कभर स्टोरी

कभर स्टोरी

किताबको कभरलाई पाठकले कति महत्व दिन्छन् ? कभरले कन्टेन्ट बोक्छ कि बोक्दैन ? कस्तो कभर राम्रो ? राम्रो कभरमा कसकसको मेहनत परेको हुन्छ ? किताबको बिक्रीसँग कभरको के सम्बन्ध हुन्छ ? कभर भनेको बोक्रा मात्रै हो त ?

कल्पना गर्नुस्– तपाईं एउटा विशाल पुस्तकालयमा हुनुहुन्छ, हजारौं किताबले भरिएको। केहीबेर टहलिनुस्। पुस्तकालयको फराकिलो आयतनमा फेरो मार्नुस्। ल, अब किताब छान्न थाल्नुस्। तपाईं कुन र्‍याकतिर जानुहोला ? सुन्दर गातायुक्त किताब राखिएको र्‍याकतिर वा सबै एकैनासे सपाट गातावाला र्‍याकतिर ? अझै गहिरिनुस्, टोल्सटोयको सुप्रसिद्ध उपन्यास ‘अन्ना क्यारेनिना’का दुई संस्करण छन् त्यहाँ। एउटा, सेतो गातामा कालो मोटो अक्षर कोरिएको। अर्को, गाताभरि रातो रङको गाउन फैलाउँदै नाचिरहेकी युवती। तपाईं कुन रोज्नुहुन्छ ? सायद तपाईंको आँखालाई युवतीवाला गुलाबी गाताले तान्नेछ। किताब एउटै भए पनि गाताको सौन्दर्य पहिलो च्वाइस बन्नेछ।

किताबको नाम सुन्नासाथ तपाईंको मस्तिष्कको स्क्रिनमा सबैभन्दा पहिला गाताको आकृति सल्बलाउँछ। जस्तै, ‘मुनामदन’को नामसँगै पहिलोपटक स्कुलको पुस्तकालयमा देखेको ‘मुनामदन’को चित्र बन्ला। भलै, तपाईंले त्यसको दसवटा संस्करण नै किनिसक्नुभएको किन नहोस् ! तर, किताबको आत्मा त त्यसको पाठ नै हो। प्रायः कृतिका स्तर र प्रकारले पनि गाताको अर्थमा विविधता ल्याउँछ। किताब पढिसकेपछि गातालाई पाठकले आफ्नो स्मृतिमा त्यसरी नै जोडेर राख्छ, जसरी उसले पाठलाई आफूसँग गाँसेको हुन्छ। जतिसुकै तर्क गरे पनि किताबको गाता अन्तिम र सम्पूर्ण नहोला। तर, स्वयंमा केही त हो। आवरण पुस्तकको सौन्दर्य हो, चहक हो, महक हो। कुनै पनि किताबी गाताले त्यसको आरम्भिक प्रभाव–दर्शन गराउँछ। त्यसैले कभर सार्थक किताबको सुन्दर, सानदार र पहिलो आँखीझ्याल हो। नत्र महान् कलाकारका महानतम् सिर्जनाहरू पुस्तकका गातामा राखिने थिएनन्। त्यसबाट प्रतिफल नपाइँदो हो त प्रकाशकहरूले गाताकै चमकका लागि लाखौं धनराशि खर्च गर्ने थिएनन्।

हरेक पुस्तक–स्मृतिमा तिनका गाता पनि जोडिएर आउँछन्। पारिजातको ‘शिरीषको पूmल’को सम्झनामा केवल सकम्बरी र सुयोगवीर आउँदैनन्, सँगै आउँछ– नीला पातहरू बिछ्याएर उभिइरहेको एउटा शारदीय समय। र, नयनराज पाण्डेकृत ‘उलार’को स्मृतिसँगै आउँछ– उत्तानो टाँगा र मरेकी घोडीको बिम्ब। डा. डीपी भण्डारीको बहुचर्चित निर्बन्ध लेखन ‘नीरो बाँसुरी बजाइरहेछ’को आवरण पेन्टिङ–प्रेममा फसिहाल्छ, बौद्धिक पाठक। बाँसुरीबाट तप्किरहेको रक्त–बुँदले पाठकीय कौतुहललाई काउकुती जगाउँछ। हरेक किताबको गातामा त्यसको समय, तत्कालीन कलाचेत र प्रचलित प्रविधि टाँसिएको हुन्छ। गातामा पोखिएको सौन्दर्यमाथि घोत्लिँदा समयबोधको त्योे गहिरो गुफा दृश्यमा उक्लिन्छ। समीक्षक राम लोहनी भन्छन्, ‘किताबप्रतिको पहिलो आकर्षण यसको आवरण नै हो। आकर्षण र कौतुहल पैदा गर्न नसक्ने आवरणले पाठकलाई कहिल्यै उत्साहित गर्दैन।’

– किन वाराणासीमा छापिएर आउने हरेक किताबका गातामा सुतीको माड हालिएको कपडा टाँसिएको हुन्थ्यो ?

