दिपायल राजधानीको माग राख्दै संघर्ष समिति आन्दोलित

डोटी : प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग राख्दै संघर्ष समिति आन्दोलित भएको छ । समितिले प्रत्येक दिन दिपायल राजधानीको माग राख्दै विभिन्न संघर्षका कार्यक्रम संचालन गर्दै आइरहेको छ ।संघर्ष समितिले आइतबार डोटीको पिपल्ला बजारमा दिउँसो १ बजे राजधानीको माग राख्दै केही समय चक्का जाम गरी कोण सभाको आयोजना गरेको छ ।
कोण सभामा बोल्दै समितिका अध्यक्ष एवं डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले यदि सामान्य संघर्षका कार्यक्रमले पनि सरकारले सुन्दैन भने थप कडा रुपमा कार्यक्रम गर्न बाध्य हुने बताए । ‘डोटी जिल्ला प्रदेश नम्बर ७ का ७ वटा पहाडी जिल्लाको प्रवेशद्वारका रुपमा रहेको छ’, खड्काले भने, ‘यदि प्रदेशको राजधानी डोटी बाहेक अन्यत्र भयो भने पहाडी ७ जिल्ला ठप्प गर्नेछौं ।’
त्यसैगरी पुष १७ गते पिपल्ला बजारदेखि राजपुरसम्म शान्तिपूर्ण र्याली र पुष १८ गते दिउँसो १ बजे सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि दवावमूलक साहित्यिक कार्यक्रमको आयोजना गर्ने बताइएको छ ।कोण सभामा बोल्दै वक्ताहरुले डोटीमा प्रादेशिक राजधानी कायम नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस डोटीका क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजय खड्काले ७ नम्बर प्रदेशको राजधानी दिपायल मागमात्रै नभएर अधिकार भएको बताए । ‘सबै दृष्टिकोणबाट राजधानी दिपायल नै उपयुक्त छ’, खड्काले भने, ‘तरपनि विभिन्न किसिमका आशंका तथा भ्रमहरु सिर्जीत भएका छन् ।’प्रदेशको राजधानी डोटीका लागि नेकपा माओवादी केन्द्र डोटी समेत लाग्ने केन्द्रका नेता तेज डुम्रेलले बताए । ‘लेखराजले के भने थाहा छैन’, उनले भने यदि राजधानीका विषयमा डोटीको विरुद्धमा बोलेका हुन् भने उनलाई समेत लखेट्ने छौं ।’
संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाको निर्णयानुसार प्रदेशको राजधानी तोक्ने व्यवस्था छ । तर, प्रदेश सभाले राजधानी नतोकेसम्मका लागि सरकारले नै राजधानी तोक्ने व्यवस्था छ । सोही अनुसार अहिले प्रदेशको अस्थायी राजधानी तोक्ने चर्चा चलिरहेका बेला डोटीबासी तातेका हुन् । ‘सरकारले अस्थायी राजधानी अहिले दिपायल नै तोक्नुपर्छ भन्ने हाम्रो माग हो’, होटल व्यवसायी संघ डोटीका अध्यक्ष दिपकबहादुर खड्काले भने, ‘अहिले अस्थायी राजधानी तोकिएपछि मात्र पछि स्थायी सम्भव छ ।, अहिल्यै दिपायलको विकल्प खोज्न थालिए त्यसको नतिजा दुखद हुनेछ ।’
भौगोलिक केन्द्रबिन्दु, राजनीतिक तथा ऐतिहासिक निरन्तरता, भौतिक पूर्वाधार सबै दृष्टिकोणबाट राजधानीका लागि दिपायलको विकल्प कुनै ठाउँ नहुने डोटीका नेता पूर्ण कठायतले बताए । दिपायल सिलढी नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष वीरेन्द्र शाहले दिपायल अस्थायी मात्रै नभई स्थायी राजधानी मागेको बताए । शाहले भने, ‘त्यसका लागि जस्तोसुकै संघर्ष गर्न पनि हामी तयार छौं ।, ज्यानै किन गुमाउन नपरोस् तयार छौं ।’ नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरले अधिकारको लडाईमा डोटेली जनता होमिएको बताए ।
बलायरले भने, ‘डोटेलीका विरुद्ध षडयन्त्र हुन थालेको छ, राजधानीका विषयमा डोटीको विकल्प खोजिदै गर्दा सरकारलाई पनि चुनौती थपिन्छ । आफ्ना अधिकार खोसिन लागेपछि जनता कसरी चुप लाग्न सक्छन् ?’ उच्च अदालत, प्रदेश स्तरीय प्रहरी मुख्यालय, रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय लगायतका निकायहरु स्थापना भइसकेको र साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम समेत डोटीमै रहेकाले पनि प्रदेश नम्बर ७ को राजधानी दिपायल कायम हुनुपर्ने डोटी बासीको माग रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
