देउवालाई दाहालले भने : सहमति खोज्नुस्

देउवालाई दाहालले भने : सहमति खोज्नुस्

काठमाडौं : प्रदेश प्रमुख र प्रदेश अस्थायी मुकाम तोक्ने अन्तिम तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई वाम गठबन्धनका नेता पुष्पकमल दाहालले दुवै निर्णयमा सहमति खोज्न सुझाएका छन्। आफूसँग भेटका लागि आएका माओवादी केन्द्र अध्यक्ष दाहालले देउवालाई मंगलबार यस्तो सुझाएका हुन्।

दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री देउवासँग दाहालले राष्ट्रियसभा निर्वाचन मिति घोषणा गर्न र सबै दलबीच सहमति गरी प्रदेश प्रमुख नियुक्ति गर्न सुझाएका थिए। ‘प्रधानमन्त्री प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्तिको विषय टुंग्याउने अन्तिम तयारीमा हुनुहुन्छ’, देउवाका प्रेस संयोजक गोविन्द परियारले भने।

प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी विकास मन्त्रालयले सातै प्रदेशको प्रस्तावित मुकाम तय गरिसकेको छ। प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगिसकेको छ। अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने तयारीमा प्रधानमन्त्री देउवा छन्। सरकारी प्रस्तावअनुसार १ नम्बर प्रदेशको मुकाम विराटनगरमा, २ नम्बरको जनकपुर, ३ नम्बरको भक्तपुर ठिमी, ४ नम्बरको पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको धनगढी छनोट गरिएको छ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा चाहिने तर्क गर्दै कांग्रेस नेताहरूले सरकारले प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी तोक्ने तयारी गरेको बताएका छन्। प्रदेश प्रमुख नियुक्तिको विषयमा एमालेले असन्तुष्टि व्यक्त गरिरहेको छ। माओवादी अध्यक्ष दाहालसँग छलफल गर्नुअघि सोही विषयमा देउवाले मंगलबार बिहान पार्टीका शीर्ष नेतासँग परामर्श गरेका थिए।

बालुवाटार बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, रामशरण महत, पूर्णबहादुर खड्का, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड र प्रकाशशरण महत उपस्थित थिए।

परामर्शमा सहभागी नेता खड्काका अनुसार प्रदेश प्रमुखको नियुक्ति, राष्ट्रियसभा निर्वाचन मिति र पार्टीको केन्द्रीय कार्यसमिति बैठकबारे कुराकानी भएको थियो। देउवाले बैठकमा केन्द्रीय र महासमिति बैठकबारे आफ्ना भनाइ राखेका थिए।

परामर्शमा सहभागी नेताहरूले देउवालाई तत्काल प्रदेश प्रमुख नियुक्ति गरी राष्ट्रियसभा निर्वाचन मिति घोषणा गर्न सुझाएका थिए। देउवालाई चुनावपछि राष्ट्रिय दलको मान्यता पाएका पाँच पार्टीका शीर्ष नेतासँग छलफल गर्न कांग्रेस नेताले सुझाव दिएका थिए।

प्रधानमन्त्री देउवा पाँचै दलका शीर्ष नेतासँग एक्लाएक्लै छलफल गरी लगत्तै सर्वदलीय बैठक आयोजना गर्ने तयारीमा छन्। कांग्रेस नेताकै सुझावअनुसार देउवाले बिहीबार बिहान ९ बजे सर्वदलीय बैठक डाकेका छन्। सर्वदलीय बैठकका लागि एमाले, माओवादी केन्द्र, राजपा र फोरम नेपालका शीर्ष नेतालाई जानकारीसमेत पठाइसकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.