– किन ‘माओत्सेतुङका प्रसिद्ध उक्तिहरू’ नामको किताबले ‘रेड बुक’ नाम पायो ?

– जुनसुकै प्रकाशन गृहले छापे पनि, जतिऔं संस्करण निकाले पनि किन उस्तै हुन्छ ‘ श्रीस्वस्थानी व्रतकथा’ वा ‘बाइबल’ वा ‘कुरान’को गाता ?

– नेपालीमा अनुदित कार्ल माक्र्सको ‘पुँजी’मा किन उनकै दाह्रीवाल अनुहार आवरणमा थपक्क बसेको छ ?

यी प्रश्नको अन्तर्यमा कतै लुकिबसेको हुन्छ– किताबको गाता–कथा, त्यसको समयचेत र निर्माण प्रक्रिया।

प्रविधिको सौन्दर्य

संसारमा पहिलोपटक प्रकाशित किताबको ‘खोल’ कस्तो थियो ? पुराना हस्तलिखित ग्रन्थ हेर्दा मूलपाठका पातालाई हानिकारक तŒवहरूबाट जोगाउन हलुका काठका फल्याकका गाता राखिएको पाइन्छ। अर्थात् गाता पुस्तकको सुरक्षा–कवच पनि हो। किताबलाई कपडाले बेर्ने गरिएको पनि पाइन्छ। मानिसले जस्तै किताबले पनि कपडा लगाउनुपर्छ भन्ने विचारको विकास कसरी भयो ?

मानव सभ्यताकै पहिलो किताब मेसोपोटामियामा पाइएको छ। आजभन्दा चार हजार वर्षअघि माटाका ट्याब्लेटमा दुवैतिर खोपेर आगोमा पकाएर बनाइएका ती किताब अहिले पनि सुरक्षित छन्। इतिहासविद्हरूले त्यसरी लेखिएका किताबको नाम ‘क्युनिफर्म’ दिएका छन्। अन्वेषण–क्रममा ‘इपिक अफ् गिलग्यामेस’ नामक पुस्तक फेला परेको थियो। ईशापूर्व २८०० तिरका मेसोपोटामियाका शासक मानिने गिलग्यामेसको सौर्य र गाथालाई काव्यिक रूपमा प्रस्तुत गरिएको छ, उक्त किताबमा। त्यसो त ऋग्वेदलाई पहिलो र प्राचीन ग्रन्थ मानिन्छ। तर, त्यसको पहिलोप्रति उपलब्ध छैन। केही वेदविद्हरूले वेदका ऋचाहरू कथ्यरूपमै पुस्तौं पुस्ता हस्तान्तरित भएर पछि मात्रै लेख्य रूपमा आएको बताएका छन्।

लिपिको आविष्कारसँगै मानिसहरूले आफूले आर्जन गरेको अनुभव र ज्ञानलाई संग्रह गरेर राख्न थाले। मेसोपोटामियाका प्राचीन बासिन्दाले ‘क्युनिफर्म’मा लेखे भने पूर्वीय सभ्यताका जननी मानिने चीन र प्राचीन भारत उपमहाद्विपमा भोजपत्रमा लेखे। ‘क्युनिफर्म’लाई जतन गर्न गाह्रो थियो। भोजपत्रका पत्ताहरू भने धागोले बाँधेर राखिन्थ्यो।

चीनमा कागज आविष्कार भएपछि किताबको इतिहासले ठूलो फड्को मा¥यो। यद्यपि, त्यसपछि पनि किताब सम्भ्रान्त वर्गको सोखको वस्तु बन्यो। हस्तलिखितमा सीमित हुन्थे किताब। त्यसैले किताबलाई विलासिताकै सामानसरह लिइन्थ्यो। अधिकांश किताबका गातामा सुन, चाँदी, जवाहरातको गाता राखेर बनाइएको हुन्थ्यो अर्थात् तिनमा कार्चोपी भरिन्थ्यो।

