‘स्कुलकै सोझी विद्यार्थी म’
काठमाडौं : मेरो स्कुले जीवन काठमाडौँ, नक्सालको नन्दी रात्रि माध्यामिक विद्यालयमा बित्यो। स्कुलमा हुँदा म एकदमै शान्त स्वभावकी थिएँ। अरूले बोलेको मात्र सुनिरहन्थेँ। आफू भने एकदमै कम बोल्थेँ। मेरो स्वभाव नै लजालु खालको थियो। स्कुलदेखि नै गायनमा मेरो रुचि थियो। स्कुलमा हुने प्रायः अतिरिक्त क्रियाकलापमा गीत गाएर सुनाउँथेँ। रमाइलोका लागि कहिलेकाहीँ यसै पनि गीत गाइदिन्थेँ।
स्कुल पढ्दाताका साथीहरूसँग फट्याइँ गर्ने र टिचरहरूलाई सताउने काम मबाट कहिल्यै भएन। ख्यालठट्टा गर्ने र रमाइलो गर्ने कुरामा पनि सधैँ पछि परेँ। क्लासमा निकै सिन्सिएर र सोझी थिएँ। सरहरू मलाई स्कुलकै सोझी विद्यार्थी भन्नुहुन्थ्यो। चमकदमक बिलकुलै मन पर्दैनथ्यो। पढाइमा एकदमै ध्यान दिन्थेँ। हाफ टाइममा पनि होमवर्क गरेर बस्थेँ। कक्षामा राम्रै पढ्नेमा गनिन्थेँ।
रिजल्ट पनि राम्रै आउँथ्यो। ‘पढ्–पढ्’ भनेर कहिल्यै कसैले गाली गर्नुपरेन। परिआएको बेला घरमा होस् वा स्कुलमा आफूभन्दा ठूलालाई सहयोग पनि गर्थें। मेरी दिदी मञ्जु र म एउटै कक्षामा पढ्थ्यौं। दुवै जना जुम्ल्याहाजस्तै थियौँ। हामी दुई जना नै त्यो बेलामा एकअर्काका मिल्ने साथी थियौँ। दुवै जना मिल्ने भए पनि हाम्रो व्यवहार भने फरक थियो। खाजाको लागि भनेर हामीले घरबाट एक दिनमा दुई रुपैयाँ पाउँथ्यौँ। दिदी पैसा पाउनेबित्तिकै हत्तपत्त खर्च गर्नुहुन्थ्यो। कहिलेकाहीँ त मेरो पैसा पनि खर्च गरिदिनुहुन्थ्यो।
म चाहिँ आफूसँग भएको पैसा साँचेर राख्थेँ। त्यसरी साँचेको पैसा पचास, सय गर्दै पाँच सय, हजारसम्म जम्मा हुन्थ्यो। ती सबै पैसा साटेर डक्क एउटा पैसा बनाउँथे र जियोमेट्री बक्सभित्र लुकाएर राख्थेँ। स्कुलमा गीत गाएबापत पनि सर/मिसले मलाई पैसा दिनुहुन्थ्यो। खाजाको पैसा र सर/मिसले दिएको पैसा गरेर मसँग पैसा कहिल्यै टुट्दैनथ्यो।
म सानैदेखि अरूको दुःख देख्न नसक्ने खालकी थिएँ। आफूले जम्मा गरेको पैसा दुःखी/गरिबलाई सहयोग गर्न रुचाउँथेँ। पैसा तिर्न नसकेर स्कुल पढ्न नपाएकालाई आफूसँग भएको पैसा दिन्थेँ। त्यसरी पैसा दिएर अरूलाई सहयोग गर्न पाएको दिन ‘ठूलै काम गरेँ कि क्या हो’ भनेर दंग पर्थें। स्कुलका साथीहरूसँग अहिले मेरो खासै कन्ट्याक्ट छैन। सरस्वती भन्ने एक जना मिल्ने साथी थिइन्। उनको र मेरो भने अहिले पनि बेलाबखत भेटघाट भइरहन्छ। भेटघाट हुँदा स्कुलका कुरा सम्झिँदै हाँस्छौँ।
नेपाली पढाउने अञ्जु मिस त्यो बेलामा मलाई एकदमै मन पथ्र्यो। उहाँको र मेरो नाम एउटै भएकाले साथीहरूले कहिलेकाहीँ मलाई जिस्काउँथेँ। उहाँको पढाउने शैली देखेर ‘म पनि पछि मिस बन्छु’ भनेर मनमनै सोच्थेँ। उहाँले माथिपट्टि एक चुल्ठी कपाल बाँधेर निधारमा हल्का कपाल निकाल्नुहुन्थ्यो। उहाँको त्यो लुक्स मलाई असाध्यै मन पथ्र्यो। अहिले पनि उहाँको अनुहार मलाई राम्रोसँग याद छ।
प्रस्तुतिः सिर्जना