गाउँपालिकाको नाम परिवर्तन विरुद्ध यातायात बन्द

गाउँपालिकाको नाम परिवर्तन विरुद्ध यातायात बन्द

रोल्पा : गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय फिर्ताको माग गर्दै शनिबार बिहानदेखि पूर्वी र पश्चिम रोल्पामा यातायात बन्द गरिएको छ। विरोधमा उत्रिएको समूहले सुकिदह गाउँपालिका कार्यालय र वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन्।

सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी ‘सहिद सुनिल स्मृति गाउँपालिका’ नामाकरण गरिएपछि चरणवद्ध आन्दोलनमा उत्रिएको संघर्ष समितिले पूर्वी रोल्पामा बिहानैदेखि यातायात बन्द गरेको हो। सुलिचौरको काँडधारा सडकमा टायर बालेर समितिले प्रदर्शन गरिरहेको छ।

जिल्ला भित्रने नाकामा अवरोध गरिएपछि यातायातका साधन प्यूठान र रोल्पाको सिमाना भिंगृमा अलपत्र परेका छन्। सदरमुकाम लिबाङदेखि सुलिचौर हुँदै बाहिरिने सवारी साधन समेत अलपत्र परेका छन्।

पुस १२ गते गाउँपालिकाको दोस्रो सभाबाट बहुमतले नाम परिवर्तनको निर्णय गरिएपछि आन्दोलन चर्किएको छ। नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी भएका जनप्रतिनिधि निर्णयमा सामेल भएका थिएनन्। निर्णय गर्ने बेला उनीहरूले बै हलमै नाराबाजी समेत गरेका थिए। माओवादी केन्द्रबाट विजयी उम्मेदवारहरूले बहुमतबाट नाम परिवर्तन गरेका थिए। युद्धका बेला सेनाको आक्रमणबाट मारिएका लडाकु कमाण्डर किमबहादुर थापा ‘सुनिल’ को नामबाट गाउँपालिकाको नामाकरण गरिएको हो। सुनिल गाउँपालिका उपाध्यक्ष वागमति क्षेत्रीका पति हुन्।

अध्यक्ष गुणेन्द्र घर्तीले लोकतान्त्रिक संस्कार देखाउन आवश्यक रहेको प्रतिक्रिया दिए। बहुमताबाट नाम परिवर्तन गर्न सकिने प्रावधानलाई टेकेर गरिएको निर्णयको सम्मान आवश्यक रहेको उनको जिकिर छ। माओवादी इतरका सुलिचौरका स्थानीय दलहरू समेत नाम परिवर्तनको विरोधमा उत्रिएका छन्। माग सुनुवाई नभए शिक्षण संस्था, बजार, कलकारखाना सबै अनिश्चितकालीन बन्द गर्ने कार्यक्रम तय गरेको आन्दोलनरत वडा नम्बर ४ का अध्यक्ष गञ्ज क्षेत्रीले जनाए।

सडकमा ढुंगा तेर्स्याउँदै संघर्षमा उत्रिएकाहरू ।

उता पश्चिम सुकिदह गाउँपालिकाको नाम र  केन्द्र परिवर्तन गरेपछि असन्तुष्टहरूले चरणवद्ध आन्दोलन जारी राखेका छन्। केन्द्र र नाम परिवर्तनको निर्णय फिर्ताको माग गर्दै संघर्ष समिति नै निर्माण गरिएको छ। रोशन वलीको संयोजकत्वमा रहेको संघर्ष समितिले गाउँपालिकाको कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका छन्। यातायातका साधन समेत चलाउन रोक लगाएका छन्।

शुक्रबार दिउँसो गाउँपालिकाको कार्यालयमा उनीहरूले तालाबन्दी प्रयास गरेका थिए। गाउँपालिका प्रमुख वीरबहादुर खत्री र उपाध्यक्ष रिता घर्ती कार्यालयबाट बाहिरिन नमानेपछि विरोधमा रहेकाहरूले उनीहरु कार्यालय भित्र रहेकै बेला तालाबन्दी गरेका थिए। उनीहरू बेलुकामात्र कार्यालयबाट बाहिरिएका थिए।

गाउँ सभाको बहुमतबाट युद्धमा मारिएका गंगा र देवको नामबाट गंगादेव गाउँपालिका बनाउने र सुखाओढारमा रहेको केन्द्र एक किलोमिटर माथिको भागमा सार्ने निर्णय भएको थियो। तीन हप्ताअघि निर्णय भएदेखि त्यहाँ विरोध जारी छ। निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका संयोजक वलीले जनाए। गंगा गाउँपालिकाका अध्यक्ष बीरबहादुरका पत्नी हुन्, जो युद्धमा राज्यपक्षबाट मारिएका थिए। देव त्यस भेगमा मारिने पहिलो लडाकु हुन्। उनका दाइ सुन्दर वली अहिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हुन्। सहिदको सम्मान गर्ने भन्दै गंगादेव नामाकरण गरिएको गाउँपालिका अध्यक्ष खत्रीले दावी गर्दै आएका छन्।

युद्धमा मारिएका सबैलाई मृतक भनेर सरकारबाट राहत दिइएको भन्दै गाउँपालिकाको नामको सहिदको सम्मान भन्नुको अर्थ नहुने कतिपयले जिकिर गरेका छन्। एउटै गाउँपालिकामा दर्जनौ मृतक भएकाले केही व्यक्ति विशेषको नामबाट गाउँपालिकाको नामाकरण गलत हुने विरोधीहरूको तर्क छ।

सुदुर गाउँमा स्थानीय सरकारकै कार्यालयमा तालाबन्दी गरिएपछि सुरक्षा संवेदनशीलता बढेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयाँल बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.