१६ औं शताब्दीको मध्यतिर प्रिन्टिङ प्रेसको आविष्कारपछि पुस्तक निर्माण प्रक्रिया सहज हुन थाल्यो। र, उत्पादनको क्षेत्र बन्यो पुस्तक। त्यसपछि नै सुरु भयो, किताबको गाता–गाथा। तर, धेरै समयसम्म पनि अफसेट प्रेसले नै इतिहास रच्यो। अफसेट प्रेसको जमाना हुँदासम्म किताबको गाता निर्माण प्रक्रिया निकै कठिन थियो।

चर्चित कभर डिजाइनर तथा कला–समीक्षक टेकवीर मुखिया सम्झन्छन्, ‘अहिलेजस्तो कम्प्युटरको जमाना आइसकेको थिएन। चित्रका लागि काठको ब्लक बनाउनुपथ्र्यो। रङको मि श्रण गर्ने विकल्प पनि कम थिए।’ पछि जिंक ब्लक बनाउने प्रविधि आयो। यसले कलाकारलाई गाताको कलामा रङ भर्न सजिलो बनाइदियो।

‘कम्युनिस्ट मार्का’का किताब हेर्दा किताबको गाता बमले ध्वस्त कुनै क्षतिग्रस्त गाउँको भग्न पाटीजस्तै लाग्छ। त्यो घाइते छ, रक्तमुच्छेल छ। लाग्छ, कभर समाप्तिको बाटोतिर निरन्तर अग्रसर छ। तिनमा न शिल्प देखिन्छ, न कलाचेत।

डिजिटल प्रिन्टिङको विकाससँगै छपाइको दुनियाँमा आमूल परिवर्तन आयो। इतिहासकारहरू डिजिटल क्रान्तिलाई कृषि र औद्योगिक क्रान्तिपछिको तेस्रो क्रान्तिका रूपमा लिन्छन्। डिजिटल क्रान्तिले दिएको सबैभन्दा ठूलो देन थियो, रङहरूको सम्मि श्रण। सन् १९५० को दशक अगाडिसम्म रङहरूको दुनियाँ क्यानभासको साँघुरो फ्रेममा कैद थियो। डिजिटल क्रान्तिले क्यानभासको रंगीन दुनियाँलाई संसारभर छरिदियो। सपाट र निख्लो संसार रंगीन हुन थाल्यो। यो क्रान्तिसँगै किताबका ज्याकेट पनि रंगीन र वाचाल हुन थाले।

०००

गिरीशवल्लभको ‘वीरचरित्र’ नेपालको पहिलो उपन्यास हो (क्लासिक कभरमा वीरचरित्रको निकै चर्चा गरिन्छ), उसैगरी दार्जिलिङे साहित्यको पहिलो कलर कभर सुवास घिसिङले बनाएका थिए, आफ्नै उपन्यास ‘नीलो चोली’मा। घिसिङ लेखक र राजनेताबाहेक आर्टिस्ट पनि थिए।

किताबको कभरसम्बन्धी हजारौं अभ्यास र नमुना संसारभर प्रचलित छन्। तर, नेपालमा तीनवटा मात्रै अभ्यासमा रहेको मानिन्छ– फोटोकला, चित्रकला र लिपिकला ! चित्रमा विभिन्न तौरतरिका छन्। कुनै पनि प्रोडक्ट कति राम्रो भन्ने बुझ्न त्यसको आवरणले ठूलो भूमिका खेल्छ। किताब पनि अन्ततः वस्तु नै हो। त्यसको भित्री तत्व जति राम्रो हुन्छ, आवरण पनि त्यति नै राम्रो हुनु जरुरी छ।

लेखक आफैं डिजाइनर

नेपाली साहित्यमा किताब प्रकाशनले व्यावसायिक रूप लिन थालेपछि कभर डिजाइनमा सचेतना बढेको छ। त्यसो त हाम्रोमा व्यावसायिक कभर डिजाइनर नै खोज्ने हो भने औंलामा गन्न सकिने मात्रै होलान्। साझा प्रकाशन, रत्न पुस्तक भण्डारलगायतका प्रकाशकहरू मात्रै भएको समयमा अधिकांश किताबका डिजाइनर त लेखक स्वयं नै हुने गर्थे। टेकवीर मुखिया यो सूचीमा अपवाद हुन्। टेकवीरका अनुसार, उनले करिब पाँच हजार किताबका कभर डिजाइन गरेका छन्। उनले सुरुदेखि नै व्यावसायिक कभर डिजाइनरको धर्म निभाइरहे। त्यसैले साझा प्रकाशनका थुप्रै किताबमा उनको सिग्नेचर देखिन्छ, ‘मु’।

