सिनेमा : पैसा सोहोर्ने हाटबजार
सिनेमाको माध्यम कला र संस्कृतिका सचेतकको साधना हुनु थियो, विडम्बना खुद्रा व्यापारीको पैसा सोहोर्ने हाटबजार पो भएको छ।
आजभन्दा ठीक एक सय २२ वर्ष अघिको कुरा हो। डिसेम्बरको एक चिसो साँझ। मन्द हिउँ फुस्फुसाएर हाइबरनेसनमा हराउन खोज्दै हुँदो हो पेरिस सहरको एक भवनको बन्द अँध्यारो हलमा, एक हूल मान्छे सभ्यताले भेटेको एउटा कोसेलीको साक्षी हुन बसेका थिए। अँध्यारो कोठामा अचानक छायाजस्ता केही चिज सल्बलाउन थाले, ती श्यामश्वेत छायाहरू गतिशील हुन थाले, मान्छेको हूल चकित भएर हेरिरह्यो। त्यो छाया मान्छेको जातले देखेको त्यो बेलासम्मकै सायद सबैभन्दा ठूलो जादु थियो।
अँध्यारो कोठाको भित्तामा एउटा कारखानाको गेट देखियो। गेटबाट एक हूल चिल्ला मान्छे सल्बलाएर निक्लन लागे। गेटबाहिर भुस्याहा कुकर पनि देखियो। एक जोर घोडा बग्गी घिसार्दै भीडको पछि लाग्यो। एक हूल जीवात्माहरूले पहिलोपटक त्यो साँझ सदाका लागि आफ्नो जीवनको गतिलाई कैद गर्ने भाग्य जुराए। मान्छेको जातले त्यो साँझ एउटा गजबको पारख भेटेको थियो। भोगाइसँगै मेटिँदै जाने मान्छेका जीवन अनुभूतिहरूलाई रोक्न, छेक्न र बन्द गर्न नसकिने समयको प्रवाहलाई छेकेर खोरमा हाल्न सकिने एउटा मेसिन भेटिएको थियो। समयलाई कैद गर्ने बाकस सभ्यताले पायो। सिनेमा भन्ने नयाँ जिनिसको एक सय २२ वर्षे इतिहास त्यही साँझबाट सुरु भयो।
सिनेमा यस्तो तिलस्मी जन्म थियो। जन्मेको छोटो समयमा नै संसारको कुनाकुनामा यसले प्रभाव छाड्न थालिगो। सिनेमाको सम्मोहनमा दुनियाँ यसरी लट्ठ पर्यो कि २१औं शताब्दीको सबैभन्दा प्यारो उपहारका रूपमा सिनेमाले आफ्नो परिचय भेट्यो। जीवन अनुभूतिका सबैभन्दा प्यारो रस मानिसहरूले सिनेमामा भेटे। भोगाइलाई चित्रण गर्ने सबैभन्दा सशक्त माध्यम सिनेमा बनिदियो। अझ, जीवन भोग्न सिकाउने गुरु झैं सिनेमाले खोजेका कति शैलीलाई मान्छेले सिको गरे, आफ्नो शैली बनाए।
एक सय २२ वर्षको अविरल यात्रामा सिनेमाले आफ्नो प्रभाव छोड्न भूगोलको कुनै कुना बाँकी राखेन। किन्तु ऊ आफैं भने आफ्नै परिचय संकटको ठेड्काबाट उम्कन निरन्तर संघर्ष गरिबस्यो। सिनेमा के हो ? केका लागि हो ? सभ्यताले खोतलेका थुप्रै विधाको खातमा यसलाई कुन तख्तामा राख्ने ? यो अस्तित्वको संकट सिनेमाले भोगिरह्यो, भोगी नै रहेछ। विशुद्ध बजारिया माल र गम्भीर कलाको स्वरूपमा धेरै लामो दूरी छ तर सिनेमा यी दुवै हाँगा बोकी हिँड्छ। लोकप्रिय मनोरञ्जनको साधन र सांस्कृतिक अवयव दुई फरक ध्रुव हुन् तर सिनेमा दुवै धु्रवलाई एउटै घोलमा मिसाएर ठिमाहा सन्तान जन्माउँछ। त्यसैले सवा सय वर्षको बूढो उमेरसम्म आउँदा पनि सिनेमाको परिचय भ्रामक छ। सिनेमा भ्रमित छ। भनिन्छ, समग्र सिनेमाको इतिहास, सिनेमाले आफ्नो कलाको स्वरूप खोज्न गरेको संघर्षको इतिहास हो।
