अटोग्राफ, प्लिज !
मोक्षघाटतिर नगएको पनि धेरै भयो। त्यो कर्ली कपालवाला अधबैंसे जोगी मनिकर्णिका घाटतिर गइसक्यो कि त्यहीँ कतै छ, थाहा छैन। कथम्कदाचित् यदि तपाईंले उसलाई मोक्षघाटमा भेट्नुभयो भने खल्तीबाट पचासको ब्लु–नोट निकालेर उसको हातमा थमाइदिनुहोला।
कृष्ण मन्दिरको कोर्टयार्डमा दीपिका पादुकोण डालोमा भटमास, गहुँ र केराउका दानाहरू बेचिरहेकी थिइन्। घरबुना स्यानो गुन्द्रीमा थ्याच्च बसीवरी। भर्खरै मिस पादुकोणसित किनिएको एक माना दानालाई श्री नरेन्द्र दामोदर मोदी बडो तन्मयका साथ परेवाहरूमाझ छरिरहेका थिए। छेवैको क्लासिक कृष्ण मन्दिरलाई पाश्र्वआधार मानीवरी श्री शेरबहादुर देउवा और अजय देवगन अंकमाल गर्दै ङिच्च ङिच्च फोटो खिचाइरहेका थिए। उनीहरूलाई आफ्नो स्मार्टफोनको क्यामेरामा क्याप्चर गरिरहेका थिए, हिन्दी सिनेमाका सेक्सी भिलेन गुलशन ग्रोवर।
दुई देशका प्रधानमन्त्री अनि बलिउडका कलाकारहरू ! त्यो पनि एउटै फ्रेममा ?
तपाईंलाई के लाग्न सक्छ भने पाटन दरबार स्क्वायरमा इन्डो–नेपालबीचको दौत्य या दैत्य सम्बन्धमा आधारित कुनै पोलिटिकल चलचित्रको छायांकन हुँदैछ जसको निर्देशक— तपाईंले अनुमान गरेझैं— प्रकाश झा या श्याम बेनेगल हुन्।
तर, पर्खनुस्। अनुमानको आधारमा कुनै फ्यान्सी निष्कर्ष निकाल्नुअघि ठन्डा/ठन्डा, कुल/कुल दिमागले केही बेर धैर्यपूर्वक यसबारे सोच्नुस्। त्यसपछि मात्र मुनी वर्णन गरिइने सिक्वेन्सतर्फ लमक्लमक् लम्कनुस्। है त !
गत रातको गहन निद्रामा यदि तपाईं मेरो सपनामा आउनुहुँदो हो त अवश्य पनि त्यो गल्लीमा तपार्इं मसितै हिँड्नु हुँदो हो। र, त्यहाँ पुग्नुहुँदो हो जहाँ म पुगेको थिएँ : पाटन दरबार स्क्वायर, जसको वर्णन मैले माथिको ओपनिङ अनुच्छेदमा गरिसकेको छु।
यद्यपि दुःखको काइते कुरा त के मात्र हो भने मेरा सपनमा तपाई आउनुभएन। आखिर यस्तो कसरी हुन गयो ? तपाईं त बारम्बार मेरो सपनामा आइरहने मान्छे ! हिजो चैं के भो ? काँ जानुभाथ्यो र ! ए स्वप्न–भिजिटर, हिजोको सपनामा किन आउनुभएन ?
किनभने हुनसक्छ मेरो सपनामा एन्ट्री गर्नका निम्ति तपार्इंले निद्रासित टिकट नै काट्नुभएन। या यस्तो पनि हुनसक्छ कि निद्राले तपार्इंलाई एन्ट्री पास नै उपलब्ध गराएन।
जे होस् ! लेट्स ड्रप दिस सब्जेक्ट एन्ड गेट कनेक्टेड विथ् माई ड्रिम सिक्वेन्स। है त !
अकर्डिङ टु ड्रिम, मेरो हातमा ‘सोताला’ थियो। उपन्यास। र, म यसका लेखक डोरबहादुर विष्टलाई खोज्दा–खोज्दा हत्तु हैरान भई पाटन दरबार स्क्वायर पुगेको थिएँ। तर, त्यहाँको नजारा बिल्कुलै सोतालामैत्री थिएन। गुलशन ग्रोवर फोटो खिचिरहेका थिए। मोदी श्री परेवाहरूलाई दाना डालिरहेका थिए। दीपिका पादुकोण मुस्कुराइरहेकी थिइन्।
कहाँ ‘सोताला’ ? कहाँ मिस पादुकोणको चालामाला ?
तर, पर्खनुस्। दृश्यले यहीँनेर यु–टर्न मार्यो।
म सरासर अजय देवगनतिर गएँ। उनी यस बेला मन्दिर अवलोकन गरिरहेका थिए। पछाडिबाट मैले— एक्स्क्युज मी— भनेँ। उनी मतिर फर्के र ‘यस प्लिज’ भने। मैले ‘सोताला’ अघि बढाउँदै भनेँ :
– अटोग्राफ, प्लिज !
किताब लिएर मिस्टर देवगन थचक्क भुइँमा बसे। म पनि भुइँमै बसेँ। उनले कमिजको खल्तीबाट पर्पल पेन निकाले र किताबभित्रको पहिलो खाली पानामा लेखे : नगरकोटी, ह्याभ अ नाइस जर्नी ! त्यसपछि उनले दस्तखत गरे : डोरबहादुर विष्ट। अंग्रेजी अक्षरमा।
अजय देवगनले डोरबहादुर विष्टको नाममा हस्ताक्षर गरेको सुहाएन। सक्कली एक्टरको त्यस्तो नक्कली सिग्नेचर देखेर मैले उनलाई भनेँ, ‘ह्वाई डिड यु साइन डोरबहादुर विष्ट ? ’ त्यसको जवाफमा मिस्टर देवगनले मुस्कुराउँदै भने :
– बिकज आई एम डोरबहादुर विष्ट !
***
एकजना मिजासिला युवक छन्। मेरो कुनै पनि किताब विमोचनमा यिनी जहाँकहीँ भए पनि टुप्लुक्क आइपुग्छन्। र, भन्छन् : अटोग्राफ, प्लिज ! यिनको किताबमा दस्तखत गर्दा म दंगदास हुन्छु। किनभने यिनले आफ्नो नाम ‘मोक्षान्त : काठमान्डु फिभर’ कथाको पात्रबाट राखेका छन् : मोक्षानन्द जोशी।
यिनलाई म केवल नगरकोटीको किताब विमोचनमा मात्र देख्छु/भेट्छु। काँ बस्छन्, के गर्छन्, केही थाहा छैन। तर, हरेक विमोचनपश्चात् बुक साइनिङको बेला लामो लाइनमा बस्छन् र आफ्नो पालो आउँदा किताब तेस्र्याउँदै मकन भन्छन् :
– म तपाईंको कथाको पात्र मोक्षानन्द जोशी। अटोग्राफ, प्लिज !
त्यसरी ‘अटोग्राफ, प्लिज !’ भन्दै मलाई सो–कल्ड नगरकोटीका किताबहरूमा दस्तखत गर्न लगाउने अनेक अमिगो, मित्र, दोस्त/पासा तथा शुभचिन्तकहरूसित मेरो अक्सर भेट भइरहन्छ। पुरुष प्रजातिका प्रेमीहरू छन् भने त— इट्स ओके, फाइन— भन्छु तर यदाकदा जब महिला अनुरागीहरूले किताब तेस्र्याउँदै ‘अटोग्राफ, प्लिज !’ भन्छन् तब म झस्कन्छु र उनीहरूको मुहारमा हेर्छु। ती प्रेमिल मुहारमा म मिस बिन्दुको रिफ्लेक्सन खोज्न थाल्छु।
मिस बिन्दु ! तपार्इंलाई लाग्ला, हु द हेल इज मिस बिन्दु ?
मिस बिन्दु अर्थात् मेरो स्कुल लाइफकी एक स्वप्न–कन्या। मेरो कथाकी प्रथम नायिका। प्रिय मित्र ! आउनुस्, केही बेर स्वप्न कन्याको स्मरण गरौं।
पुलिस स्कुलमा म कक्षा १० को एक सामान्य छात्र थिएँ। स्वप्न–कन्या हुनुहुन्थ्यो आकर्षक टिचर। उहाँलाई सम्झनुपर्दा आजकल म आकासे नीलो कुर्ता–सलवारमा मात्र सम्झन्छु। स्कुल युनिफर्ममा। उहाँ जुनियर सेक्सनतिर पढाउनुहुन्थ्यो जुन स्कुल–ब्लक पल्लो डाँडामा थियो। हाम्रो सिनियर–ब्लक थियो, वल्लो डाँडामा। उहाँलाई म कहिले काँ कहिले काँ डुलिरहेको देख्थेँ।
उहाँको नाम थियो— बिन्दु। दार्जिलिङतिरकी। उहाँ डाँडापारिको टिचर्स क्वार्टरमा बस्नुहुन्थ्यो। म बस्थेँ डाँडावारि सिनियर होस्टलको डोर्मिटरीमा। होस्टेल वार्डेनले हामीहरूलाई सामूहिक सम्बोधन गर्थे— बोकेलाल। कुरा के भन्देखिन् नि ! केटाहरू डाँडापारिका दार्जिलिङे मिसहरूलाई समेत जिस्क्याउँथे, छेडखानी गर्थे। मिसहरूले प्रशासनमा कम्प्लेन गर्थे। प्रशासनले वार्डेनलाई थर्काउँथ्यो। अनि वार्डेनले हामीलाई थर्काउँथे :
– साला बोकेलालहरू ! मिसलाई साइड हान्ने ? मैले साइड हान्नुपर्ने ठाउँमा तिमी बोकाहरूले पो साइड हान्ने ?
म मिसहरूलाई साइड नै हान्ने खालको छिल्लिएको बोकाचाहिँ थिइनँ। तर, थिएँ त वार्डेनका अनुसार बोकेलालहरूकै एक सक्रिय सदस्य। मलाई लाग्छ, म त फगत एक सोझो बोका थिएँ। दायाँबायाँ नगर्ने। लुरुलुरु आफ्नै सुरमा हिँड्ने। तर, खुरुखुरु हिँड्ने त भेडा पो हुन्छ त।
सायद बोका नभई म भेडा पो थिएँ कि !
जे होस् ! एक दिन नेपाली गुरु हरिप्रसाद खरालले स्कुल म्यागजिन— दीपिका— को लागि म बबुरोलाई कथा लेख्न उर्दी जारी गर्नुभो। अनुच्छेद, चिठी तथा निबन्ध लेखनजस्ता क्रिएटिभ राइटिङको गृहकार्यमा मैले प्रयोग गर्ने शैलीको गुरुजी खुब प्रशंसा गर्नुहुन्थ्यो। लेख्नमा मलाई सदा हौसला दिनुहुन्थ्यो। उहाँको मन राख्नैका लागि मात्र भए पनि एउटा कथा लेख्नुपर्ने भो।
कथाको शिर्षक राखेँ : बिन्दु। र, कथाकी नायिका बनाएँ उही स्वप्न–कन्या।
कथा स्कुल म्यागजिनमा छापियो। एसएलसी आयो, गयो। अन्ततः हामीलाई बिदाइ गर्न स्कुलले फेयरवेल प्रोग्राम राख्यो। टिचर्स, प्रिन्सिपल, आईजीपी लगायतले माला, ब्याच, अबिर लगाइदिए।
त्यही बिदाइ कार्यक्रममा मिस बिन्दु मसामु आउनुभयो। उहाँको हातमा स्कुल म्यागजिन थियो। उहाँले ‘बिन्दु’ कथा छापिएको पाना पल्टाउँदै भन्नुभयो :
– कुमार ! तिमीले मेरो नाममा कथा लेख्या रै’छौ। सो स्विट ! सो नाइट अफ् यु। तर, तिम्रो कथा मैले केही पनि बुझिनँ। बट् थ्यांक यु। अटोग्राफ, प्लिज !
