वैरकल्पनाको खेती लाउने ठेक्का परेको छ कि ? ’

‘अँ त्यो त त्यही सम्झ ! अथवा भगवान् जानून्। तर, यो तिम्रो फेटोकपी वा प्रतिलिपिचाहिँ के हो नि ? यसले त मेरो टाउको पो खायो।’

‘टाउको खाने कुरै छैन। वर्तमान भनेको विगतको प्रतिलिपि हो। अनि विगत भनेको त्योभन्दा अघिल्लो विगतको प्रतिलिपि हो। इतिहास बन्ने यसरी नै हो। अब भन ! तिमी वा म इतिहासको प्रतिलिपि भएनौं ? ’

‘खासमा तिमी को हौ त ? तिम्रो नाम के हो ? ’ रामनाथ झोक्कियो। उसका आँखा राता भएर रन्किए।

कुरा गर्दै हिँड्दा अजेभेदा पार्क आइसकेको थियो। दाह्रीवालले रामनाथको प्रश्नको जवाफ दिएन। ऊ सुरुवालको फसनरतिर हात लम्काउँदै पार्कको कुनामा रहेको शौचालयतिर कुद्यो।

२.

जोसेफ अजेभेदा पार्क फ्रिमन्ट सहरको त्यो इलाकाको साह्रै नै गए–बितेको संरचना थियो। त्यसका निम्ति छुट्ट्याएको अधिकांश जमिन जंगली रूख र अवाञ्छित घाँसेझाडीले ढाकेको थियो। झाडीमा कथम्कदाचित् केटाकेटी पसे भने तिनका अभिभावकहरू डरले काम्न थाल्थे, कतै त्यहाँ विषालु र्‍याटल सर्प छ कि भनेर। लगभग एक बिघाजति क्षेत्रफल भएको त्यो ठाउँ सहरको रहस्यमय स्थानका रूपमा चिनिएको थियो। पार्कसँगैको शौचालय पनि एकदमै फोहोर थियो। पार्कमा केटाकेटीका निम्ति खेल्न बनाइएका चिप्लेटी र पिङ जीर्ण हालतमा थिए, कुनै पनि समय बिग्रनसक्ने अवस्थाका। पार्कभन्दा सय मिटर जति पूर्व अजेभेदा इलेमेन्टरी स्कुल थियो। स्कुको भवन बाहिरबाट हेर्दा रङ खुइलिएको चित्रकलाजस्तो देखिन्थ्यो। त्यो कुनै पुरानो समयको स्थापत्य थियो। रङ नपोतेको वर्षौंवर्ष भइसकेको थियो। भवनलाई घेर्न लगाइएको फलामे तार–जालीमा खिया लागेको थियो। स्कुल र पार्कको व्यवस्थापनको दायित्व नगरपालिकाको भए पनि यी अलगअलग एकाइबाट रेखदेखमा रहेका थिए।

त्यही स्कुलमा रामनाथको नाति एरिक दंगाल कक्षा २ मा पढ्दै थियो र हरेक साप्ताहिक बिदाको दिन यही पार्कमा खेल्न आउने स्थायी उम्मेदवार थियो। विगत सात वर्षदेखि रामनाथ यताको बासिन्दा बनेपछि एरिक उसको साथी बनेको थियो। रामनाथका नेपालका बूढा–साथी अब सम्झनाको फलकमा सीमित भइसकेका थिए। ऊ छोरी सरूपा फुयाँल दंगाल र ज्वाइँ रेशम दंगालको आ श्रयमा थियो। छोरी र ज्वाइँ आफ्नो काममा यति व्यस्त हुन्थे कि उनीहरू रामनाथ र एरिकको लागि साताको एक दिन मात्र समय दिन सक्थे। सरूपा सीभीएस फार्मेसीमा हप्ताको बीस घन्टा मात्र काम गर्थी। त्यसबाहेक घरको भान्सा, सरसफाइ, लन्ड्री, बजारको किनमेलले उसलाई धोबीको गधाभन्दा बढी व्यस्त बनाएको थियो। उसको खासै कमाइ धेरै थिएन। ऊ कर कटाएर मासिक एक हजार डलरको मुन्तिर तलब थाप्थी।

