माओवादी केन्द्रको बैठक खुमलटारमा, यस्ता छन् एजेन्डा
काठमाडौँ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसिरहेको छ। बैठकमा एमालेसँगको पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति र सरकार गठन लगायतका विषयमा छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव मनहरि तिमल्सिनाले जानकारी दिएका छन् ।
बैठकमा एमालेसँग पार्टी एकता तथा पछिल्लो राजनीतिक अवस्था र नयाँ सरकार गठनमा देखिएको जटिलताबारे विस्तृत छलफल हुने भएको छ ।
मंसिरमा भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन लगत्तै एमाले र माओवादीबीच एकता प्रक्रिया अगाडि बढाउने वाम गठबन्धनको निर्णय अझै अलपत्र परेको अवस्थामा माओवादी केन्द्रको यो बैठक बसेको हो ।
एमालेसँगको एकताका लागि नेतृत्वको विषयमा सहमति जुट्न नसक्दा दुई पार्टीबीचको पार्टी एकता संयोजन समितिको समेत बस्न सकेको छैन । यद्यपि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भने परामर्श भइरहेको छ ।
माओवादीले एकीकृत पार्टीको नेतृत्व प्रचण्डलाई दिनुपर्ने अडान राखिरहेको छ । तर एमालेको पक्षबाट भने ओली नै अध्यक्ष र प्रधानमन्त्री पनि बन्ने धारणा आइरहेको छ ।