मैले आफ्नो जीवनको प्रथम अटोग्राफ आफ्नै कथाको प्रथम नायिकालाई दिएँ : टु, मिस, विथ लभ फ्रम कुमार नगरकोटी।
***
कहिलेकाहीँ भावातीत–अनुभव होस्, कामना गरिबस्छु। ट्रान्सेन्डेन्स–अनुभूति होस्, कल्पना गरिबस्छु। सपनामा अजय देवगनले किताबमा— नगरकोटी, ह्याभ अ नाइस जर्नी— लेखी दस्तखत गरेका थिए। त्यो दस्तखत र मिस्टर देवगनका अक्षरहरू विपनामै किताबमा देख्दा तपार्इंलाई कति मजा आउँदो हो। सपना लिट्रल्ली विपनामा ट्रान्सक्रिएट हुँदो हो त कस्तो घच्चीको आनन्द आउँदो हो।
तर यस्तो घटिया, फन्टुस तथा बकम्फुसे प्रसंग त तथाकथित नगरकोटीका सर्रियल फिक्सनमा मात्र सम्भव हुनसक्छ। यस्तो खालको तत्वबोध हुँदाहुँदै पनि मैले एकाबिहानै— प्रातः रमणपश्चात्— बुकसेल्फबाट खोजखाज गरी ‘सोताला’ निकालेँ। पहिलो पाना पल्टाएँ। हेरेँ : पेज खाली–खाली थियो। अजय देवगनको नामोनिशान थिएन। कुन लहडमा हो कुन्नि ! पर्पल पेन निकालेँ र लेखेँ : नगरकोटी, ह्याभ अ नाइस जर्नी ! ७ डिसेम्बर २०१७।
डोरबहादुर विष्टको नक्कली दस्तखत पनि आफैंले धस्काइदिएँ।
यसरी किताबमा लेखकको नक्कली दस्तखत गर्नु मेरो लहडको भावनात्मक बाध्यता हुँदो हो। तर, यसो सोचेँ : मसित त किताबमा लेखकहरूका सक्कली दस्तखत पनि अर्काइभमा छन् नि। ती दस्तखत एवं किताबहरू कति छन् र कहाँ छन् ? मैले ‘अटोग्राफ, प्लिज !’ भन्दा लेखकजनहरूले प्रेमपूर्वक दस्तखत गरिदिएका ती प्रेमिल किताबहरू कुन हालतमा छन् ? तिनलाई खोज्नुपर्ने भयो।
र, मैले खोजेँ। अनि भेट्टाएँ पनि। हात लागेका ती किताबमा आत्मीयजनहरूले लेखिदिएका प्रेम तथा आशीर्वादमयी वाणीहरू पढेँ। तपाईं पनि पढ्नुस्। है त।
।। दस्तखत्सः विथ लभ फ्रम अथर्स।।
१. ‘कुमारजी ! नमस्ते।’
किताब : बिसे नगर्चीको बयान। दस्तखत : श्रवण मुकारुङ। मसी : कालो। मिति : ५ असोज २०७१।
२. ‘प्रिय कवि–कथाकार श्री कुमार नगरकोटीलाई स–स्नेह।’
किताब : रित्तो गाउँ। दस्तखत : श्यामल। मसी : कालो। मिति : १ जुन २०१३।
३. ‘विथ लभ एन्ड रेस्पेक्ट टु फिक्सन डिजाइनर।’
किताब : सुप्लाको हवाईजहाज। दस्तखत : भूपिन। मसी : कालो। मिति : छैन, अज्ञात।
४. ‘स्नेही मित्र एवं कथाकार कुमार नगरकोटीमा स–प्रेम।’
किताब : धोबीघाट एक्सप्रेस। दस्तखत : रोशन शेरचन। मसी : कालो। मिति : ८ भाद्र २०७०।
५. ‘प्रिय कुमार सरलाई।’
किताब : भुइयाँ। दस्तखत : यज्ञश। मसी : रातो। मिति : १२ भदौ २०७४।
६. ‘प्रिय मित्र कुमार नगरकोटीजीलाई स–प्रेम सम्झनास्वरूप। कुमारजी ! एक दिन हेर्नुहोला, सम्झनाहरू मात्र रहने छन् हाम्रो ठाउँमा, यस पृथिबीमा।’
किताब : करोडौं सूर्यहरूको अन्धकार। दस्तखत : अविनाश श्रेष्ठ। मसी : कालो। मिति : असार ५ गते, सन् २००३।
७. ‘मिस्टर विरलाकोटी। जय होस्।’
किताब : बाल्यकालका पदचापहरू। दस्तखत : खगेन्द्र संग्रौला। मसी : कालो। मिति : छैन, अज्ञात।
८. ‘आत्मीय मित्र एवं यशश्वी लेखक श्री कुमार नगरकोटीमा स–प्रेम सम्मान।’
किताब : मैले नदेखेका हिप्पी। दस्तखत : शेखर खरेल। मसी : कालो। मिति : २९ साउन २०७०।
९. ‘अत्यन्त आदरणीय, आत्मीय लेखक जसको म फ्यान हुँ श्री कुमार नगरकोटीजीलाई सादर।’
किताब : घामकीरी। दस्तखत : नयनराज पाण्डे। मसी : कालो। मिति २९ भदौ २०७०।
१०. ‘कुमार दाइ ! प्रेम छ ल !’
किताब : भोकको क्षेत्रफल। दस्तखत : विनोदविक्रम केसी। मसी : नीलो। मिति : १२ असोज २०६९।
११. ‘टु अ सेलिब्रेटी राइटर कुमारजी, विथ लभ।’
किताब : ल्याप–पोस्टबाट खसेको जून। दस्तखत : मनु मञ्जिल। मसी : कालो। मिति : २२ माघ, वर्ष छैन।
१२. ‘दाजुलाई सादर भेटस्वरूप।’
किताब : खोलाको गीत। दस्तखत : उपेन्द्र सुब्बा। मसी : कालो। मिति २६ साउन २०७०।
१३. ‘आदरणीय प्रिय फिक्सन डिजाइनर कुमार नगरकोटीप्रति स–प्रेम।’
किताब : शब्दहरूको याक्सा। दस्तखत : मुनाराज शेर्मा। मसी : कालो। मिति : १ वैशाख २०७३, नयाँ साल नयाँ शुभकामना।
१४. ‘आज मौसम बैमान छ कुमार दाइ ! तपाईं पनि ! काँ ब्ल्याक कफी खाइरा ! हिँड्नुस, बरु ब्ल्याक लेबल खाऔं। ‘ब्ल्याक होल’ नामक दारुमहलमा छिरौं अनि ब्ल्याक लिटे«चर र ब्ल्याक लेडिजका ब्ल्याक कुरा गरौं। चियर्स !’
किताब : पैताला। दस्तखत : गनेस पौडेल। मसी : हरियो। मिति : ३५ गते, चैत महिना २०८६ साल, साँझ ७ बजेर २७ मिनेट।
१५. ‘शुभेच्छासहित।’
किताब : इन्द्रजाल। दस्तखत : नारायण ढकाल। मसी : रातो। मिति : २१ जेठ २०७१।
१६. ‘कुमार भाइ यस्तै छ, कथा मिलेको छैन।’
किताब : फ्लानरको डायरी। दस्तखत : अभि सुवेदी। मसी : कालो। मिति : ७ असार २०७२।
१७. ‘प्रिय लेखक कुमार नगरकोटीजी, संगतले धेरै कुरा सिक्न र बुझ्न पाएको छु। अझै एक–आपसमा ‘प्रेरणा’ आदानप्रदान भइरहोस्।’
किताब : कर्नाली ब्लुज। दस्तखत : बुद्धिसागर। मसी : कालो। मिति २३ असार २०७२।
***
सर्फिङ गर्दा यिनै १७ थान किताब फेला पारेँ। १७ मनपसन्द अंक भएकाले १७ वटै दस्तखत एवं करुणामयी वाणीहरू यहाँ राखेँ। यसैलाई नेपाली आहानले ‘सत्र पर्नु’ भन्दो हो। नेपाली आख्यानले चाहिँ के भन्दो हो, गड नोज्।
यी किताबमा आत्मीयजनहरूले लेखिदिएका प्रेमिल फ्रेजहरूलाई मनमनै गुनेँ। यी त्यस्ता सम्पदा हुन् जो मेरोनिम्ति कुनै लालपुर्जाभन्दा बढी मूल्यका छन्। महत्वका छन्। यो मेरो प्र्राइभेट प्रोपर्टी हो। नितान्त निजी सम्पत्ति। यस्तो सम्पत्ति जसलाई तपार्इं अंशबन्डा या अपुतालीमा कसैगरी प्राप्त गर्न सक्नुहुन्न। चियर्स।
दस्तखत गर्दा अधिकांश लेखक कालो मसी प्रयोग गर्दा रहेछन्। चार जनाचाहिँ अपवाद देखिए : यज्ञश, विनोदविक्रम केसी, गनेस पौडेल र नारायण ढकाल। विनोदविक्रमले नीलो मसी चलाएका छन्। कलर सइकलजीअनुसार नीलो— नरम, कर्तव्यबोध र प्रसन्नचित्त–को रङ हो। मिस्टर केसी प्रसन्न चित्तका साथ कर्तव्यबोधसहित कविता रच्छन्। यो कुरा सही नै हो। तर, नरम ? यो अलि हजम नहुने कुरा भयो। कविजी त गरम मिजासका पो छन् त ! टु हेल विथ नरम !
अब कुरा गरौं, अरु रङको।
नारायण ढकालको लालकिताब— इन्द्रजाल— को कभर पूरै लाल भएकाले लौ त भनेर उनले लाल मसी चलाए रे ! लाल–मानवलाई लाल मसी सुहाउँदो पनि हो। तर, यज्ञशलाई चाहिँ लाल दस्तखत गर्ने कस्तो भाउँतो आइलागेछ कुन्नि ! यिनको ‘भुइयाँ’ त पहेँलो पो छ। पीत् मसी चलाउनु पर्दैन ?
