शितलहर बढेसँगै जनजीवन प्रभावित
बर्दिया : केही दिनदेखि एक्कासी चलेको शितलहरका कारण पश्चिम तराईको जनजीवन प्रभावित बनेको छ। नजिकका पहाडी जिल्लाहरुमा परेको हिमपातका कारण बर्दिया, बाँके, कैलालीलगायत कञ्चनपुर जिल्लामा शितलहर बढेको हो। शितलहरबाट बालबालिका, बृद्धबृद्धालगायत पशुचौपाया प्रभावित बनेका छन्।
चिसोका कारण जिल्ला अस्पताल बर्दियालगायत स्थानीय मेडीकलमा चिसोका बिरामी बढेको गुलरया नगरपालिकाका स्वास्थ्य निरीक्षक सुनिल पाण्डेले बताए। उनले भने चिसोले गर्दा विषेश गरी बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन्।
जसका कारण बालबालिकामा निमोनिया, रुघाखोकीलगायत झाडापखालाको प्रकोप देखिएको छ भने बृद्धबृद्धाहरुमा दमखोकीको समस्या देखिएको छ। शितलहरबाट बच्न बालबालिकालगायत बृद्धबृद्धालाई न्यानो पार्ने, तातो झोलिलो कुरा खान दिने तथा आगो ताप्ने सुझाव पाण्डेले दिएका छन्।
एक्कासी शितलहर बढेपछि स्थानीयले सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउने तयारीमा छन्। बर्दियाको गुलरिया, मधुवन, राजापुर, ठाकुुरबाबा, बा¥हबर्दिया र बासगढी नगरपालिका तथा गेरुवा र बढैयाताल गाउँपालिकाकामा चिसोजन्य बिरामीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ।
गुलरिया नगरपालिकाले चोकचोकमा आगो बाल्ने र सुत्केरीलगायत बालबालिकालाई न्यानो कपडा वितरण गर्ने गुलरिया नगरकार्यपालिकाका सदस्य निरज शर्माले बताए।