लेखक भइकन पनि कभर डिजाइन गर्नेहरूको सूचीमा आउँछ केही नाम। तीमध्ये कवि श्यामल एक हुन्। उनी केही चर्चित किताबका कभर–आर्ट डिजाइनर हुन्। नारायण ढकालको ‘शोकमग्न यात्री’, नयनराज पाण्डेको ‘उलार’का प्रथम संस्करणमा उनले ‘पेन एन्ड इंक’, ‘क्रे–योन’ अथवा ‘वाक्स’ र केहीमा ब्रस, रङ प्रयोग गरेर कभर बनाए। ‘एमेच्युर आर्टिस्ट हुँ। आर्टबारे किताब पढ्न छोडिनँ। विश्वविद्यालयमा कलाको औपचारिक अध्ययन गरिनँ’, उनी भन्छन्, ‘तथापि हामीकहाँ अधिकांश प्रकाशकले सचेत र सजग भएर कभरमा आर्ट प्रयोग गरेजस्तो लाग्दैन।’

श्यामललाई पछुतो गराउने एउटा प्रसंग हो, प्रख्यात कथाकार रमेश विकलले धेरैचोटि आफ्नो कभर बनाइदिन उनलाई भनिरहे, तर कुन्नि किन हो उनको जीवनकालमा त्यो सम्भव भएन। उनीजस्ता विशिष्ट कथाशिल्पीको आग्रह आउनु पनि स्वयंको लागि गौरवको विषय हुन्थ्यो। अब विकल छैनन्। श्यामललाई बोर लागिरहन्छ। तर, उनले आफ्ना पुस्तकको कभर डिजाइन भने अरूबाटै गराएका छन्। जस्तै मदन चित्रकार, राजन काफ्ले, सुन्दर बस्नेत आदि। उनका विचारमा, चरित्र र विषयवस्तुको अनकन्टार गुफाभित्र पाठकलाई लैजाने प्रवेशबिन्दु हो– कभर। उनी फ्रेस किताब किन्नुअघि कभर हेर्छन्। कभर हेरेर प्रकाशक कतिको सुल्झेको छ थाहा पाउँछन्। झुर कभरले आकर्षित गर्दैन उनलाई। निरुद्देश्य कला वा हीनकलाभन्दा कभरमा फोटो प्रयोग गर्ने अभ्यास पनि पुरानै हो। श्यामलजस्तै कविता लेख्ने र कला गर्ने पुराना पुस्ताका उत्तम नेपाली र नयाँ पुस्ताका कविहरूमा विराटनगरका सुमन पोखरेल पनि हुन्। कवि नरेन्द्रबहादुर श्रेष्ठ र जीवन आचार्यको नाम पनि गाता डिजाइनरमा आउँछ। युवा आख्यानकार अमर न्यौपाने पनि यस सूचीमा थपिएको केही वर्ष भयो। अझ पुराना दिनतिर फर्कने हो भने बालकृष्ण सम र लैनसिंह बाङ्देल दुवै आफ्नो समयका ठूला लेखक र कलाकार थिए। सयौं पुस्तक र पत्रपत्रिकाका कभर बाङ्देलका कलाले सजिए। उनी लिपिकै प्रयोग गरेर कलायुक्त गाता बनाउने विरल प्रतिभा थिए। नेपालमा यस्ता कवि–कम–कलाकारको संख्या उल्लेखनीय नभए पनि निकै कम छ भन्न मिल्दैन।

कवि विप्लव प्रतीकको भर्खरै प्रकाशित उपन्यास ‘अविजित’को कभरलाई पाठकले निकै आकर्षक मानेका छन्। ‘अविजित’को कभर डिजाइन गर्न उनले डिजाइनर टेरेन्स डिकोस्टाको सहयोग लिए। टेरेन्सले जलिरहेको जोकरको एक सय ५६ वटा तस्बिर खिचेका थिए, जसमध्ये एउटा तस्बिर डिजाइनका लागि छानियो। त्यस तस्बिरलाई फोटोसप नगरी कभर बनाइयो। विप्लवको विचारमा पनि कभर महत्वपूर्ण छ।