आविष्कारको दुई दशकसम्म सिनेमाका सम्भावनाहरूमा थुप्रै प्रयोग भरहे। जादु देखाउने थुप्रो तकनिकीहरू जन्मिन थाले। कथा वाचनका शैलीहरू सिनेमा प्रविधिमा भित्रिँदै थिए तर सिनेमाको एस्थेटिक बहस भने दुई दशकपछि बल्ल रुसको मस्कोबाट सुरु भयो। सिनेमा एक स्वतन्त्र कलाको रूपमा यसका कोड्सहरूबाट सिर्जना हुने भाषाको आविष्कार गर्न त्यो बेलाका रुसी दिमागहरू लागिपरेका थिए। अक्टोबर क्रान्तिको समाप्तिसँगै देशमा साम्यवादी व्यवस्थाको मिर्मिरे बेला थियो। भीआई लेनिनले साम्यवादको गरिमाको प्रभाव जनतामा छोड्न सबैभन्दा सशक्त माध्यम सिनेमा हुनसक्छ भन्ने बोध गरे। राज्यको पहलमा सिनेमा निर्माण सुरु भयो र इतिहासमा पहिलोपटक सिनेमा स्कुलको स्थापना भयो, मस्को सहरमा। त्यो प्राचीन स्कुलमा सिनेमाको बौद्धिक बहस सुरु भयो।
उतिबेलासम्म सिनेमाको स्वरूप धेरै काँचो नै थियो। कुनै सिद्धान्त, शैली अर्थ र भाषाको यकिनबिना सिनेमा अँध्यारोमा विचलित थियो। केही साम्यवादका भक्तहरू सिनेमाको अर्थ खोज्न अघि सरे तर साउनमा आँखा फुटेको गोरुलेझैं उनीहरूले द्वन्द्वात्मक भौतिकवादको हथौडा ठोसेर सिनेमाको शैलीलाई जबर्जस्ती व्याख्या गर्न खोजे। क्यामराले खिचेको एउटा मात्र दृश्य अन्तिम सत्य हुन सक्दैन भन्ने निष्कर्ष सिनेमा सिद्धान्तको पहिलो चेतना थियो। एउटा स्वतन्त्र दृश्य र अर्को स्वतन्त्र दृश्य आफैंमा पूर्ण हँदैनन्, बरु यी दुई दृश्य एक अर्कोमा द्वन्द्व गरेर तेस्रो अन्तिम अर्थ निक्लिरहेको हुन्छ। अतः दुई फरक दृश्यहरूको द्वन्द्वको बीचमा सिनेमाको भाषा अड्किएको हुन्छ भन्ने निचोड थियो। हेगेलको डाइलेकटिक र कार्ल माक्र्सको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई एकै ठाउँ घोलेर उनीहरूले सिनेमाको सिद्धान्त बनाउने कोसिस गरे।
प्रयोगशालामा कैंचीले काटीकाटी उनीहरूले फरकफरक दृश्यलाई द्वन्द्व गराएर बसे, लामो समयसम्म। सिनेमाको अन्तिम शैली यही हो भन्ने प्रमाणित गर्न उनीहरू धेरै वर्ष कनिरहे। फलतः सिनेमा जीवनदेखि टाढाटाढा भाग्दै शैलीगत जार्गनहरूको अमूर्त पोको बनिदियो र रसियन मोंताजको सिद्धान्त खरबारीको डढेलोझैं मज्जाले सल्किएर शान्त भएर निभ्यो। डाइलेक्टिकको सिद्धान्त सिनेमाको अल्टिमेट भाषा होइन रहेछ भनेर मान्छेहरूले आत्मबोध गरे।
