फाल्गुनन्द गोल्ड कप : सुनसरीसँग एपीएफ स्तब्ध
फिदिम : पाँचथरको फिदिममा जारी नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा नेपाल एपीएफ काठमाडौंलाई सुनसरी ११ ले हराएको छ। सदरमुकामस्थित फिदिम उच्च माविको खेल मैदानमा भएको खेलमा एपीएफलाई ३-० को गोल अन्तरले हराउँदै सुनसरीले सेमी फाइनलको स्थान पक्का गरेको हो।
सुनसरीको सहज जितका लागि हेमन्त थापा मगर एक्लैले दुई गोल गरे। हेमन्तले दुवै गोल फ्रिकिकबाट गरेका हुन् भने तीर्थ बस्नेतले अर्को गोल गरेर जितलाई सुनिश्चित गरे। खेल सुरु भएको २७ औँ मिनेटमा एपीएफका खेलाडीले फाल गरेपछि पाएको फ्रिकिकबाट हेमन्तले सुरुवाती गोल गरेका थिए। पहिलो हाफको ३४ औँ मिनेटमा पाएको फ्रिकिकको मौकालाई पनि हेमन्तले नचुकाई दोस्रो गोल ठोके।
खेलको ५१ मिनेटमा सुनसरीका तीर्थले अर्को गोल थपेका हुन्। मैदानको सेन्टरबाट सुनसरीका टिम कप्तान विष्णु सुनुवारले प्रहार गरेको बल एपीएफका गोल रक्षकको हातबाट फुत्किएर तीर्थले पाएपछि उनले जाली चुमाएका हुन्। विभागीय टोली एपीएफले निकै आक्रामक खेले पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो। एपीएफका श्याम नेपाली र सुदीपले पाएको मौकालाई गोलमा परिणत गर्न नसक्दा एपीफिएफ प्रतियोगिताबाट बाहिरिनु प¥यो। आइतबारको खेलमा सुनसरीका हेमन्त थापा म्यान अफ दी म्याच भए। उनले १० हजार नगद प्राप्त गरे।
मैदानको अनुभव नभएकाले आफ्नो टोलीले हार खानुपरेको एपीएफका प्रशिक्षक रत्न काजी महर्जनले प्रतिक्रिया दिए। ‘टोलीले राम्रो खेल्दा खेल्दै पनि पाएको मौकालाई सदुपयोग गर्न नसक्दा हार खानुपरेको हो,’ महर्जनले भने। आफ्नो टोलीको रणनीति सफल भएकै कारण एपीएफ जस्तो राष्ट्रिय टोलीलाई हराउन सकिएको सुनसारीका प्रशिक्षक श्याम मानन्धनले प्रतिक्रिया दिए। ‘एपीएफलाई हराउन त्यति सहज थिएन,’ मानन्धरले भने ‘डिफेन्सिप खेल्दा खेल्दै स्कोर गर्न सकिएपछि टोलीले झनै राम्रो खेल्यो।’
सोमबार हुने प्रतियोगितामा विर्तामोड युनाइटेड फुटबल क्लब झापा र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच भिडन्त हुनेछ। विर्तामोडले यसअघिको खेलमा मिसन युनाइटेड फुटबल क्लब ताप्लेजुङलाई ट्राइबेकरबाट हराएको हो भने आयोजक फिदिम सोझै दोस्रो चरणको खेलमा प्रवेश पाएको हो।