खप्तड गोल्डकपमा विभागीय टीम एपिएफ क्वाटरफाइनलमा
धनगढी : विभागीय टीम एपिएफ धनगढीमा जारी अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ। धनगढी रंगशालामा शनिबार भएको खेलमा पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पाखा लगाउँदै विभागीय टीम अन्तिम आठमा पुगेको हो।
पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने मौका गुमाउँदा सहारा पेनाल्टी सुटआउटमा एपिएफलाई खेल सुम्पन वाध्य भएको हो। पहिलो हाफको २१ औं मिनेटमा सहाराले पाएको पेनाल्टी खेर फालेको थियो। सहाराका विनोद गुरुङले गरेको पेनाल्टी गोलपोष्टको दायाँ किनारावाट बाहिरिएको थियो।
पहिलो हाफ र दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि भएको पेनाल्टी सुटआउटमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले वचाउँदै आफ्नो टीमलाई दोस्रो चरणमा पुर्याएका हुन। गोल रोकेर टिमलाई जिताएका नगरकोटी म्यान अफ द म्याच भए। म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे ।
प्रतियोगिता अन्तर्गत आईतबार काठमाण्डौको सिएमजी संकटा र धरान फुटवल क्लव वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ। प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ।