कलाका युग अवतारहरू

कलाका युग अवतारहरू

ग्रेगोरियन क्यालेन्डर फेरिएको उपलक्ष्यमा विश्व र हाम्रैतिर कलाको चरित्र कस्तो छ भन्ने विषयमा दीपक सापकोटाको केही लेखिदिनु भनेर गरेको अनुरोधमा दुई कुराले झस्केँ। पहिलो, यो विषयमा पढाउनु र अन्तर्क्रिया गर्नु, अनि नेपालमा आयोजना गरिएका अन्तर्राष्ट्रिय तहका चित्रकला प्रदर्शनी हेर्नु। अनि, सम्बन्धित क्याटलगहरूमा चित्रकला प्रदर्शनी गर्न लागेका अमूक कलाकारको अनुरोधमा लेख्नुबाहेक मैले अरू खासै केही नगरेको निकै वर्ष भयो।

यसै प्रसंगमा नवीन्द्रमान राजभण्डारीले निकालेको सिर्जना (२०१७) नामको एउटा अंग्रेजी÷नेपाली वार्षिक जर्नलमा ‘नेपाली पोइट्री एन्ड पेन्टिङ’ नामको लामो लेख लेख्दा भने मलाई समकालीन नेपालको कलामा अन्तर्विषयको साहित्य र चित्र विधाको कसरी भेट भयो भन्ने विषयमा राम्रै अध्ययन गर्ने मौका मिल्यो, यो साल। यसले एउटा पोस्टमोडर्निस्ट चेतनाले कलालाई आफ्ना बाँध फोरेर बाहिर आएको धारको नेपालमा पनि प्रयोग भएको छ भन्ने देखाउँछ। म झस्किने अर्को कारण हो, यो विषयको व्यापकता। कलाको विषयमा एक दैनिकमा १७ सय शब्दमा कुनै भिजुअल र रेफरेन्स पनि नराखी लेख्ने कर्म सजिलो होइन र यस विषयले मागेका केही कुराहरू राख्नु मात्र पनि धेरै चुनौतीपूर्ण काम हो। यसरी झस्किए पनि मलाई यो विषयमा केही लेख्न बस्दा थोरैमा भए पनि अर्थपूर्ण काम गरेको अनुभव भएको छ।

म यो लेखलाई थोरै शब्दमा शास्त्रजनिन कुरा नराखी एउटा चित्र आउने किसिमले लेख्ने जमर्को गर्दैछु। तर एकाध समीक्षाले ल्याएका कुरा भने राख्नै पर्छ। पहिलो खण्डमा म एक्काईसौं शताव्दीमा आइपुगेको विश्वमा प्रभाव पार्ने कलाका धारहरूको छोटो चर्चा गर्छु। त्यति नभई अहिलेको कला कहाँ पुगेको छ भन्ने कुरा बुझ्न सजिलो हुँदैन। आजको कलाभन्दा हामीले धेरै प्रयोगमा ल्याएका शैली, चलन र प्रयोगहरूमा पश्चिमी कलाको ठूलो प्रभाव छ भन्ने कुरा बुझिन्छ। तर, पश्चिमी शैलीको प्रभाव शिक्षा र टेक्निकमा भए पनि कलामा स्थानीय विषयवस्तु र समाजको चित्रण भएको भेटिन्छ। उदाहरणको निम्ति मेरोसामु अहिले ‘दलित आर्ट एन्ड भिजुअल् इमेजरी’ (२०१२) नामको अक्सफोर्डको किताब छ। यसमा भारतीय दलित, विश्वप्रसिद्ध कलाकार सावी सवारकरका चित्रहरू छन्। तिनको विषय दलित छ तर तिनको क्यानभासमा रूपविधान, रंगविधान र रचनाविधानमा पश्चिमी वा विश्वव्यापी कलापद्धतिकै प्रयोग भएको छ। त्यसैले पछिल्लो समयमा पश्चिमी कलामा के भयो ? भनेर केही चर्चा गर्नु उपयुक्त ठहर्छ।

गएको साल पनि नेपाली कलाले एउटा खोजी जारी राख्यो। त्यो के भने नेपालमा संरक्षक र संरक्षण कलाकारले पाउने सम्भावना कमजोर हुँदै गएको अवस्था आयो। नेपाल कला एकेडेमी राज्यको एउटा सेतो हात्ती मात्र भयो।

म मूलतः पश्चिमी कलाको आधुनिक वा ‘मोडर्निस्ट’ पद्धतिको कुरा गरेर एक्काईसौं शताव्दीका कलाको चर्चा गर्छु। आधुनिक नभनेर ‘मोडर्निस्ट’भन्दा सजिलो हुन्छ। ‘मोडर्निस्ट’ कलाले पहिलेका चित्रजस्ता कलालाई छोड्यो। चित्रजस्ता कलामा सजिलो गरी चिन्न सकिने आकारहरू हुन्छन्। ती तीन आयामिक अथवा सबै कुरा देखाउने किसिमले बनाइएका हुन्छन्। ‘मोडर्निस्ट’ कलाले पहिलेका आकारप्रकार सोलोडोलो मिलेका ती कलाको तीन आयामेली चित्रलाई भत्कायो। मोडर्निस्टले गोल होइन चेप्टो हुनुलाई आफ्नो विजय ठान्यो। यसले चेप्टो, सतही क्यानभासमा नचिनिने आकारहरू बनाउनुलाई मुख्य साधना मान्यो। तिनका पेन्टिङमा जीवनसदृश चित्र देखिएनन्। मोडर्निस्टलाई सतही दुई आयामेली चित्र भनियो। यसरी चित्र जस्तो चिनिने आकारलाई लथालिङ पारेपछि मोडर्निस्ट कलाले ठूलो क्रान्ति ल्यायो। भिजुअल कलामा नै परिवर्तन ल्यायो। त्यस्ता कलालाई अभागार्द भनियो। यस्तो मोडर्निस्ट कलाको प्रभाव अहिलेसम्म पनि छ र बीसौं शताब्दीको अन्त्यसम्म नै रह्यो। नेपालमा लैनसिंह वाङ्देल, उत्तम नेपाली, लक्ष्मण श्रेष्ठ, किरण मानन्धर, स्किव समूहका कलाकारहरूमा मोडर्निस्ट नै मुख्य प्रयोगको आधार रहेको छ।

तर कलाकारहरूले मोडर्निस्टबाट अगाडि जाऔं भनेर प्रयोगहरू सुरु गरे। तिनले भने– होइन, हामी कलाले दिएको आकारभित्र मात्र नबसौं, अरू कलाका चरित्र पनि हेरौं। मोडर्निस्टले मानेका गम्भीर विषयभित्र पनि अलिक सहज हुन सकिने, हास्यरस भएका सीमा फोरेर बाहिर ल्याउन सकिने पनि के कुरा रहेछन्, हेरौं न त भन्ने कुरा लिएर उनीहरू काम गर्न थाले। त्यसलाई ‘पोस्ट मोडर्निस्ट’ पनि भनियो। कलाकारहरूले कला साधनाको वृत्त फराकिलो बनाए। क्यानभास मात्र नभएर छुन सकिने, छामछुम गर्न सकिने, प्रयोग गर्न सकिने अथवा बस्न सकिने घर, सुन्न सकिने ध्वनिसंयोजन, सडक वास्तुकलालाई बुझाउने रचना अनि, बगैंचा र गल्लीमा लम्पसार पारेर राखेका आकारहरू (इन्स्टलेसन्) बनाउने र छलफल गर्ने सबैको साझा चिन्ता भयो।

मोडर्निस्ट कलाकारका एउटा क्यानभास वा वास्तुको तहमा बनिने सजिलै नबुझिने कलाले मात्र सधैं चलाउँछौं भन्ने कुरालाई पछिल्ला प्रयोगले चुनौती दिए। हामी यही परिवर्तनको सानो चक्रवात लिएर एक्काईसौं शताब्दीमा पस्यौं। नेपालमा पनि त्यो ल्यायौं। यो छोटो लेखमा सबै लेख्न सकिँदैन। म एउटा तरिका प्रयोग गरेर यहाँ आफ्नो आजको कला वा हामी विश्व कलामा कहाँ छौं भन्ने कुरा राख्न चाहन्छु। यसको निम्ति म एकाध क्याटलगहरू लिन्छु र तिनमा कस्ताकस्ता कलाका नमुना र चर्चा छन्, राख्न चाहन्छु। त्यतिमात्र होइन, नेपाली कलाकारले कसरी विश्वका अरू भागका कलाकारसँग अनुभव साटासाट गरे, त्यो पनि सुनाउन चाहन्छु। तर कलाले यस्तो अवतार लिनुको पछिल्तिर के के कुरा थिए त भन्ने कुराको छोटो छलफल त गर्नै पर्छ।