पुरानो प्रश्न फेरि एकपटक जटिल बनेर आएको थियो। उसो भए सिनेमा कलाको रूपमा यसको मूलभूत कोड के हो त ? बजारबाट पैसा सोहोर्न पल्किएका सिनेमाका व्यापारीहरूलाई यतातिर टाउको दुखाउनु थिएन। सिनेमाको स्वरूपलाई गम्भीर माया गर्नेहरूलाई भने सिनेमाको स्वभावले आफ्नो अस्तित्व भेट्न नसकेकोमा गम्भीर विषद्ले सताएथ्यो। कारण आफूले माया गरेको सिनेमा अरू कला र साहित्यको गुलाम बनेर घस्रिरहेथ्यो। सिनेमालाई आफ्नो स्वतन्त्र अर्थ खोज्न गाह्रो प¥यो।
पेरिस सहरको अँध्यारो कोठाको भित्तामा चिल्ला मान्छेहरू सल्बलाएर निक्लिएको साँझ, सिनेमाले आफ्नो मुख्य अस्त्रको छनक छाडिसकेको थियो। मान्छेहरूले समय लगाएर त्यो क्षमताको बोध गरे कि सिनेमा जीवनको सबैभन्दा नजिकको प्रतिविम्ब हो। सत्यको निर्दोष र भरपर्दो साक्षी सिनेमा जत्तिको अरू केही हुन सक्दैन र सिनेमाको सबैभन्दा महत्वपूर्ण स्वभाव पनि यही हो। सिनेमालाई भेरिसिमिलिचुड आर्टका रूपमा जान्नेहरूले व्याख्या गरे। एकातिर बजारका खेलाडीहरू भद्दा रंग र मसला घोलेर सिनेमालाई जीवन अनुभूतिको साक्षीभन्दा धेरै टाढा पुर्याउन लागिपरेका थिए, अर्कातिर केही गम्भीर सिनेमाका पुजारीहरू सिनेमाको अब्सुलुट स्वरूपको उत्खनन गर्न तल्लीन थिए। प्राविधिक प्रयोगहरूले थिचेर सिनेमा जीवनदेखि भाग्दै थियो।
बजारमा के बिक्छ भनेर लागेका बजारियाहरूले कहिले साहित्यको कथ्य परम्पराको बथानै हुले, सिनेमामा। कहिले रंगमञ्चको अतिरञ्जित समवेदनाले बजार तताए। देखिएको उपन्यास र खिचिएको नाटकको साँघुरो परिभाषाभित्र सिनेमाको अस्तित्व हराउन खोज्यो। धन्न केही सचेत अभियानले सिनेमाको साख गिर्न पाएन। प्राविधिक तमासाले घेरिएर जात्रा देखाउने मेसिन बनिसकेको सिनेमालाई केही गम्भीर प्रयासले रोकिरहे। बजार मत्ता साढेझैं बारहरू, सीमाहरू भत्काउँदै हाटबजार–हाटबजार दौडिरह्यो। सिनेमा चेतनाको भारी बोकेर केही सचेत चिन्तनहरू भने कछुवाको गतिमा बिस्तारै बिस्तारै लम्किरहे।
आन्द्रे बान्जी नाम गरेका एक चिन्तक एक प्रस्ताव बोकी आए। प्राविधिक प्रकोपले ध्वस्त सिनेमाको स्वरूपलाई बचाउन उनले लामो टेकको अवधारणा अघि सारे। जीवन, जगत् र समय यदि सिनेमाको आधारभूत भाषा हो भने यसको अविच्छिन्न निरन्तर अनुभूतिबाट मात्रै समयको बोध हुनसक्छ भन्ने उनको धारणा थियो। सिनेमाको वस्तुगत यथार्थवाद उनको सिद्धान्तको धेय थियो। सिनेमाको स्वरूपलाई बचाउन यो सिद्धान्तले बलियो टेको दियो तर वस्तुगत यथार्थवादको सिद्धान्तलाई संसारभरि छाड्न नपाउँदै आन्द्रे बान्जीले आफै संसार छाडिदिए र सिनेमा चेतनाको टेको लामो समयसम्म बेसहारा रह्यो।