मसी–रङको च्वाइसमा म्याक्सिमम् अपवादचाहिँ श्री गनेस पौडेल देखिए। यी मनुवाले हरियो मसी किन रोजे ? सायद हरियो–परियोका सोखिन हुन्। हरियाली खुब मन पराउँदा हुन्। सलाद तथा सागपातहरू पनि भसक्कै खाँदा हुन्। तर, ग्रिन–मानवले अटोग्राफमा चाहिँ कालो रङको कुरा गर्यन छन्। ब्ल्याकको चर्चा गर्यन छन् : ब्ल्याक कफी, ब्ल्याक लेबल, ब्ल्याक होल, ब्ल्याक लिट्रेचर एन्ड लास्ट बट नट लिस्ट ब्ल्याक लेडिज्। बुझिसाध्ये छैन। गनेसको लीला अपरम्पार।
अब एउटा गुप्त बातको चर्चा गरूँ क्यारे। खुसुक्क।
तपार्इं त आफ्नो मान्छे। मर्दा–पर्दा चाहिने। यस्तो कुरा मैले तपार्इंलाई नसुनाए कसलाई सुनाउने ? ऋषि धमलालाई ? तसर्थ तपार्इंको कामना सुटुक्क भन्छु।
है त !
प्रसंग हो श्यामलको। सुन्दर कविता रच्ने यी कवि सायद अक्षरहरू पनि बडो मनोयोगका साथ ‘रचेर’ नै लेख्छन्। कति सुन्दर एवं बान्किला अक्षरहरू। यिनका अक्षरहरूको छटा र अदा–ए–बान्कीसासु जस्तै मै हुँ भन्ने अप्सरा पनि फिक्का हुन्छे। मरेतुल्य हुन्छे। यिनको जस्तो ह्यान्डराइटिङ बनाउन तपाईंलाई यो जुनी अवश्य पनि पर्याप्त हुनेछैन। अर्को जुनी पनि खै कुन्नि, यसै भन्न सकिन्न।
बच्चैदेखि बुबा मलाई भन्ने गर्नहुन्थ्यो, ‘नाथे कुमार ! अरू जेसुकै होस्। तेरो अक्षरचाहिँ सुन्दर हुनुपर्छ। बुझिस्।’
म— बुझेँ बुबा— भन्दै फुलस्केप पेपरहरूमा ह्यान्डराइटिङको अथाह अभ्यास गर्थेँ। निकै मेहनत गर्थें। अक्षर–देवताको कृपाले मेरो अक्षर लोभलाग्दो पनि भयो। स्कुलको ह्यान्डराइटिङ प्रतियोगिता— त्यो चाहे नेपाली होस् या अंग्रेजी— मा म सदा प्रथम नै हुन थालेँ। बुबाको इच्छा पूरा गरे।
मैले डिजाइन गर्ने कथा, कविता तथा क्याजुअल राइटिङ हेर्ने/पढ्ने आत्मीयजनहरू यदाकदा केसम्म भन्छन् भने यी अक्षरहरूलाई के–को टाइपिङ गर्ने ! काटछाँट केही नगरी जस्ताको तस्तै नगरकोटीको ह्यान्डराइटिङमै छाप्ने। सानो मुख, ठूलो कुरा गर्यो नभन्नुहोला। तपाईंलाई साख्खे ठानेर भन्या मात्र हुँ। ‘अक्षरगन्ज’को भूमिकामा यज्ञशले लेखेको कुरा तपाईंले पढ्नु भा’छैन ? ए रातै ! पढ्नुस् न।
बडो हौसिँदै— अक्षरगन्ज— मा यज्ञशले उमंगपूर्वक यसो लेख्या छन्, ‘केरमेटबिना साना अक्षरमा लेखिने नगरकोटीका लेखहरू स्क्यान गरेर छापे पनि हुने खालका हुन्छन्। खुकुरी चुरोटजस्तै छोटा वाक्य, चुरोटको सर्कोजस्ता खिरिला अक्षर। १३ पेज लामो फुलस्केपमा लेखिएको लेखमा मुस्किलले दुई, तीनवटा शब्द काटिएका हुन्छन्। नगरकोटी साहित्य र यसको भावलाई मात्र होइन मसी, अक्षर र रङलाई समेत प्रेम गर्छन्। लेख्ने पूरै प्रक्रियालाई प्रेम गर्छन्, जतन गर्छन्।’
यज्ञशले व्यक्त गरेका भावहरूप्रति म नतमस्तक छु। तर, आजको कुरा अलि बेग्लै छ। कवि श्यामलका अक्षरहरू देख्दा आज मलाई आफ्नै अक्षरहरूप्रति दया, टिठ लागेको छ। ‘रित्तो गाउँ’मा कविजीले मेरा निम्ति लेखिदिएका सुन्दर, खिरिला मनमोहक अक्षरहरू ‘प्रिय कवि, कथाकार श्री कुमार नगरकोटीलाई स–स्नेह’ प्रति म नाजायज किसिमले नै नतमस्तक भएको छु। र, मैले अचाक्ली गर्वबोध गर्ने आफ्नै ह्यान्डराइटिङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने बेला आएको छ। मेरो स्वर्गवासी बुबाले आज कविजीका अक्षर देख्दा हुन् त मकन यसो भन्दा हुन्, ‘तेरा अक्षर इस ! तेरो ह्यान्डराइटिङ गइल् भैंस पानी मे। सुन रे नगरकोटी, आजकै मितिदेखि तँलार्ई म आफ्नो प्राइभेट पुत्रको पदबाट बर्खास्त गर्छु। नाथे कुमार, तेरो ठाउँमा— रित्तो गाउँ— का यिनै कविलाई सम्मानका साथ नियुक्त गर्छु।’
***
एउटा अचम्म प्लस उदेकलाग्दो कुरा के भने ‘खोलाको गीत’मा सर्व श्री उपेन्द्र सुब्बाले यसो लेख्या रै’छन्ः दाजुलाई सादर भेटस्वरूप।
म उपेन्द्र सुब्बाको दाजु ? अर्थात् बिग ब्रो ?
हे प्रभु ! के अनर्थ हुन गो ? मेरो नाम कथम् कुपेन्द्र या सुपेन्द्र हुँदो हो त उपेन्द्रको दाजु भन्न सुहाउँदो हो। यो त सरासर पोयटिक लाइसेन्सको दुरुपयोग पो हुन गो। कस्तो आश्चर्जे।
तर जनाव, खासमा कुरो यस्तो हो। ‘कबड्डी’ फिल्ममा युवती–मैयाँहरूको मनमा कबड्डी/कबड्डी खेल्न रुचाउने यी झाँक्री बासित मेरो पहिलो चिनापर्ची— साउन २७, २०७०— मा भएको थियो। ‘खोलाको गीत’को विमोचनताका। मण्डला थिएटरको परिसरमा। साँझको ४:३० बजे। ड्रेडलक्स पालेका यी जटाधारी बाबाले सके शिष्टतापूर्वक ‘दाजु’ लेखेका होलान्। तर, यस्ता भलाद्मी, फरासिला एवं विनम्र कविको ‘दाजु’ म कसोगरी हुन सक्थेँ ? उमेर एवं लेखन दुवै हिसाबले यी लेखक मभन्दा अब्बल एवं जेठा छन्, तर दाजु ? कुन फ्रेम प्लस एंगलबाट म दाजु देखिँइदो हुँ कुन्नि !
वास्तवमा दाजु तथा दाइजस्ता शब्दहरू मेरानिम्ति बडो लफडादायी साबित भएका छन्।
मेरो रूप, वर्ण तथा फेसियल एक्स्प्रेसनले कतिपयलाई भ्रम हुँदो रहेछ। कतिपय भेटघाटमा कतिपय बूढाखाडाहरूले समेत मलाई ‘दाइ–का–दाइ’ ठोकिरहेका हुन्छन्। तर, प्रसंगवश जब उमेरको क्यालकुलेसन हुन थाल्छ म बबुरो भाइ भइजान्छु। त्यसपछि उनीहरू भन्न थाल्छन्, ‘अरे, दाइ त मेरो भाइ नै हुनुहुँदो रै’छ।’ काँसम्म भने एक दिन ‘फिनिक्स बुक्स’का गणेश सुवेदीले त मुखै फोरेर प्याच्च भने, ‘कुमार दाइ ! यतिका वर्ष म तपार्इंलाई बिनसित्ति दाइ भनिरा रै’छु। तपाईं जन्मेको साल त मैले एसएलसी नै दिएको रहेछु।’ लौ, परेन त फसाद !
अंग्रेजी उपन्यासीका ‘इकोज्’का लेखक ईश्वर कँडेल— कँडेल शब्द कस्तो क्यान्डलझैं ब्युटिफुल सुनिएको— ले मलाई एक साँझ चितवनको क्यान्डल लाइट डिनरमा भने :
– कुमार दाइ ! तपाईं कति नै बूढो होला भनेको त हैन रै’छ। मभन्दा कमै बूढो हुनुहुँदो रै’छ। कम बूढो भए पनि म तपार्इंलाई कुन मुखले भाइ भनूँ ! दाइ नै भन्छु, है भाइ ?
प्रिय उपेन्द्र सुब्बा !
त्यसैले भन्या हुँ : दाजु र दाइजस्ता शब्दहरू लफडादायी छन्। यी बैरी शब्दहरूले ऐन मौकामा मलाई भसक्कै डुबाएका छन्। हुन्छु एउटा, देखिइन्छु अर्कै। कहिलेकाहीँ पत्नीसित गुनासिन्छु, ‘के म साँच्चिकै त्यतिसारो बूढो देखिइन्छु र ? ’ साबित्री फ्याट्ट भनिदिन्छे :
– लोग्ने मान्छे ब्या गर्नुअघि मात्र तन्नेरी हुन्छ। घोर्ले हुन्छ। ब्या गरेपछि त बूढो भइजान्छ।
बूढीको कुरा सुनेर मन चसक्क हुन्छ। तैं चुप मै चुप हुन्छु। पत्नीको यस्तो खालको आधिकारिक कुरो सुनिसकेपछि पनि ऊसित अझै फतफत, कचकच गर्नु दुनियाँको कुनै पनि लोग्नेलाई शोभा दिँदैन। जस्तै मै हुँ भनी फुर्ति गर्ने लोग्नेहरू पनि पत्नीका लागि फगत चाउरिएको एक बूढो हो। तर्कवितर्क गर्नु हानिकारक हुनसक्छ। नत्र पत्नीहरू निष्फिक्री भनिदिन्छन् :
– सुन बूढा ! त्यति मात्र काँ हो र ? लोग्नेमान्छे ब्या गर्नुअघि मात्र मान्छे हुन्छ। ब्या गरिसकेपछि ऊ त मान्छेसमेत रहँदैन। फगत लोग्ने मात्र बाँकी रहन्छ। एक बूढो लोग्ने। थाहा पायौ बूढा ?
हे दैव ! क्यारम् त कुन्नि ! आफ्नो अनुहारै खोटो छ, ऐनाको के दोष ?
