बराबरी हैसियतमा पार्टी एकता : दाहाल

बराबरी हैसियतमा पार्टी एकता : दाहाल

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको पार्टी एकता बराबरी हैसियतमा हुने बताएका छन्। पार्टीको र सरकारको नेतृत्व बेग्लाबेग्लै नेताले गर्ने गरी सम्मानजनक एकताको प्रस्ताव आफूले एमाले नेतृत्वसँग राखेको दाहालले बैठकमा पार्टी नेताबीच ब्रिफिङ गरेका छन्।

‘दुई नेता (ओली-दाहाल)मध्ये एक जनाले पार्टी र अर्कोले सरकारको नेतृत्व लिने गरी सम्मानजनक एकताको पहल भइरहेको छ', दाहालले पार्टी एकतासम्बन्धमा नेताहरूसँग गरेको ब्रिफिङ उद्धृत गर्दै माओवादी केन्द्रका नेता गणेश साहले भने, ‘तर नेतृत्व व्यवस्थापनको पाटो अझै टुंगिएको छैन।' बराबरी हैसियतमा नेतृत्व व्यवस्थापन हुने र वैचारिक तथा राजनीतिक पक्षमा पनि दुवै पार्टीका इतिहासको सम्मान हुने गरी एकता हुने दाहालले बैठकमा बताएका थिए। तर नेतृत्वबारे ओलीले अहिले केही नभनेको पनि उनले बताएका थिए।

‘सरकार र पार्टी प्रमुख दुई नेताले मिलेर गर्ने मेरो प्रस्तावमा ओलीजीले मुख खोल्नु भएको त छैन, तर नकारात्मक पनि हुनुहुन्न', दाहालको भनाइ उद्धृत गर्दै अर्का नेता डिलाराम आचार्यले बताए। दाहालले एकतापछि नेतृत्व व्यवस्थापन गर्दा पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा संगठनात्मक घनत्वका आधारमा रोजी पद एमालेले र छोडी पद माओवादीले लिने गरी व्यवस्थापन मोडालिटी बनाउनुपर्ने प्रस्ताव एमाले अध्यक्ष केपी ओलीसँग राखेका थिए।

तर यो विषय टुंगो लागिसकेको छैन। दाहालले प्रधानमन्त्रीमा ओलीलाई अघि सारिसकेका छन् भने एकीकृत पार्टीको अध्यक्षमा आकांक्षा देखाएका छन्। एकतापछि नेताहरूको व्यवस्थापन कार्य पहिले दुई पार्टीका अध्यक्षबीच छलफल गरेर मात्र एकता संयोजन समितिबाट निर्णय गर्नुपर्ने दाहालले बताएका थिए।

तर ओली र दाहालबीच शुक्रबारयता भेटघाट भएको छैन। यी दुई नेताबीच बुधबार र शुक्रबार भेटवार्ता भएको थियो। एकपटक दुवै जना बसेर छलफल गर्ने र केही मोडालिटी तय गरी एकता संयोजन समितिको बैठक बस्ने तयारी थियो। तर ओलीको अस्वस्थताका कारण दाहाल-ओली भेटवार्ता हुन सकिरहेको छैन।

‘ओलीजी अस्वस्थ हुनु भएकाले उहाँहरूको भेटवार्ता हुन सकिरहेको छैन', माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘ओली कमरेडको स्वास्थ्य स्थितिमा अलिक सुधार भए उहाँहरूबीच भोलि (बिहीबार) भेटघाट हुन्छ। त्यसपछि संयोजन समितिको बैठक बस्छ।' दाहालले पार्टी बैठकमा नेतृत्व व्यवस्थापनबारे भर्खरै मात्र छलफल सुरु भएको बताए। ‘छलफल÷बहस सुरु भएको छ, तर टुंगिएको छैन', दाहालले सरकार गठन हुन अझै केही समय लाग्ने देखिएकाले सम्भव भएसम्म सरकार गठनअघि नै एकताको काम सक्न छलफल भइरहेको जानकारी गराएका थिए।

पार्टी एकताको सांगठनिक पक्ष मिलाउन केही समय लागे पनि नयाँ सरकार गठनअघि नै एकताको वैचारिक र राजनीतिक पक्ष मिलाउन सकिने दाहालको भनाइ थियो। ‘वैचारिक राजनीतिक विषयमा भने दुवैको ऐतिहासिक पृष्ठभूमिको मूल्यांकन, उपलब्धि संस्थागत गर्नेदेखि जनयुद्ध र जबजको विषयमा आरोप प्रत्यारोपमा गर्नुभन्दा जनचेतना बढाउने सबैखाले आन्दोलनको उच्च मूल्यांकन र सम्मान गर्दै पार्टी एकताको वैचारिक पक्ष मिलाउने छलफल चलेको छ', दाहाललाई उद्धृत गर्दै नेता साहले बताए। सरकार गठन प्रक्रियामा अनेक चलखेल गर्न खोजे पनि जनमतलाई कसैले उल्टाउन नसक्ने दाहालको भनाइ थियो।

छुट्टाछुट्टै दुई समिति गठन

बैठकले एकतापछि नेताहरूको व्यवस्थापन गर्न संगठन संरचना हेरफेर र प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पार्टीका उम्मेदवार हराउन अन्तर्घात गर्नेमाथि छानबिन गरी कारबाहीको सिफारिस गर्न अन्तर्घात छानबिन समितिसमेत दुई समिति गठन गरेको छ।

संगठनात्मक समितिको संयोजकमा संगठन विभाग प्रमुख रामबहादुर थापा र टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, माृतका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, सावित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनिल मानन्धर सदस्य रहेको समिति गठन गरिएको छ। अनुशासन समिति संयोजक अमिक शेरचनको संयोजकत्वमा अन्तर्घात छानबिन समिति गठन गरिएको छ। समितिमा लीलामणि पोखरेल, गणेश साह, हितराज पाण्डे र रेखा शर्मा सदस्य छन्।

आफ्नै दलका कतिपय उम्मेदवार पराजित गराउन केही नेता लागेकाले पार्टीका पक्षमा अपेक्षित परिणाम नआएको उजुरी केन्द्रीय कार्यालयमा आउन थालेपछि माओवादीले अन्तर्घात छानबिन गर्न समिति गठन गरेको हो। समितिले ७ दिनभित्र छानबिनका लागि उजुरी दिनसकिने बताएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.