कलालाई सबैभन्दा धेरै प्रभाव पार्ने विषय भनेको सौन्दर्यशास्त्र वा चेतनामा आएको परिवर्तन हो। यो साहित्य, रंगमञ्च, कला, संगीत सबैतिर आएको चेतना हो। यसलाई सह–सौन्दर्य चेतना वा सापेक्षिक सौन्दर्य चेतना अथवा ‘रिलेसनल् एइस्थेटिक्’ भनिएको छ, जुन चल्ती अभिव्यक्ति भइसक्यो। कलाकारले कसरी कला बनायो भन्ने मात्र नभएर, हेर्नेले कसरी हे¥यो भन्ने कुरा पनि आयो। साहित्यमा पनि हामीले कक्षा र समालोचनामा त्यही कुरा निकाल्यौं। लेखकले लेखेर मात्र पुग्यो र ? पढ्नेले पढेको कुरा पनि त आउनु प¥यो नि भन्ने कुरा आयो। यसो गर्दा कलामा पनि भनौ, नारी चेतना, दलित चेतना, वा अरू चेतनाले हेर्दा के देखिन्छ त भन्ने कुरा आयो। छोटो अर्थमा कला संवादात्मक भयो।

मैले अस्ति नोभेम्बरमा धरानका परिक्रमा समूहका डाक्टर युवाहरूको बृहत् भेलामा सोही दृष्टिकोणबाट भने, ‘डाक्टर मात्र होइन, बिरामी पनि चिकित्सा कर्मको कारक हो अब।’ त्यो कर्म पनि अब सम्बन्धात्मक भयो। अर्को कुरा कला साधना गर्ने, त्यसको प्रसार गर्ने काममा डिजिटल माध्यमको समेत प्रयोग हुन थाल्यो। सहभागितामूलक भयो कला। नेपालमा सिद्धार्थ फाउन्डेसनले गरेका तीनवटा जति अन्तर्राष्ट्रिय तहका कला उत्सवले नेपालमा झ्वाम्मै एक्काईसौं शताब्दीको कलाको माथि भनिएको चरित्रलाई भित्र्याइदिए। यसो त अरू कलाकारले पनि यो कर्म गरेकै छन्, तर राजधानी उपत्यकाका विभिन्न ठाउँमा राखिएका कलारचनाहरूले त्यो तरंगलाई आँखा, कान, नाक र हातको स्पर्शसम्म पुर्‍याइदिए। अब भूमण्डलीय वा ग्लोबल विषयले एकअर्कालाई प्रभाव पार्न थाल्यो। त्यसो हुँदा आजको शताब्दीको र हिजो बीसौं शताव्दीको अन्त्यदेखिको सबैभन्दा ठूलो कला भनेको व्यापक दृष्टिगोचर बिम्ब वा छविहरूको ऊहापोह हो। जताततै बिम्बै बिम्ब। कला पनि देखिने बिम्ब। यो सबैलाई भिजुअल कल्चर वा आर्ट भनियो। यो अंग्रेजी शब्द सम्झिराखौं, भिजुअल।

एक्काईसौं शताब्दीमा भिजुअल कलाले निकै समात्यो। तर कलाका के के रूप भए ? म संगीता थापा र उनको सिद्धार्थ फाउन्डेसनले २०१७ मा काठमाडौमा मार्च २४ देखि अप्रिल ९ सम्मको सहर विषयको त्रिएन्नालेमा प्रदर्शित कलाका प्रकारहरूको विषयमा चर्चा गर्छु। यो क्याटलगको परिचयमा काठमाडौं त्रियेन्नालेकी अध्यक्ष संगीता थापाले सन् २००९ (नारीमाथि केन्द्रित), २०१२ (वातावरणमा केन्द्रित) र तेस्रो २०१७ (सहर वा भूकम्पमा केन्द्रित) अन्तर्राष्ट्रिय कला महोत्सवहरूको इतिहास लेखेकी छन्। आजको कलाले के गर्दैछ भन्ने कुरा बुझ्न यो त्रियन्नालेले केके शैलीका प्रयोग गर्‍यो भन्ने बुझे हुने देखियो। त्यसमा सहर पनि कला भएको छ। आर्किटेक्चरका अवयवहरू, अनि मानिसहरू त्यसभित्र रहेका अवस्था, सहरभित्र उठेका मानव ज्वारभाटा र विशृंखलताहरू, अनि जीवनका शैलीहरू देखाउन कलाकारले अनेकौं शैली अपनाए। यी सबैमा सबैभन्दा गोचर र प्रभावकारी शैली भनेको इन्स्टलेसन कला हो। यो अहिले विश्वभरि नै अत्यन्त प्रभावकारी माध्यम भएको छ।

