दावा याङ्जुम : एसियाकै पहिलो महिला गाइडको कहानी
उनको गाउँका युवाहरू टासी लाप्चा हिमाल (५७०० मिटर) पार गरेर खुम्बु क्षेत्र पुग्थे। यो साहस आफूमा कहिले आउला भन्ने उत्सुकता बाल्यकालदेखि नै थियो उनमा। अझ विदेशी पर्यटकहरू हिमाल आरोहणमा आउँदा आफू पनि सँगै जान पाए भन्ने हुटहुटी लाग्थ्यो उनी अर्थात् दावा याङ्जुमलाई।
त्यही हुटहुटीले दावा याङ्जुम शेर्पा (२७) अथक् प्रयासपछि अहिले एसियाकै प्रथम महिला विश्व गाइड बन्न सफल भएकी छन्। दोलखाको गौरीशंकर-१ रोल्वालिङको ४२०० मिटरस्थित ना गाउँमा जन्मिएकी हुन् उनी। पुरुषहरूलाई गाइड गरेर हिमाल आरोहण गराउँदा उनलाई आनन्द लाग्छ। उनले अमेरिकाका चर्चित रक क्लाइम्बर अमिली हेरिन्टनलाई २०१२ मा सगरमाथा आरोहण गराएकी थिइन्।
दावाको गाउँका युवाहरूको पेसा नै हिमाल आरोहण गर्नु थियो। खेतीकिसानी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा दुई दिदी, दुई भाइ, एक दाइ गरी ६ जना छन्। परिवारको विरोधका बीच उनले २० वर्षको उमेरमा सन् २०१० देखि हिमाल आरोहण सुरु गरिन्।
गाउँमै बाल्यकाल बिताएकी दावाको औपचारिक अध्ययन भने छैन। सुरुसुरुमा गाउँ आउने पर्यटकलाई बाटो देखाउने र सूचना, जानकारी दिने सहायक गाइडको जिम्मेवारी थियो। भन्छिन्, ‘यहाँ महिलालाई संकुचित घेराभित्र राख्ने चलन छ। एक्लै पर्यटकको गाइड गर्न जान्छु भन्दा परिवारले अनुमति नदिँदा विद्रोह गरेँ।’
विद्रोही स्वभावले अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको प्रमाणपत्र पाउने उनी एसियाकै पहिलो महिला विश्व गाइड बनेकी छन्। याला पिक (५५०० मिटर) उनको पहिलो आरोहण अनुभव हो। नेपाल पर्वतारोहण संघबाट तालिम लिएपछि सन् २०११ मा अमादब्लम अनि २०१२ मा नेसनल जोग्राफीको टोलीमा गाइडको भूमिकामा सगरमाथा आरोहण गरिन्। विदेशी महिला गाइड हुनसक्ने तर नेपाली महिला किन हुन नसक्ने भन्ने
‘इगो’ नै बन्यो उनमा। फलतः सन् २०१३ देखि अन्तर्राष्ट्रिय गाइडको तालिममा छिरेकी उनले २०१७ मा कोर्ष पूरा गरिन्। साहसिक मानिने हिमाल आरोहण, वाल र रक क्लाइम्बिङ, र्याफ्टिङजस्ता खेलमा अब्बल बनेर मात्र विश्व गाइडको मान्यता दिने गर्नाले यसमा धेरै मेहनत गर्नुपर्ने हुन्छ।
दावाले सन् २०१४ मा पाकिस्तानको केटु हिमाल आरोहण गरिन्। सन् २०१७ मा कञ्चनजंघा हिमाल आरोहण सुरु गरे पनि मौसमले असफल भएको थियो। उनले दुई वर्षदेखि अमेरिकाको अल्पाइन ऐसेन्ट इन्टरनेसनलमा गाइड गर्दै आएकी छन्। अझै पनि काम गर्दै बर्खामा अमेरिका, हिउँदमा अर्जेन्टिना र अन्य समयमा नेपालमा पर्वतीय क्षेत्रमा गाइड गर्दै आएकी छन्।
पर्वतीय पथप्रदर्शकसम्बन्धी दर्जनभन्दा बढी तालिम लिइसकेकी दावा अब फ्रान्स र स्विट्जरल्यान्डमा स्की तालिमका लागि जाने तयारीमा छिन्। उनका दाजु दावा ग्याल्जेन पनि अन्तर्राष्ट्रिय गाइड हुन्। नेपालमा महिला गाइड प्रयोग गर्न हिच्किचाउने परम्परा रहे पनि विदेशमा गाइड गर्न सहज हुने र त्यहाँ लैंगिक विभेद नरहेको उनको अनुभव छ।
दावाले अहिले यसै पेसामा करिअर बनाउने भएकी छन्। हिमालमा जाँदा महिलालाई बढी चुनौती हुन्छ। तर, सरकारले महिला गाइडलाई प्रोत्साहनका लागि कुनै नयाँ कार्यक्रम नल्याएकोमा उनको दुःखेसो छ। विदेशमा पर्वतीय गाइडलाई क्लाइम्बिङ सामग्री, हिमाल क्षेत्रका होटलहरूमा गाइडको प्रमाण देखाएमात्रै ३० प्रतिशतसम्म छुट दिइन्छ तर नेपालमा भने कुनै सुविधा छैन।
विश्वभरका पर्वतारोहीको छाता संगठन अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघअन्तर्गत राष्ट्रिय माउन्टेन गाइड १७ र अन्तर्राष्ट्रिय माउन्टेन गाइड ५० जना पुगेका छन्। पर्यटन विभागले १२ हजार आठ सय ४९ जना पदयात्रा (ट्रेकिङ) गाइड, तीन हजार सात सय ६३ पर्यटक (टुरिस्ट) गाइड र दुई सय २० जना जलयात्रा गाइडलाई प्रमाणपत्र दिएको छ। तर, गाइडमा महिलाको उपस्थिति कम छ।
दावा भन्छिन्, ‘गाइडमा सुरुआतमा प्रवेश गर्न गाह्रो हुन्छ तर पछि कमाइ र मानसम्मान पाइन्छ। यो नै करिअरको एउटा सन्तुष्टि हो। यो पेसामा आउन इच्छुक महिलाले आँट र साहस गरे भविष्य राम्रो छ।’