एक दशक पछिको कुरा हो। आन्द्रे तार्कोव्सकीले रुसबाट सिनेमा चैतन्यको बिगुल फुक्दा सिनेमा एउटा गम्भीर कलाको रूपमा एकफेर फेरि तंग्रिएर आयो। बजारका चिप्ला सिनेमाहरूको जगजगीबाट विशुद्ध सिनेमाको अस्तित्वलाई साकार राख्न उनले देखाएको मार्गदर्शन सिनेमाका लागि सबैभन्दा ठूलो संजीवनी बनिदियो।
तार्कोव्सकीले सबैभन्दा पहिले आफैं पढेको सिनेमा स्कुलले अनुमोदन गरेको पहिलो सिनेमाको सिद्धान्तको ठाडो विरोध गरे। मिटरले नापेर कैंचीले काट्दै गमले जोडेर बनाइएको सिनेमा सिद्धान्त उनका लागि सहिनसक्नु भयो। काट्ने र जोड्ने भनेको प्राविधिक कुराहरू हुन्, जसको अस्तित्व सिनेमाको ग्रहण गर्दा हराइसक्छ तर त्यही दृश्य जोड्ने आधारमा सिनेमाको भाषाको लय बन्छ भन्नु ठूलो प्राविधिक भूल हो, उनको निर्क्यौल थियो। सिनेमाको भाषाको मुलभूत कोड्स यसमा समाहित दृश्यहरूले गर्ने द्वन्द्व बिल्कुल होइन, बरु दृश्यले बोकी बस्ने अन्तर्निहित समय हो भन्ने सिद्धान्तलाई तार्कोव्सकीले स्थापित गरे।
गतिशील समयलाई बन्द बाकसमा कैद गर्नसक्नु र त्यो समयलाई दोहोर्याएर अनुभूत गर्न पाउनु सिनेमाको सबैभन्दा ठूलो उपहारका रूपमा उनले सिनेमाको गरिमा उल्लेख गरे। आन्द्रे बान्जीले भनेका वस्तुपरक समयको व्याख्यालाई अलिकति अस्वीकार गर्दै उनले समयको व्यक्तिपरक गुणको अनुभूति कोट्याए। निरन्तर खिचिएको लामो दृश्यमा वास्तविक समय आफैं कैद भइदिन्छ भन्ने आन्द्रे बान्जीको सिद्धान्तलाई आन्द्रे तार्कोव्सकीले खण्डन गरे। समयको लय एकदमै आत्मपरक हुने र एउटा सिनेमा सर्जकले समयको लय सिर्जना गर्दा उसको आत्मपरक अनुभूतिलाई कैद गर्ने हुँदा त्यो वस्तुगत समयको साक्षी होइन तर एक सर्जकको समयलाई आकार दिने व्यक्तिगत तरिका हो भन्ने अवधारणा थियो। यथार्थको फोटोकपीभन्दा आफ्नो आन्तरिक अनुभूतिभित्र छिरेर समयको आकार बनाउन तार्कोव्सकीको सुझाव थियो।
शान्त भ्याकुममा समय अस्तित्वमा नै हुँदैन। जब कुनै चापले पदार्थहरू चलायमान रहन्छन् र त्यो गतिलाई एउटा आत्माले अनुभूत गर्छ, त्यो सम्बन्ध भित्रबाट समय सजीव भएर आउँछ। अतः समयको अस्तित्व आत्मपरक अनुभूतिमा निहित रहन्छ। पदार्थहरूले कुन तीव्रतामा समयलाई आकार दिरहेका छन्, त्यसले समयको लय निर्धारण गरेको हुन्छ र त्यही समयको लयको आरोह र अवरोह नै सम्पूर्ण सिनेमाको यात्रा हो। उनले उदाहरणबाट नै बुझाउन