।। पोखरा अफेयर्स।।
पोखरा सेक्सी सिटी हो। म त्यहाँ बारम्बार जान रुचाउँछु। ब्ल्याक कफी पिउन। एस्प्रेसो एन्ड अमेरिकानो डबल सट्को मजा लिन। विथ लट्स अफ ग्रे–स्मोक्स। विथ लट्स अफ गे्र–धुँवाज्।
एकपटक ‘अक्षरगन्ज’को कार्यक्रममा एउटी टीभी एंकरले सोधेकी थिइन्, ‘कवि लेखक र कलाकारहरूलाई पोखराको अद्भुत सौन्दर्यले मोहनी लगाउँछ। यहाँका ताल, गुफा, हिमाल र प्रकृतिले तपार्इंलाई कत्तिको लोभ्याउँछ ? ’ मेरोनिम्ति यो ज्यादै उदेकलाग्दो प्रश्न थियो। जाबो ताल–साल, गुफा–सुफा, हिमाल–सिमाल, प्रकृति–स्रकृतिले मलाई लोभ्याउने ? ’ मसित यस्तो ठट्टा ? त्यस्तो थर्ड डिग्रीको लोभी म कसरी हुन सक्थेँ जसलाई हिमाल र गुफाले लोभ्याओस्। मैले एंकरलाई भनेको थिएँ :
– यो प्राकृतिक सौन्दर्र्यको कुरा हटाउनुस्। आई एम नट इन्ट्रेस्टेड।
– तर, मानिसहरू त पोखरा त्यही हेर्न आउँछन्।— तिनले भनिन्।
– आउँदा हुन्। र, मक्ख पनि पर्दा हुन्। दंग पर्दै प्रकृति–स्रकृतिको दुई–चार थान कविता पनि लेख्दा हुन्। तिनमा मलाई फुट्या कौडीको रुचि छैन।
मेरो कुरा सुनेर लेडी एंकर छक्क परिन्। उनलाई लाग्यो सायद, कस्तो तोरीलाउरे लेखक रै’छ ! मूला कस्तो तोर्पे राइटर रै’छ ! मुर्दार, फुट्या कौडीको रुचि छैन पो भन्छ !
– त्यसो भए तपाईंलाई केमा रुचि छ त ? — तिनले सोधिन्।
– यहाँका क्याफेज्मा। क्याफेका इन्टेरियर डिजाइन्स्मा।— मैले भनेको थिएँ।
जनाव ! कुरा खासमा के हो भने मलाई पोखराको लेक डिस्ट्रिक्टले लोभ्याउँछ न कि माछापुच्छ्रेले। नौका बिहार या वायु बिहार (प्यारा–ग्लाइडिङ) भन्दा मलाई ह्वाइट गुम्बाको आर्किटेक्टले मोहनी लगाउँछ। क्याफेका साज–सज्जा प्लस त्यहाँका अउरा एन्ड अरोमाले मलाई छल गर्छन्। यो लेखिरहँदा अहिले मलाई रातको त्यो १२ बजे याद आइरा’छ जब यज्ञश र म स्ट्रङ ब्ल्याक कफीको खोजमा होटलबाट निस्की सुनसान सडकमा लखरलखर हिँडिरहेका थियौं। मैले भुइँया– मानवलाई भनेको थिएँ, ‘रातको यो प्रहरमा यो आत्मीय सहरले हामीलाई कफीले सत्कार गरेन भने त यो सहरकै बेइज्जत हुन्छ। यज्ञशजी, के तपार्इं आफ्नै आँखासामु पोखराको बेइज्जत भएको देख्न चाहनुहुन्छ ? ’ यज्ञशले भनेका थिए :
– कुनै पनि हालतमा देख्न चाहन्न सर। तपार्इं ढुक्क हुनुस्। पोखराले आफ्नो लाज राख्छ।
यज्ञशले भनेझैं पोखराले त्यो रात आफ्नो लाज राख्यो। त्यो मध्यरात निद्रालु पोखराले आङ बटार्दै, आँखा मिच्दै र हा...ई काढ्दै भए पनि हामीलाई स्ट्रङ ब्ल्याक कफी सर्भ गर्यो।
के–टाउन उर्फ काठमान्डुको अहंकार, ईष्या, घमण्ड, धूलो र धूवाँजस्ता पञ्चतत्वहरूद्वारा दिक्क लाग्दा म पोखरा नै सम्झन्छु र लगत्तै गनेस पौडेललाई फोनमा भन्छु, ‘प्यारे ! कफी पिउन लेक डिस्ट्रिक्ट आउँदैछु। बाइक लिएर त्यतै आउनु।’
आच्या ! कस्तो झल्लु म ? पोखराको अटोग्राफ अर्फयर्स लेख्न बस्या म काँ कफीको झोलमा डुबेर मरि’रा ? कामकुरा एकातिर कुम्लो बोकी कतातिर मुन्टिरा ? जनाव, आउनुस् चर्चा गरौं केही सेलेक्टेड प्रसंगहरू द्याट ह्याप्पन्ड इन द्याद डिजाइरेबल सेक्सी सिटी कल्ड पोखरा।
प्रसंग–१
एक साँझ कफी खाइवरी गनेस पौडेलको पैताला पछ्याउँदै मैले लेक डिस्ट्रिक्टका फ्यान्सी वस्त्रालयहरू चहारेँ। हरेकपटक पोखरा जाँदा माला, वस्त्र र बाला किनेकै हुन्छु।
एउटा वस्त्र–पसलभित्र छिर्यौं। पढिरहेको किताब टेबलमा घोप्ट्याएर पसले हामीतर्फ आकर्षित भयो। गनेस मेरो निम्ति स्टाइलिस पतलुन खोज्न थाले। मेरो नजर भने पसलेले घोप्ट्याएर राखेको किताबमा पर्यो। संयोगवश किताबको नाम रहेछख— अक्षरगन्ज।
मेरो पालो पसलेसित कलम मागेँ। उसले बलपोइन्ट पेन दियो। सोधेँ, ‘तपार्इंको नाम के हो ? ’ उसले आफ्नो नाम बतायो। किताबमा उसको नाम सम्बोधन गर्दै—विथ लभ एन्ड रिगार्डस— लेखेर दस्तखत गरिदिएँ। ताज्जुप–ओ–ताज्जुप पर्दै पसलेले मलाई हेर्न थालेपछि गनेसलाई घिसार्दै पसलबाहिर ल्याएँ। फुटपाथमा हिँड्दै गर्दा गनेसले भने :
– पसलेलाई थाहा दिनुपथ्र्यो नि दाइ ! किताब पढिरहँदा किताबकै लेखक कुन्नि काँबाट पतलुन किन्न आयो र अटोग्राफ भरिदियो भन्ने थाहा पाउँदा पसले कति खुसी हुन्थ्यो ! एउटा दस्तखतको बदलामा एउटा पतलुन उपहारै पो दिन्थ्यो कि ! नगरकोटी उसलाई झन् अद्भुत पो लाग्थ्यो कि !
गनेसको खुल्दुलीलाई बालै नदिई मैले भनेँ :
– प्यारे ! ह्वाट इज द पोइन्ट अफ डुइङ द्याट ? हु केयर्स नगरकोटी !
प्रसंग–२
एक मध्याह्न फोनमा मलाई भनियो, ‘तपाईंको नाममा एउटा कुरियर आएको छ। सुन्धारामा लिन आउनुस्।’ मलाई कुरियर गर्ने महाशय को रहेछ ! यस्तो त कहिल्यै भएको थिएन। सुन्धारा गई आफ्नो सामान लिएँ। किङ साइज्ड खाम खोलेँ। किताब रहेछ : श्मशान भैरवी। डा. नारायणदत्त श्रीमाली लिखित ‘हिन्दीका एक मात्र तान्त्रिक उपन्यास।’ यी श्रीमाली तिनै हुन् जसको ‘प्राक्टिकल हिप्नोटिज्म’ नामक सम्मोहनशास्त्रको ग्रन्थ पढेर युवाकालमा म सेल्फ हिप्नोसिस तथा त्राटक ध्यानविधिको अभ्यास गर्ने प्रयत्न गर्थें।
लेकिन जनाव ! वो तो अतीतका एक हिस्सा है। लेट्स स्टिक टु दिस श्मशान भैरवी किस्सा। उक्त तान्त्रिक उपन्यासभित्र रातो मसिमा यस्तो लेखिएको थियो, ‘डियर नगरकोटी ! कहिलेकाहीँ तपाईंलाई घरको याद आउँदो रहेछ र जानुहुँदो रहेछ घाटतिर। तर, कहिलेकाहीँ मलाई मेरै याद आइदिन्छ, कहाँ जाने ? कसरी भेट्ने आफैंलाई ? पीडा हुन्छ।’
कुरियरमा तान्त्रिक उपन्यासभित्र यस्तो लेखिपठाउने पोखराका मित्र दीपक पराजुली रहेछन् जसलाई मैले करिब पाँच वर्षअघि भेटेको थिएँ, उनकै होम–टाउनमा। गुप्तेश्वर गुफा छेवैको चियालयमा उनीसित पहिलो भेट भएको थियो। उनी ‘फोसिल’ कथासंग्रह लिई मकन ‘अटोग्राफ, प्लिज !’ भन्दै भेट्न आएका थिए। ‘मोक्षान्त : काठमान्डु फिभर’मा लेखकको सिग्नेचर गराउन आएका थिए।
लेखक शार्दुल भट्टराई साथै हुनुहुन्थ्यो। उहाँसित कलम सापटी मागेँ। त्यही कलमले किताबहरूमा अटोग्राफ गर्न तम्तयार भइसकेको थिएँ। तर, ती नवमित्रले खल्तीबाट ब्लु जेलपेन निकाल्दै मलाई हस्ते गरे र भने :
– कुमार नगरकोटीले अर्काको कलमले सिग्नेचर गर्ने होइन। आफ्नै कलमले गर्ने हो। र, मेरो सदीच्छा छ, मैले उपहार दिएको यो कलमले तपार्इं एउटा नयाँ कथा लेख्नुस्। लेख्दालेख्दै यो कलमको मसी सिद्धियो भने म अर्को कलम पठाइदिऊँला।
उनी लामो समय बसेनन्। साथीसित फर्किहाले। शार्दुल दाइलाई कलम फिर्ता गर्दा उहाँले भन्नुभयो, ‘कुमारजी ! तपार्इं अजीव हुनुहुन्छ, तर तपार्इंका पाठकहरू झन् अजीव हुँदा रहेछन्। सुनिएको थियो, आज देखियो पनि।’
काठमान्डु आएपछि मैले नवमित्र दीपक पराजुलीको ब्लु जेलपेनले संस्मरण लेखेँ, ‘वाचम्यन उर्फ गिद्धराम चौधरी।’ लेखिएकै दिन पोखरामा उनलाई फोन गरेँ, ‘मिस्टर पराजुली ! तपाईंको कलमले एउटा मेमोयर लेखिसिध्याएँ। यो शनिबार कुमारजी उवाच हेर्नुहोला। पत्रिका पढ्नुहोला।’ उनले भने, ‘मेरै कलमले लेख्नुभयो ? क्या गज्जब। तर, मैले त ख्यालख्यालमै भनेको थिएँ।’ मैले उनलाई भन्नुपर्यो :
– मिस्टर पराजुली। दियर इज नो ख्यालखाल इन माई शब्दकोश !
