भुस्याहा कुकुरको बिगबिगी : भ्याक्सिन लगाउन भ्याई-नभ्याई

भुस्याहा कुकुरको बिगबिगी : भ्याक्सिन लगाउन भ्याई-नभ्याई

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा.मनीषा रावल अफिस जाँदा दिनहुँ बहिरंग विभागमा कुकुरले टोकेका व्यक्तिको भीड देख्छिन्। उनी आफैंलाई पनि कुन दिन भुस्याहा कुकुरले टोक्ने हो भन्ने भय उत्तिकै छ।

काठमाडौं उपत्यकामा अहिले भुस्याहा कुकुरको बिगबिगी छ। उपत्यकामा दिनहुँ झन्डै दुई सय जना कुकुरको टोकाइबाट पीडित हुने गरेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी अहेव माला बुढामगर भन्छिन्, ‘बिहान अफिस आइनपुग्दै कुकुरले टोकेका पीडितहरू लाइनमा बसिसकेका हुन्छन्। एप्रोन (पोसाक) नलगाई भित्र पस्न खोज्ने हो भने लाइनमा बसेका पीडितले आफूजस्तै ठानेर भित्र जान पाइँदैन है..भन्छन्। परिचय दिएपछि लौ छिटो भ्याक्सिन लगाइदिनुप¥यो भन्दै कराउँछन्।'

अस्पतालमा रहेका पाँच जना अहेवमध्ये एक जनालाई नाम दर्ता गर्न र अर्र्काेलाई भीड व्यवस्थापन गर्नमै समय बित्छ। अन्य तीन जनालाई भ्याक्सिन लगाउन भ्याई नभ्याई हुन्छ। अहेव सरीता गौतम भन्छिन्, ‘कुकुरको टोकाइबाट पीडित हरेक महिना बढिरहेका छन्। दिनहुँ झन्डै दुई सय व्यक्ति कुकुरले टोक्यो भन्दै आउँछन्। हामीलाई भ्याक्सिन लगाउन भ्याई नभ्याई हुन्छ।'

भुस्याहा कुकुरको टोकाइबाट पीडित झन्डै दुई सय व्यक्ति दिनहुँ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गरेका छन्।

कुकुरको टोकाइबाट बढी मात्रामा पुरुष पीडित हुने गरेका छन्। पाँच महिनायता मासिक औसत सात हजारभन्दा बढी पीडितले निःशुल्क भ्याक्सिन लिएको अस्पतालले जनाएको छ।

अस्पतालकी निर्देशक डा.रावल थप्छिन्, ‘कुकुरको टोकाइबाट पीडित हुनेको भीड व्यवस्थापन गर्न अन्य वार्डबाट कर्मचारी पठाउने गरेका छौं।' अन्यभन्दा विशेष गरी आइतबार र बुधबार कुकुरले टोकेका व्यक्तिको भीड लाग्ने गरेको अस्पतालका कर्मचारीको अनुभव छ।

एन्टिरेविज भ्याक्सिन सरकारले निःशुल्क लगाइदिन्छ। काठमाडौं उपत्यका मात्र नभई वरपरका छिमेकी जिल्ला काभ्रे, धादिङलगायत जिल्लाबाट समेत शुक्रराज अस्पतालमा भ्याक्सिन लगाउन आउने गर्छन्। यद्यपि, कुकुरको टोकाइलाई सामान्य ठानेर लापरबाही गरी मृत्यु हुनेको संख्या पनि बढ्दै गएको चिकित्सक बताउँछन्।

शुक्रराज ट्रपिकल अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुन भन्छन्, ‘भ्याक्सिन नै नलगाउने र टिटानाशक सुई लगाएको छु भनी ढुक्क भई बस्नेहरू पछि गएर मृत्युको मुखमा पुग्ने गरेका छन्।' बर्सेनि करिब १६ जनाले कुकुरको टोकाइबाट ज्यान गुमाउने गरेको उनी बताउँछन्।

शुक्रराज अस्पतालमा कुकुरको टोकाइबाट पीडितलाई उमेरका आधारमा दुई किसिमका भ्याक्सिन निःशुल्क लगाइदिने गरिन्छ। पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धा एवं दीर्घरोगीलाई ‘इन्ट्रामस्कुलर भ्याक्सिन' लगाइदिने गरिएको छ। जुन पाँच पटक मासुमुनि लगाउनुपर्ने चिकित्सक बताउँछन्। त्यस्तै, ‘इन्ट्राडर्मल भ्याक्सिन' सामान्य अवस्थाका व्यक्तिलाई लगाइन्छ। यो छालामुनि चार पटक लगाउनुपर्ने हुन्छ।

कुकुरले टोक्दा १० दिनसम्म कुकुरलाई निगरानी गर्ने त्यसपछि बिर्सने प्रवृत्तिले समस्या थपिएको डा.पुन बताउँछन्। उनी भन्छन्, ‘टिटानाशक सुई लगाउँदैमा ढुक्क नहुनुस्। एन्टिरेबिज भ्याक्सिन लगाउनै पर्छ।'

एन्टिरेबिज भ्याक्सिन लगाउनुपर्छ भन्ने जानकारी भएपछि हेलचेक्र्याइँ गर्ने प्रवृत्तिका कारण मृत्युदर बढेको डा.पुनको भनाइ छ।

काठमाडौं उपत्यकामा कुकुरको बिगबिगी छ भने तराईमा स्यालले टोक्ने गरेको छ। रौतहट, सुर्खेतलगायत जिल्लामा स्याल र बिरालोले टोक्ने गरेको छ। टोकेको स्थानमा भाइरस अन्यत्र स्थानान्तरण नहोस् भनी ‘इमिनोग्लोविन' लगाउनुपर्छ।

अस्पतालकी निर्देशक डा.रावल छाडा कुकुरको व्यवस्थापनमा सरोकारवाला निकायबीच समन्वय र सहकार्य गर्नुपर्ने खाँचो रहेको बताउँछिन्।

 

महिना कुकुरको टोकाइबाट पीडित

भदौ ७,६८३

असोज ७,६६०

कात्तिक ७,१२९

मंसिर ७,५०२

स्रोत ः शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

 

कुकुर टोकाइ-आतंक

- टेकु अस्पतालमा निःशुल्क भ्याक्सिन लगाउन आउनेको भीड

- कुकुरको टोकाइबाट पुरुष बढी पीडित

- भ्याक्सिन लगाउने मासिक ७ हजारभन्दा बढी

- काठमाडौंसहित छिमेकी जिल्लाका बिरामी धेरै

- एन्टी रेबिज भ्याक्सिन नलगाएकै कारण मर्नेको संख्या पनि उस्तै

- कुकुरको टोकाइबाट बर्सेनि करिब १६ जनाको मृत्यु


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.