कविता : घर
सानै छँदाको सपना हो
एउटा घर होस् ।
जग उठाउने माटो अन्त कतै थियो
निदाल, दलिन जंगलमा नै थियो
बनिबुतो गरेर केही मोहर जोडेँ र
आफ्नै नामको कागजमा उनको नक्सा कोरेँ ।
घरबारे धेरै लेखिएका छनजसरी अरबौ रूखका पातहरूमा हावाले सुसेली छाडेको छ
सैयौं वृत्तचित्रहरू बनेका छनजसरी खरबौं तोरीका दानाहरू भित्र
घामको किरणले जीवन मञ्चन गरेको छ
बुझेर बुझिनसक्नु
अपार
मान्छे, जीवजन्तु बस्ने पृथ्वीभन्दा अझै जटिल रहेछ घर ।
के पढिन र मैले घरबारे ?
शृंगार, सृजना, गोपनीयता, वजन
सपना बुनेँ
सपना केलाउँदै विपना भित्र्याएँ
अत्यास ओढेर बादलको पहाड चढेँ र
फेदबाट झुल्कँदै गरेको दिनको देश आँखाले टिपेर
खोपीको ढिब्रीमा सजाएँ
धर्ती र बास
जीवन र गाँस
निद र सिरानीजस्तै बनून् ठानेँ ।
कति दुखेँ उसलाई चोट पर्दा
झस्किएर थोपाथोपा खसेँ उनले रहर पोख्दा
पहिरो भत्किएँ
ऐठन परेँ
उनी अक्षर भई रहेको पन्ना ढढेर उड्न लाग्दा
दूधकोसी भएर बहेँ
जुनेली रातको शीत
आँधीको गीत
अँध्यारोको संगीत
प्रेमिल बनून् ठानेँ ।
प्रौढ समयको मियो हुँदै जवान समय हिँडोस्
सँघार फराकिलो बनाएँ
क्षितिजपारिको गाउँबाट संगिनीहरूको मन एक थुन्चे ल्याएर
हिउँद फुलाउनु थियो
बर्खा झुलाउनु थियो
सिउँडी फूलको लहरा हुँदै पारि पुगेँ
उसरी नै फर्कें
ढोकाको कलश छोएर निस्कने बटुवाको अप्ठ्यारो अर्कै
ठप्प श्वास रोकेर बस्नु सजिलो बरु
पारदर्शी बन्न छातीलाई सिसाले ढाकेँ
पानीमा छायाँ
अप्ठ्यारोको माया
मेरो साँच्ची बनून् ठानेँ ।
भुइँ पोतेको एक चिम्टी माटो निधारमा लगाउँछु अहिले
खुलेजस्तो लाग्दैन घर
के गरिनँ र मैले घरको लागि ?
आफ्नोजस्तो बन्दैन आफ्नै घर ।
मेरो नागरिकताले आमालाई नेपथ्यमा राख्नु र
यो घरले मलाई किनारा लगाउने दाउ थाप्नु
संयोग नभएर
सृष्टि जत्तिकै मजबुत षड्यन्त्र हो ।