प्रसंग– ३
पोखरा अर्थात् कन्या राशिकी स्वामिनी। कन्या राशि भएकैले हुनुपर्छ, पोखराले मजस्तो भूतपूर्व कुमार–केटोलाई समेत भुतक्कै पार्छे। त्यसो त प्राणप्रिय पाटन पनि कन्या राशिकैे स्वामिनी हो। यसो सोचिल्याउँदा के कुराको लगभग पुष्टि हुन गयो भने म अनावश्यक तवरले कन्याको दिवाना रहेछु। कन्याको पहुँचेहुए डाइहार्ड आशिक रहेछु।
भाग्य त मैले लिएरै आएको रहेछु कि क्या हो
उता जन्मको सम्बन्ध रहेको काठमान्डुको राशिचाहिँ मिथुन। र, मेरो स्वयंको राशि पनि मिथुन। अब हेर्नुस् जनावज्यू ! कुण्डलीमै कन्या र मिथुनको नाजायाज चलखेल भएसी मभन्दा जायज सेक्सी मनुवा खोज्न तपार्इं काँ पो जाने होला ? परेन फसाद ? मानिसहरू भन्छन्, ‘नगरकोटीको राइटिङ सेक्समैत्री छ, नगरकोटीको लेखनमा यौनको ज्यासमिन गन्ध आउँछ।’ त्यस्तो त हुने भइहाल्यो नि, जब कि उसको अवैध सम्बन्ध नै कन्या र मिथुनसित रहेछ। कुण्डलीमै दोष रहेछ। म बबुरो बल्ल बुझ्दै छु। समीक्षक प्लस साहित्यिक आलोचकहरूले त कुरो उहिल्यै बुझिसक्या रहेछन्। मै पो अबुझ स्वाँठ रहेछु।
एनिवे जनाव ! राशि प्रसंगलाई यहाँ ड्रप गर्छु र अब एउटा साँझको चर्चा गर्छु।
त्यो एक चिसो दिन थियो। साँझ धमिलिँदै रात हुने तरखरमा थियो। पर्यटनबोर्ड आसपासको चियागृहमा हामी जम्मा भएका थियौं। हामी अर्थात् अनुप बराल, दीया मास्के अनि मलगायत केही पोखरेली कलिग्स। महफिल–ए–ग्यादरिङ अन्त्योन्मुख हुँदै थियो। सिग्रेट्यौली शाम ढलिसकेको थियो। र, तेस्रो राउन्डको चियाले समेत मैदान–ए–जंगमा वीरगति प्राप्त गरिसकेको थियो।
आआफ्नो डेस्टिनेसनतिर तितरबितर हुँदै थियौं। लिट्रेचर फेस्टिभलमा त्यस दिनको सम्पूर्ण कार्यक्रम पनि अस्तु भइसकेको थियो। मलाई होटल बाराही पुग्नु थियो। साहित्यकार, लेखकहरू बसमा चढिसकेका थिए। म भने साँझको वायु पचाउँदै, बतासले नै लैजाओस् भनी फुटपाथतिर हिँड्नै लगेको थिएँ। चियागृहबाट निस्कनै लाग्दा एउटा युवकले मलाई तानेर गुप्ती कोठातिर लिएर गए। उनी केही नर्भस देखिन्थे। केही बेरदेखि त्यही गुप्ती कोठाबाट उनले मलाई हेरिरहेको आभास त भएको थियो तर त्यसरी समातेर किड्न्याप नै गरिहाल्लान् जस्तोचाहिँ लागेको थिएन।
– म तपाईंको डाइहार्ड फ्यान हुँ— उनले धकाउँदै भने।
– फ्यान होइन, फ्रेन्ड भन्नुस न ! इट साउन्डस गुड।— मैले सच्याएँ।
– म तपार्इंलाई एउटा चिज देखाउन चाहन्छु। देखाऊँ ? — उनले अनुमति मागे।
– देखाउनुस्।— भनेँ।
त्यसपछि उनले कपडा फुकाल्न थाले। गजब छ बा ! माघको चिसो मौसम। म आफैं ओभरकोटमा गुटमुटिएको छु। ती युवकचाहिँ कपडा खोल्दै छन्। मलाई गुप्त ‘चिज’ देखाउन आतुर छन्। मलाई उनको क्रियाकलाप ज्यादै रोचक लाग्न थाल्यो। एउटा पाठकले आफ्नो गुप्त ‘चिज’ पनि देखाइछाड्ने भयो। तौबा–तौबा !
उनले ज्याकेट खोले। भित्रको स्वेटर पनि खोले। अनि ‘ई हेर्नुस्’ भन्दै आफ्नो हात फनक्क घुमाउँदै दाहिने कुहिनो देखाए।
नाडीदेखि कुहिनोबीच ठूल्ठूला अंग्रेजी क्यालिग्राफिक अक्षरमा उनले सो–कल्ड फिक्सन डिजाइनरको किताको नाम खोपाएका रहेछन्—एफ.ओ.एस.एस.आई.एलः फोसिल। मुस्कुराउने प्रयास गर्दै उनले भने, ‘मैले तपार्इंको किताबको नाम शरीरमा खोपाएको छु।’ मैले भने :
– गज्जब गर्नुभएछ। तर, यस्तो स्टुपिड काम गर्न तपाईंलाई केले इन्स्पायर ग¥यो ?
– ‘फेसिल’ले।— उनले भने— फोसिलको ‘गिद्धहरूको नाच’ पढेर मेरो दिमाग सन्क्यो। औडाहा भयो। के गरूँ, काँ जाऊँ भयो। मन खलबलियो। केही सीप नलागेपछि ट्याटु हाउस गएँ र किताबको नाम खोप्न लगाएँ। त्यसपछि मन र दिमाग शान्त भयो।
उनको कुरा मलाई इन्स्टान्ट मन परिहाल्यो। रोचक मान्छे रहेछन्। उनलाई अर्को दिनको पोयट्री रिसाइटेसन उत्सवमा सामेल हुन निम्तो गरेँ। भनेँ, ‘म पनि— औंलाहरू— नामक कविता गुनगुनाउँदैछु। भोलि आउनुस्।’ तर, उनले मलाई ठाडो जवाफ फर्काए, ‘मैले प्रेम गरेको नगरकोटीलाई म कवि–लेखकहरूको भीडमा देख्न/सुन्न चाहन्न।’
– त्यसो भए काँ देख्न/सुन्न चाहनुहुन्छ ? — मैले सोधेँ।
– तपाईं जहाँ भन्नुहुन्छ, त्यहीँ आउँछु।— उनी केही सहज भए।
– त्यसो भए पर्सि भेटौं कुनै कफी हाउसमा, ओके ?
– ओके।
– अनि तपाईंको नाम के हो, त्यो पनि भन्नुस्।
– मेरो नाम विनोद तिलिजा पुन हो।— उनले गर्वसाथ आफ्नो नाम उच्चारण गरे।
फोसिल–मानव विनोद तिलिजा पुनसित पर्सिपल्ट लेक डिस्ट्रिक्टको हिमालयन जाभामा भेट भयो। आफूसित उनले साथी पनि ल्याएका थिए। मैले पनि साथी लगेको थिएँ— गनेसलाई। फोसिल–मानव जरा युनिक टाइपका रहेछन्। अनि मायालु पनि। र, केही लजालु। त्यहाँ उपस्थित साथीसित मिली उनी रात–रातभर नगरकोटी–टेक्स्टलाई कसरी सेलिब्रेट गर्ने गर्छन् भनी मिस्टर पुनले हौसिँदै बताए। ‘घाटमान्डु’ किताबका पाना–पानाहरूमा कसरी बहकिए र ‘औंलाहरू’ कवितालाई कसरी कण्ठस्त पारे सबै कुरा रिठ्ठो नबिराई बताए। उनका साथीले चाहिँ हो–मा–हो मिलाउँदै भन्दै गए, ‘विनोदले भनेको कुरा हन्ड्रेड पर्सेन्ट सही हो सर।’
भेटघाटको अवधिभरि म फोसिल–मानवको मौन श्रोता बनेँ। तर, मसितै बसी सिग्रेटको धूवाँ उडाइरहेका मस्यु गनेस पौडेल कसरी चुप रहन सक्थे ? चञ्चल गनेस एक मिनेट चुपचाप बसोस्, यस्तो कसरी हुन सक्थ्यो ? विनोदसित उनी नानाथरीका प्रश्न गर्थे, ‘...अनि छ नि पुन भाइ ! तिम्रो घरचाहिँ काँ हो ? एकपटक ट्याटु देखाउन मिल्छ ? फोटो खिच्छु। नगरकोटीलाई पढ्नुबाहेक अरू के काम गर्छौ ? नगरकोटीलाई पढ्न थालेको कति भयो ? नगरकोटी एडिक्सनबाहेक अरू के–के कुलत छ ? अरू को–को नेपाली लेखक मन पर्छ ? पोखरामा यत्तिका धेरै साहित्यिक प्रोग्रामहरू हुन्छन्, भाइलाई कहीँ देख्दिनँ। किन आउन्नौ ? गर्लफ्रेन्ड छ कि नाइँ ? गर्लफ्रेन्ड बनाइहाल्नुपर्छ नत्र बैंसको श्राप लाग्छ।’
गनेसको लम्बेतान प्रश्नहरूको मिस्टर तिलिजाले विनम्रतापूर्वक एक–एक गरी उत्तर दिए। यी मनुवा चित्रकारिता पनि गर्दा रहेछन्। अनेक कामहरू फेरिफेरि गर्दा रहेछन्। कहिले पार्किङ स्थलमा सवारी शुल्क उठाउँदा रहेछन् त कहिले विदेशी पर्यटकलाई ट्रेकिङ लैजाँदा रहेछन्। अथाह पढ्दा रहेछन् र कविता लेख्दा रहेछन्। डायरीमा मनका कुराहरू भर्दा रहेछन्। र, सबभन्दा सुन्दर कुरा : हार्मोनिकामा सुन्दर धुन निकाल्दा रहेछन्।
हार्मोनिकाबाट यिनले केही धुन सुनाए। धुन सुनेर गनेसले आपत्ति जनाइहाले :
– यस्तो राम्रो बजाउँदा रहेछौ। भाइ, गर्लफ्रेन्ड त बनाइहाल्नुपर्छ। नत्र जवानीको श्राप लाग्छ।
तिलिजाले पछिल्लोपटक लेखेको कविता— जुन अधुरो थियो— सुनाए। अनि कविताको पाना मतिर आगे सार्दै भने, ‘यो कविताको द एन्ड तपाईंले गरिदिनुपर्यो।’ मैले पानामा केही लेखिदिएँ। लेखिएका ती शब्दलाई पढेपछि मिस्टर पुनले पुनः त्यो पाना आगे सार्दै भने : अटोग्राफ, प्लिज !
अन्ततः उनको नाडीमा कुँदिएको क्यालिग्राफिक ‘फोसिल’तर्फ इसारा गर्दै मैले भनेँ :
– त्यत्रो अटोग्राफ तपार्इंले आफ्नो शरीरमा खोपाउनुभएको छ। तपाईंलाई अर्को अटोग्राफ किन चाहियो ?
।। चचा चिची चुचू चे, चे : चे शंकर।।
अलराइट अमिगो !
