केन्द्र विवादमा अल्झिए जनप्रतिनिधि

केन्द्र विवादमा अल्झिए जनप्रतिनिधि

तेह्रथुम : मेन्छ्यायेम गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विवादका कारण गाउँसभा हुन सकेको छैन। गाउँपालिकाले निर्णय लिनुपर्ने महत्वपूर्ण एजेन्डा त्यत्तिकै थन्किएका छन्।

स्थानीय तह पुनःसंरचनाका बेला मोराहाङ, श्रीजुङ र पौठाक गाविसलाई मिलाएर बनेकोे मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ बजार तोकिएको थियो। दैनिक कार्यसम्पादन पनि मोराहाङस्थित भाडाको घरबाट भइरहेको छ। तर, मोराहाङ बजार सबैलाई पायक पर्ने ठाउँ नभएको भन्दै केन्द्र सार्ने विषयमा जनप्रतिनिधिबीच नै विवाद छ।

६ वडा रहेको गाउँपालिकामा दुई वडाध्यक्षसहित एमालेले गाउँपालिका अध्यक्ष जितेको छ। एमालेबाट निर्वाचित जनप्रतिनिधिले मोराहाङ बजारबाहेक अन्यत्र केन्द्र नहुने अडान लिएका छन्। कांग्रेसबाट गाउँपालिका उपाध्यक्षसहित चार वडाध्यक्ष पद जितेर बहुमत पाएको छ। उनीहरूले सबैलाई पायक पर्ने ठाउँ श्रीजुङ रहेको भन्दै त्यही ठाउँमा गाउँपालिका केन्द्र सार्नुपर्ने माग गरेका छन्। त्यसो नभए मोराहाङ बजारभन्दा दुई किलोमिटर टाढाको डाँडामा केन्द्र सार्नुपर्ने उनीहरूको अडान छ।


अन्य तहमा जनप्रतिनिधि योजना बनाई कार्यान्वयनतर्फ लागिसक्दा मेन्छ्यायेम गाउँपालिकाको भने गाउँसभासमेत हुन सकेको छैन।

केन्द्र कहाँ राख्ने भन्ने सहमति नभएपछि स्थानीय तहको कामकारबाहीसमेत प्रभावित बनेको छ। गाउँ कार्यपालिकाले अहिलेसम्म महत्वपूर्ण निर्णय गर्न सकेको छैन। हरेक पटक बैठक निर्णयविहीन बनेर टुंगिने गरेको छ। अन्य तहमा जनप्रतिनिधि योजना बनाई कार्यान्वयनतर्फ लागिसक्दा पनि यहाँ भने गाउँसभासमेत हुन सकेको छैन।

चालु आर्थिक वर्ष अब ६ महिना मात्र बाँकी छ। तर, गाउँपालिकाले बनाउनै पर्ने योजना, नीति तथा कार्यक्रम नै बनेको छैन। गाउँपालिकाको केन्द्र विवादका साथै कर्मचारी अभावले गाउँसभा गर्न नसकेको अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिएका छन्। ‘६ वडामा अहिले दुई जना मात्रै वडासचिव छन्। एक जना वडासचिवले नै चार वडा कार्यालयको जिम्मा लिएका छन’, अध्यक्ष खापुङले भने। गाउँपालिका केन्द्र मोराहाङ बजार र श्रीजुङ दुवै ठाउँ नभई दोस्रो विकल्प खोजिने उनको भनाइ छ।

गाउँपालिका कार्यालयमा प्रशासकीय अधिकृतबाहेक अन्य कर्मचारी छैनन्। विषयगत कार्यालयतर्फ गाउँपालिकामा स्वास्थ्य र कृषि कार्यालयका एक-एक जना कर्मचारी छन्। गाउँपालिका केन्द्र जनताको चाहनाबमोजिम स्थानान्तरण गरी विकासलाई जोड दिने विषयमा सहमतिको प्रयास भइरहेको गाउँपालिका उपाध्यक्ष गीतादेवी गौतमले बताइन्।

गाउँपालिकाको बैठक तत्काल बसी सहमति गरेर पुसभित्र गाउँसभा सम्पन्न गर्ने खापुङको भनाइ छ। त्यसपछि विकास निर्माणका काम अघि बढ्ने दाबी उनले गरे। जिल्लामा दुई नगरपालिकासहित ६ स्थानीय तह छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.