संविधान मिचेर निर्वाचन परिणाम घोषणा गर भन्नु निरंकुशता : धनराज गुरुङ
काठमाडौं : कांग्रेस नेता धनराज गुरुङले एमालेतर्फ लक्षित गर्दै संविधान मिचेर निर्वाचन आयोगलाई समानुपातिक मतपरिणाम तत्काल घोषणा गर भन्नु निरंकुशता भएको बताएका छन्।
‘राष्ट्रिय सभामा कुनै दलका मानौ ९ जना पुरुष निर्वाचित भए तर उक्त दलबाट राष्ट्रिय सभामा एकजना पनि महिला निर्वाचित हुन सकेन भने सो दलले प्रतिनिधिसभाको समानुपातिकबाट महिला एक तिहाई पुर्याउनु पर्छ’,नेता गुरुङ ट्विटरमा लेख्छन्, ‘संविधान आफैँ लेख्ने अनि निर्वाचन आयोगलाई संविधान मिचेर परिणाम निकाल भन्नु निरंकुशताको संकेत हो।’
संविधानले संघीय संसद भनेर प्रतिनिधि सभा र राष्ट्रिय सभालाई उल्लेख गरेको छ। नेता गुरुङले भने, ‘संघीय सांसदमा महिलाको संख्या एक तिहाई पुग्नु पर्ने संवैधानिक व्यवस्था छ। तर, केही साथीहरु तत्काल निर्वाचन परिणाम घोषणा गर भन्दै आयोगलाई दबाब दिनुहुन्छ, राष्ट्रिय सभाको निर्वाचन नभई कसरी महिलाको एकतिहाईको सुनिश्चिता हुन्छ, यो त संविधान विपरित हिँड भन्नु जस्तै भएन र ?’
संविधानमा व्यवस्था भए अनुसार राष्ट्रिय सभामा महिलाको संख्या एक तिहाई नपुगेका प्रतिनिधि सभाबाट त्यसलाई पुर्याउनुपर्छ। नेता गुरुङले कांग्रेसको थप उदाहरण दिँदै भने, ‘अहिले नेपाली कांग्रेसले समानुपातिकतर्फ ४०, प्रत्यक्ष २३ जना निर्वाचित छन्। मानौ हाम्रो राष्ट्रिय सभामा ९ जना जम्मा निर्वाचित हुँदा ७२ हुन्छ। ७२ को एक तिहाइका लागि २१ महिला निर्वाचित हुनैपर्छ। यदि राष्ट्रियसभामा पुरुष नै पुरुष भए प्रतिनिधिसभाबाट पूर्ति गर्नुपर्छ। यो संवैधानिक प्रावधान हो।’
नेता गुरुङले एमालेलाई सत्ताको लागि हतार नगर्न सुझाव दिए। उनले आयोगलाई संविधान अनुसार अगाडि बढ्न दिनु पर्ने बताए।
राष्ट्रीयसभामा कनै दलको मानौ ९ जना पुरुष निर्बाचित भए तर उक्त दलबाट राष्ट्रीयसभामा एक जना पनि महिला निर्बाचित हुन सकेन भने सो दलले प्रतिनिधिसभाको समानुपातिकबाट महिला एक तिहाई पु-याउनु पर्छ। संविधान अाफैले लेख्ने अनि निअालाई संविधान मिचेर परिणाम निकाल भन्नु निरङ्कुश्ताको संकेत हो
— Dhan Raj Gurung (@dhanrgrg) January 2, 2018