एकता प्रक्रिया लम्बिने

एकता प्रक्रिया लम्बिने

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन्। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एजेन्डा निर्धारणका लागि पहिले छलफल हुने र लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि दुई नेताबीचमै भेट भएको छैन।

एक साताको बीचमा ओली-दाहालबीच एजेन्डा निर्धारणका लागि भेट हुने भने पनि कहिले ओलीको अस्वस्थता त कहिले दाहालको चितवन बसाइका कारण सम्भव हुन सकिरहेको छैन। शनिबार दाहाल चितवनबाट काठमाडौं फर्केर सकभर त्यही दिन, नभए आइतबार दुई अध्यक्षको बीचमा छलफल भएपश्चात एकता संयोजन समितिको बैठक बसेर प्रक्रियाअगाडि बढाउने भनिए पनि बैठक बस्नै सकेन। दाहाल शनिबार मौसमको प्रतिकूल अवस्थालाई कारण देखाउँदै काठमाडौं फर्केनन्।

एमाले अध्यक्ष ओली पनि पुस २६ गते उपचारका लागि एक साता लामो बैंकक भ्रमणमा निस्कने तयारीमा छन्। त्यसअगाडि नै दाहाल र ओलीबीच एकता संयोजन समिति बैठकको एजेन्डा निर्धारणका लागि कुरा भए पनि समितिले प्रक्रियालाई तीव्र नपार्ने माओवादीका एक नेताले बताए।

उनका अनुसार सत्तापक्षले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिएपछि एमाले-माओवादी एकता प्रक्रियाको छलफल पनि लम्बिएको हो। ‘हतारिएर छलफलमा बस्नुपर्ने अवस्था नै छैन, सत्तापक्षले नै नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिएपछि ढुक्कैले विस्तारै छलफल गर्दै अगाडि बढ्न समय मिलेको छ,' ती नेताले भने।

‘नेतृत्व निर्माण र संगठनात्मक संरचना के-कस्तो बनाउने भन्नेमा दुई पार्टी अध्यक्षको छलफलपछि एकता संयोजन समितिले गृहकार्य अगाडि बढाउँछ।' - नारायणकाजी श्रेष्ठ, माओवादी नेता

एकता हुन नदिन शक्तिकेन्द्रहरूको चलखेल बढेकाले एकता प्रक्रिया सुषुप्त रूपमा अगाडि बढाइने उनले बताए। ‘राष्ट्रियसभा निर्वाचनका लागि सत्तापक्षले झन्डै दुई महिनाको समय बाँकी राखेर मिति घोषणा गर्‍यो। यस हिसाबले पनि एकता प्रक्रिया धिमा गतिमा अगाडि बढेको हो,' उनले भने, ‘यो कुनै खटपट, आशंकाका कारण लम्बिरहेको भने होइन।'

एकताका लागि पार्टीको मूल नेतृत्व, संगठनात्मक संरचना र वैचारिक- राजनीतिक पक्षका विषयमा टुंगो लगाउनुपर्ने छ। प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग-अलग व्यक्तिले नेतृत्व लिने कि ओलीलाई प्रधानमन्त्री दिएर ओली-दाहाल दुवैलाई पार्टी नेतृत्वको पनि कार्यकारी भूमिका दिएर जाने भन्ने विकल्पमा छलफल भइरहेको छ। तर, यो विषयमा नेताहरूले मिलन बिन्दु निकालिसकेका छैनन्।

पार्टी एकतापछिको संगठनात्मक संरचना कस्तो बन्ने, कुन आकारको संगठन बनाउने भन्ने विषयमा पनि नेताहरूले छलफल टुंगोमा पुर्‍याउन सकिरहेका छैनन्। त्यस्तै, वैचारिक-राजनीतिक विषयमा लोकतान्त्रिक तरिकाले समाजवाद ल्याउने साझा बिन्दु पहिचान गरे पनि जनताको बहुदलीय जनवाद, माओवाद या अर्काे कुनै नाम दिने भन्ने विषयमा पनि मिलन बिन्दु पहिल्याउन सकेका छैनन्।

तर, अहिले वैचारिक राजनीतिक लाइनका विषयमा भने छलफल भइरहेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए। उनले नेतृत्व निर्माण र संगठनात्मक संरचना के-कस्तो बनाउने भन्नेमा नेताबीच छलफल चलिरहे पनि दुई पार्टी अध्यक्षको छलफलपछि एकता संयोजन समितिको बैठक बसेर गृहकार्य अगाडि बढ्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.