हिमवत् खण्डको विवेचना

हिमवत् खण्डको विवेचना

आजको वैज्ञानिक युगमा कुनै पनि देशको सर्वांगीण विकासका लागि सम्बन्धित देशका सम्पूर्ण विशेषता र कमजोरी पक्षको गहन अध्ययन, सर्वेक्षण गरी सुव्यवस्थित योजना बनाएर कार्यान्वयन गर्नुपर्छ। सीमित स्रोतसाधान भएका मुलुकले पनि व्यवस्थित योजनाअनुसार काम अघि बढाउँदा आश्चर्यजनक प्रगति गरेका छन्। हजारौं वर्षदेखि विशाल मरुभूमिको पीडा खेप्दै आएका अरबका देशहरूले खनिज तेल र समुद्री व्यापार आदिजस्ता सीमित स्रोतसाधनको क्षेत्रमा व्यवस्थित योजनाअनुसार काम गर्दा छोटै समयमा ठूलो प्रगति गरेका छन्। उनीहरूले आफ्ना देशमा जनतालाई मात्र होइन, विदेशी नागरिकलाई समेत ठूलो मात्रामा रोजगारी दिएका छन्। इजरायल र मलेसियाजस्ता देश पनि अहिले राष्ट्रिय उन्नतिको दृष्टिले विश्वस्तरमा चर्चित छन्।

नेपाल प्राकृतिक स्रोतसाधनका दृष्टिले अत्यधिक समृद्ध देश हो। कृषि, वन, वनौषधि, जलस्रोत, खनिज सम्पदा, जैविक विविधता आदिजस्ता विकासका विशिष्ट पूर्वाधारहरूको प्रचुरता छ यहाँ। त्यति मात्र हैन; यहाँ त इतिहास, पुरातत्व, धर्म–संस्कृति, देवी–देउता, वेद, उपनिषद्, पुराण, योग, तन्त्र, मन्त्र आदिजस्ता धेरै विषय विश्वकै जनताका निम्ति ठूलो आकर्षणका रूपमा रहेका छन्। तिनको गहनतम् खोज र प्रचार सबैका लागि विशेष लाभको विषय हुनेछ। वामदेव गौतमले नेपालको नवनिर्माणको अभियान सन्दर्भमा गहन प्रयत्नले तयार गर्नुभएको यस किताब ‘नेपाल नवनिर्माण महाअभियान’को इतिहास र किताबको समग्र पक्षबारे केही भन्न आवश्यक ठान्छु।

नेपालसहित सिंगै दक्षिण एसियाको इतिहास अरू महादेश र तीभित्रका विभिन्न देशको इतिहासभन्दा निकै भिन्न प्रकृतिको रहँदै आएको छ। युरोपका विभिन्न देश प्रायः एक जाति प्रधान या दुई, तीन जातिको मिलनबाट बनेका छन्। जस्तै अंग्रेजीको इङ्ल्यान्ड, फ्रेन्चको फ्रान्स, जर्मनको जर्मनी आदिले हाल आएर एकल जातीय प्रधानता व्यक्त गर्छन्। स्विट्जरल्यान्ड, युगोस्लाभिया, इटाली, रुस आदि बहुजातीय रूपका छन्। सिंगो चीनको ९३.३५ प्रतिशत जनसंख्या हान जातिको छ र ती एउटै भाषा बोल्छन्, बाँकी ६.६५ प्रतिशत अन्य जातिका छन्।

आयहरूको ठूलो मात्रामा आगमनपछि मात्र यहाँ दैविक संस्कृतिको विकास सुरु भएको हो, जुन अहिलेसम्म पनि प्रचलनमा रहेको छ र आधुनिक पुँजीवादी औद्योगिक क्रान्तिको व्यापक विस्तारले त्यो ओझेल पर्न थालेको छ।