आजको कलाले विविध माध्यम र विषयको प्रयोग गर्छ। जस्तो भूमि वा स्पेसमाथि रंगको रेखा छर्दै हिँड्ने मनुवा, फिल्मको माध्यम पनि कला भएकोले मानिस बाँधिएका दृश्यचित्र, मल्टिमेडियाले बनाएका मानव र यन्त्रका संगम भएका आकृति। कलाकार अस्मिना रञ्जितले देहलाई भूमिमा समर्पित गरेको मानव अभिनयको एप्लाइड आर्ट, नेदरल्यान्डका बार्ट लोडेविकको वास्तुकला जन्य रचना र भिजुअलका इन्स्टलेसन्, भुवन थापाका ससाना जन्क वा फ्याँकिएका वस्तुका वास्तुकला। विधाता केसीका मल्टिमेडियाको माध्यमले बनाइएका पल क्ली र यान्डी वारोल्का मोडर्निस्ट रचना जनिन पेन्टिङ, विकास श्रेष्ठका मल्टिमेडिया जनिन फोटोग्राफी भिजुअल, बेल्जियमकी भन्डरलिन्डेनका नारी चित्र, जो रंगका अति अभिव्यक्तिमूलक कुची प्रहारले बनिएका छन्। रोमानियाका चिप्रियान मुरेसानको नागर बुझाउने बट्टा आकारका इन्सटलेसन, नेदरल्यान्डका हेङ्क विच्का स्कल्पचर, बेल्जियमकी लेला आइदोस्लुका स्पकल्पचर (मेरो मनै खिचेका), हितमान गुरुङका मल्टिमिडिया भिजुअलमा आइडेन्टिटी कार्ड र फुटबल बोकेका मानिसका चित्रहरूले आजको कलाले कस्ता माध्यम र विषयका प्रयोग गर्छ भन्ने देखाउँछन्।

फ्रान्स र आर्जेन्टिनाका कलाकार क्रमशः कदर अत्तिया र योर्ग माच्चीका वाचाल इन्सटलेसनहरूले पनि अहिले पश्चिमी जगतमा चलेका कलाका धार देखाउँछन्। नेपालका किरण श्रेष्ठ, किरण महर्जन, कुञ्जनकृष्ण तामाङ, लक्ष्मणबज्र लामा, लक्ष्मण कर्माचार्य, मेख लिम्बु, बंगलादेशका महबुर रहमान, मनीषलाल श्रेष्ठ (इन्स्टलेसन), यूकेका मार्टिन ट्राभर्स (वाचाल पेन्टिङ), जापानकी मासाए सुजुकी (मिहिन लयका आकारको पेन्टिङ), भारतकी मिठु सेन (मल्टिमिडियामा सूक्ष्म प्रवाहमूलक मानिसका आलम्बन), कुशल कलाकार सुजन चित्रकार (मल्टिमिडिया जनिन मानव मूर्तिका जीवन्त र स्थिरको नाटकीकरण गराउने कला), आदि केही कलाकार र तिनका कला हेर्दा हामी विषय र शैलीका वैविध्य पाउन सक्छौं।

कला समीक्षकहरूका विचार छन्। आजको कलामा विपरीत खिचातानी भएता पनि तिनले देखाउन खोजेको मानिसको सिर्जनशील चरित्र आकारहीन छैन। हिजोका बुर्जुवा मूल्यहरू, अनि स्थिर र शान्त कलाहरूले एक प्रकारले आफ्ना लक्ष्य पूरा गरे जस्तो मानेर पछि आउने कलाकारहरूले तीभन्दा भिन्न चलायमान अलिक नियम भंग गरेका कलाका रचना गरेका छन्।