लेट मि इन्ट्रोड्युस चचा चिची चुचू चे, चे : चे शंकर।
चे अर्थात् अ यङ म्यान फ्रम थिएटर ब्याकग्राउन्ड। एक युवा निर्देशक जसले ब्रिटिस नाटककार जोन अब्सर्नको ‘लुक ब्याक इन एंगर’ नामक नाटक निर्देशन गर्यो। अंग्रेजीमा। जसले ‘इलुजन’जस्तो एक्स्पेरिमेन्टल प्ले निर्देशन गर्यो। जसले अभिनयबाट लगभग वि श्राम लिन पुगेका गुरुकुल–म्यान सुनील पोखरेललाई लिएर विजय मल्लको ‘कोही किन बर्बाद होस्’ मञ्चन ग¥यो। जसले त्यही नाटकको क्लाइमेक्सका लागि मसित एउटा कविता लेखाइमाग्यो र मेरो आवाजमा रेकर्ड गरिएको उक्त कविताले नै नाटकको अन्त्य गर्यो। जो मेरो गुफामा एक दिन स्यामुअल बेकेटको नाटक ‘क्राप्स लास्ट टेप’को मनुस्क्रिप्ट लिएर आयो र भन्यो, ‘दादा सल्लाह सुझाव पाऊँ।’
जसलाई मैले सल्लाह दिएँ, ‘माई डियर चे ! सबभन्दा पहिलो त क्राप नामक बेकेटको पात्रलाई एकलब्य बनाउनुस्। त्यसपछि नाटकको नाम अच्छा हुन्छ : एकलब्यज् लास्ट टेप। र, एकलब्यलाई चुइंगम चपाउन लगाउनुस् जसले बेकेटको अस्तित्ववादी थिम र निस्सारताबोध झल्काउँछ। थिएटर अफ एब्सर्डको ड्रामाटिक एफेक्ट कायम रहन्छ, नष्ट हुन पाउँदैन। एकलब्यले चुइंगम चपाउनुजस्तो निरस एवं एब्सर्ड काम दुनियाँमा अरू के हुन सक्छ ? ’
चे’ले त्यस्तै गर्यो। थिएटर मलमा मञ्चन गरिएको त्यो विसंगत नाटकमा एकलव्य बनेका फाइन एक्टर सुदाम सिकेले एउटै चुइंगम ननस्टप चपाइरहे। तर, मलाई लाग्छ अमिगोज्यू तपार्इंले पक्कै पनि त्यो नाटक मिस गर्नुभयो।
चे तपार्इंलाई बेकेटकै कुनै एब्सर्ड पात्रजस्तो लाग्नसक्छ। जसलाई तपार्इं मध्यराततिर यदाकदा आर्यघाटमा धुमधुम्ती बसिरहेको देख्न सक्नुहुन्छ। जसलाई अनकन्टार जंगलतिर पाल टाँगेर एक्लैएक्लै फगत एक्लै चे ग्वेभाराको ‘द मोटरसाइल डायरिज् : नोट्स अन अ लेटिन अमेरिकन जर्नी’ पढिरहेको देख्न सक्नुहुन्छ। या कुनै किताब विमोचनपछिको दारु–सेसनमा मलगायत थुप्रै चुरोटे कवि, लेखकहरूलाई सिग्रेट सप्लाई गरिरहेको देख्न सक्नुहुन्छ।
चार वर्षअघिको एक विस्मृत साँझ। शिल्पी थिएटरमा ‘कोमा : अ पोलिटिकल सेक्स’ नाटकको त्यस दिनको मञ्चन भर्खरै सकिएको थियो। नाटकमा म आफैंले समेत अभिनय गरेको थिएँ। एउटा कट्टु र स्यान्डो मात्र लगाएर। त्यस्तैमा चे आइपुग्यो। काँ भन्नुहुन्छ भने ग्रिन रुममै जहाँ कलाकारहरू वस्त्र फेर्छन्। लाजै नमानी चे’ले नाटकको टिकटको अर्र्धकट्टी आगे सार्दै भन्यो, ‘दादा ! अटोग्राफ, प्लिज !’ मैले दस्तखत गरिदिएँ।
टिकटको अर्धकट्टीमा सिग्नेचर गरेको यो मेरो पहिलो अनुभव थियो। गज्जब–ओ–गज्जब लाग्यो। ग्रिन रुमबाट सँगसँगै बाहिर निस्क्यिौं। थिएटरको कोर्टयार्र्डमा दर्शकहरू नाटकका कलाकारसित झुम्मिएका थिए। सेल्फी तथा सामूहिक फोटो खिचाइरहेका थिए। यस्तैमा एकजना दर्शक हामीतिर आए। ती भलाद्मीले मलाई ‘तपार्इंजस्तो फेसनेबल लेखक त्यसरी कट्टुमात्र लगाएर किन हिँडेको’ भनी झपारे। म तौबा–तौबा नाजवाफ भइगएँ। त्यसपछि उनले हातमा समातेका अमर न्यौपानेकृत ‘सेतो धरती’ उपन्यास आगे सार्दै भने, ‘अटोग्राफ, प्लिज !’
मैले किताबमा दस्तखत गरिदिएँ।
ती भलाद्मी गइसकेपछि चे’ले मसित गुनासो गर्यो, ‘दादा ! अर्कै लेखकले लेखेको किताबमा अर्कै लेखकले सिग्नेचर गर्न मिल्छ ? ’ मैले भनेँ :
– मिल्छ चे मिल्छ।
चे सबैलाई ‘दादा’ भन्छ। गन्य–मान्य होस् या अगन्य–अमान्य सबैलाई ‘दादा’ भनी सम्बोधन गर्छ। उसका लागि जगत्का सबै मनुवा ‘दादा’ हुन्। सके त श्री खड्गप्रसाद ओलीलाई समेत चे यसो भनिदिँदो हो, ‘केपी दादा ! वामभन्दा त असला माछा पो काइदा हुन्छ। वाम गठबन्धन भन्नु भन्दा असला गठबन्धन भन्नु फाइदाको हुन्थ्यो, होइन र भन्या !’ श्री शेरबहादुर देउवासित चे गुनासिँदो हो, ‘छ नि देउवा दादा ! कंगे्रस पार्टीलाई किन वृद्धा श्रम बनाएको ? वृद्धा श्रमलाई रिनोभेट गर्ने बेला भएन र भन्या ? वृद्धा श्रमलाई युवा–आ श्रम बनाउँदा पार्टीको कल्याण हुँदो हो ! खै देउवा दादा कुरो बुझेको ? ’
खैर ! यति भनिसकेपछि म अब तपाईंलाई–क्लब देजाभू–तर्फ लिई जान्छु। है त ! पढ्दापढ्दै दिक्क मानेर कतै नजानुस्। कसैको फोन आउला। फोन पनि नउठाउनुस्। कसैले डिस्टर्ब गर्ला। त्यसको वास्ता नगर्नुस्। सिग्रेट या कफी या एक पेग पिउन मन लाग्ला। त्यसलाई समेत हाल मुल्तबीमा राख्नुस्। किनभने चे’को कथा बाँकी नै छ। चे’को लेटेस्ट किस्सा अझै बाँकी छ। स्टे विथ मी। प्लिज, अन्त कतै नजानुस्। मसितै रहनुस्।
‘क्लब देजाभू’मा त्यो दिन कवि विप्लव प्रतीकको पहिलो उपन्यास ‘अविजित’को विमोचन भएको थियो। कवि, लेखकहरूले खचाखच भरिएको ‘देजाभू’ किताब विमोचनका लागि खासमा एक अल्ट्रा मोर्डन भेन्यु थियो। रमाइलो वातावरण थियो। कविजी पाठकहरूबाट घेरिएका थिए र मस्तसित दनादन अटोग्राफ भरिरहेका थिए। साहित्यकारहरू स्न्याक्स र ह्विस्कीको आनन्द लिइरहेका थिए। एस्ट्रे हातैमा लिई म यताउति डुलिरहेको थिएँ। अनि फेरि काउचमा बसिरहेको थिएँ।
यस्तैमा एक महिला हातमा कविजीको ‘अविजित’ बोकी मसामु आउनुभयो र भन्नुभयो, ‘कुमारजी, अटोग्राफ प्लिज !’ मैले उनको किताबमा ‘टु पुष्पाजी विथ लभ एन्ड रिगार्डस’ लेखेँ र दस्तखत गरिदिएँ। छेवैमा ह्विस्कीको प्याला बोकेको चे धेरै वर्षपछि पुनः चकित–ओ–चकित परिहाल्यो। भन्यो, ‘दादा ! अर्कै लेखकले लेखेको किताबमा अर्कै लेखकले सिग्नेचर गर्न मिल्छ ? ’ जवाफमा मैले फेरि भनेँ:
– मिल्छ चे मिल्छ।
प्रिय अमिगो !
अब आउनुस्, त्यही साँझको अर्को प्रसंगबारे संक्षिप्त चर्चा गरौं।
‘क्लब देजाभू’को शाम–ए–महफिलपछि हाम्रो लोभी मनले अर्के महफिल जमाउने अड्डी कस्यो। हाम्रो ग्याङ–अफ–कमरेड्स दरबारमार्गतर्फ दारुमहलको लालकिल्ला भेदन गर्न मार्चपास गर्दै आगे बढ्यो। त्यो साँझ त्यो ग्याङमा आबद्ध पोलिटब्युरोका सक्रिय सदस्यहरू थिए— राजकुमार बानियाँ, यज्ञश, नारायण अमृत, घिमिरे युवराज, अजित बराल, गुरुङ सुशान्त, नगरकोटीलगायत मित्रहरू, जसको कमान्डर–इन–चिफ थियो उही चे।
दारुमहल पुगेपछि कफी ग्याङ र दारु समूहबीच कन्फ्लिक्ट–अफ–इन्ट्रेस्ट देखा प¥यो। अन्ततः दारुप्रेमीहरू दारु क्याबिनतिर छिरे र कफी प्रेमीहरू कफी लाउन्जमा।
यज्ञश र म कफी काउन्टरतिर लाग्यौं।
संयोगको बात के भने काउन्टरमा यज्ञशको किताब ‘भूइँया’ थियो। कफी–ब्वाइले पढ्दै गरेको। हामीलाई आफ्नो अघिल्तिर उभिएको देखी कफी–ब्वाइ जिल खायो। दुई तालु चिन्डेहरूबीच कुनचैं असली लेखक हो, उसलाई छुट्याउन गाह्रो भयो। अल्मलिँदै उसले किताब मतर्फ बढाउँदै भन्यो, ‘अटोग्राफ, प्लिज !’
