दर्शनलाई महिला भलिबलको उपाधि
बागलुङ : पाँचौं बागलुङ महोत्सव तथा प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापारमेलाको अवसरमा आयोजना गरिएको खुला महिला भलिबल प्रतियोगिताको उपाधि दर्शन ट्रान्सपोर्टले जितेको छ ।
राष्ट्रिय खेलाडीहरू सम्मिलित दर्शन ट्रान्सपोर्टले नेपाल खेलकुद महासंघ बागलुङलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । विजेता टोलीमा राष्ट्रिय महिला भलिबल टोलीका उपकप्तान मञ्जु गुरुङसहित रमिला तन्डुकार, कृपा अधिकारी, अरुणा शाहीलगायत थिए । दर्शनले खेलकुद महासंघलाई २५-१२, २५-१३, २५-१८ को सोझो सेटमा पराजित गर्यो । महासंघमा पनि एपीएफका महिला टोलीबाट खेल्दै आएकी निशाना बडालसहित जावलाखेल भलिबल ट्रेनिङ सेन्टरका खेलाडीले खेलेका थिए ।
उपाधि विजेता दर्शन ट्रान्सपोर्टले ७५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार जित्यो । उपविजेतामा चित्त बुझाएको नेपाल खेलकुद महासंघले ३० हजार पाँच सय ५५ र तेस्रो भएका वाईसीएल बागलुङले २० हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरे ।
पुरुष भलिबलको फाइनल खेल भने शनिबार हुनेछ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा गल्कोट नगरपालिकालाई पराजित गर्दै पश्चिमाञ्चल फाइलनमा प्रवेश गरेको छ । अर्को खेलमा छन्त्याल कन्स्ट्रक्सनले २३ नम्बर बाहिनीलाई पराजित गर्दै पश्चिमाञ्चलसँगको फाइनल भिडन्त पक्का गरेको छ । विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।