राष्ट्रपति बनाइदेऊ भनेर कसैलाई नमस्कार गर्दिन : खनाल
दमक : एमाले वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति दिए अस्वीकार नगर्ने तर, राष्ट्रपति बनाइदेऊ भनेर माग्दै नहिँड्ने बताएका छन्। बिहीबार झापाको विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले राष्ट्रपतिको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
‘राष्ट्रपतिको भूमिका पनि महत्वपूर्ण भूमिका हो। त्यसलाई म अस्वीकार चाहिँ गर्दिन’, नेता खनालले भने, ‘तर, राष्ट्रपति बनाइदेऊ भनेर नमस्कार गरेर हिँड्ने वाला छैन।’ आफू राष्ट्रपति बन्ने हल्लालाई साधुवाद रहेको उनले सुनाए। खनालले आफू सक्रिय मान्छे भएको भन्दै निरन्तर सक्रिय रही रहने समेत बताए। खनालले आफू चुप लागेर बस्नका लागि राजनीतिमा नआएको समेत दाबी गरेका छन्।
सँगै खनालले दोस्रो तहका नेताबाट पार्टी एकीकरणमा कुनै समस्या नहुने बताएका छन्। एमाले तथा माओवादी केन्द्रका दोस्रो तहका नेताको पार्टी एकीकरण बारे अनेक टिका–टिप्पणी आइरहेका बेला खनालले दोस्रो तहका नेता बाट समस्या सिर्जना नहुने दाबी गरेका हुन्। उनले अझै दोस्रो तहका युवा नेताकै पहलमा एकता खदिलो बन्ने विश्वास व्यक्त गरे। ‘युवा साथीकै सक्रियताले पार्टी एकता अझै बलियो हुनेछ। यसमा कसैले शंका गर्ने ठाउ छैन,’ नेता खनालले भने।