तर, रेशम दंगाल दुई ठाउँमा गरी दैनिक १६ घन्टा काम गथ्र्यो। मोटेल इलेभेनमा रातको सिफ्ट म्यानेजर र स्टिेभन्सनको नालन्दा ग्रोसरीमा दिउँसो सेल्समा काम गथ्र्यो। ती दुवै संस्थानका मालिक भारतीय थिए। ऊ त्यहाँ काम गर्न थालेदेखि अग्घोर भारतप्रेमी बनेको थियो। जबकि ऊ डीभी परेर यहाँ आउनुभन्दा अघि नेपालमा रहँदा ‘भारतीय विस्तारवाद’ शब्दको उत्कट प्रेमी थियो। नेपालमा रहँदा ऊ वामपन्थी–राष्ट्रवादी विद्यार्थी संगठनको जिल्ला तहको नेता थियो। यता आएपछि उसको वामपन्थ एकादेशको कथा भइसकेको थियो।

‘यहाँ आएका नेपालीहरूको जनजीविकाको रक्षामा यहाँका भारतीयहरूले गरेको सहयोग भुल्न सकिन्न। उनीहरू नभए हामी यहाँ भोकभोकै मर्छौं। चाइनिज वा जापानिजहरूले हामीलाई काम दिने त के फुटेको आँखाले समेत हेर्दैनन्।’ ऊ ससुराबा रामनाथ फुयाँलको सामु बारम्बार यही कुरा दोहो¥याइरहन्थ्यो।

एरिकले पुलिस कुकुर चाहियो भनेर जिद्दी गरिरहँदा रामनाथको ज्वाइँ रेशम दंगाल आफ्नो कामको धाक लगाएर भन्थ्यो, ‘डेरामा बसेको बेला कसरी कुकुर पाल्नु ? अहिले जस्तै कमाइ भइरह्यो भने हामी अब दुई वर्षपछि घर किन्नसक्ने हैसियतमा पुग्छौं। त्यसपछि किनौंला छोरा।’

आफ्ना सर्वशक्तिमान बाको आश्वासनपछि एरिक चुप हुन्थ्यो।

फोहोरी दाह्रीवाल बूढो शौचालयबाट धेरै समयसम्म फर्केन। रामनाथ पार्कको व्यायाम गर्ने ठाउँमा गएर त्यहाँ गाडिएको फलामे बारमा झुन्डन थाल्यो। उसको भावमुद्रा आत्महत्या गर्न लागेको मानिसको जस्तो थियो। त्यसै बेला पार्कनेरको पार्किङ लटमा एउटा पुलिसको कार आएर रोकियो। त्यहाँबाट चारजना निस्के। दुईजना पुलिस पोसाकका पुरुष, एउटी अधबैंसे नर्स र सामान्य भेषभूषा भएकी अर्की एक वृद्ध महिला।

दुईजना प्रहरीमा एउटा अग्लो र अर्को होचो थियो।

किन तिनीहरू रामनाथलाई घुर्दै त्यता आए ? के उसको आत्महत्याको मुद्रा असह्य थियो ? सामान्यतया त्यस सहरमा पुलिस देखा नै पर्दैनथे। तर, प्रकट भएपछि डरलाग्दो रूपमा प्रस्तुत हुन्थे।

तसर्थ रामनाथ फेरि डरायो।

‘माफ गर्नुहोला हामी तपाईंलाई केही सोध्न आएका।’ अग्लो शरीर भएको प्रहरीले भन्यो।

‘सोध्नोस्।’

‘अघि तपाईंसित सँगै भएका वृद्ध मानिस कता गए ? केही समयअघि तपाईं ऊसँग कुरा गर्दै हिँडिरहनुभएको थियो।’

‘किन उनलाई खोज्नुभएको ? उनी को हुन् र ? ’

