बलिउड एक्सन किङका किस्सा

बलिउड एक्सन किङका किस्सा

दुई साताअघि मात्रै बलिउडका एक्सन किङ धर्मेन्द्र ८२ वर्षमा लागे। उनको कामप्रतिको जोस जाँगर आज पनि उत्तिकै छ। जीवनको आठौं दशक पार गरिसक्दा पनि उनीसँग अल्छीको कुनै निसाना देखिँदैन।

सन् १९६० मा ‘दिल भी तेरा हम भी तेरे’बाट बलिउडमा प्रवेश गरेका यी भेट्रान अभिनेताले भारतीय फिल्म उद्योगमा ६ दशक बिताइसकेका छन्। सन् १९३५ डिसेम्बर ८ मा जन्मिएका धर्मेन्द्रको पूरा नाम धरम सिंह देओल हो। उनका बाबु विद्यालयका हेडमास्टर थिए। यद्यपि उनी भने विद्यालय जीवनदेखि नै पढाइमा भन्दा सिनेमातर्फ नै बढी मोहित भए।

एक दिन उनी आफ्नो गाउँभन्दा धेरै कोसौं टाढा रहेको सिनेमा घरमा ‘दिल्लगी’ फिल्म हेर्न गएका थिए। सिनेमा हेरेपछि उनी यति प्रभावित भए कि उनले आफ्नो भविष्य सिनेमा क्षेत्रमै बनाउने निर्णय गरे। धेरै लामो पैदल यात्रापछि मात्रै पुगिने उक्त सिनेमा घरमा उनले लगातार ४० दिनसम्म फिल्म हेरे। यसैको केही समयपछि फिल्मफेयर नामक पत्रिकाले नयाँ प्रतिभाको खोजी गरिरहेको छ भन्ने थाहा पाएपछि उनले त्यसका लागि फारमसमेत भरेका थिए।

धर्मेन्द्रले अभिनयको कुनै पनि कक्षा लिएका थिएनन्। तर पनि फिल्म फेयरको उक्त ‘ट्यालेन्ट हन्ट’मा उनले सम्पूर्ण कलाकारलाई पारेर आफू चुनिन छानिए। त्यसमा छानिएपछि अब फिल्ममा अगाडि बढ्न मलाई कसैले रोक्न सक्दैन भन्ने धर्मेन्द्रलाई लागेको थियो। तर त्यसो भएन, उनलाई फिल्म क्षेत्रमा प्रवेश पाउनकै लागि धेरै नै संघर्ष गर्नुपर्‍यो। सुरुवाती दिनमा कैंयौ पटक त उनले चनामात्रै खाई बेन्चमा सुतेरसमेत रात बिताए।

सिनेमामा काम माग्न निर्माताहरूको कार्यालयमा धाउँदा धेरै लामो दूरी उनी पैदल नै जान्थे। यसो गर्दा बसभाडाबाट बचेको थोरै भए पनि खर्चले केही खान पाइन्छ कि भन्ने उनलाई लाग्थ्यो। आफूलाई पहिलो फिल्ममा काम दिने हिंगोरानी परिवारको गुण सम्झेर उनले कति सिनेमामा अति नै न्यून पारि श्रमिक लिएर काम गरे।

काम गर्दै जाने क्रममा धर्मेन्द्रले माला सिन्हा, नूतन, मीना कुमारीलगायतका नाम चलेका अभिनेत्रीसँग काम गर्ने अवसर पाए। उनको सुन्दर अनुहार देखेर कैयौं नायिकाहरू उनीप्रति आकर्षित त हुन्थे नै। उनको हट्टाकट्टा शरीर देखेर कैयौं निर्माताले त उनलाई अभिनय छाडेर अखडामा जाने सल्लाहसमेत दिएका थिए। कतिपयले भने पहलवान् गाउँ फर्केर जाउ भनेर पनि जिस्क्याउँथे।

सुपरहिट फिल्म ‘शोले’मा धर्मेन्द्रले ठाकुरको भूमिकामा अभिनय गर्न खोजेका थिए। तर यसका निर्देशक रमेश सिप्पीले भने उनलाई बीरुको भूमिका दिए। धर्मेन्द्रले बीरु बन्न नमानेपछि रमेशले उनलाई धम्काउँदै ‘बीरु हेमा मालिनीको हिरो हो’ भनेपछि उनले मानेका थिए।

