रियल म्याड्रिडले जित्दा बार्सिलोना रोकियो
म्याड्रिड : कोपा डेल रे फुटबलको प्रिक्वार्टरफाइनलको शुक्रबार बिहान खेलिएको पहिलो लेग खेलमा रियल म्याड्रिडले सजिलो जित हात पारेको छ भने अर्को स्पेनिस ‘पावर हाउस’ बार्सिलोना बराबरीमा रोकिएको छ । उक्त नतिजापछि रियलको क्वार्टरफाइनल यात्रा सहज बनेको छ भने बार्सिलोनाले दोस्रो लेग खेलअघि केही दबाबमा देखिएको छ ।
प्रिक्वार्टरफाइनलको पहिलो लेग खेलमा लेभान्ते र लेगानेसले भने सफलता हात पारेका छन् । रियलले दोस्रो श्रेणीको क्लब नुमान्सियालाई उसैको मैदानमा ३-० गोलले हरायो । भ्रमणकारी टोली बार्सिलोना भने सेल्टा भिगोसँग उसैको मैदानमा १-१ गोलको बराबरीमा रोकियो । यसैगरी लेभान्तेले स्पान्योललाई उसैको मैदानमा २-१ गोलले पराजित गर्यो भने लेगानेसले आफ्नो मैदानमा भिल्लारियलमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो ।
जारी सिजनको घरेलु लिगमा गतिलो प्रदर्शन गर्न नसकिरहेको रियलका लागि खेलको ३५औं मिनेटमा गारेथ बेलले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । कार्लोस गुटिरेजले लुकास भासक्वेजसँग फाउल खेलेपछि रियलले पेनाल्टी प्रहारको अवसर पाएको थियो । खेलको दोस्रो हाफमा नुमान्सिया १० खेलाडीमा समेटिएपछि रियलले थप दुई गोल गरेको थियो ।
निर्धारित समयको ६०औं मिनेटमा नुमान्सियाका पेप डिमान्का दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसअघि ३५औं मिनेटमा उनले पहिलो कार्ड पाएका थिए । नुमान्सिया १० खेलाडीमा समेटिएको फाइदा उठाउँदै ८९औं मिनेटमा फ्रान्सिस्को इस्कोले पेनाल्टीमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । उनी परिवर्तित खेलाडीका रूपमा मैदानभित्र छिरेका थिए । यसपटक युनाई मेडिनाले भासक्वेजसँग फाउल गरेका कारण रियलले पेनाल्टी प्रहारको अवसर पाएको थियो । रियलका लागि तेस्रो खेल भने खेलको अन्तिम समयमा बोर्जा मायोरलले थपेका थिए ।
यसैगरी सेल्टाविरुद्घको खेलको १५औं मिनेटमा बार्सिलोनाका लागि होजे आर्नाइजले पहिलो गोल गरेका थिए । ३१औं मिनेटमा सेल्टाका पियोन सिस्टोले जवाफी गोल गरेपछि खेल बराबरीमा सकिएको थियो । भिल्लारियलविरुद्घको खेलमा लेगानेसका लागि एकमात्र गोल निर्धारित समयको ५०औं मिनेटमा नोर्डिनले गरेका थिए । यसैगरी स्पान्योलविरुद्घको खेलमा लेभान्तेका लागि होजे लुइस मोरालेस र इभी लोपेजले एक÷एक गोल गरे । स्पान्योलका लागि भने एकमात्र गोल जेरार्ड मोरेनोले गरेका थिए ।