विश्वका सबै भूभागमध्ये दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा बहुजातीय स्थिति सबभन्दा सघन छ। तीमध्ये पनि नेपाल र भारत यस्ता देश हुन् जहाँ आर्य, मंगोल, आस्ट्रिक, द्रविड चारै समुदायका असंख्य हाँगाबिँगा फैलिएका छन्। समग्रमा भन्दा एसिया महादेश जाति, भाषा, धर्म संस्कृति आदि सबै दृष्टिले सबभन्दा विविधतायुक्त छ। विश्वका सबै प्रमुख धर्म दैविक, पारसी (जोरास्टर), जैन, बौद्ध, किराँत, ताओ, कन्फ्युसियस, हिब्रु (यहुदी), सिन्तो (जापानी), इसाई, इस्लाम, सिखजस्ता विश्वका प्रमुख धर्म एसियाभित्रै जन्मेका हुन्। दक्षिण एसियामा ताओ, कन्फ्युसियस, हिबु्र र सिन्तोबाहेक अरू सबै धर्म फैलिएका छन्।

विभिन्न देशमा जन्मेका धर्मसंस्कृति अँगाल्ने जाति जनजातिहरूका विभिन्न देवीदेउता, पूजा र उपासना विधि, खानपान, रीतिरिवाज जन्म जन्मान्तरसम्बन्धी विविध संस्कृति र धारणा आदिमा रहेका फरकफरक प्रवृत्तिले गर्दा दक्षिण एसियामा धार्मिक र सांस्कृतिक मतभेद सर्वाधिक रूपमा देखा पर्दै आएका छन्।

दक्षिण एसियाका वरिपरि रहेका अफ्रिका, अरब, अफगानिस्तान, मंगोलिया, तिब्बत, राजस्थान, अस्ट्रेलिया आदि देशका मरुभूमि र अर्धमरुभूमिको अन्न संकटको कारणले अत्यधिक जलस्रोतयुक्त र सबैखाले अन्न, फलफूल, पशु, वनस्पति आदिको प्रचुरता रहेको दक्षिण एसिया सबैका लागि युगौं पहिलेदेखि आकर्षणको केन्द्र रहँदै आएको हो। बीसौं शताब्दीभन्दा अघि यहाँबाट बाहिरी देश–महादेशतिर जानेहरूको भन्दा अत्यधिक मात्रामा बाहिरबाट यहाँ आउनेको ओइरो लाग्यो। यो हजारौं, लाखौं वर्ष अघिदेखिको निरन्तर परम्परा हो।

वर्तमान भारत–भूमिको अलि उष्ण खालको वातावरणले यहाँका आदिवासी दस–बीस हजार वर्ष अघिदेखि यहाँ आएर बस्ने गरेका मानवका विभिन्न समुदायका बीचको रक्त समन्वयले एक उपजातिको रूपमा द्रविण समुदाय देखा पर्‍यो। अहिले भारतमा द्रविण समुदायको पनि विभिन्न हाँगाबिँगा फैलिएका छन्।

समयसमयमा उत्तर–पश्चिमतिरबाट आउने सेतो र रातो वर्णका आर्य शाखाहरूका मानिस, उत्तरपूर्वबाट आउने मंगोल मूलका पहेँलो वर्णका मानिस अनि अफ्रिका र अस्ट्रेलियातिरबाट आउने कालो वर्णका मानिसहरूको बसोबास दक्षिण एसियामा फैलिँदै गयो। ती विभिन्न वर्णका समुदायको भिन्नभिन्न खानपान, चिन्तन, मनन र जीवनशैलीको आधारमा यहाँ चार वर्णका फरक संस्कृतिको विकास हुँदै आयो। यो स्थिति दसौं हजार वर्षको जीवनचक्रका आधारमा क्रमशः देखा पर्दै आएको हो।

यसै परम्पराको चिन्तन र व्यवहारको आधारमा यहाँ चार वर्णका फरकफरक जीवनपद्धति देखा परे। निकटतम स्थितिमा रहेका ती संस्कृतिको समन्वयबाट यहाँ वर्णा श्रम व्यवस्थाको विकास हुँदै आयो। यस अवस्थामा स्पष्ट श्रम विभाजन हुँदै जाँदा शास्त्रीय चिन्तन, अन्वेषण, दैवी धारणा, ध्यान, पूजा, यज्ञ, वेद, उपनिषद्, पुराण, स्मृति, आदिको क्षेत्रमा ब्राह्मण समुदाय क्रियाशील बन्यो र त्यसले धार्मिक सांस्कृतिक क्षेत्रको अगुवाइ गर्दै आयो।