‘उनी बिरामी छन्। एक साताअघि उनी सानफ्रान्सिस्कोस्थित हाम्रो अस्पतालबाट भागेका थिए। हामी उनलाई खोजिरहेका छौं। भागेपछि उनले केही दिन र रात सानफ्रान्सिस्कोको हेट स्ट्रिटका होमलेससँग बिताएको बुझियो तर हामी पुग्दा उनी त्यहाँबाट हिँडिसकेका थिए। उनी त्यहाँबाट सन्निभेलको एउटा शिवालयमा पुगेछन्। हामी उनलाई पछ्याउँदै त्यहाँ पुग्दा फेरि पनि उनी भागिसकेका थिए। अहिले फ्रिमन्ट पुलिसको सहयोगमा यहाँ उनलाई खोज्दै छौं। तपाईंसँग भएको उनको कुराकानी सीसी क्यामराको फुटेजमा रेकर्ड भएको थियो। यी भद्रा उनकी पत्नी सोफी मोर्गन हुन्।’ नर्सले भनी।

‘करिब १० मिनेट जति भयो शौचालयभित्र छिरेको। फर्केका छैनन्। मैले नाम सोध्दा बताउनै भ्याएनन्। सायद दिसा–पिसाबले धेरै च्यापेको थियो क्यारे।’

‘बताएकै भए पनि उनी आफ्नो सही नाम बताउने थिएनन्। उनको खास नाम प्रोफेसर जेरी मोर्गन हो। उनी चर्चित इतिहासकार तथा क्यालिफोर्निया विश्वविद्यालयका इतिहासका प्रोफेसर हुन्। तर, मानसिक बिरामी भएपछि उनी आफूलाई कहिले हिटलर, कहिले मुसोलिनी, कहिले क्लाड इथरली त, कहिले क्रिस्टोफर कोलम्बस हुँ भन्न थालेका छन्।’ उनकी पत्नीले आँखा पुछ्दै भनिन्।

‘सबै मानवइतिहासका खलनायकहरूको नाम आफूसित जोड्छन् ? ’

‘हो। अनि उनी आफूलाई उनीहरूको प्रतिलिपि हुँ भन्छन्। भन्छन्, मैले धेरै नरसंहार गरेँ, विश्वका करोडौं निहत्था र शान्तिप्रिय मानिसको हत्या गरेँ, बहुमूल्य खजाना लुटेँ, धेरै अबोध महिलालाई बलात्कार गरेँ। साना–साना बालिकालाई चोरेर बलात्कार गर्ने महानायक पनि मै हुँ, असल र परि श्रमी मानिसहरूलाई कमारो बनाउन गरिएका युद्धहरूको खलनायक पनि मै हुँ। यस्तै यस्तै भनेर दिनभरि र रातभरि फलाकिरहन्छन्।’

प्रोफेसर जेरी मोर्गनकी पत्नी सोफी मोर्गनको कुरा सुनेर रामनाथको शरीरमा जाडोले उम्रिएर साम्य भइसकेका काँढा फेरि ठडिए। ऊ फेरि काम्न थाल्यो। धन्य, केही समयअघि त्यो दिमागको बिरामीले उसलाई केही गरेन !

सबैजना शौचालयको पुरुष खण्डको ढोकाछेउ पुगेर उभिए। नर्स बारम्बार ठूल्ठूलो स्वरमा ‘प्रोफेसर मोर्गन बाहिर निस्कनोस्’ भनेर कराउन थाली। दुवै प्रहरीहरू प्रोफेसरको आगमनको प्रतीक्षामा थिए।

नर्सले निकै बेरसम्म कराएर बोलाउँदा पनि शौचालयको ढोका खुलेन। त्यसपछि अग्लो प्रहरीले ढोकामा कान थापेर सुन्यो।

‘भित्र कुनै आवाज सुनिँदैन।’ उसले भन्यो।

‘कतै शौचालयभित्र आत्महत्या त गरेनन् ? ’ अर्को होचो प्रहरीले शंका व्यक्त ग¥यो।

‘त्यसो भए ढोका फोरेर हेर्नुप¥यो।’ अग्लोले भन्यो।

‘यदि जिउँदै छन् भने त पहिले खबरदारी गर्ने, अनि फोर्ने हुन्न र सर ? ’ होचोले भन्यो।

