मकवानपुर फुटबल संघमा विवाद

मकवानपुर फुटबल संघमा विवाद

 

हेटौंडा : मकवानपुर जिल्ला फुटबल संघमा विवाद भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को अधिवेशन नजिकिँदै गर्दा सहभागी क्लबलाई लिएर विवाद सुरु भएको हो। यही पुस २७ गतेका लागि तोकिएको जिल्ला फुटबल संघको साधारणसभामा सहभागी हुन नौ क्लब मात्रै योग्य रहेको जनाएपछि १७ वटा फुटबल क्लबले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै विरोध गरेका हुन्। क्लबका प्रतिनिधिले साधारणसभामा सहभागी नगराए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

एन्फाले आफू अनुकूलको कार्यविधि बनाएको र फुटबल संघले समेत बोर्डमा रहेका पदाधिकारीको क्लबलाई मात्रै मान्यता दिएको फुटबल संघ मकवानपुरका कार्यसमिति सदस्यसमेत रहेका चौघडा फुटबल टोली र सात नम्बर फुटबल टिमका सचिव ज्ञानु चौलागाईंले बताए। ‘लगातार जिल्ला लिगमा सहभागी हुँदै आएको दुईवटै क्लबलाई साधारणसभाका लागि योग्य मानिएको छैन’ उनले भने ‘२०७० सालको जिल्ला अधिवेशनमा सहभागी भएको हुनुपर्ने भन्ने कार्यविधिमा उल्लेख गरेर हामीलाई साधारणसभामा सहभागी हुन नदिने षड्यन्त्र गरिएको छ।’

मल्टिभिजन क्लबका अध्यक्ष विकेशलाल श्रेष्ठले बोर्डमा रहेका केही व्यक्तिको क्लबलाई मात्रै साधारणसभाका लागि योग्य घोषणा गरिएको भन्दै केही व्यक्तिले लामो समयदेखि एकाधिकार कायम राख्दै आएको आरोप लगाए। ‘क्लब नवीकरण शुल्क भन्दै फुटबल संघले दुई हजार लिँदै आएको छ। हामी कसरी अयोग्य भयौं ? ’ उनले भने ‘केही दिनअघि मात्रै विशेष साधारणसभा बोलाएर आफू अनुकूलको निर्देशिका बनाइएको छ।’ लगातार जिल्ला लिग खेल्दै आएका १७ क्लबलाई साधारणसभामा प्रवेश गर्न नदिए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए। फुटबल संघ मकवानपुरमा एकतन्त्रीय शासन र ज्यादती देखिएको आरोपसमेत लगाए।

प्रतिभा क्लबका अध्यक्ष लवराज ठकुरीले केन्द्रबाटै सेटिङ मिलाएर आफू अनुकूलको निर्देशिका ल्याइएको आरोप लगाए। ‘अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय अतुल बर्मा र अभिषेक थापासहित केही पदाधिकारी साधारणसभामा कसरी सहभागी हुन्छन् ? फुटबल संघले आयव्यय प्रतिवेदन र प्रगति प्रतिवेदन सार्वजनिक गर्नु पर्दैन’ उनले भने। उनले साधारणसभाको सात दिनअघि नियमित जिल्ला लिग खेलिरहेका क्लबलाई पत्र काट्नुपर्नेमा त्यो नगरेपछि बाध्य भएर पत्रकारसम्मेलन गरेको बताए।

संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले एन्फाको निर्देशिका अनुसार साधरणसभा गर्नुपर्ने भएकाले सबै क्लबलाई समेट्न नसकेको बताए। एन्फाको निर्देशिका अनुसार २०७० सालको साधारणसभामा भाग लिएर त्यसपछि दुईवटा जिल्ला लिग खेलेको हुनुपर्ने प्रावधान रहेको उनले बताए। ‘निर्देशिकामा भएको कुरा पुरा नहुँदा मेरो क्लब सानो पोखराले समेत साधारणसभामा भाग लिन नपाउने भएको छ’ श्रेष्ठले भने ‘हामीले चाहेर पनि सबै क्लबलाई सहभागी गराउन सक्तैनौं।’ जिल्ला संघमा आबद्ध रहेका ३७ क्लबमध्ये निर्देशिकाअनुसार नौ क्लब मात्रै योग्य देखिएको श्रेष्ठले बताए।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.