किताबको एक्सटेरियर र इन्टेरियर (बाहिरी–भित्री) डिजाइनले जहिले पनि आकर्षित गर्ने बताउँछन्, फिक्सन डिजाइनर कुमार नगरकोटी। ‘कभरको इन्टायर भ्यालु हुन्छ’, नगरकोटी भन्छन्, ‘कभर हेरेरै किताब किन्ने गर्छु। हाम्राबाट प्रकाशित किताबको इन्टेरियर डिजाइन नै भएन। हाम्रा डिजाइनरले मौलिक डिजाइन गर्न सकेनन्, संसारमा चलेकै ट्रेन्ड पछ्याए।’

नगरकोटीले आफ्नो पहिलो उपन्यास ‘मिस्टिका’मा नामबाट ‘कुमार’ हटाएर ‘नगरकोटी’ मात्रै लेखे। तर, पाठकले किताब किन्न पसल जाँदा सोधे, ‘मिस्टिकाले लेखेको नगरकोटी भन्ने किताब छ ? ’ हामीसँग कभरमाथि सामान्य साक्षरता पनि नभएको निष्कर्ष छ, नगरकोटीको। उनी पुस्तक कभरमा आफैं खेल्छन्।

लेखक बुद्धिसागरको विचारमा पनि कभर शरीर हो, किताब त्यसको आत्मा। ‘पाठक कहाँ प्रवेश गर्दैछ भनेर देखाउने बाटो हो– कभर। कभर हेरेरै पाठकले कस्तो रङको संसारमा प्रवेश गर्देछु भन्ने माइन्ड मेकअप गर्छन्। ‘पहिरनले मानिसको व्यक्तित्व कस्तो होला भन्ने सालाखाला चित्र देखाउँछ, किताब पनि त्यस्तै हो,’ उनी भन्छन्।

लेखक यज्ञशको ‘भुइयाँ’ अहिले सहरमा सह्राइएका किताबमध्ये एक हो। ‘भुइयाँ’को कन्टेन्टमात्र होइन, कभर र किताबको इन्टेरियर डिजाइनले पनि पाठकलाई उत्तिकै आकर्षित गर्छ। यज्ञश किताबको कभरलाई मान्छेको अनुहारसँग दाँज्छन्। भन्छन्, ‘जसरी अनुहारले मान्छेको बाहिरी पहिचान बोकेको हुन्छ, त्यसैगरी कभरले किताबको पहिचान बोक्छ।’

किताब–कभरले पाठकलाई लेखकको भोगाइ र अनुभूतिको गहिरो नदीमा डुबाउनुपर्छ भन्छन् टेकवीर मुखिया। लेखकले भोगेको निजी संसारलाई पाठकसमक्ष लैजाने एउटा कला हुन सक्छ– किताब–कभर। मुखिया पाठकको ध्यान तान्ने उद्देश्यले कभरमा भद्रगोल कोलाज मात्रै खिच्नुले सम्पूर्ण किताब र त्यसको टेक्स्टलाई नै भद्दा बनाइदिने बताउँछन्। ‘जस्तो पायो त्यस्तै रङ मात्र थुपार्नुले किताब–कभरलाई कुनै पनि अर्थ नबोक्ने, सिद्धान्त वा विचार नबोक्ने बनाउँछ,’ उनी भन्छन्।

प्रकाशकका कभर दृष्टि

लेखकको किताबलाई बजारमा बिक्ने गरी प्रस्तुत गर्ने काम हो– प्रकाशकको। पुँजी लगानी गरेकाले किताबलाई बिकाउ बनाउने ध्याउन्नमा हुन्छ, प्रकाशक। त्यसैले किताबको साजसज्जा र कभरमा उसको महत्वपूर्ण भूमिका हुन्छ नै। त्यसो त नेपालमा किताब डिजाइनको सेन्स ६० को दशकपछि निजी प्रकाशकहरूको बढ्दो उपस्थितिले बढाएको हो भन्दा अन्यथा हुँदैन। ६० को दशकमा निजी लगानीका प्रकाशक बजार पसेपछि नेपाली पुस्तकको कायाकल्प भयो। एकै रङ हाबी हुने, प्रकाश र छपाइ उस्तै देखिने पुराना किताबको ठाउँ चम्किला, छरिता र आकर्षक डिजाइन भएका किताबले लिन थाले।