अब जिल परे यज्ञश। मैले कफी–ब्वाइको हातबाट किताब लिएँ र भूइँया–मानवलाई हस्ते गरेँ। यज्ञशले भने, ‘सर, तपाईं पनि सिग्नेचर ठोक्नुस्।’ मैले ‘भूइँया’मा दस्तखत गर्नै लाग्दा चे लर्खराउँदै टुप्लुक्क आइपुग्यो। उसको सातोपुत्लो उड्यो। र आत्तिँदै भन्यो, ‘दादा ! फेरि याँ पनि सिग्नेचर ? अर्कै लेखकले लेखेको किताबमा अर्कै लेखकले सिग्नेचर गर्न साँच्चै मिल्छ र भन्या ? ’ मैले हाँस्दै भनेँ :
– मिल्छ चे मिल्छ।
।। सिग्नेचर अफ् डेथ।।
भर्खरकै ताजा घटना हो। ओइलाइसकेको छैन।
केही समयअघि मंसिर १७ गतेको प्रसंग। योमरी पूर्णिमाको दिन। पब्लिक होलिडे। जन्मदिनको छेको पारी एकाबिहानै–नग्नास्नानपश्चात्–फेसबुकमा एउटा फोटो अपलोट गरेँ। अघिल्लो दिन मात्रै साथी निर्मल थापाको मैत्री निम्तोमा लन्डननिवासी नवमित्र सुरेन्द्र नेपाल श्रेष्ठसित शिवपुरीको जंगल–ड्राइम गरेको थिएँ। ‘ग्रिनभ्याली रिसोर्ट’को कफी लाउन्जमा कफी खाँदै गर्दा ओशो सन्न्यासी मिस्टर श्रेष्ठसित मैले उनको नामबीच थपक्क गर्वका साथ बसेको ‘नेपाल’बारे केही जिज्ञासा राखेँ।
प्रायः मानिसहरू नामको बीचमा— बहादुर, कुमार, मणि, शमशेर, प्रसाद— जस्ता शब्दहरू राख्छन्। तर, नेपाल ? यो अलि जरा हट्के थियो। यसअघि मैले कसैले ‘नेपाल’ राखेको देख्या–सुन्या थिइनँ। माधवकुमार नेपालजस्तो नाम त कहाँ–हो–कता सुनेको थिएँ तर सुरेन्द्र नेपाल श्रेष्ठ ! यो केही मौलिक थियो। नेपाल राख्नुको कारणबारे स्वामिजीले भने :
– म नेपाललाई माया गर्छु। विश्वका कुनै पनि देश जाँदा मानिसहरूले मेरो नाम उच्चारण गर्दा मेरो नामसितै मेरो देशको नाम पनि उच्चारण होस् भन्ने चाहन्छु।
क्या बात स्वामीजी क्या बात।
केही दिनअघि उनलाई मैले तीनवटा किताब— मिस्टिका, घाटमान्डु र दोचा– उपहार दिएको थिएँ। तीनवटा किनभने लोग्ने, स्वास्नी र छोरी। सबैको भागमा एक–एक थान उपहार भइजाओस् न ! तर, उनको कुराबाट के बुझियो भने उनको त अर्को छोरी पनि छ। मलाई लाग्यो, त्यो छोरीलाई छुटाएर किन पापको भारी बोक्ने ? पारिवारिक कोटा त पुर्याउनै पर्यो। तसर्थ जंगल–ड्राइभको बेला मैले अर्को किताब ‘अक्षरगन्ज’ दिएर कोटा पुर्याएँ। कफी पिउँदै गर्दा यो कोटाजनित कुरामा स्वामीजी दंग पर्दै हाँसे। म पनि हाँसे।
त्यो हाँसो ओइलाउनुअघि निर्मल बाबाले त्यसलाई क्यामेरामा क्याप्चर गरिहाले। र, जन्मदिनको एकाबिहानै निर्मल बाबाको निर्मल मनले खिचेको फोटो फेसबुकमा अपलोड गरेँ। क्याप्सनमा एउटा कविता लेखेँ :
‘डेथ इज अ वेटर
हु सभ्र्स मी क्यापुचिनो एन्ड मार्लबोरोजअलङ विथ जोयज् एन्ड सोरोजइन द पर्गाटरी कल्ड क्याफे–डे–लाइफ’
***
प्रिय पासा !
हामी अब मूल प्रसंगतर्फ आकर्षित होऔं कि !
बिहान करिब ११ बजेतिर एउटा फोन–कल आयो। वास्ता गरिनँ। नयाँ नम्बर के हो कसो हो, रिसिभ गरिनँ। तर, रिङटोन ननस्टप चिच्याएर हैरानै पार्न थालेपछि फोन उठाउनुप¥यो। उताबाट कसैले सीधै सोध्यो, ‘एम आई स्पिकिङ टु डेथ ? ’ यस्तो खालको क्रेजी–कल्सको अभ्यस्त भइसकेको हुनाले आजकल मलाई कुनै आश्चर्य हुँदैन। तसर्थ भनेँ, ‘यस अफकोर्स, यु आर स्पिकिङ टु डेथ।’ त्यसलगत्तै उसले भन्यो :
– हामी अहिले तपाईंको ‘मिस्टिका’ पढ्दै छौं। तपार्इंको जन्मदिन सेलिब्रेट गर्दैछौं। मेरो ‘मिस्टिका’मा तपार्इंको सिग्नेचर छैन। साथीलाई बालकुमारी मन्दिर पठाउँदैछु। ऊ रातो स्कुटीमा आउँछे। किताबमा तपाईंले फेसबुकमा पोस्ट् गरेको कविता लेखेर सिग्नेचर गर्दिनुहोला। बाई द वे ह्याप्पी बर्थ डे।
– थ्यांक यु।— मैले भने।— तर, तपाईंले मेरो नम्बर कसरी पाउनुभयो ?
– तपाईंकै किताबहरूमा तपाईंको नम्बर पाइहालिन्छ नि ! के गाह्रो भो’र !
ज्यादै दिलचस्प इन्सान रहेछ।
टाइमिङ मिलाएर बलकुमारी मन्दिर गएँ। ट्याक्सी स्ट्यान्डमा प्रतीक्षा गर्न थालेँ। मनमा शंका पनि लाग्यो— कसैले मसित प्राक्टिकल जोक त गरिरहेको छैन ! समथिङ–लाइक–प्रांक ! यस्तै सोचिबस्दा एउटा रातो स्कुटी आएर मसामु रोकियो। युवतीले नमस्ते गरी र सिटमुनिको डिग्गीबाट किताब निकालेर मलाई दिई। ‘मिस्टिका’ नयाँ नै थियो। भर्खरै मात्र किनिएजस्तो। किताबको पहिलो पानामा बिहानको कविता लेख्दै थिएँ, युवतीले फ्याट्ट भनी, ‘उसले भनेको सिग्नेचरचैं डेथकै नाममा गर्दिनुस् रे।’
– ऊ को हो ? — मैले सोधेँ।
– तपाईंको सिरियस रिडर हो। तपाईंको जम्मै किताब पढ्या छ। तपाईंहरू फेसबुक फ्रेन्ड पनि हुनुहुन्छ। हामी दरबारमार्गमा तपाईंको जन्मदिन सेलिब्रेट गरिरा’छौं। उसले यस्तो मौकामा तपाईंको किताबमा डेथको सिग्नेचर चाहियो भन्यो र मलाई पठायो। ऊ आफैंले चैं तपाईलाई कहिल्यै नभेट्ने रे। डेथलाई भेट्नु हुँदैन भन्छ।
युवतीले त्यसो भनेपछि मलाई हो न हो यिनीहरू प्रांकस्टर्स नै हुनुपर्छ जस्तो लाग्यो। बर्थ डेमा प्रांक ? ह्वाट ननसेन्स ? बर्थ डे ब्वाइसित उसैको बर्थ–डेमा यस्तो भद्दा मजाक ! तर, युवतीको हाउभाउ हेर्दा त्यस्तो कदापि देखिएन। आ–होस्, भन्दै डेथको नाममा सिग्नेचर गरिदिएँ र ‘मिस्टिका’ उसैलाई फिर्ता गरिदिएँ।
।। अनिद्राका ग्रे स्मोकी आइज : लाइक अ प्याराडाइज।।
नयाँ किताब— विमोचनअगावै— सुनील पोखरेलको निम्ति एकप्रति सधैं छुट्याउने गर्छु। यसलाई मेरो नितान्त प्राइभेट चलन भन्न सकिन्छ। गुरुकुल–मानवलाई उपहार दिने किताबमा ‘टु सुनील कुमार नगरकोटी पोखरेल विथ लभ एन्ड रिगार्डस’ लेख्ने गर्छु। र, उनी त्यो किताब प्रायः एक बसाइमा पढिसिध्याउँछन्। र, मलाई भन्छन् : लु कुमार ! तिमीलाई बधाई छ। किताब सकियो। भोलि अर्को किताब ल्याइदिनू।
एउटा कुरा नि।
उनको निम्ति एक दिनमै अर्को किताब कसरी पो लेख्ने होला ?
एनी वे ! यसपटक ‘दोचा’को मामिलामा भने मेरो फरक अनुभव भयो। उनलाई छुट्याएको ‘दोचा’ अरू कसैलाई उपहार दिनुपर्यो मैले। त्यसो गर्दा मज्जा पनि लाग्यो। उनलाई दिन भनी ‘दोचा’ बोकेर घरबाट हिडेको थिएँ। तर, त्यो दिन उनको नाट्य प्रशिक्षण ग्यालरी ‘ज्ञ’मा नपुगी म आरुबारीतिर पो लखरलखर पुगेँ। योगी विकासानन्दको आ श्रममा। योगीजी मसित स्पिरिचुअल विमर्श गर्ने धुनमा हुनुहुँदो रहेछ। उहाँसँग यो मेरो पहिलो भेट थियो र आजसम्मको अन्तिम। एक घन्टाको निम्ति गएको म त्यहाँ पूरै दिन बसेँ। सुनील पोखरेलको ‘दोचा’ उहाँलाई दस्तखत गरेर उपहार दिएँ : टु योगीजी विथ, लभ फ्रेम जोगीजी।
कसो त्यो ‘दोचा’मा मैले पहिल्यै गुरुकुल–मानवको नाम लेखेको थिइनँ। त्यसको पर्सिपल्ट अर्को ‘दोचा’ टिपेँ र त्यसमा ‘सुनील कुमार नगरकोटी पोखरेल’को नाम लेखिवरी किताब बोकी घरबाट निस्केँ। ट्याक्सीमा उनलाई फोन गरी भनेँ, ‘दाइ म तपार्इंको उपहार लिई आउँदैछु।’
– लु कुमार छिटो आऊ। दोचा पढ्न मन आतुर छु।— उनले भने।
बेनामनगर— यसलाई अनामनगर पढ्नुस्— मा ट्याक्सी रोकियो। बिहानको यस्तै साढे ८ बजेको हुँदो हो। ‘ज्ञ’तिर जानुअघि चियालयभित्र छिरेँ। सदाझैं मसला चिया पिउन। छेवैको टेबलमा एउटी युवती थिई, अघिदेखि बसिरहेकी। उसका आँखा खैरा थिए। कपाल अफ ग्रे आइज, यु सी। दोज् ग्रे स्मोकी आइज लाइक अ प्याराडाइज !