खोझे। जस्तो कि प्रकृतिमा पानी फरकफरक तरिकाले चलायमान हुन्छ। हिमालबाट बुर्कुसी मारेर हामफाल्ने खहरेको तीव्रता बिस्तारै पहाडका गल्छेडाहरूमा नागबेली घुम्न थाल्दा सेलाउँदै जान्छ अनि समथर जमिनमा शान्त सम्मोहनमा हराएको सन्त झैं मधुर गतिमा बग्न थाल्छ। पानीका बगाइका तीव्रताहरू खहरे, खोला र नदीमा फरकफरक छन्। समयका लय पनि त्यसकरण फरकफरक छन्। कुनै सिनेमाको सर्जकले आफ्नो अन्तस्करणको गहिराइ खोज्दा आफूसँग अन्तर्निहित समयको लयलाई आकार दिने कोसिस गर्छ। समयको लयको बोध एउटा सिनेमाको सर्जकका लागि सबैभन्दा महत्वपूर्ण बोध हो। संगीतको रिदमजस्तै सिनेमाको रिदम भर्ने अस्त्र समयको लय रहेको तार्कोव्सकीको अन्तरदृष्टि थियो।
लामो समयसम्म आफ्नै मुख्य सार खोज्दा खोज्दै थाकेको सिनेमालाई तार्कोव्सकीले उज्यालो खजाना दिए। उपन्यासको कथ्य, संगीतको आवाज र नाटकको पात्र भएजस्तै सिनेमाको अस्त्र समय हो। सिनेमा सर्जकको धर्म भनेको समयलाई व्यक्तिगत लय दिएर काव्य सिर्जना गर्नु हो। स्पष्ट बोधले निक्लिएको यो उक्तिले सिनेमालाई गहिरो शान्ति दियो।
तर्कोव्सकीले आफ्नो जीवनकालमा बनाएका सातवटा फिचर सिनेमामा समय चेतनाको सचेत नियन्त्रण गरिरहे। मिरर भन्ने एक आत्मवृत्तान्त्मक सिनेमामा उनले स्टुडियोमा डिजाइन गरेको दृश्यलाई युद्धका स्टक फुटेजहरूसँग जोडेर समयको आरोह सिर्जना गरेको दृश्य आजका सिनेफिलहरू बडो स्वादले उदाहरण दिने गर्छन्।
६ दशक लामो सिनेमाको अँध्यारो यात्रामा तर्कोव्सकीको चेतनाले उज्यालो झिल्को बालिदियो। सिनेमालाई एक विशुद्ध कलाका रूपमा यसको आधारभूत अस्त्रको खोजीमा लागेको इतिहासले एउटा स्पष्ट खजाना भेट्यो। समय दृश्यको रूपमा सिनेमा कलाले आफ्नो स्पस्ट अस्तित्व भेट्यो। कथाको टाइकुनमा हराएर निस्सासिएको सम्पूर्ण सिनेमा जगत्लाई तार्कोव्सकीले एक धक्का दिए। कनिकुथी कथा भन्न संघर्ष गरिरहने सिनेमाको परम्परालाई एक तह माथि उचालेर उनले सिनेमा काव्य र संगीत जत्तिकै आफ्नै कोड्सहरूको अस्तित्वमा बाँच्ने कलाका रूपमा अवतरण गराए।
मान्छेका उत्सुकतासँग खेलेर पैसा कमाउन पल्केका रमिते सिनेमाभन्दा फरक कला र संस्कृतिको गम्भीर बोधमा उत्रने काव्यिक सिने परम्परा सुरु भयो। सिनेमा एक सचेत कलाका रूपमा, सांस्कृतिक र आध्यात्मिक कर्मका रूपमा, जीवन र जगत्को असली प्रतिनिधि बनेर आज पनि सुन्दर यात्रामा छ। तर, बजारिया मालको जगजगीले सिनेमाको चेतनालाई ओझेलमा छोडिदिएको छ।