आकर्षक कभर र सुन्दर लेआउटले पुस्तकको बिक्री बढाउने प्रकाशकहरूको मान्यता छ। प्रकाशन संस्था फाइनप्रिन्टका अजित बराल भन्छन्, ‘पुस्तकको कभर आकर्षक र भित्री पानाको लेआउट सुन्दर भयो भने पाठकले त्यो पुस्तक किन्ने सम्भावना बढी हुन्छ। पुस्तक पढ्नमात्रै होइन, सजाएर राख्न लायक पनि हुनुपर्छ, त्यो आफैंमा वर्क अफ आर्ट हुनुपर्छ।’ कभरसम्बन्धी बरालको मान्यता छ– ‘पहिरनले मानिसको व्यक्तित्व झल्काउँछ, पुस्तक कभरले पुस्तकको सार (इसेन्स)।’

त्यस्तै बुकहिल प्रकाशन गृहका भूपेन्द्र खड्का कभर डिजाइनमा प्रकाशक गम्भीर हुनुपर्ने बताउँछन्। भन्छन्, ‘कभरमा ध्यान दिनैपर्छ, कन्टेन्टअनुसारको आवरण तयार गर्नु नितान्त आवश्यक छ !’ किताबको बिक्री, चर्चा र प्रमोसनमा कभरको अहम् भूमिका हुने उनको विश्वास छ। कभर र भित्री टेक्स्टको सम्बन्ध भएन भने किताब बुख्याँचा बन्ने डर हुन्छ भन्छन्, उनी।

सांग्रिला बुक्सका मणि शर्मा भने पुस्तकको पहिलो आकर्षण र प्रभाव कभरबाट सुरु हुने भए पनि कन्टेन्ट नै महत्वपूर्ण हुने ठान्छन्। ‘राम्रो कभरले पक्कै पनि किताबको प्रभाव बिस्तारमा सहयोग गर्छ,’ उनको मत छ, ‘तर, कभर मात्र राम्रो भएर पुस्तकको गुदी केही छैन भने त्यसको अर्थ हुन्न।’

फिनिक्स बुक्सका कुमार ढकाल भने कभर र कन्टेन्टबीच तादम्य हुनुपर्नेमा जोड दिन्छन्। भन्छन्, ‘कभरले किताबको टेक्स्टलाई न्याय गर्न सक्नुपर्छ। कभर आकर्षक मात्र भएर पुग्दैन, त्यसले गर्ने इन्डिकेसनले किताबको आत्मा बोल्नुपर्छ।’

पुस्तक लेख्न जति गाह्रो छ, कभर बनाउन पनि सजिलो छैन। हजारौं शब्दमा व्यक्त भएका विषयलाई एउटै चित्र वा तस्बिरमा उतार्नु बडो जोखिम हो। त्यसमाथि नेपालमा न खोजेजस्तो आर्टिस्ट पाइन्छन्, न चाहिएजस्तो प्रविधि नै। राम्रा भनिएका कलाकार निकै महँगा छन्। ‘मैले कभरको लागि एउटा पेन्टिङ किन्न खोजेँ, एक लाख २५ हजार भनियो। किन्नै सकिनँ,’ भूपेन्द्र आफ्नो अनुभूति सुनाउँछन्।

व्यावसायिक प्रकाशन गृहहरू लेखक, किताबको थिम, विधा सबै मिलाएर कभर डिजाइन गर्छन्। कतिपय लेखकका आफ्नै ट्रेन्ड हुन्छन्। चेक उपन्यासकार मिलान कुन्देराका केही किताब सेतो पृष्ठभूमिका छन्। तिनमा मिलानकै स्केच छ भने उनको नाम पनि हस्तलिखित देखिन्छ। त्यस्तै, पेन्गुइनले प्रकाशन गरेको गाब्रिएल गार्सिया मार्खेजका सबै किताबमा कलर टोनदेखि कभर डिजाइनसम्म उस्तै देखिन्छन्। विल्को बुक्सले प्रकाशन गरेको क्लासिकल सिरिज सबै एकैनासको छ, कलेजी रङका हार्ड कभर। त्यस्तै पेन्गुइन बुक्सले पनि एकै डिजाइनको सिरिज निकाल्ने गर्छ। नेपालमै पनि कुमार नगरकोटीका किताबमा लेखकको नाम सिरानमा हुन्छ। बुद्धिसागरका उपन्यास ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ दुवैको ब्याकग्राउन्ड चम्किलो सेतो छ।

कभरले के झल्काउँछ ?