‘फूल और पत्थर’ धर्मेन्द्रको करियरमा पहिलो हिट फिल्म हो। यसमा उनको अभिनयलाई निकै रुचाइयो। साथसाथै कैयौंले उनको अभिनयलाई लिएर आलोचना पनि गरे। यही सिनेमाको छायांकनको क्रममा अभिनेत्री मीना कुमारीसँग उनी नजिकिएपछि उनीहरूबीचको सम्बन्धको चर्चा भयो। उनीसँगै बस्ने क्रममा उनमा सायरीको सोख यति बढ्यो कि त्यो ताका उनले सैयौं सेर कण्ठै पारेका थिए। धर्मेन्द्र र मीना कुमारीको निकटताले गर्दा उनका पति कमाल अमरोही रिसाए। उनले धर्मेन्द्रलाई लिएर बनाएका फिल्म ‘रजिया सुल्तान’को एक दृश्यमा धर्मेन्द्रको मुखमा कालो मोसो दल्ने सिन राखिदिएका थिए। भनिन्छ, उनले यस्तो दृश्य धर्मेन्द्रसँग बदला लिनकै लागि राखेका थिए।

धर्मेन्द्रलाई एक्सन हिरोको रूपमा चिनिने भए तापनि उनका कैयौं हास्य र रोमान्टिक फिल्म पनि छन्। बलिउड फिल्म उद्योगमा नै धर्मेन्द्रलाई एक रूपवान् नायकका रूपमा मानिन्छ। यही कारणले गर्दा एकताका अर्का नायक दिलीप कुमारले समेत अर्को जन्ममा धर्मेन्द्र जस्तै रूपवान् बन्ने इच्छा राखेका थिए।

धर्मेन्द्र दिलीप कुमारको धेरै नै इज्जत गर्थे। उनलाई आफ्नो दाजु मानेर भेट्नका लागि प्रायःजसो दिलीपको घरमा जाने गर्थे र सधैं उनको पाउमा आफ्नो स्थान तय गर्थे।

अभिनेता गोविन्दा धर्मेन्द्रका ठूला प्रशंसक हुन्। जब गोविन्दाको पत्नी गर्भवती भइन्, गोविन्दाले आफ्नी पत्नीलाई सधैं धर्मेन्द्रको फोटो देखाउन थाले। आफ्नो बच्चा पनि धर्मेन्द्र जत्तिकै रूपवान् होस् भन्ने गोविन्दाको चाहनाका कारण उनले यसो गरेका थिए। पछि गएर गोविन्दाको यो कुरा सुनेर धर्मेन्द्र निकै भावुक भएर आँखाबाट आँसु नै बगाएका थिए।

अभिनेता ऋतिक रोशन पनि धर्मेन्द्रका फ्यान हुन्। बाल्यकालमा उनले आफ्नो कोठामा धर्मेन्द्रको ठूलो फोटो टाँसेका थिए। केही वर्षपहिले ऋतिकको मस्तिष्कको शल्यक्रिया गरिएको थियो। उपचारबाट ठीक भएपछि उनलाई सबैभन्दा पहिलो कल धर्मेन्द्रकै आएको थियो। बलिउड सुपरस्टार सलमान खानको पनि प्रिय हिरो धर्मेन्द्र नै हुन्। जवानीमा आफू पनि सलमान जस्तै देखिने गरेको पनि धर्मेन्द्रले बारम्बार भन्दै आएका छन्। सलमानसँगको यही नजिकको सम्बन्धका कारण उनको सिनेमा ‘प्यार किया तो डरना क्या’मा काम गरेबापत धर्मेन्द्रले एक पैसा पनि लिएका थिएनन्। फिल्मको निकै लामो आउटडोर सुटिङ गर्नुपर्ने थियो। त्यतिबेला सलमानका बाबु सलिम खानले समेत सलमानलाई धर्मेन्द्रको विशेष ध्यान दिन अह्राएका थिए।

अभिनयको जगत्मा पाएको सफलतापछि सन् २००४ मा धर्मेन्द्रले राजनीतिमा आफ्नो पाइला चालेका थिए। उनले भारतीय जनता पार्टीको तर्फबाट बिकानेरमा चुनाव जितेपछि अभिनेताका साथै नेताको पनि परिचय बनाए।

धर्मेन्द्रको पहिलो विवाह १९ वर्षको उमेरमा प्रकाश कौरसँग भएको थियो। उनले आफ्नो पत्नीलाई सधंै मिडियाबाट टाढै राखे। त्यसैले आज पनि धर्मेन्द्रको पत्नी भन्नासाथ धेरैले हेमा मालिनीलाई नै सम्झने गर्छन्। धर्मेन्द्र र हेमा मालिनीको जोडीलाई बलिउडमा एक प्रसिद्ध जोडीको रूपमा लिने गरिन्छ। यी जोडीले लगातार कैयौं सुपर हिट फिल्म दर्शकमाझ ल्याएका छन्। उनीसँगै काम गर्ने क्रममा धर्मेन्द्रले बलिउडकी यी ‘ड्रिमगर्ल’लाई आफ्नो जीवनसंगिनी बनाउन सफल भए। यद्यपि त्यस ताका सञ्जीव कुमार, जितेन्द्रलगायतका अभिनेता पनि हेमाको पछाडि निकै लागेका थिए। बलिउडमा चलेको हल्लाअनुसार जितेन्द्र र हेमा मालिनी विवाह गर्ने निधोमा पुगिसकेका थिए। तर धर्मेन्द्रले जितेन्द्रको दोस्रो प्रेमिकालाई भनेर उनको विवाह रोकाइदिएको हल्ला पनि चलेको थियो।