सिनेमाको जन्मदेखि आजसम्म नै सिनेमाले भोगेको सबैभन्दा ठूलो पीडा भएको छ, बजारको हस्तक्षेप। बजारलाई चित्त बुझाउने बहानामा सिनेमा चिल्लो सतही र मसलेदार न्यारेटिभको यात्रामा छ, निरन्तर। संसारभरि बन्ने अधिकांश सिनेमाहरू बजारको मागबाट निर्देशित छन्। बजारभन्दा अलि पर, गहिरो साधनका रूपमा कला चेतनाको गहिराइ खोज्दै, सानै रूपमा सही तर बलियो जगमा उभिएको छ, केही सिनेमा। सिनेमाका स्कुलहरूमा सिने चैतन्यका गहिरा बहसहरू हुने गर्छन्। सिनेकर्मीहरू सिनेमा कलाको उत्सव मनाउँछन् प्रत्येक वर्ष।
आफ्नो संस्कृतिप्रति सचेत राष्ट्रहरू सिनेमाका दृश्यहरूभित्र सांस्कृतिक अस्तित्व बोकेर संसार घुमिहिँडेका छन् तर हाम्रो यता सिनेमाको यो फरक आयामप्रति राज्य बेखबर छ। बजारिया मालभन्दा माथि उठेर कसरी सिनेमा जीवन र संस्कृतिको प्रभावकारी प्रतिविम्ब बन्नसक्छ ? नीतिका ठेक्का लिएर बसेका बोदा दिमागहरूमा चेतना छैन। केही स्वतन्त्र सिनेकर्मीहरू आफ्नो इच्छाशक्तिले सिनेमा साधनाको गहिराइमा हिँड्न खोज्दैछन् तर उनीहरू दोबाटोको रमितेभैंm खिल्लीका पात्र भएका छन्। त्यसैले दुःखी छन्। जब सिनेमाको सुन्दरता नाप्ने एउटै मात्र कसी बजार बनिदिन्छ, तब सिनेकर्मका सम्पूर्ण साधना बजारकै घानमा पिसिन्छन्। बजारभन्दा माथि पनि सिनेमाको गरिमा हुनसक्छ भन्ने ज्ञान कसले बुझ्नुपर्ने हो ? बुझाउनुपर्ने कसले हो ?
तार्कोव्सकी भन्थे, सिनेमा अरू कलाभन्दा दुःखी छ। किनकि यो भीड खोज्दै हिँड्छ। यो अझ दुःखी छ किनकि यसलाई चुरोट बेचेजस्तो बेचिन्छ। उपभोक्ता संस्कृतिले गाँजेको यो जुगमा सिनेमा बजारिया मालभन्दा माथि उठ्न नसक्नु तार्कोव्सकीलाई धेरै मन दुखेको कुरा थियो। उनले संसार छाडेको आजको मितिले ठीक ३१ वर्ष पुगेछ। के सिनेमालाई कलाको स्वरूपमा बचाउन तार्कोव्सकीले बाँडेको चेतनाले सिनेमा अनन्तसम्म जीवित रहला ?
***
आजभन्दा एक सय २२ वर्षअघि, डिसेम्बरको चिसो साँझ पेरिस सहरको अँध्यारो हलमा जम्मा भएका मान्छेहरूले भित्तामा अर्को दृश्य पनि चल्मलाएको देखे। धमिलो श्यामश्वेत छायामा एउटा रेल गुड्दैगुड्दै नजिकनजिक आउँदै थियो। रेल देखेर मान्छेहरू चिच्याउन थाले, हारगुहार गर्न लागे। सिनेमा भन्ने माध्यम कति पत्यारिलो र कति प्रभावकारी हुनसक्छ भन्ने सन्देश सभ्यतालाई दिँदै ती निर्दोष पहिलो दर्शकहरू आत्तिएर अँध्यारो हलमा भागदौड गर्न थाले। त्यसपछिको वर्ष साँच्चै मान्छेको जात सिनेमाको प्रभावमा पूरै इमर्स भएको छ। सिनेमाको माध्यम कला र संस्कृतिका सचेतकको साधना हुनु थियो, विडम्बना खुद्रा व्यापारीको पैसा सोहोर्ने हाटबजार पो भएको छ।