बोकेलालहरूका नजर सदा युवतीका तथाकथित ‘क्लिसे–अंगहरू’मा मात्र अल्झी बस्छ भन्ने कथन सदा सत्य नै हुन्छ भन्ने छैन। सधैं काँ यस्तो हुन्छ ? त्यो बिहान मेरो नजर ती नवयुवतीका खैरा आँखा, सिर्फ खैरा आँखामा अल्झियो। आई लभ्ड दोज ब्यटीफुल ग्रे आइज्। यो ग्रे सहरमा तपार्इं अधिकांश काला आँखाहरू मात्र देख्न पाउनुहुन्छ। ग्रे नेत्रवाली युवती तपाईं–वान्स इन अ ब्लु मुन–मात्र
देख्न/भेट्न सक्नुहुन्छ।
मैले चिया र चुरोट स्वाद मानी खाएको उसले स्वाद मानी हेरिरहेकी थिई। मलाई देखेर भित्रभित्र हाँस्या हाँस्या हो कि जस्तो लागिरहेको थियो। केही बेरपछि कुनै औपचारिकताबिना उसले फ्याट्ट भनी :
– हाई ! आई एम अनिद्रा लामिछाने। फ्रम न्युयोर्क। वान अफ योर रिडर्स।
– हेलो अनिद्रा !— मैले यतिमात्र भनेँ। अरु बोली निस्केन।
ग्रे आँखा त भइहाले। त्यसको चर्चा मैले गरिहालेँ। अब आँखाभन्दा उसको नाम अनिद्रा पो आकर्षक लाग्न थाल्यो। उसका कुराहरू झन् आकर्षक लाग्न थाले। एउटी युवतीसित यति धेरै आकर्षक चिज हुनु भनेको ज्यादै खतरनाक कुरा हो।
कुराकानीमा अधिकांश अंग्रेजी शब्द प्रयोग गर्ने अनिद्रा लामिछानेले नगरकोटीका किताबहरू उहिल्यैदेखि पढ्न थालेकी रै’छ। शब्दहरूमार्फत नगरकोटीलाई ऊ उहिल्यैदेखि चिन्दी रै’छ। उहिल्यैदेखि भनेको कहिलेदेखि हो भन्ने चाल नपाए पनि उसका कुरा सुनेर म मक्ख परेँ। दंग परेँ। अझ दंगदास त त्यस बेला भइगएँ, जब उसले भनी, ‘आई लभ्ड द वे यु गिभ नेम्स टु योर क्यारेक्टर्स। तपार्ईंको किताबमा पात्रहरूको नाम मलाई राम्रो लाग्छ। दे आर सो नाइस एन्ड युनिक। दिवंगत बुढाथोकी, सिमसारा, कफिना, गृश्मिला इटिसी। सो क्युट एन्ड इन्ट्रेस्टिङ। आई एम इन्स्पायर्ड बाइ द्याट्। आफ्नो नाम अनिद्रा राख्नुको पछाडि तपाईंको किताबको ठूलो हात छ। यो कुरा सुन्दा खुसी लाग्ला कि आफ्नो नाम मैले तपाईंबाट इन्स्पायर भएर नै राख्या हुँ। थ्यांक यु फर दिस। तर, पासपोर्टमा त मेरो नाम अर्कै छ। तपार्इंलाई यसरी भेटूँला भन्ने त मैले इम्याजिन नै गर्या थिइनँ।’
सेन्ट जेभियर्समा पढेकी अनिद्राले उच्च अध्ययन अमेरिकामै गरेकी रै’छ। ड्याड, मम र भाइसित ऊ न्युयोर्कमा बस्दी रै’छ। कुलेश्वरको घरमा हजुरबालाई भेट्न ऊ हरेक वर्ष नेपाल आउँदी रै’छ। त्यो दिन बेनामनगर— यसलाई पुनः अनामनगर पढ्नुस्— मा आफन्त भेट्न आएकी रै’छ। आफन्तलाई भेट्नुअघि मलाई भेटेकी रै’छ।
‘घाटमान्डु’सम्मका ६ वटै नगरकोटीयन किताबहरू ऊसित रै’छ। टेबलमा भएको ‘दोचा’मा नगरकोटीको लोगो देखेर उसले भनेकी थिई, ‘यो नयाँ किताब हो ? ’ मैले हो भनेपछि उसले भनी :
– माई गड ! यो किताबबारे मैले किन केही थाहा पाइनँ ? नोभेल हो ?
– होइन। मेमोयर हो।— मैले यतिमात्र भनेँ।
– विल यु गिभ मी ? मलाई दिनुस् न। प्लिज...।
– दिएँ। लानुस्।— मैले भनेँ।
क्षणभरमै मैले त्यो किताब कसलाई दिन ल्याएको हुँ, बिर्सें। सुनील पोखरेल बिर्सें। किताबमा उनलाई लेखिदिएको ‘लभ एन्ड रिगार्डस्’ र दस्तखत बिर्सें। कस्तो ठिस ? तर, ग्रे–नेत्रवाली अनिद्राको सामुन्ने ठिस भइजानु पनि गजबै हो नि त।
किताबमा लेखिएको ‘सुनील कुमार नगरकोटी पोखरेल’ अनिद्रालाई मन परेछ क्यारे ! भनी, ‘दिस इज ब्युटिफुल। यो किताब राख्न झन् मजा आउने भयो।’
यसरी गुरुकुल–मानवको ‘दोचा’ अनिद्राले लाने भई। त्यसको बदला अनिद्रासित मागेको मैले यतिमात्र थियो, ‘अटोग्राफ, प्लिज !’ अन्योलमा पर्दै उसले भनेकी थिई :
– माई अटोग्राफ ? ह्वाई ?
– आई डोन्ट नो ह्वाई ? बट् आई निड योर अटोग्राफ।— मैले यतिमात्र भनेँ।
त्यसपछि मैले चियालयको साहुजीसित एउटा पाना उधारोमा लिएँ। कलम सापटी मागेँ। अनिद्राले पानामा अटोग्राफ दिँदै भनी, ‘लेखकलाई अटोग्राफ दिने वान एन्ड द अन्ली रिडर म नै होला, इजन्ट इट ? म त कस्तो भाग्यमानी !’
मैले कुनै जवाफ दिइनँ। सायद अनिद्रा गलत भन्दै थिई। किनभने ऊ होइन भाग्यमानी त बरु म पो भएको थिएँ, जसलाई आफ्नो पाठकको अटोग्राफ लिने त्यस्तो गोल्डेन अवसर प्राप्त भएको थियो।
प्रिय अनिद्रा !
थ्यांक यु फर विइङ सो नाइस टु मी।
तिमी यदि यो ‘फकिर मेमोयर’ कतै पढिरहेकी छौ भने त्यो भेट जरुर सम्झनु। हाम्रो कुराकानी सम्झनु। र, त्यो कलम पनि सम्झनु, जसलाई तिमीले ‘दोचा’सितै आफ्नो ब्यागमा राखेकी थियौ। चियालयको साहुजीलाई त्यो कलम फिर्ता गर्नु छ।
।। पचासको ब्लु नोट, जोगी र मोक्षघाट।।
आर्यघाटलाई आफ्नै लहडमा म मोक्षघाट भन्न रुचाउँछु। घरको याद आउँदा घाटतिर जाने मान्छे म। ‘मिस्टिका’ताका त्यही घाटमा बसी ‘लोकेसन’ किताबका हरफनमौला लेखक दीपक सापकोटाले नगरकोटीसित अन्तर्वार्ता गरेका थिए। अन्तर्वार्ताका निम्ति मोक्षघाट गज्जबको लोकेसन थियो। फोटोग्राफर विकास कार्कीले अनेक पोज एन्ड पोस्चरका फोटो खिचेका थिए। पत्रिकामा छापिँदा अन्तर्वार्ताभन्दा बढी चर्चित भैदियो, मिस्टर कार्कीले क्याप्चर गरेको फोटो। अन्तर्वार्ताको शीर्षक थियो : मोक्षघाटमा एकालाप।
दीपकलाई भन्या थेँ, ‘नगरकोटीको प्रसंग आउँदा आर्यघाटलाई जहिल्यै मोक्षघाट लेख्नू। ओके ? ’
– ओके सर।— दीपकको स्वीकृति थियो।
त्यही मोक्षघाटमा केही वर्षअघि मैले एउटा अधबैंसे जोगी भेटेको थिएँ। कर्ली कपाल पालेको। मैलो जिन्स प्यान्टमा पहेँलो रङको कुर्ता लगाएको। बायाँ खुट्टा केही खोच्याएर हिँड्ने उसलाई तपार्इंले पनि कहिलेकाहीँ मलामी–सलामी जाँदा सके भेट्नु, देख्नुभएको होला।
उसले त्यो दिन मसित पैसा मागेको थियो।
मैले उसको हातमा पचासको ब्लु नोट थमाइदिएँ। तर, म चकित–ओ–चकित तब भइगएँ जब उसले नोट मैलाई फिर्ता गर्दै भन्यो, ‘साइन गरेर दिनुस्।’ मैले नोटमा दस्तखत गर्दै भनेँ, ‘तपाईं मलाई चिन्नुहुन्छ ? ’ उसले नोट खल्तीमा राख्दै भन्यो :
– जोगी हुनुअघि म तपाईंका किताबहरू पढ्थेँ।
उसको त्यस्तो खालको अप्रत्याशित कुरा सुनी म बिलखबन्दमा परेँ। तर, उसले शान्त लवजमा भन्यो, ‘तपाईंले कतै लेख्नुभएको छ : धेरै समयपछि मलाई घरको याद आयो र सीधै लागेँ घाटतिर। यो लाइनले ठूलो काम गर्यो। अझ भनूँ, यही लाइनले म लाइनमा आएँ। जोगी त म यसैउसै बन्थे हुँला। तर, यो लाइनले मेरो कल्याण गर्यो। घर छोडेँ। घाटमा आएँ। तर, यो घाटमा म धेरै बस्दिनँ होला। अलि ठूलो घाट भएको बनारससित जान्छु कि ! मनिकर्णिका घाटतिर। त्यहाँ जाने इच्छा छ। त्यसैले मागेरै पैसा जम्मा गर्दैछु। तर, तपार्इंले साइन गरेर दिएको पैसाचाहिँ म कहिल्यै खर्च गर्नेछैन।’
द्याट वज द्याट !
मोक्षघाटतिर नगएको पनि धेरै भयो। त्यो कर्ली कपालवाला अधबैंसे जोगी मनिकर्णिका घाटतिर गइसक्यो कि त्यहीँ कतै छ, थाहा छैन। कथम्कदाचित् यदि तपाईंले उसलाई मोक्षघाटमा भेट्नुभयो भने खल्तीबाट पचासको ब्लु–नोट निकालेर उसको हातमा थमाइदिनुहोला। र, भन्नुहोला :
– म पनि तिमीजस्तै घरको याद आउँदा घाटतिर लाग्ने मान्छे हुँ। लौ, यो पैसा राख र ठूलो घाटतिर जाऊ। किनभने आजकल नगरकोटी मोक्षघाटतिर आउन छाडिसकेको छ।
आफ्ना अनेक शुभचिन्तकलाई म सिटी बस, क्याफे र गल्लीहरूतिर भेट्ने गर्छु। उनीहरू मलाई अक्सर यही लाइन सुनाउँछन्, ‘धेरै समयपछि आज मलाई आफ्नो घरको याद आयो र सीधै लागेँ घाटतिर।’
म उनीहरूलाई प्रेमपूर्वक भन्ने गर्छु :
– विवेअर अफ् दिस लाइन। यो लाइनले मान्छेलाई जोगी बनाउँछ।