किताबको कभर डिजाइन, मात्र साजसज्जा होइन। योसँगै दर्शन, कलाबोध र डिजाइनरको राजनीतिक, सामाजिक र सांस्कृतिक धरातलले ठूलो अर्थ राखेको हुन्छ। ‘उलार’को कभर बनाउने कलाकार मधेसी वा मुस्लिम भएको भए त्यो कभरको वास्तविक स्वरूप कस्तो हुन्थ्यो ? त्यसमा मधेस, समाज र राजनीति कसरी आउँथ्यो होला ?

पछिल्लोपटक कभरकै कारण विवादमा आएको पुस्तक हो– युग पाठकको ‘माङ्गेना’। गातामा नेपालको झन्डा च्यातिएको चित्र राखिएकाले लेखक पनि विवादमा मुछिए। पटकपटक उठ्ने यस्ता बहसले किताब डिजाइनमा डिजाइनरको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने बताउँछ।

करिब १२ वर्षदेखि किताब डिजाइन गरिरहेका सुवर्ण हुमागाईं कभरमा प्रयोग गरिने कलाले किताबकै सौन्दर्य बढाउने बताउँछन्। करिब दुई सयभन्दा बढी किताबका कभर डिजाइन गरेका उनी बिम्ब र चित्रले मात्र कभर डिजाइन पूर्ण नहुने ठान्छन्। ‘आवरणबाटै उक्त वस्तुको सौन्दर्यबारे विश्लेषण गर्ने गरिन्छ,’ सुवर्ण भन्छन्, ‘सौन्दर्य बिम्ब र चित्रमा मात्र सीमित हुँदैन। कलात्मक तरिकाले राखिएको अक्षर तथा संकेतहरूले पनि सौन्दर्यलाई झल्काउँछ।’

कभर डिजाइनर राजन काफ्ले भने लेखक र प्रकाशकको हठले कतिपय बेला कभर डिजाइनमा समस्या ल्याउने बताउँछन्। एउटै किताबको कभर आठ पटकसम्म बनाउँदा पनि चित्त बुझाउन नसकेको अनुभव सुनाउँछन् उनी। तीन सयभन्दा बढी किताबको कभर डिजाइन गरिसकेका काफ्ले भन्छन्, ‘कभरमै आफ्ना सबै कुरा झल्कियोस् भन्ने लेखकको सोचले र आवरणले नै किताब बिक्री होस् भन्ने प्रकाशकको सोचले आवरणको कलामा हानि पुगेको छ।’ हालै मात्र उनले विश्वेश्वरप्रसाद कोइराला, पारिजात, देवकोटा, धच गोतामेका क्लासिक सिरिजका रिप्रिन्ट–किताबका कभर बनाए। नयाँ लेखक–प्रकाशकहरू उनलाई सीधै तन्नेरीको आँखा जाने कभर बनाउन माग गर्छन्। भन्छन्, ‘आफूलाई चित्त नबुझे पनि उनीहरूले भनेबमोजिम गरिदिनुपर्छ।’

कभर कि कन्टेन्ट ?

किताबको कभर कला र चेतनाको निजत्व पनि हो। अचेल बजारमा प्रशंसायोग्य कभर भएका किताबको भेल–बाढी नै देखिन्छ। लेखक तथा प्रकाशकहरू कभरमा उल्लेख्य मेहनत गर्न थालेका छन्।

लेखक कभरप्रति कति सचेत हुन्छ भन्ने उदाहरण फ्रान्ज काफ्का हुन्। काफ्काले जब ‘मेटामर्फोसिस’ लेखे, उनले प्रकाशकलाई पाण्डुलिपि पठाउँदा सानो चिर्कटोमा चिठी पनि नत्थी गरे। चिठीमा लेखिएको थियो, ‘मेटामर्फोसिसको गे्रगर साम्सा कीरा हो। तर, म कभरमा कीरा देखाउन चाहन्न। कभरमा कीरा नबनाउनू।’ कभरमै कीरा राखेमा पाठकीय–बिम्ब नष्ट हुन्छ भन्ने काफ्का सोच्थे। उनलाई लाग्थ्यो– पाठकको दिमागमा लादिएको पिक्चरको कीरा होइन, उनीहरूको बिम्ब र मस्तिष्कमा आफ्नै कीरा होस्।

