रेलबाट पाकिस्तानको यात्रा गर्दै दृष्टिविहीन क्रिकेटर
काठमाडौं : पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा पहिलोपटक सहभागिता जनाउन पाउँदा नेपाली टोली दंग छ । तर, पाकिस्तानसम्म चार दिनको पट्यारलाग्दो रेलयात्राले भने खेलाडीलाई झस्काएको छ । जनवरी ७ देखि २१ तारिखसम्म सञ्चालन हुने विश्वकप पाकिस्तान र दुबईले संयुक्त रूपमा आयोजना गर्दैछन् । नेपाली टोली मंगलबार काठमाडौंबाट बस चढेर सुनौली प्रस्थान गरेको हो । टोली सुनौलीबाट रेलमार्फत पाकिस्तान जानेछ ।
विश्वकपका लागि भदौदेखि तयारी गरिरहेको नेपाली टोलीले हवाईजहाजबाट जान पैसा नभएर रेलबाट जान लागेको नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले बताए । ‘जर्सी, खेलाडीलाई खान र बस्नको बन्दोबस्त मिलाए पनि जहाजको टिकट बन्दोबस्त गर्न सकेनौं । ‘नेपालबाट पाकिस्तान सीधा उडान छैन, पाकिस्तान पुग्न दुबई हुँदै जानुपर्छ । दुबई हुँदै पाकिस्तान जाँदा एक जनाको एक लाखभन्दा बढी रुपैयाँ पर्छ । यत्तिको रकम हामीले जुटाउन सकेनौं,’ घिमिरेले भने ।
नेपाली दृष्टिविहीन क्रिकेट टोलीलाई मंगलबार युवा तथा खेलुकद राज्यमन्त्री तेजुलाल चौधरीले बिदाइ गरे । विश्वकपमा साबिक विजेता भारत, उपविजेता पाकिस्तान, नेपाल, श्रीलंका, अस्ट्रेलिया र बंगलादेशगरी ६ देशले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल जनवरी ८ मा बंगलादेशविरुद्ध खेल्नेछ । पाकिस्तानमा खेलेर नेपाल उतैबाट दुबई जानेछ ।