जसले आफूलाई प्रमाणित गरे
केही राम्रा विदेशी खेलाडी अनि घरेलु क्रिकेटकै सिनियर अनुभवी खेलाडीको बाहुल्य रहेको प्रतियोगितामा युवा खेलाडीलाई अवसर पाउनु नै मुस्किल हुने गर्छ। आक्कलझुक्कल पाउने त्यस्ता अवसरमा राम्रो प्रदर्शन गर्न नसके उनीहरूले त्यसपछिको खेलमा अवसर नै नपाउने डर पनि रहन्छ।
टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा त्यस्ता केही युवा खेलाडी रहे, जसले प्राप्त अवसरमा आफूलाई अब्बल सावित गर्न सफल भएका छन्। राष्ट्रिय टोलीले पछिल्ला केही अन्तर्राष्ट्रिय खेलमा निराशाजनक प्रदर्शन गरिरहेको अवस्थामा यी युवा खेलाडीले राष्ट्रिय टोलीको भविष्यको आशा जगाउने काम पनि गरेका छन्।
भैरहवा ग्लाडिएटर्सका आरिफ सेखले पोखरा राइनोजविरुद्धको खेलमा गरेको प्रदर्शन होस् या चितवन टाइगर्सका दीपेन्द्रसिंह ऐरीले ललितपुर प्याट्रियट्सविरुद्ध गरेको प्रदर्शन। अनि विराटनगर वारियर्सका अनिल शाहले ललितपुर प्याट्रियट्सविरुद्ध गरेको प्रदर्शन होस् या भैरहवा ग्लाडिएटर्सका दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशंकर शाह र काठमाडौं किङ्स इलाभेनका अमित श्रेष्ठले प्रतियोगिताको प्रायः खेलमा गरेको प्रदर्शन होस्। निक्कै परिपक्व थियो।
ईपीएलमा भैरहवा र विराटनगरले यिनै युवा खेलाडीको प्रदर्शनमा आफूलाई सशक्त टोलीको रूपमा प्रस्तुत गर्न सफल भए। विशेषगरी आरिफ र दीपेन्द्रले आफ्नो टोलीको जितमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। अलराउन्ड प्रदर्शन गरिरहेका आरिफको भूमिका टोलीका लागि आवश्यक परेको अवस्थामा बल र ब्याटबाट सधैं निर्णायक बन्दै आइरहेको छ।
सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका आरिफले समूहगत चरणको पाँच खेलमध्ये पाँचै पालिमा ब्याटिङ गर्दै एक सय आठ रन जोडे भने टोलीको चार पालिमा बलिङ गर्दै ६ विकेट पनि लिन सफल भएका छन्। बल र ब्याटमा मात्रै हैन, प्रतियोगिताभर उनको फिल्डिङ पनि उत्तिकै प्रभावकारी देखिएको छ।
यस्तै टोलीको नेतृत्व नै गरिरहेका दीपेन्द्रले चितवन टाइगर्सका लागि पुर्याएको योगदान पनि उत्तिकै महत्वपूर्ण रह्यो। चितवन टाइगर्सले आफ्नो ‘मार्की प्लेयर’को रूपमा छनोट गरेको दीपेन्द्रलाई कप्तानको जिम्मेवारी दिने निर्णय थिएन। यद्यपि कप्तानको जिम्मेवारी दिइएका पृथ्यु बाँस्कोटाले खेल्न नपाउने भएपछि त्यो जिम्मेवारी दीपेन्द्रको काँधमा आएको हो।
कप्तानको हैसियतमा उनले टोलीलाई प्लेअफतर्फ दोहोर्याउन त सकेनन् तर प्रतियोगिताको प्रत्येक खेलमा उनको प्रदर्शन निकै अब्बल देखियो। विशेषगरी ललितपुर प्याट्रियट्सविरुद्ध गत शनिबार भएको खेलमा उनकै जिम्मेवारीपूर्ण प्रदर्शनमा चितवन टाइगर्सले प्रतियोगिताकै पहिलो र एकमात्र जित निकाल्यो।
सुरुआती दुई ब्याट्सम्यानहरू सुनम गौतम र दिलीप नाथ दोहोरो अंकमा रन जोड्नुअघि नै आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले ५० बलमा ५५ रन जोड्दै टोलीलाई विजयी बनाएका थिए। सो खेलमा उनको प्रदर्शन वास्तवमै उच्च कोटीको रह्यो। बललाई सही अनुमान गर्दै सर्ट बलमा अघि सरेर प्रहार गरेको चौका निकै आकर्षक थियो।
