प्रमुख नहुँदा प्रदेशसभाको नतिजामा ढिलाइ : आयोग

प्रमुख नहुँदा प्रदेशसभाको नतिजामा ढिलाइ : आयोग

काठमाडौं : निर्वाचन आयोगले प्रदेशसभाको सम्पूर्ण नतिजा तयार पारे पनि सार्वजनिक गर्न सकेको छैन। सरकारले प्रदेश प्रमुख नतोक्दा प्रदेशसभाको समानुपातिक परिणाम सार्वजनिक गर्न कानुनी रूपमा अप्ठ्यारो परेको आयोगले बताएको छ।

आयोगले प्रदेशसभा समानुपातिकतर्फ समावेशी क्लस्टरअनुसार पेस नगर्ने ६ वटा दललाई गत साता ३ दिनभित्र सूची सच्याउन समय दिएको थियो। कांग्रेस, संघीय फोरम, राजपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले नामावली सच्याएर पठाएका थिए। दलले सूची सच्याएर पठाएसँगै आयोगले परिणाम तयार पारिसकेको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले परिणाम तयार भइसकेको जनाए। आयोगका एक सदस्य भन्छन्, ‘प्रदेश प्रमुख नियुक्त नहुँदा अन्तिम परिणाम सार्वजनिक गर्न कानुनी जटिलता पैदा भएको हो।'

आयोगले प्रदेशका सबै परिणाम सार्वजनिक गरेको ७ दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने प्रावधान प्रदेशसभा कानुनमा छ। प्रदेश प्रमुखले नै प्रदेशसभा सदस्यलाई सपथ खुवाउनु पर्ने ऐनमा व्यवस्था छ। प्रदेशसभा कानुनमा निर्वाचित उम्मेदवारको नाम आयोगले प्रदेश प्रमुखलाई पठाएर मात्रै राजपत्रमा प्रकाशन गर्नुपर्ने प्रस्ट व्यवस्था छ। त्यसैले प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक गर्न आयोगले चाहे पनि कानुनअनुरूप प्रदेश प्रमुख नतोकिँदा आयोग समस्यामा परेको हो। आयोगका पदाधिकारी सरकारले प्रदेश प्रमुख नियुक्त गर्नासाथ परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेका छन्। ‘हामीले परिणाम तयार गरिसकेका छौं तर सार्वजनिक गर्न प्रदेश प्रमुखको नियुक्ती पर्खिरहेका हौं', आयोगका एक सदस्यले भने।

प्रदेश प्रमुख नियुक्तीमा सहमति गर्न यसै साता प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक गरेका थिए। वाम गठबन्धनले प्रदेश प्रमुख नियुक्तिमा सहमति नगर्ने र नियुक्त भएपछि उनीहरूलाई फिर्ता गरी आफैं नियुक्त गर्ने जनाएको थियो। वाम गठबन्धनको यस्तो रणनीतिका कारण सरकारले प्रदेश प्रमुख नियुक्ति गर्न सकिरहेको छैन।

सरकारले राष्ट्रियसभाको चुनाव २४ माघमा गर्ने निर्णय गरिसकेको छ। तर प्रदेश प्रमुख नियुक्तीमा ढिलाइ हुँदा राष्ट्रियसभा निर्वाचनको तयारी गर्न समेत आयोग अलमलमा परेको छ। प्रदेशसभाका सदस्य नै राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले मतदाता नामावली प्रकाशनलगायत काम समयमै गर्नु पर्ने हुँदा तयारी अघि बढाउन प्रदेश प्रमुख छिटो नियुक्त गर्नुपर्ने आयोगको भनाइ छ। राष्ट्रियसभाको निर्वाचन कार्यतालिका भने आयोगले एक/दुई दिनमा सार्वजनिक गर्ने भएको छ। कार्यतालिका सार्वजनिक भएपछि तयारी तीव्र पार्ने आयोगका प्रवक्ता ढकालले बताए।

प्रदेशसभाको समानुपातिकतर्फ २ सय २० सिटमध्ये एमालेले ७५, कांग्रेसले ७२, माओवादी केन्द्रले ३५, संघीय फोरमले १३ र राजपाले १२ सिट पाएका छन्। राप्रपा र विवेकशील साझाले क्रमशः ३/३ सिट पाएका छन्। राष्ट्रिय जनमोर्चाले दुई सिट पाएको छ। नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय समाजवादी, नेमकिपा र राप्रपा (प्रजातान्त्रिक) ले क्रमशः १/१ सिट पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.