त्यसरी नै बलवान् युवा समुदायद्वारा शस्त्रास्त्रको विकास र अभ्यास तथा अरू पक्षसँगको युद्धद्वारा भूमि विस्तार गर्दै जाने क्रममा शासक समुदायको रूपमा क्षेत्रीय वर्ण जन्म्यो र राज्य अर्थात् शासन व्यवस्थाको क्रमशः विकास हुँदै गयो। पशुपालन, कृषि र व्यापार–विनिमयको क्षेत्रमा क्रियाशील वैश्य समुदायले उपयोग र उपभोगका विभिन्न वस्तुको खोज, आविष्कार परिमार्जन गर्दै जाने क्रममा दक्षिण एसिया र बाहिरी मुलुकमा समेत व्यापार र उद्योगको विस्तार गर्दै गयो। त्यसबाट यहाँ वैश्य वर्ण विकसित भयो। यी तीन वर्णभन्दा फरक विभिन्न धातु र औजार, यान्त्रिक उपकरण शस्त्रास्त्र, यातायातका साधन गाडा, डुंगा आदिको प्राविधिक विकासको क्षेत्रमा चौथो वर्ण शुद्र देखा पर्‍यो।

यो श्रम विभाजनको विकास हजारौं वर्षको उत्पादन पद्धतिको इतिहासमा क्रमशः अघि बढ्दै भएको हो। इसापूर्व तीन हजार वर्षदेखि वर्ण व्यवस्था क्रमशः देखा परे पनि इसापछिको यो संगठित रूपमा अघि बढ्दै गयो र पछि श्रमविभाजन जतिजति बढ्दै गयो त्यतित्यति मात्रामा उपसमुदाय अर्थात् ‘जात’हरू बन्दै गए।

युरोपको सभ्यताको इतिहास छोटो भएकाले उनीहरूको दक्षिण एसियाको संस्कृति र सभ्यताको इतिहासलाई पनि निकै छोटो देखाउने गरेका छन्। आँधी र बाढी बढी आउने अरब र सिन्धु नदी तटवर्ती बस्तीहरूमा ठूला, अग्ला पक्की भवन बनाउने परम्परा आठ–दस हजार वर्ष अगाडिदेखि नै विकसित हुँदै आएको हो। दक्षिण एसिया आँधी र बाढीको कम खतरा भएको र अत्यधिक उर्वर भूमि भएकाले यहाँ ठूलाठूला भवन निर्माण प्रणाली अलि पछि विकसित भएकाले यहाँ सभ्यताको सही इतिहास पश्चिमा लेखकले ठम्याउन सकेनन्।

दक्षिण एसियामा सबभन्दा पहिले मातृतन्त्रका रूपमा देवी या दुर्गा संस्कृति विकसित भएको हो। आदिम मातृतन्त्री युगका देवीका कथाले यहाँका पुराणहरू भरिएका छन्। यो १० हजार वर्षभन्दा अघिदेखिको कुरा हो। दक्षिण एसियामा सबभन्दा पहिले शैव संस्कृति विकास भएको हो। त्यसले तन्त्र, योग, नाट्य–संगीत र शस्त्रास्त्रको क्षेत्रमा ठूलो विकास गर्‍यो। त्यसको प्रभाव अहिलेसम्म पनि व्यापक रूपमा रहिरहेको छ। यसको विकासक्रमको सही खोज अझै व्यवस्थित रूपमा हुन सकेको छैन।

आर्यहरूको ठूलो मात्रामा आगमनपछि मात्र यहाँ दैविक संस्कृतिको विकास सुरु भएको हो, जुन अहिलेसम्म पनि प्रचलनमा रहेको छ र आधुनिक पुँजीवादी औद्योगिक क्रान्तिको व्यापक विस्तारले त्यो ओझेल पर्न थालेको छ। तर, आधुनिक स्वास्थ्य विज्ञानले पनि समाधान गर्न नसकेका कुरा प्राचीन योग विज्ञानले समाधान गर्ने देखेर आधुनिक संसार पनि त्यता आकर्षित हुँदै गएको छ।

