एकता खाका काेर्दै ओली-दाहाल : दुवै पार्टीलाई सहमत गराउने रणनीति

एकता खाका काेर्दै ओली-दाहाल : दुवै पार्टीलाई सहमत गराउने रणनीति

 

 काठमाडौं : अस्वस्थताका बाबजुद एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग पार्टी एकता र सरकार नेतृत्वका विषयमा आन्तरिक छलफल तीव्र बनाएका छन्। आफूनिकट नेताहरूसँग एकताका विभिन्न खाकाबारे मंगलबार र बुधबार छलफल गरेका ओलीले शुक्रबार बिहान वरिष्ठ नेता माधव नेपालसँग एक्लै छलफल गरेका थिए। एकता प्रक्रियामा सबैलाई सहभागी गराउँदा जटिलता देखिने भएपछि माओवादी अध्यक्ष दाहाल र ओलीले मात्र छलफल गरी खाका बनाउने र त्यसमा दुवै पार्टीलाई सहमति गराउने रणनीति लिएका हुन्।

‘दुई नेताबीच गम्भीर छलफल गरेर एकताको खाका आउँछ,' एमाले नेता शंकर पोखरेलले अन्नपूर्णसँग भने, ‘६ बुँदे सहमति गर्दा नै शीर्ष नेताले एकताको पहल गर्ने उल्लेख थियो।' पार्टीको नेतृत्व र संरचनाबारे टुंगो लागेपछि मात्र एकतालाई तल्लो तहसम्म लैजाने नेताहरू बताउँछन्।

‘फुड पोइजन' का कारण अस्वस्थ ओलीले एकताका अनेक खाकाबारे पार्टी नेताहरूसँग आन्तरिक छलफल तीव्र पारेका छन्। नियमित स्वास्थ्य जाँचका लागि पुस २६ गते बैंकक जान लागेका ओलीले त्यसअगावै एमाले नेताहरूको सुझावका आधारमा दाहालसँग पार्टी एकताका लागि लामो छलफल गर्ने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ।

चुनावपछि बधाई दिने र कार्यक्रमको निम्तो दिनेहरूको भीड बढेपछि धपेडी र बाहिरको खानाका कारण ओली बिरामी परेका थिए। उनको सचिवालयका अनुसार बिरामी भएका कारण भेटघाटलाई पूर्णरूपमा बन्द गरिएकाले ओलीले तीन दिनयता पार्टीका केही नेतासँग मात्र बसेर एकताका अनेक सूत्रबारे छलफल गरेका छन्। राति अबेर मात्र सुत्ने गरेका ओली माओवादी अध्यक्ष दाहालसँग नियमित सम्पर्कमा छन्। ‘दुई नेता बसेर एकताको मोडालिटी तयार पारेपछि एकता प्रक्रिया सुरु हुन्छ,' नेता पोखरेलले भने।

एमालेको तर्क :

- सरकारको नेतृत्व ओलीले गर्ने।

- ओली र दाहाल सहअध्यक्ष रहने, महाधिवेशनबाट नेतृत्व चयन गर्ने।

माओवादी तर्क :

- एकले सरकार र अर्कोले पार्टी नेतृत्व लिने

- दुवै नेताको सम्मानजनक नेतृत्व स्थापित हुनुपर्ने।

एमाले नेताहरूले सरकारको नेतृत्व ओलीले गर्ने भएकाले दाहाल र ओलीले पार्टीको संयुक्त नेतृत्व लिने गरी मोडालिटी तयार पार्न ओलीलाई सुझाएका छन्। ‘एकता अधिवेशनसम्म संयुक्त नेतृत्व हुने गरी अघि बढ्छ होला,' नेता पोखरेलले भने। ओलीनिकट नेताहरूले ओली र दाहाल सहअध्यक्ष हुने गरी पार्टी नेतृत्व सञ्चालन गर्नुपर्ने र महाधिवेशनपछि सहमतिका आधारमा मात्र एकल नेतृत्व हुनुपर्ने तर्क गर्दै आएका छन्।

दुवै नेतासहित एकता संयोजन समितिलाई ‘स्थायी कमिटी' का रूपमा पनि अघि बढाउन सकिने, दुवै नेता पार्टीको संयुक्त नेतृत्वमा रहँदा महासचिव पद राख्ने कि नराख्नेलगायत अनेक विकल्पमा छलफल केन्द्रित भइरहेको ओली निकट नेताहरू बताउँछन्।

माओवादी केन्द्रका नेता भने एकले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व लिने गरी सहमतिको खाका खोजिनुपर्ने बताउँछन्। ‘दुवै नेताको सम्मानजनक नेतृत्व स्थापित हुने गरी एकताको खाका बन्नुपर्छ,' माओवादी केन्द्रका एक नेताले भने, ‘दुवै नेता खाका बनाउन लागेकाले सबैलाई स्वीकार्य हुने प्रस्ताव आउने विश्वास गरेका छौं।' एकता प्रक्रियामा खाका बनाइरहेका ओली र दाहाल दुवै जना दोस्रो तहका नेताहरूका सार्वजनिक अभिव्यक्ति बन्द गराउने पक्षमा छन्।

‘दुई नेता बसेर मोडालिटी तयार पारेपछि एकता प्रक्रिया सुरु हुन्छ।'

- शंकर पोखरेल, नेता, एमाले

एकताका विषयमा दुई नेताबीच गम्भीर र सकारात्मक कुराकानी भइरहेको भन्दै माओवादी अध्यक्ष दाहाल ‘आफ्नो पार्टीका दोस्रो तहका नेतालाई सार्वजनिक रूपमा बोल्न बन्द गराउने र एमालेले पनि यसतर्फ ध्यान दिनुपर्ने' सुझाव दिएर बिहीबार चितवन लागेका थिए। दाहाल चितवनबाट फर्केलगत्तै लामो छलफल गरी मोटो रूपमा एकताको खाका तयार गर्ने पक्षमा ओली रहेको उनीनिकट नेताहरू बताउँछन्। ‘अबको छलफल एक-दुई घन्टाका लागि मात्र हुँदैन,' ओलीनिकट नेता विष्णु रिमालले भने, ‘लामै र गहन छलफल गर्ने तयारी भइरहेको छ।'

राष्ट्रियसभाको निर्वाचन माघ २४ गते तोकिएपछि तत्काल नयाँ सरकार गठन प्रक्रिया सुरु नहुने भएपछि नेताहरू एकताका विषयमा केन्द्रित भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.