कामुक भर्सेस ब्रिलियन्ट प्रियंका
प्रियंका चोपडा एकपटक आफन्तलाई भेट्न अमेरिका गएकी थिइन् । त्यसबेला उनी स्कुल पढ्दै थिइन् । अमेरिकाको स्कुलमा पढाइ कस्तो हुन्छ भनेर खाली समयमा उनी भाइको स्कुल गइन् । त्यहाँ आईक्यू टेस्ट चलिरहेको थियो । प्रियंका पनि सहभागी भइन् । अन्तिममा नतिजा उनको पक्षमा आयो । उनले सबैभन्दा धेरे स्कोर ल्याइन् । त्यसपछि उनी त्यही पढ्न थालिन् ।
पूर्व विश्वसुन्दरी प्रियंका सानैदेखि ‘ब्रिलेन्ट’ विद्यार्थी थिइन् भन्ने उदाहरण हो यो । प्रियंका त्यसपछि पढाइ सकेर मोडल बन्न थालिन् । मोडल बन्दाबन्दै उनी बलिउडको रंगीन दुनियाँमा प्रवेश गरिन् । सन् २००३ बाट बलिउड छिरेकी उनले लगातार हिट फिल्महरू दिइरहेकी छिन् । कतिपय फिल्ममा त उनी नै प्रमुख भूमिकामा छिन् । ‘फेसन’, ‘मेरी कोम’ लगायतको हिट फिल्ममा उनी प्रमुख भूमिकामा थिइन् ।
प्रियंकालाई फोब्स म्यागजिनले २०१७ को विश्वका शक्तिशाली सय महिलाको सूचीमा राखेको छ । उनी ९७औं स्थानमा छिन् । मनोरञ्जनको सूचीमा भने उनी १५औं स्थानमा छिन् । बलिउडबाट हलिउडसम्म पुगेकी प्रियंकाबारे अन्तर्राष्ट्रिय मिडियाहरूले राम्रैसँग स्थान दिने गरेको छ । उनी इन्टरनेटमा अत्यधिक सर्च गरिने सेलिब्रिटीमा अग्रपंक्तिमा छिन् । बलिउड फिल्म नगरीमा सबैभन्दा धेरै कमाइ गर्नेमा उनी सातौं स्थानमा छिन् ।
पछिल्लो समय प्रियंका एसियाकै कामुक युवतीका रूपमा समेत चर्चामा छिन् । उनी सबैभन्दा कामुक एसियाली युवती भएको बेलायतबाट प्रकाशित एक पत्रिकाले घोषणा गरेको छ । सो पत्रिकाले अनलाइन भोटिङमार्फत सर्भे गरेको थियो । सन् २०१६ मा सो स्थानमा दीपिका पादुकोण थिइन् । ५० कामुक एसियाली महिलालाई पछि पार्दै उनी पहिलो स्थानमा उक्लेकी हुन् । पत्रिकाले प्रियंकालाई साहसी, बौद्धिक र सुन्दर युवती भएको बताएको छ । योसँगै उनले आजसम्म पाँच उपाधि जितेकी छिन् । सूचीमा बलिउडकै अन्य अभिनेत्रीहरू पनि छन् । जसमध्ये तेस्रो नम्बर दीपिका पादुकोण, चौथोमा आलिया भट्ट र पाँचौंमा महिरा खान छिन् ।
सामाजिक कार्यमा समेत सक्रिय प्रियंका विश्वकै सुन्दर महिलाको सूचीमा भने दोस्रो स्थानमा छिन् । उनले हलिउड स्टार एन्जोलिना जोलीलाई समेत पछि पारेकी छिन् । बलिउडदेखि हलिउडसम्म फिल्मी सफर गरेका प्रियंकाले आफूजस्तै बन्न चाहने युवाहरूलाई एक भारतीय टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेकी छिन्, ‘‘म को हुँ मलाई थाहा छैन । तर, म पानी जस्तै बन्न चाहन्छु । जसलाई जहाँ राख्यो त्यस्तै बन्छु ।’