‘त्यसै गर्ने हो।’

‘सर नै कराउनुभए राम्रो हुन्छ कि ? ’

‘प्रोफेसर मोर्गन, म तपाईंलाई एकदेखि दससम्म गनेर खबरदारी जनाउ दिन्छु, त्यसपछि पनि निस्कनुभएन भने हामी ढोका फोर्न बाध्य हुनेछौं। ल अब तपाईंको समय सुरु। एक–दुई–तीन–चार–पाँच–छ–सात–आठ–नौ र दस।’ अग्लो करायो।

फेरि पनि भित्रबाट आवाज आएन।

‘पछाडिपट्टि झ्यालको अवस्था हेर त !’ अग्लोले होचोलाई आदेश दियो।

होचो प्रहरी झ्याल हेर्न पछाडिपट्टि गयो र कुनै निष्कर्षबिना तुरुन्तै फर्कियो।

‘झ्याल खुलेको छ कि बन्द छ ? ’ अग्लो प्रहरीले सोध्यो।

‘बन्द वा खुला केही भन्न नसकिने अवस्था छ।’

‘त्यसो भए ढोका फोर्नुपर्छ। घन र मार्तोल लिएर आऊ !’

‘यो शौचालयमा मानिस छिरेर भाग्नसक्ने एउटा सानो झ्याल मात्र छ हाकिम साहेब।’ रामनाथले भन्यो।

होचो प्रहरीले कारमा गएर ढोकाको छेस्किनी फुटाउन ठूलो मार्तोल र घन ल्यायो।

‘ल हाकिमसाब ढोका फोरौं। कतै उनले आत्महत्या गरेका भए पनि बचाउन सकिन्छ कि ? ’ होचोले मुख मिठ्याउँदै भन्यो।

यो सबै क्रिया र कर्मलाई सोफी मोर्गन निर्जीव पुतलीले झैं हेरिरहेकी थिई। रामनाथ चाहिँ एक टङ्कारले सोफीलाई हेरिरहेको थियो। सोफीलाई ऊ केही वर्षअघि मरेकी आफ्नी पत्नीको समकक्षमा राखेर सोचिरहेको थियो। सोफीका आँखा र अनुहारमा प्रकट भएको सरलता र शालीनताको भाव उसकी दिवंगत पत्नीसँग मिल्दोजुल्दो लाग्यो।

तर, यो रामनाथको बुढेसकाल र एकान्तले ल्याएको अतिरञ्जित भावुकता मात्र थियो। प्रोफेसर मोर्गन र उसकी दिवंगत पत्नीबीच कुनै साम्यता थिएन तापनि रामनाथ मरेकी पत्नी र जीवित एरिकलाई सम्झेर विचलित भयो।

त्यसपछिको तीन मिनेटमा होचो प्रहरीले ह्यान्डिलका पेचहरू खुस्कायो।

‘हे भगवान् साँच्चै तिनले आत्महत्या पो गरिसके कि ? मैले यो बुढेसकालमा यस्तो सकस अब कतिसम्म खप्नुपर्ने हो ? ’ सोफी मोर्गनका विषादका शब्दहरू वातावरणमा विस्फारित नहुँदै शौचालयको ढोका फुट्यो। तर, प्रोफेसर मोर्गन शौचालयभित्र थिएन। त्यहाँ चरम दुर्गन्धको राग मात्र मडारिइरहेको थियो।

‘लौ यहाँबाट पनि भागेछन् !’ नर्स चिच्याई।

त्यसपछि सोफी मोर्गन, नर्स र प्रहरीहरू कारमा फर्के र साइरन बजाउँदै त्यहाँबाट उत्तरतिर घुइँकिए।

जब साँझमा बाजे रामनाथबाट एरिकले यो घटनाको नालीबेली सुन्यो ऊ साठी वर्ष नाघेको बूढोझैं हाँस्न थाल्यो र भन्यो, ‘त्यसलै त मैले भनेको हुँ नि हजुरबा ! हाम्रो घरमा छिटै पुलिस कुकुर ल्याउनुपर्छ भनेर !’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.