पछिल्लो समय यू–१९ र सिनियर राष्ट्रिय टोलीबाट समेत खेल्दै आइरहेका दीपेन्द्रले यस प्रतियोगितामा पनि त्यो अनुभवलाई भरपूर प्रयोग गरे। उनले समूहगत चरणको पाँच खेलको पाँचै पालीमा ब्याटिङ गर्दै एक सय ३० रनमात्रै जोडेनन्, तीन विकेट पनि लिन सफल भए।
आफ्नो प्रदर्शनमा निरन्तर परिपक्वता प्रदर्शन गर्न सफल देखिएका यी दुई युवा अलराउन्डरले भविष्यमा राष्ट्रिय टोलीको जिम्मेवारीलाई अझ सशक्त रूपबाट अघि बढाउने संकेत गरेका छन्।
००००
उनीहरूसँगै युवा बलर दीपेश श्रेष्ठ (नौ विकेट) को प्रदर्शन पनि ईपीएल क्रिकेटमा उच्च कोटीको रह्यो। दायाँहाते मध्यम गतिका बलर दीपेश ईपीएलको लिग खेलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपाली खेलाडीमध्ये दोस्रो स्थानमा छन् भने समग्रमा तेस्रो स्थानमा छन्।
उनीभन्दा माथि भैरहवा ग्लाडिएटर्सका वसन्त रेग्मीले ११ विकेट लिएका छन् भने चितवन टाइगर्सका भारतीय खेलाडी प्रवीण गुप्ताले १० विकेट लिएका छन्।
यू–१९ राष्ट्रिय टोलीका मुख्य बलर दीपेशले पनि यसै प्रतियोगिताबाट आफूलाई सिनियर राष्ट्रिय टोलीतर्फ अग्रसर गराएका छन्। यस्तै टोलीका लागि अलराउन्ड प्रदर्शन गरिरहेका अन्य युवा खेलाडीहरू चितवन टाइगर्सका योगेन्द्रसिंह कार्की र भैरहवा ग्लाडिएटर्सका हरिशंकर शाह तथा ब्याटिङतर्फ सशक्त प्रदर्शन गरिरहेका रोहितकुमार पौडेल र अनिल शाहले पनि आफूलाई प्रमाणित गर्न सफल भइसकेका छन्।
रोहित र अनिल त्यो नेपाली टोलीको सदस्य हुन्, जुन टोली गत नोभेम्बरको १० देखि १९ तारिखसम्म मलेसियामा भएको एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ युथ एसिया कपमा भारतलाई पराजित गर्दै सेमिफाइनलसम्म पुगेको थियो। यी दुई खेलाडीले ईपीएलमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी नै राखेका छन्।
अनिलले विराटनगरका लागि पहिलो खेलमै ललितपुर प्याट्रियट्सविरुद्ध ३५ बलमा ४७ रन जोडेका थिए। रोहितले पनि ललितपुर प्याट्रियट्सविरुद्धकै खेलमा ११ बलमै ३१ रनको विस्फोटक ब्याटिङ गरेका थिए। यस्तै काठमाडौं किङ्स इलाभेनका ब्याट्सम्यान अमित श्रेष्ठले प्रतियोगिताको पाँच खेलबाट टोलीका लागि एक सय रनको योगदान गर्न सफल भए। यस्तै चितवन टाइगर्सका योगेन्द्रसिंह कार्कीले टोलीका लागि पाँच पाली खेलेर ४७ रन जोड्दै पाँच विकेट लिँदा भैरहवा ग्लाडिएटर्सका हरिशंकर शाहले पनि ४५ रन जोड्दै ६ विकेट लिन सफल भए।
यो प्रदर्शनबाट यी युवा क्रिकेटरले आफूलाई अन्तर्राष्ट्रिय स्तरको ईपीएल क्रिकेटमा आफूलाई स्थापित गर्न सफल भएका छन्। यससँगै उनीहरूले सिनियर राष्ट्रिय टोलीमा आफ्नो स्थानका लागि पनि बलियो दाबेदारी प्रस्तुत गर्न सफल भएका छन्। नेपालले निकट भविष्यमा टीट्वेन्टीभन्दा पनि ५० ओभरको खेल बढी खेल्दैछ। त्यसैले टीट्वेन्टी क्रिकेटमा गरेको प्रदर्शन एकदिवसीय क्रिकेटको राष्ट्रिय टोलीमा प्रवेश पाउने आधार नहुन सक्छ। यद्यपि यी युवा खेलाडीको क्षमतालाई निखार्ने अवसर दिन सकिए नेपाली राष्ट्रिय टोलीबाट कुनै पनि फम्र्याटको क्रिकेट खेल्न सक्षम हुनेछन्। यीबाहेक ईपीएल क्रिकेटबाट यसअघि एकपटक सिनियर राष्ट्रिय टोलीमा परेर पनि बाहिरिएका पोखरा राइनोजका सुनिल धमलासहित शंकर राना, कृष्ण कार्की लगायतका युवा खेलाडीले पनि प्रतियोगिताको केही खेलमा उत्कृष्ट प्रदर्शन दिन सफल भएका छन्।