मुख्यमन्त्रीमा एमालेको दाबी

मुख्यमन्त्रीमा एमालेको दाबी

सुर्खेत : प्रदेश नं ६ को मुख्यमन्त्रीमा संस्थागत रूपमै एमालेले दाबी गरेको छ । आफूहरूको आधार क्षेत्र रहेको भन्दै माओवादीले यो प्रदेशको मुख्यमन्त्रीमा दाबी गरिरहँदा एमालेले भने कुनै पनि हालतमा नेतृत्व छाड्न नसकिने जानकारी दिएको छ । एमाले प्रदेश कमिटी बैठकले निर्णय नै गरेर यसबारेमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

गठबन्धन बनाएर निर्वाचन लडेका एमाले र माओवादी केन्द्रबीच यो प्रदेशको मुख्यमन्त्री हात पार्न रस्साकस्सी हुने देखिएको छ । प्रदेश सरकार गठनका लागि दुई पार्टीबीच भागबन्डा हुँदा आफूहरूको रोजाइमा प्रदेश ६ नै पहिलो प्राथमिकतामा हुने माओवादी नेताहरू बताउँछन् । जनयुद्धको उद्गम क्षेत्र भएकाले पनि यो प्रदेशमा सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने माग माओवादी नेताको छ । तर माओवादीको यही मनोभावना बुझेको एमालेको प्रदेश कमिटीले विभिन्न आधार पेस गर्दै यो प्रदेशको नेतृत्व माओवादीलाई छाड्न नहुने निर्णय पार्टी केन्द्रलाई बुझाएको हो ।

यो प्रदेशमा आफ्ना सबै उम्मेदवार विजयी गराउन सफल भएको, प्रदेशसभाका ४० सिटमध्ये ५० प्रतिशत अर्थात् एमाले एक्लैको २० सिट रहेको, यो प्रदेशमा समानुपातिकतर्फ पनि पहिलो भएको, स्थानीय तहमा पहिलो शक्ति बनेको साख कायमै राखेको र पार्टीले सबैभन्दा बढी सिट जित्ने प्रदेशमध्ये प्रदेश ६ तेस्रोमा पर्न सफल भएकाले पनि नेतृत्व छाड्न नहुने एमाले प्रदेश कमिटीको तर्क छ । एमाले उपाध्यक्ष तथा प्रदेश कमिटी संयोजक युवराज ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकले यो प्रदेशको नेतृत्व माओवादीलाई छाड्न नहुने निर्णय गरेको हो । यही निर्णय पार्टीका शीर्ष नेताहरूलाई समेत बुझाएर प्रदेश कमिटीका नेताहरूले ध्यानाकर्षण गराइसकेका छन् ।

‘प्रदेशमा पार्टीका सबै उम्मेदवार जिताएका छौं, प्रदेशसभाको आधा सिट हामीसँग छ’, एमाले प्रदेश ६ का सहसंयोजक यामलाल कँडेलले भने, ‘एमालेबिना यो प्रदेशमा सरकारका लागि कसैको बहुमत पुग्दैन, प्रदेशमा सबैभन्दा ठूलो दल हामी बनेका छौं । यसकारण नेतृत्वमा हामीले दाबी गरेका हौं । सरकारको नेतृत्व अरूलाई छाड्न सकिन्न ।’ अब गठबन्धनको नभई एउटै पार्टी बनाएर सरकार गठन गर्नुपर्ने उनले बताए ।

प्रदेश ६ मा एमालेलाई एक्लै सरकार बनाउन एक सिट मात्र अपुग छ । ४० जना प्रदेश सांसद रहेको प्रदेशसभामा एमालेसँग २० जना सांसद छन् । सरकार गठनका लागि आवश्यक बहुमत २१ सिट हो । पार्टीसँग एक सिट मात्र कम भएको र उसको सहभागिताबिना प्रदेशमा सरकार नै बन्न नसक्ने अवस्था देखेपछि एमाले नेताहरू मुख्यमन्त्रीको दौडाहामा छन् । मुख्यमन्त्रीको आकांक्षासहित सुर्खेतबाट प्रदेशसभा सदस्यमा विजयी एमाले नेता यामलाल कँडेलले भने, ‘प्रदेशमा हामीले एक्लै सरकार बनाउन सक्ने अवस्था छ । अरूलाई नेतृत्व किन सुम्पिने रु स्वभावैले ठूलो दलले नै सरकारको नेतृत्व गर्ने हो, ठूलो पार्टीको जिम्मेवारीमा रहेको नेता नै मुख्यमन्त्री हुन्छ ।’

एमालेभित्र पोलिटब्यूरो सदस्य प्रकाश ज्वालालाई पनि मुख्यमन्त्रीका रूपमा चर्चा गरिएको छ । उनी यही आकांक्षासहित सल्यानबाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् । यद्यपि उनले यस विषयमा पार्टीभित्र कुनै बहस नभएको भन्दै छलफलबाटै टुंगो लाग्ने जानकारी दिए ।

यसैबीच एमाले प्रदेश कमिटीले हालसम्म एकजना पनि स्थायी समितिमा नरहेकाले प्रदेश ६ बाट पनि प्रतिनिधित्वको माग गरेको छ । आफूहरूले यो प्रदेशबाट अब बन्ने केन्द्र सरकारमा पनि अनिवार्य प्रतिनिधित्वको माग गरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.