राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते
काठमाडौं : सरकारले आगामी २४ माघमा राष्ट्रिय सभा चुनाव गर्ने निर्णय गरेको छ। बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले २४ माघमा राष्ट्रिय सभाको चुनाव गर्ने निर्णय गरेको महिला बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापाले जानकारी दिए। यसअघि निर्वाचन आयोगले सरकारलाई २५ माघमा राष्ट्रिय सभा चुनाव गर्न सिफारिस गरेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत साता मात्रै राष्ट्रिय सभा चुनाव सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। त्यसलगत्तै निर्वाचन आयोग र सरकार राष्ट्रिय सभा चुनावको गृहकार्यमा जुटेका हुन्।
आयोगले पहिला प्रदेश प्रमुख तोकेर मात्रै चुनावको मिति घोषणा गर्न सरकार समक्ष आग्रह गरेको थियो तर सरकारले प्रदेश प्रमुखको सिफारिस र अस्थायी मुकाम तोक्ने कार्य भने गर्न सकेन्।
अस्थायी मुकामको माग गर्दै देशव्यापी विरोध चर्कंन थाले पनि सरकारले प्रदेशको अस्थायी मुकाम भने तोक्न सकेको छैन। सरकारले अस्थायी मुकाम तोक्न जति ढिलो गर्छ उती नै विरोधका आवाजहरू देशव्यापी रुपमा बढ्दै जाने देखिएको छ। प्रदेश राजधानी माग गर्दै धरान, धनकुटा, इटहरी, डोटी, बुटवल, दाङ, जनकपुर, विरगञ्जलगायतका स्थानमा धर्ना, विरोध र आन्दोलन हुने क्रम दिनानुदिन बढ्दै जान थालेको छ।
महिला बालबालिका तथा समाजकल्याणमन्त्री थापाले शुक्रबारको बैठकमा प्रदेशको अस्थायी मुकाम तोक्ने र प्रदेश प्रमुख नियुक्ति गर्ने विषयमा सामान्य छलफल भए पनि गृहकार्य नपुगेको भन्दै निर्णय नभएको जानकारी दिए।