चिसोमा गरिने ‘मर्निङवाक’ हानिकारक
बर्दिया : अत्यधिक चिसोमा घर बाहिर गरिने मर्निङवाक स्वास्थ्यको लागि हानिकारक हुने बताइएको छ । चिसोका कारण फोक्सो र मुटुमा थप समस्या आउने चिकित्सकको भनाइ छ ।
उच्च रक्तचाप, मधुमेह लगायतका रोगी शरीर स्वस्थ राख्न मर्निङवाक गर्ने गर्छन् । पछिल्लो समय लोकप्रिय बन्दै गएको मर्निङवाकले अत्यधिक चिसोमा शरीरलाई बेफाइदा गर्ने गरेको गुलरिया नगरपालिकाका स्वास्थ्य निरीक्षक सुनील पाण्डेले बताए । उनले भने, ‘तराईमा शितलहर चलेका बेला उच्च रक्तचाप र मुटुरोगीलाई थप समस्या हुन्छ । चिसो मौसममा मुटु र फोक्सोमा हानी पुग्ने भएकोले विशेष हेरचाह आवश्यक छ ।’
एक्कासी वढेको शितलहरले पश्चिम तराईको जनजीवन प्रभावित छ । शीतलहरबाट विशेष गरी बालबालिका, बृद्धवृद्धा, मजदुर लगायत पशुचौपाया अति प्रभावित छन । बालबालिकामा निमोनिया, रुघाखोकी लगायत भाईरलको प्रकोप र वृद्धवृद्धामा दमखोकी लगायत कोल्ड भाईरलको समस्या देखिएको हो ।
शीतलहरबाट बच्न शरीर न्यानो पार्ने, तातो झोलिलो खानेकुरा खान उनको सुझाव छ ।