माथिको वर्णनबाट देखिन्छ, नेपालका कलाकार विश्वका कलाका चरित्रलाई समातेर कला रचना गर्न थालेका छन्। नेपालमा गत साल यस्तै अनेकौं अभ्यास भए। नेपाली कलाकारले, खासगरी युवा पुस्ताका कलाकारले, भूकम्पपछिको तर्सेको चेतनालाई प्रयोग गरेर रचना गरे। उनीहरूले भत्केको काष्ठमण्डपका म्युरल वा भित्तेचित्र बनाए, इन्स्टलेसन कला बनाए, पेन्टिङमा त्यो मानव दुःखको चित्र उतारे। अनि आफ्नो कला भनेको प्रयोगशील हुनुपर्छ भन्ने माने। त्यसो त गएको वर्ष नेपाली कलाकारले पुरानै शैलीका पुनरावृत्ति गरेको पनि पाइयो।

गएको साल पनि नेपाली कलाले एउटा खोजी जारी राख्यो। त्यो के भने नेपालमा संरक्षक र संरक्षण कलाकारले पाउने सम्भावना कमजोर हुँदै गएको अवस्था आयो। नेपाल कला एकेडेमी राज्यको एउटा सेतो हात्ती मात्र भयो। त्यसले केही गरेन। त्यसले गर्दा कलाकारमा उल्टै एक प्रकारको आत्मविश्वास पलायो। एउटा उदाहरणको कुरा गर्दा काष्ठमण्डप समूहले र अरू कलाकारले आफू नै स्रोत हो भन्ने कुरालाई आधार राखेर कला रचना गरे। त्यसो त अघिल्लो पुस्ताका रमेश खनालले आफ्नो घरलाई नै ग्यालरीमा परिणत गरेर अरूपण कलाको प्रयोग नगरेका होइनन्। तर आज आएर गत साल पनि कलामा शिक्षाका त्यस्तै अवसरहरूको कलाकारले प्रयोग गरे।

नवीन राजभण्डारीको सक्रियता र सम्पादनमा निस्केको सिर्जना (२०१७) पत्रिकाभित्र हेर्दा विषयका वैविध्य देख्न सकिन्छ। मैले चित्रकला र कविताका समान चरित्र र सहभागितामाथि लेखेँ। सरोज वज्राचार्यले लिच्छवि र मल्लकालीन संगीतमाथि लेखे। त्यस्तै, यमप्रसाद शर्माको हस्तलिखित ग्रन्थमाथिको दृश्यगत न्यारेसन, फोटोग्राफी, अरुण श्रेष्ठको चर्यागीत, लोक चित्रकारको परम्परागत चित्रकला, ओम खत्रीको आधुनिक मूर्तिकलाको समीक्षात्मक इतिहास र अरू लेखले आजको नेपाली कलाको वैविध्यलाई छर्लंग पार्छन्। प्रकाशन र कामबाट हेरिन्छ, इतिहास र कलाको चरित्र।

अन्त्यमा, नेपाली कला गत वर्ष पनि सक्रिय र सिर्जनशील रह्यो। यसको विश्वकलासँग नजिकवाट सम्बन्ध बनिएको अवस्था देखियो। कला समीक्षा अलिक फराकिलो र ठीकसँग लेखिनुपर्ने देखिएको छ, लेखिँदैछ। विश्वमा कला अहिले विगतमा झैं चुनौती र किञ्चित सिर्जनाको उत्ताल समातेर मानवताका रञ्जित चेतनाले चलेको छ तर त्यो मोडर्निस्ट अभागार्द चरित्र होइन। जगत् र ज्ञान, मानिसका अवस्था र सिर्जनाका चुनौती जति जटिल भए पनि त्यसलाई खोल्दै जाने काम कलाले गरिआएको छ।

गत साल र नजिक विगतका वर्षहरूमा पनि कला त्यस्तै भएर आएका उदाहरणहरू जताततै छन्। तर, कला प्रोपगण्डा र ‘किच’ वा गुणवत्ता नभएको रुचिको संस्कृति होइन। यसले जस्तो माध्यम प्रयोग गरे पनि कलाको आत्मालाई बुझ्नुपर्छ। रचनामा प्रकट भएको र हुन बाँकी चेतनाका बीचबाट, भिजुअल, प्रकाशन, निर्माण, मल्टिमिडियाजस्ता माध्यम प्रयोग गरेर मानवतावादी शक्तिले उठ्ने हुन् सिर्जनाका आँधी।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.