सुपरहिट फिल्म ‘शोले’मा धर्मेन्द्रले ठाकुरको भूमिकामा अभिनय गर्न खोजेका थिए। तर यसका निर्देशक रमेश सिप्पीले भने उनलाई बीरुको भूमिका दिए। धर्मेन्द्रले बीरु बन्न नमानेपछि रमेशले उनलाई धम्काउँदै ‘बीरु हेमा मालिनीको हिरो हो’ भनेपछि उनले मानेका थिए। ‘शोले’को छायांकनको क्रममा उनी रोमान्टिक सिनमा सकेसम्म गल्ती गर्ने गर्थे। यतिमात्रै होइन, हेमासँग बढीभन्दा बढी समय बिताउन पाइयोस् भनेर उनले फिल्मका स्पट ब्वाईलाई समेत पैसा दिएर बारम्बार गल्ती गर्न लगाउँथे। रोचक कुरा के हो भने हेमासँग विवाह गर्न उनले आफ्नो धर्म नै परिवर्तन गरेर इस्लाम धर्म अपनाए।

धर्मेन्द्रले आफ्नो लामो फिल्मी करियरमा बलिउडका नाम चलेका निर्देशक विमल राय, ऋषिकेश मुखर्जी, यश चोपडा, बीआर चोपडा, रमेश सिप्पी, मनमोहन देसाईलगायतका दिग्गजसँग काम गरे। उनलाई टाइम्स पत्रिकाले विश्वका सबैभन्दा उत्कृष्ट दस सुन्दर व्यक्तिको सूचीमा समेत राख्यो। उनले सिनेमामा बोलेका डाइलग ‘कुत्ते तेरा खुन पी जाउँगा’ निकै चर्चित बन्यो।

धर्मेन्द्र चार पटक फिल्मफेयर अवार्डमा सर्व श्रेष्ठ अभिनेता, एक पटक सर्व श्रेष्ठ सहायक अभिनेता र सर्व श्रेष्ठ कमेडियन बिदाको मनोनयनमा परे। तर, अवार्ड भने हात पारेनन्। उनले फिल्मफेयरको लाइफटाइम अचिभमेन्ट अवार्ड थाप्दै भनेका थिए, ‘मैले कैयौं पटक पुरस्कार पाउने आसमा नयाँ सुट सिलाएँ, तर, पुरस्कार भने पाउन सकिनँ।’

छोरा सनी देवलको जोडीको रूपमा काम गरिसकेका अमृता सिंह, डिम्पल कपाडिया, श्रीदेवी, जया प्रदालगायतका नायिकासँग उनले पनि अभिनय गरे। ७० को दशकमा सबैभन्दा महँगा स्टार उनी नै थिए।

एक अध्ययनका अनुसार ‘हाइयस्ट ग्रेसिङ स्टार अफ अल टाइम’को सूचीमा धर्मेन्द्र चौथो नम्बरमा परेका छन्। रक्सी धर्मेन्द्रको ठूलो कमजोरी बन्यो। रक्सीकै कारण उनी पटकपटक विवादित पनि तानिए। नृत्यमा धर्मेन्द्रले आफ्नै स्टायल स्थापित गरे। उनका केही सिग्नेचर स्टेपलाई बलिउडमा आज पनि धेरै कलाकारले नक्कल गर्छन्।

फिल्मी जीवनमा सफल मानिने धर्मेन्द्रको व्यक्तिगत जीवन पनि सुखमय नै रह्यो। उनको पहिलो पत्नीबाट दुई छोरीहरू विजयेता र अजिताका साथमा दुई छोरा सनी र बबी छन्। त्यसैगरी दोस्रो पत्नीबाट ईशा र आहना छन्। आफ्नो बाबुको काम र व्यक्तित्वबाट प्रभावित भएर बबी देवलले आफ्नो एक छोराको नाम धरम नै राखे। बलिउडमा माया र प्रेमको नमुनाको रूपमा रहेको देवल परिवारमा आज पनि हरेक सदस्यबीच राम्रो सम्बन्ध छ। धर्मेन्द्रले आफ्ना दुई छोराहरूसँग मिलेर ‘यमला पगला दिवाना’ र ‘यमला पगला दिवाना २’ मा काम गरिसकेका छन्।

(रामकला खड्का, एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.