अहिले संसारमा ऋग्वेद सबभन्दा प्राचीनतम् ग्रन्थ मानिएको छ र त्यस वेदले शिवलाई औषधि, शस्त्रास्त्र र योगका महान् प्रणेता मानेको छ। ऋग्वेदका ऋचा पाँचसात हजार वर्ष पुराना भएको तथ्य नयाँ खोजले प्रकाशमा ल्याउँदैछन्। ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, आयुर्वेद, धनुर्वेद आदिका साथै सयौं उपनिषद्, रामायण, महाभारत, स्मृति आदि ग्रन्थको विशालता, तीभित्र रहेका अहिलेसम्म विश्लेषण हुन नसकेका ज्ञान र प्रविधिसम्बन्धी विराट् सम्पदाको अहिलेसम्म सही अध्ययन, विवेचना र प्रयोग हुन सकेको छैन। महाभारतमा वर्णन गरिएजस्ता शस्त्रास्त्रहरूको समेत अझै पनि सही अध्ययन, विवेचन, निर्माण र प्रयोग हुन सकेको छैन।

भारतीय पुराणहरूको काल गणनाअनुसार सत्य, त्रेता, द्वापर, कलिजस्ता चार युगको अवधि लगभग ३९ लाख वर्ष हुन्छ। पुराणहरूले ‘कल्प’ (करोडौं वर्षको अवधि)को जुन कल्पना गरेका छन्, त्यसको पनि विवेचना हुन सकेको छैन। बुटवल नरवानरको समय एक करोड १० लाख वर्ष पुरानो र पाकिस्तानी नरवानरको समय एक करोड पन्ध्र लाख वर्ष पुरानो मानिएको छ। यी दुवै सिवालिक पर्वतमा भेटिएका हुन्।

सिवालिक पर्वत क्षेत्रको वातावरण हिमाल र महाभारत श्रेणीजस्तो ज्यादै चिसो पनि छैन र दक्षिण भारत र मध्य अफ्रिकाजस्तो अति तातो पनि छैन। त्यसैले यस क्षेत्रमा मानव जातिको आदिम उत्पत्ति र विकासका लागि निकै उपयुक्त वातावरण भएको स्पष्टै छ। शिवालिक पर्वत श्रेणी अत्यन्त जैविक विविधता भएको क्षेत्र हो। यस क्षेत्रमा योग–साधन र अरू विभिन्न कुराको अन्वेषण गर्न प्राचीन वैज्ञानिक, ऋषिमुनिहरू आइरहन्थे भन्ने वर्णन पुराणहरूमा निकै गरिएको पाइन्छ। गण्डकी प्र श्रवण क्षेत्रको दायाँबायाँ प्राचीन साधक र अन्वेषकहरूमा अनेक आ श्रमहरू पुराणकालदेखि नै प्रसिद्ध रहँदै आएका छन्। नाराणयी नदीको पूर्वी भागमा ऋग्वेद युगका महर्षि गौतम र गणराज मिथिले मिथिला जनपद स्थापना गरको उल्लेख छ। यो रामायण युगभन्दा २१ पुस्ताअघि स्थापना भएको थियो। त्यहीँ सुप्रसिद्ध वाल्मीकि आश्रम पनि छ।

यी सब कुराले पनि शिवालिक र महाभारत श्रेणीको बीचमा मानव जातिको प्रथम उत्पत्ति भएदेखि त्यसको क्रमिक विकासका साथै विभिन्न संस्कृति र सभ्यताको विकास र विस्तार हुँदै आएको खुलासा गर्छ। वामदेव गौतमले नेपालको ऐतिहासिक सन्दर्भमा कलम चलाउँदै ‘नेपाल नवनिर्माण महाअभियान’ शीर्षकको अत्यन्त महत्वपूर्ण किताब तयार गर्नुभएको छ। यसमा प्रस्तुत भएका प्राचीन सन्दर्भका विषयलाई मेरो माथिको विवेचनाले थप पुष्टि गर्नेछ भन्ने मलाई लाग्छ। यस किताबले उहाँको गहन अध्ययन, चिन्तनशीलता र अन्वेषक प्रवृत्तिको व्यवस्थित सूचना दिन्छ। हिमवत् खण्डको ऐतिहासिक पक्षसहित नेपालको नवनिर्माण सन्दर्भमा उहाँले जुन उत्प्रेरणा र ज्ञानवर्द्धक किताब प्रस्तुत गर्नुभएको छ, त्यसनिम्ति हार्दिक बधाई।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.