श्यामल भन्छन्, ‘पहिलापहिला कभर र टेक्स्टबीच सामञ्जस्य खोज्ने जमाना थियो। ‘जय भुँडी’ भन्यो भने एउटा भुँडी नै बनायो, सकियो। अहिले पनि कलाचेत नभएकाहरूले त्यस्तै गर्छन्। वर्षौंअघि मोदनाथ प्र िश्रतले रामचन्द्र भट्टराईको ‘हृदयका फूलहरू’ को कभर डिजाइन गर्दा मुटुको इलस्ट्रेसन गरेर त्यसैबाट फूल फुलाएको देखेपछि म र कवि विमल निभा मरी–मरी हाँसेका थियौं।’

किताबको कभर महत्वपूर्ण कि कन्टेन्ट भन्ने विवाद बेलाबेला चल्ने गरेको छ। कतिपय पाठक कभर नै राम्रो नभई जतिसुकै राम्रो पुस्तक पनि पाठकको आँखामा पर्दैन भन्छन् भने कतिपयले भित्री गुदीमा जोड दिन्छन्। डिजाइनर काफ्ले लेखकले कभरमा भन्दा किताबको विषयवस्तुमा ध्यान दिनुपर्ने जरुरी देख्छन्। भन्छन्, ‘आवरण प्राथमिक कुरा होइन। आवरणले गर्दा किताब बिकेको थाहा छैन मलाई। तर, आवरणले किताबको एउटा छवि चाहिँ पाठकको मनमा बस्छ।’

केही अध्ययनशील पाठक भन्छन्, कभर किताबलाई मिहीन ढंगले चियाउने आँखीझ्याल पनि हो। त्यस आँखीझ्यालबाट चियाउँदा लेखकको आग्रह, प्रतिबद्धता सबै प्रस्ट देख्न सकिन्छ। तर्क यस्तो पनि छ– कभरबाट चियाउँदा किताबको सत्य पनि देख्न सकिन्छ र किताबले पाठकसँग मानसिक तादात्म्य पनि राखिरहेको हुन्छ।

‘कम्युनिस्ट मार्का’का किताब हेर्दा किताबको गाता बमले ध्वस्त कुनै क्षतिग्रस्त गाउँको भग्न पाटीजस्तै लाग्छ। त्यो घाइते छ, रक्तमुच्छेल छ। लाग्छ, कभर समाप्तिको बाटोतिर निरन्तर अग्रसर छ। तिनमा न शिल्प देखिन्छ, न कलाचेत।

आजका कभरले पुराना मान्यता भत्काउँदै गएका छन्। ती कभरले पाठकले पहिले बनाएका गाता–स्मृति र तिनको रूपलाई विर्निमाण गरिदिन्छन्। पछिल्लो समय बजारमा मौलिक र गहिरा कलात्मक कभरहरू देखिन्छन्। राम्रा आवरणवाला किताबहरूको सूची निकै लामो हुन सक्छ।

पुस्तक उत्पादन ‘उद्योग’ नबनिसकेको नेपालमा विश्वले गरेझैं कभरको गुणात्मक अभ्यास गर्नु गाह्रो होला। तर, केही प्रकाशक किताबको कभर र त्यसको गुणमा सचेत देखिन्छन्। व्यावसायिक प्रकाशकहरूको प्रवेशसँगै किताबको साजसज्जामा ध्यान दिन थालिएको छ। समीक्षक गुरुङ सुशान्त भन्छन्,

‘गातामा मात्र ध्यान दिनु बाह्रैमास ननुहाएको मानिसले पफ्र्युम छर्किनु बराबर हो। तर, सुग्घरी मान्छे सुकिलोमुकिलो देखिनु नाजायज होइन।’

०००

किताबको कभरबारे माथि जे–जति भनियो, कभरको सौन्दर्य र महत्वमाथि जे–जति बखानियो, तर एउटा सत्य भने भुल्न सकिन्न, अंग्रेजीमा एउटा भनाइ छ – ‘डन्ट जज ए बुक बाई इट्स कभर’। यो भनाइमा कसैको पनि दुई मत नहोला। जति जे भने पनि कभरभन्दा किताबको कन्टेन्ट नै महत्वपूर्ण हुन्छ। मूल्य, महत्व र गरिमा त अन्ततः गुदीकै हुन्छ।

यति भन्दाभन्दै पनि भुल्नै नहुने तथ्य के हो भने, कभरमा पस्किइने सौन्दर्य पनि किताबकै एक अभिन्न पाटो हो। मानव सभ्यताले लामो समयक्रममा निर्माण गरेको सौन्दर्यबोध नै किताबको गातामा आउने हो। त्यसमा वैचारिक मान्यता, दृष्टिकोण र प्रविधिको उपलब्धताले थप प्रभाव पार्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.