प्रधानमन्त्री थप गृहकार्यमा

प्रधानमन्त्री थप गृहकार्यमा

काठमाडौं : प्रदेश प्रमुख नियुक्ति, प्रदेश अस्थायी मुकाम र राष्ट्रियसभा चुनावको मितिमा प्रमुख पाँच दलबीच छलफल भए पनि सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा थप परामर्शमा क्रियाशील भएका छन्। देउवाले बिहीबार यी विषयमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका थिए।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए। बैठकमा सहभागी एमालेका नेताहरू सुभास नेम्बाड, भीम रावल, अग्नि खरेल, विष्णु पौडेलले प्रधानमन्त्रीका तीनवटै प्रस्तावमा मौन बस्दै सरकार हस्तान्तरण गर्न दबाब दिएपछि देउवा थप परामर्श गर्ने मनस्थितिमा पुगेको उनीनिकट स्रोतले जानकारी दिएको छ।

सर्वदलीय बैठकबाट ठोस सहमतिको वातावरण नबनेपछि बिहीबार देउवाले फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठसँग बैठकलगत्तै छलफल गरेका थिए। सर्वदलीय बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि अनुपस्थित थिए। यादव काठमाडौंबाहिर रहेकाले बैठकमा सहभागी नभएको पार्टीका नेताले जानकारी दिएका छन्।

सर्वदलीय बैठकमा सहमति नजुटेपछि प्रदेश प्रमुख नियक्ति, मुकाम तथा राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गरिएको मन्त्रिपरिषद् बैठकसमेत देउवाले स्थगित गरेका थिए। मन्त्रिपरिषद् बैठक आइतबार बस्ने सम्भावना रहेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ।


सर्वदलीय बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री थप गृहकार्य गर्न क्रियाशील भएका हुन्।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले अन्नपूर्णसँग भने, ‘सर्वदलीय बैठकपछि प्रधानमन्त्रीज्यू थप केही गृहकार्यमा जुट्नुभएको छ। सोहीअनुसार बिहीबार केही अनौपचारिक छलफलसमेत गर्नुभयो।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडैलले सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग भने, ‘एमालेले ठोस कुरा नगरे पनि सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्न र अस्थायी सदरमुकाम तोक्न भनेको छ।’

एमाले नेता भीम रावलले सरकारले गर्नुपर्ने काम चाँडो गर्नुपर्ने मान्यता आफूहरूले बैठकमा राखेको सञ्चारकर्मीलाई बताए। बैठकमा एमाले नेताहरूले राष्ट्रियसभा निर्वाचन माघ १० भित्र गर्न माग गरेका थिए। निर्वाचन आयोगले माघ २५ मा राष्ट्रियसभा निर्वाचन गराउन प्रधानमन्त्री देउवालाई सुझाएको छ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा निर्वाचन चाँडो गराएर निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्न देउवालाई सुझाव दिइएको जानकारी दिए।

सर्वदलीय बैठकलगत्तै चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तय गर्न पाँच दलले सरकारलाई सहमति दिएको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.