राप्रपा पराजयका नौ कारण

राप्रपा पराजयका नौ कारण

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जास्पद पराजय हुनुमा राप्रपाले नौ वटा कारण औंल्याएको छ। तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकले पार्टी विभाजनदेखि कांग्रेससँगको तालमेलसम्मलाई पराजयको मुख्य कारण भनेको छ।

कांग्रेससँग मिलेर बनाएको लोकतान्त्रिक गठबन्धन प्रभावकारी नभएकाले पराजित हुनुपरेको राप्रपाको निष्कर्ष छ। शुक्रबार पार्टीका निर्णय सार्वजनिक गर्दै राप्रपाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँग भएको लिखित सम्झौता कार्यान्वयन नभएको आरोप लगाएको छ। पार्टी निर्णय सुनाउँदै अध्यक्ष कमल थापाले भने, ‘हामीलाई जति सिट दिने भनिएको थियो, त्यसमा कांग्रेस इमान्दार बनेन र स्थानीय तहमा पनि कांग्रेसले इमान्दारीपूर्वक सहकार्य गरेन।'

यस्तै, राप्रपाले देशभर कम उम्मेदवारी दिनुलाई पनि पार्टी पराजयको अर्काे कारण भनेको छ। राप्रपाले भनेको छ, ‘हामीले देशभर प्रतिनिधिसभा र प्रदेशसभामा न्यून उम्मेदवार उठाएका कारण अपेक्षाकृत मत ल्याउन सकेनौं।' राप्रपाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले पार्टी विभाजन गरेको आरोप लगाउँदै निर्वाचनको सम्मुखमा भएको विभाजनलाई पनि पराजयको कारण बताएको छ।

संविधान संशोधनबारे पार्टीले स्पष्ट अडान र धारणा राख्न नसकेको उल्लेख गर्दै राप्रपाले सरकारमा सहभागिताबारे जनतालाई बुझाउन नसकिएको स्वीकार गरेको छ। यस्तै सिद्धान्तप्रति पार्टी नेतृत्व प्रतिबद्ध नरहेको भ्रम जनतामा गएको उसले जनाएको छ। राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कमजोर संगठनका कारण जनमतलाई भोटमा रूपान्तरण गर्न सकेनौं।'


‘मलाई चुनावअघि ज्योतिषीले तपाईं चुनाव नलड्नुस् भनेकै हुन् तर विश्वास नगरेर उम्मेदवारी दिएँ। ग्रहदशा बिग्रिएकाले हारेँ।' - कमल थापा, अध्यक्ष

चुनावका बेला साधन-स्रोत अभाव रहेका कारण पनि परिणाम अनपेक्षित आएको राप्रपाको ठहर छ। राप्रपाले पार्टी पराजयको अध्ययन गरी सुझावसहित प्रतिवेदन पेस गर्न डा. विष्णु भण्डारीको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा गोविन्द खनियाँ, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धनबहादुर बुढा, प्रकाश रिमाल, विजयलक्ष्मी सिंह र श्याम शाही सदस्य छन्। संसद्मा कमजोर उपस्थिति रहे पनि हिन्दूराष्ट्र र राजसंस्थाको मागबाट विचलित नभएको राप्रपाको दाबी छ। राप्रपाले समान विचार र समूहलाई एकताका लागि आह्वान गरेको छ। यस्तै, राप्रपाले पार्टीको वैचारिक एवं सांगठनिक कार्यदिशा, रणनीति र कार्यक्रम तय गर्न केन्द्रीय परिषद्को बैठक बोलाएको छ।


ग्रहदशा बिग्रेकाले हारेँ : थापा

काठमाडौं : राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पराजयको कारण ‘ग्रहदशा' रहेको बताएका छन्। तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले आफ्नो ग्रहदशा ठीक नभएका कारण पराजय भोगेको सुनाए। उनले भने, ‘मेरो ग्रहदशा ठीक थिएन। त्यसैले निर्वाचन हारेँ।'

करिब डेढ सयभन्दा बढी सदस्य सहभागी हल खचाखच भरिएको थियो। पार्टी अध्यक्षले नै ग्रहदशा बिग्रेकाले चुनाव हारेको बताएपछि केन्द्रीय सदस्यहरू गलल हाँसे। पार्टी अध्यक्ष थापाले अगाडि भने, ‘तपाईंहरू हाँस्नुभयो तर यो सत्य हो।' उनले आफ्नो भनाइ थप पुष्टि गर्दै भने, ‘मलाई चुनावअघि ज्योतिषीले तपाईं चुनाव नलड्नुस् भनेकै हुन् तर मैले त्यसलाई विश्वास नगरेर उम्मेदवारी दिएँ।'

आफूलाई सुरुमा ज्योतिषीको भनाइमा विश्वास नलागेको भन्दै उनले कांग्रेससँग गठबन्धन भएका कारण चुनाव जित्नेमा विश्वस्त रहेको सुनाए। ‘ज्योतिषीको भनाइ गलत सावित गर्न चुनाव लडेँ तर पराजित भएँ', उनले बैठकमा भने, ‘ग्रहदशा बिग्रेकै कारण चुनावमा हारियो।'

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पराजयको नैतिक जिम्मेवारी आफूले लिने भन्दै नेतृत्व भने नछाड्ने बताए। उनले भने, ‘पार्टी पराजित भएपछि केही समयका लागि पद छाड्ने मनसाय मैले बनाएको थिएँ तर केन्द्रीय सदस्यहरूले मेरै नेतृत्वको आवश्यकता खोजेपछि मैले त्यो मनसाय त्यागेको छु। यद्यपि, तपाईंहरूमध्ये अधिकांशले मेरो राजीनामा माग्नुभएको छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.